विहानै उठे, नुहाए, पानी चिसो थियो, जाडो भयो !

तिमी नारी किन यति हठी ? –१०
अचेले फोनकलहरुमै केही बढि नै व्यस्त हुन थालेको छु । आफ्नो व्यस्त तालिकामा उनको कलहरुको स्थान मिलाउन निकै गाह्रो भइरहेको छ । पहिले पहिले आफै पनि गर्थे । अब गर्दैन । साताभरमै फोनमा सात–आठ सय खर्च भएपछि आजित भएर फोन गर्न छोडेको । हुन त उसले मलाई फकाउनलाई पहिले फोन गथ्र्यो अहिले रहर मरेर फोन गर्न छाड्यो सोच्ली तर उसँग गर्न बाँकि कुनै कुरा नै छैन । उसका अति जरुरी कुराहरु सुन्न फुर्सदै पो कहाँ छ र मसँग ! एक पटक उसले मलाई विहानै फोन गरी । तिमीसँग जरुरी कुरा गर्नु छ एकछिन कल गर न भनेर भनि । मैले के के न होला भनेर हतार हतार कल गरेँ । उताबाट उसले भन्न थाली, ‘अँ के मैले बिहानै नुहाए के ! अनि थाह छ विहान पानी चिसो थियो । चिसो पानीले नुहाँउदा त मलाई कस्तो जाडो भएको ।’ म अचम्ममा परें । महत्वपूर्ण खबर भनेको त उसले हिउँदका महिनामा नुहाँउदा पानी चिसो भएर जाडो भएको कुरा पो रहेछ । म त अक्क न बक्क भए । अब केही भन्यो भने रीसाउने होला भनेर म उसका कुराहरु सुनी रहें । पढाउन हिंडेको मान्छे उसका कुरा सुन्दै विहान वित्यो । अब मैले बोल्नु त केही थिएन । खाली सुन्नु र हाँस्नु मात्रै थियो । बाटोमा आ–आफै हाँसेर हिँडेको देखेर अरुले भने पागल भएछ ठाने होलान् भन्ने मात्रै पीर परेको थियो । हिउँदमा त्यसै जाडो हुन्छ । हिउँदको विहान झन् जाडो हुने भइगयो । त्यसमाथि विहानै नुहायो भने जाडो नहुने त कुरै छैन । अनि यति सामान्य कुरालाई पनि अचेलका भरखर भरखर खुलेका समाचार च्यानलहरुले सामान्य घटनालाई पनि अतिरञ्जित बनाएर ब्रेकिङ्ग न्यूजको रुपमा प्रशारण गरेको जस्तो गर्दा मलाई त्यति मजा लागेन । त्यसैले उसको कुराहरु विना प्रतिक्रिया सुनी रहेँ । उसलाई तिम्रा कुरामा त दम छैन भन्दा नराम्रो लाग्ला भन्ने सोचेर उसका कुराहरु सुनिरहें । फोनमा त अरुसँग पनि कुरा हुन्छ तर निरन्तर घण्टौं सम्म कुराहुने भनेको ऊसँगै हो । घरका आफन्तलाई फोन गर्नका लागि फोनमा कहिल्यै पैसा हुँदैन । तर, उसले फोन गर भन्यो भने ऋण सापट गरेर भएपनि फोनमा पैसा भइहाल्छ । अनि अरुसँग हो भने आधा मिनेट वा बढि लामो रहेछ भने पाँच मिनेट सम्म कुरा होला । तर ऊसँग कति सम्म कुरा गर्ने भन्ने टुङ्गो हुँदैन । कुराको टुङ्गो लाग्ने भनेको सिधै फोनको पैसा सकिएपछि मात्रै हो । कुरा केही नभए पनि ‘भनन’...‘सुनन’ भन्दैमा समय बित्छ । बरु भेट भयो भने लामो कुरा हुँदैन होला तर फोनमा भने गजब कुरा हुन्छ । अझ उसलाई त हरेक रात सुत्नु अघि पनि फोन गर्नुपर्ने रे ! मैले गुडनाइट नभनुन्जेल उसको आँखामा निद्रा पर्दैन रे ! हुन त गुडनाइट भनिसक्नु भन्दा पहिले पनि उसँग माया पिरतीका धेरै कुराहरु गर्नुपर्छ । आँखा चिम्सा भएपनि उसालई उसका आँखा सुन्दर छन् भनेको सुन्न मन पर्छ । उसको फोनले रातभरि अनिदो पार्छ भन्ने जान्दा जान्दै पनि उसलाई ‘तिमी मेरो कति हेरबिचार गछ्र्यौ’ भनेर भनेको सुन्ने मन हुन्छ । सके बादलको गाडिमा सबार भएर ताराहरुलाई छिचोल्दै चन्द्रमामा गएर बनभोज खाएको कुराहरु सुन्न मन हुन्छ उसको । फोनहरुमै उसलाई भविष्यको योजना बनाउन मन पर्छ । भेटेर बरु त्यति कुरा गर्दैन होली । तर फोनमा धेरै फरासिलि भएर कुरा गर्छे । अनि यस्तै रमाइला रमाइला कुराहरु गरौं न भनेर भनि रहन्छे । सकेसम्म साथ दिन्छु । मैले आफूले फोनमा खर्च गरेको पैसा सम्झेँ । अनि सम्झे मै जस्ता मेरा उमेरका कति युवाहरु होलान् जो यसरी फोनमा समय विताउँछन् होला । दूरसंचारले राम्रो कारोबार गर्दो रहेछ मजस्तै युवाहरुका कारण जसले घण्टौं सम्म पुङ न पुच्छरका कुरा गरेर दूरसंचारको सेवाको अधिकतम प्रयोग गरिरहेका हुन्छन् । यी फोनमा हुने कुराहरुको पछाडि पनि मैले नारी हठलाई नै देख्नु सायद मलाई पुरुष अहंले ग्रसित भएको भनेर भन्लान् । तर कसैले आएर भनोस, अपवादमा बाहेक धेरै जस्तो अवस्थामा स्त्रीकै लागि भनेर यस्ता लामा कलहरु गरिन्छन् । पुरुष पुरुष बीच कहिल्यै यति लामो कुरा हुँदैन । तर पुरुष नारी बीच हो भने हुन्छ । अनि अर्को कुरा यदि कुनै पुरुषले गल्तीले फोन ग¥यो भने रुखो जवाफ आउँछ । तर त्यही गलत कल कुनै नारीले गरी भने फोन लम्बीन जान्छ । पछिपछि त्यही गलत कल आएको नम्बरमा नै पनि कलहरु फिर्ता जान थाल्छन् । यस्तै हो फोनको लागि सामान्य बहाना पाउनुपर्छ फोन गरिहाल्छन् । त्यसैले मलाई त लाग्छ दूर संचारले नारीहरुलाई धन्यवाद भनेर भन्नु पर्छ । आँखिर उनीहरुको लाग्दा दूरसंचारको यत्तिको कारोबार चलिरहेको छ । अनि जाबो धन्यबाद दिनलाई मात्र पनि किन पछि पर्नु प¥यो दूरसंचारले । फोनमा अनावश्यक बहस गर्नुलाई रसीक भएको भन्छन् । फोन गरेन भने ढिपी गरेर अनेक धाक धक्कु लाउँछन् । सँधै भरि घण्टौं फोन गर्नलाई त कहाँ बाट पैसा ल्याउनु र । दिनको तीन घण्टाका हिसाबले फोन ग¥यो भने त वर्ष भरिमा एक हजार पञ्चानब्बे घण्टा त फोन मै बित्ने भयो । त्यो भनेको त ४५ दिन बराबर हुन्छ । अनि वर्षमा ४५ दिन फोनमै बित्यो भने अरु काम गर्नको लागि समय कहाँ बाट ल्याउनु ? अनि एक हजार पञ्चानब्बे घण्टा अर्थात ६५७०० मिनेट कुरा गर्नको लागि प्रति कल रु ३ का हिसाबले जम्मा रु १,९७,१०० खर्च हुन्छ । बरु यति रकमले त अन्य ठूला कामहरु पनि त गर्न सकिन्छ । भविष्य सुधार गर्ने कार्यमा पनि त यो समय लगानी गर्न सकिन्छ । हो सबै कुरालाई पैसामा तौल्नु कन्जुसी होला तर श्रोत र साधनको उचित वा भनौं सर्वोत्तम सदुपयोग गर्नु भनेको त मितव्ययीता पो हो त । हरेक विवेकशील उपभोक्तामा यो गुण हुन अति जरुरी छ । त्यसैले म भन्छु आफ्नो जवानीका अमुल्य दिनहरु विनाअर्थका गफहरमा बर्बाद गर्न भन्दा बरु आफूले कुनै गतिलो काममा मन लगाएर ग¥यो भने त्यसले पो भविष्यलाई राम्रो गर्ला । जोडीहरुले आपसमा सस्ता फिल्मी कुराहरु गरेर समय विताउनु भन्दा एकअर्कालाई हौसला दिने र जीवनमा अगाडि बढ्नको लागि केही गरौं भन्ने भावना मनमा राख्ने हो भने त भोलिका दिनमा उनीहरु कै भविष्य सुन्दर होला । यो कुरा किन बुझ्दैनन् नारीहरुले ? त्यसैले उसलाई अनि उसको जस्तै सोच राख्ने सबैलाई एकै प्रश्न फेरी फेरी ः तिमी नारी किन यति हठी ?

Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

सुधीर शर्माकाे प्रयोगशाला