लेखकीय चुनौती बनेको अघोषित सेन्सरसीप–२ (तपाईंको आग्रह नकार्न सकिने अनि लेखें)

लेख्ने नशा पनि गजबको हँुदो रहेछ । रक्सी भन्दा पनि बढि मात हुँदो रहेछ । अनि जसरी नशाको आदी भइसकेकोलाई नशाबाट बञ्चित गराउँदा ऊ बहुलाउँछ, त्यसैगरी लेख्ने मान्छेलाई पनि उसको लेखनमा प्रतिबन्धहरुले लेखनलाई अझै रोमान्चक बनाउँदो रहेछ । अहिले म त्यही रोमान्चमा भुलेको छु । त्यसैले त उनको आग्रहलाई अक्षरशः पालना गरेर यो लेख लेख्दैछु ।
धेरै पटक सोचेँ । स्वामी विकासानन्दको सफलताको सुत्रमा पर्ने अरुको प्रसंसाले मानिसलाई उनीहरुतर्फ आकर्षित बनाउँछ र निन्दाले विकर्षित तुल्याउँछ भन्ने नीति अनुरुप धेरै बेरसम्म आफूलाई संयमित बनाइ रहेँ । तर जब बाटामा भेट हुने आफन्त एवं शुभ चिन्तकहरुले ‘अचेल लेखहरु किन आउँदैन ?’ भनि प्रश्न गर्न थाले तब भने उत्तर दिन मन लाग्यो । सकेसम्म कुवाको पानी नखाइकन काम गर्न चाहेको थिएँ । गाह्रो थियो र पनि आफ्नो पराइ कोही नभनि इमान्दरीतापूर्वक कलमलाई न्याय दिन खोजेँ । जसको बारेमा लेख्थेँ उसैले समेत राम्रै लेख्नु हुन्छ तर अलि बढि बिझाउने भयो भनेको पनि सुनेँ । कतिपय अवस्थामा अति पो भयो कि भनेर नरमाइलो पनि लाग्थ्यो । तर बेला बेलामा पाठक पंक्तिबाट आउने उत्साहप्रद प्रतिक्रियाले नलेखी बस्न दिएन । त्यसैले आज फेरि लेखेँ ।
हो उनले मलाई आग्रह नै गरेका थिए,‘अबको पटक नामै समेत लेखिदिनुहोला ।’ नाइ भन्नु पनि कसरी ? आँखिर यो शैलीलाई बढावा दिने उनै न हुन् । मैले साताको कोटा पु¥याउन लेखेका व्यक्ति विशेषको प्रवृत्ति माथिको प्रहारलाई उनले हरेक पटक सहजताका साथ लिए । कतिपय पटक त उनी अति हर्षित हुँदै, ‘फलानाले फोन गरेन ? ढिस्कानाले केही भन्यो कि ?’ भनेर प्रश्न गरिरहन्थे । मैले उनका पत्रिकाका लागि लेखेका अनि उनको पत्रिकामा प्रकाशित कुनै लेखप्रति विरोध जनाइएनन् । असर पर्ने व्यक्तिले, ‘त्यति साह्रो नलेख्न हुने’ सम्म भने तर एकदमै नकारात्मक भएर कोही उभिएनन् । अझै पनि उनका अखबारकै लेखहरुमा लेखिएका केही पात्रहरुसँग भेट हुन्छ, त्यस्तो कटुता कोही देखाउँदैनन् । अलि सन्तोष हुन्छ । केही नराम्रो गरें कि त भन्ने पनि बेलाबेला लाग्छ । प्राय गरेर नाम उल्लेख नगरेरै अप्रत्यक्ष रुपमा लेख्ने हुँदा कसैको प्रत्यक्ष व्यक्तिगत विरोध गरेको छैन क्यारे भन्ने सम्म नलागेको पनि होइन । फेरि समाजमा प्राय उरन्ठ्यौला विचारहरुले नै बढि महत्व पाउँदा रहेछन् । मैले लेखेका पाँच दर्जन भन्दा बढि लेखहरु मध्ये मलाई मेरा गुरुले ईन्टरर्नेट पोर्नोग्राफी सम्बन्धि लेख पढें भनेर भने ! एक जना अर्का शुभ चिन्तकले मास्टर साबकी श्रीमतिको कुरा झिके । यस्तै यस्तै लेखहरुका लागि मात्रै वाहवाही मिल्न थालेपछि मैले पनि आफ्नो लेखन शैलीलाई त्यसै अनुरुप बनाउँदै लैजान थालेँ । एक जना अग्रजले भने पटकपटक लेखन शैलीमा भडास पोख्ने खाले शब्दहरु नलेख्नु अनि लेखकीय जिम्मेवारीलाई पनि बुझ्नु भनेर बेलैमा भनेका थिए ।
अनुशासनमा बाँधिन कसलाई पो मन हुन्छ र ? फेरि त्यस्तो विधि अनुशासनहीन भएर लेखेको पनि होइन । कुनै किसिमको वर्ग, लिङ्ग, क्षेत्र, आदि लाई ईंगित गरेर वा असर पार्ने उद्देश्ले लेखेको पनि होइन । जति पटक लेखेँ वास्तविकता बाहिर ल्याउनलाई लेखेँ । गलत कामलाई गलत भन्न सक्ने मान्छे पनि छन् है भन्नलाई लेखेँ । पाठकहरुले राम्रै भन्थे । कैयौँ पटक फोनमा समेत कुराहरु भए । अनि कहिले काहिं बजारमै पनि टहलपहल गर्दा नयाँ अनुहारहरु ‘तपाईं पत्रिकामा लेख्नु हुन्न र ? तपाईंले लेखेका दुई चार लेखहरु मैले पढेको छु । ’ भनेर आत्मीयता पनि प्रदर्शन गर्थे । त्यसै आत्मीयता र वाहवाहीलाई निरन्तरता दिन सकेसम्म निश्पक्ष भएर लेख्थेँ । पक्ष लिनै परे पनि कम्जोर बनाइएकाहरुको पक्ष लिने मन हुन्थ्यो । आवाजहीनहरुको आवाज बुलन्द पार्ने चाह हुन्थ्यो । व्यक्तिगत रीस रागले कहिल्यै कलम चलाइन । नत्र भने नामै तोकेर लेख्दा हुँ । नाम थाह नभएर नलेखेको हो र ?
सायद महिना दिन अघिको कुरा हो । पत्रिकामा दिएको लेख दुई हप्ता सम्म पनि प्रकाशित भएन । गएर सम्पादक ज्यूलाई भेटेको, ‘तपाईंसँग राम्रै कुरा गर्नुछ’ भनेर भने । मलाई अलि अलि शंका लागि सकेको थियो । अघिल्लो पटक सम्पादकका बारेमा लेखेको लेख उनको पत्रिकामा छापेका कारण अर्का अग्रज रीसाएका थिए । अनि त्यसै लेख लगत्तै पत्रिकामा मैले लेखेका लेख अनिवार्य रुपमा हेरेर मात्रै छापिने भए । पहिले जस्तो सहज रुपमा प्रकाशित हुने भएन । अनि त्यसकै बारेमा लेखकीय चुनौती बनेको स्वघोषित सेन्सरसीप भनेर पत्रिकाहरुले लगाउने नीजि सेन्सरसीपका बारेमा लेखेको त सम्पादक ज्यू तातेर लेखै नछापेर बसेका रहेछन् । न खबर छ न लेखै छापिएको छ । बुझ्न गएको त ‘तपाईंको लेख त छुनै नमिल्ने भयो होइन ?’ भनेर भन्न थाले । अनि मैले बुझि हाले कुरो उनले लेखमा गरेको हेरफेरको बारेमा लेख लेखेकोले गम्किएका रहेछन् ।
मैले सो अखबार मार्फत एघार लेख प्रकाशित गराएँ होला । अनि ती एघार लेखहरुमा दशवटा लेखहरु विना सम्पादन प्रकाशित भए । अन्तिम लेखमा शीर्षक लामो भएको गुनासो गरेकाले आफैले अर्को शीर्षक बनाइ दिएको थिएँ । त्यस बाहेक बाँकि नौ लेखहरु जसका तस प्रकाशित भए । त्यसले ममा एक किसिमको आडम्बर झैँ थप्यो । फेरी पहिले चिनजानका भरमा पत्रिकामा लेखहरु प्रकाशित गराइ माग्नुपर्ने स्थितिमा अहिले लेख रचना प्रकाशित गरेवापत कलम कापी खर्च दिने व्यवस्थाले पनि उत्साहित पारेको । पछिपछि एक पत्रिकाले पैसा माग्ने बेलामा अनेक भूमिका बाँध्न थालेपछि लेख भने लेखेँ तर सम्पादकले वाचा गरे अनुरुपको पारिश्रमिक भने उनको पत्रिकाको वार्षिकोत्सवमा समेत पाएन । फागुनमा हो भन्थे चैत भइसक्यो केही खबर पाएन । अब त आशै पनि मारिसकेँ । अनि उनको पत्रिकामा तिनी वाचा गर्ने तर पुरा गर्न नसक्ने सम्पादकको बारेमा लेखेको लेख छाप्न दुई हप्ताको कसरत गर्नु प¥यो । सायद आफ्नै पेशाकर्मीको बारेमा लेखेको लेख भएकाले होला उनले त्यसलाई सहजै प्रकाशित गर्न मानेन् । अलिकता कुराकानी गरेर छापौँला भन्थे । कुराकानी गर्दा केही हेरफेर गर्नुप¥यो भने । एकै अर्थ आउने कुराहरु दोहो¥याइकन नराख्नुस भने । मैले त्यसै गरेँ । एक पंक्तिलाई फेरि लेखें । अनि त्यसमा भएको उखान पनि अलि उरण्ठ्यौलो भयो भन्थे त्यो पनि हटाएँ । हुन त उनकै पत्रिकामा हो साप्ताहिकमा प्रकाशित नारीको कुन अङ्गमा के गरे भने बढि उत्तेजना आउँछ भन्ने जानकारी मुलक सामग्री प्रकाशित भएको !? र पनि उनले भनेजस्तै परिमार्जनहरु गरेँ । अब त भयो भनि सोचेको लेख आउने अघिल्लो दिन फेरि फोनमा उनको आग्रह सुनियो, ‘यो त फेरि उस्तै भयो । केही हल्का पारिदिनुस न !’ भनेर आग्रह गर्न थाले । अब होइन त्यसै छाप्नुस नभए म अर्को लेख दिन्छु भन्ने स्थितिमा थिएन । अनि अर्को पत्रिकामा छापौँला भन्ने पनि आँट आएन । त्यसै पत्रिकामा विगतका दिनमा विगतमा विभिन्न दिग्गजका बारेमा लेखेको लेख सहजै प्रकाशित भएकाले ‘ल, जे जे गर्नुहुन्छ गर्नुस्’ भनेर पन्छिन खोजेँ । उनले लेखको शीर्षकै समेत परिवर्तन गरिदिन भने । मसँग विकल्प थिएन अनि आफूलाई मन लागेको राख्नुस् भने । उनले यसो राख्छु नि त ! भनेर सोधेका सम्म अवश्यै हुन् तर मसँग विकल्प नभएकाले ल हुन्छ भनेँ । भोलिपल्ट लेख हेर्दा अर्कैको कसरतमा आफ्नी श्रीमतिले पाएको छोरो झैँ लाग्यो । अनि अर्को पत्रिका मार्फत ज्यूँका त्यूँ निकाले !
सम्पादक ज्यूले त्यसका बारेमा पनि चाल पाएका रहेनछन् । अनि त्यो लेख र त्यस्तै अन्य लेखहरु प्रकाशित गर्दा भोग्नु परेको स्वघोषित सेन्सरसीपका बारेमा लेखेको लेख पढेपछि त सम्पादक ज्यूले हिसाब गर्न लाइ हाले । एक मन त खुशी थियो । अनपेक्षित रुपमा पत्रिकामा लेखेवापत पैसा एकै चोटी पाउन लागेको थिएँ । अर्को मनमा केही पीडा पनि थियो, पाठकहरुसँग छुट्टिने भएँ भन्ने । तर केही बोलीन अन्तिम पटक आग्रह गर्न भने चुकिन, ‘त्यसो भए अब लेख नपठाउँला त?’ उनले नकारात्मक उत्तर दिए । मिश्रित अनुभवहरु सँगाल्दै त्यहाँबाट बिदा भएँ । दिउँला भनि वाचा गर्ने पत्रिकाहरुबाट निराश भएका बेलामा पाएको पारिश्रमिकको माया लागेकोले चुपचाप आफूले पाएको पैसा बोकेर फर्किएँ । अर्को पत्रिकामा सुरु गरौँला भनेर मनलाई केही हलुको पार्न खोजेँ । तर वास्तवमा यस्ता अवरोधहरुले मनमा पलाएको जोस पनि मरेर गयो । एक त मिहिनेत साथ हजार भन्दा बढि शब्दहरु रच्नु पर्ने अझ पारिश्रमिकका नाममा आक्कल झुक्कल पैसा अनि धेरै जसो आश्वासनहरु मात्रै पाइने पंक्तिकारको जीवन देखि नै वाक्क लाग्यो । अरुले सोच्दा हुन पत्रिकामा फोटो आउँछ, क्या मोज । घुत्राको मोज ! सत्य लेख छापिन्न । असत्य लेख्न आत्मा मान्दैन । अरुको खेदो खनेको के राम्रो हुन्थ्यो !
लेखकीय अनुशासनका बारेमा सोध्दा नामै किटेर लेख्दा पनि छाप्छौँ भनेर भन्ने मान्छे आफ्ना विषयमा लेखेका कुरालाई किन त्यति असहज रुपमा लिएका होलान् ! धेरैले यो लेख नलेख्न भने तर मन थाम्न सकेन । एकाएक विलाउनुको कारण जनाउनु थियो, त्यसैले यो लेख लेख्नु अनिवार्य ठानेँ । सम्पादक ज्यू हुन त तपाईंसँग आग्रह गर्ने अधिकार गुमाइ सकेँ होला र पनि भूल भएको भए माफ पाउँ !?

Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

सुधीर शर्माकाे प्रयोगशाला