आल्प्सहरूमा चुली पछ्याउँदै
केहि महिना अघि एउटा भिडियो टिकटकमा हेर्न पुगेको थिएँ । सृजनासिज्जु नामको खाताबाट कर्णालीका फाँटका मनोरम दृश्य देखाउँदै आंशु झार्दै गरेको भिडियो थियो । त्यस्तो सुन्दर ठाउंमा पनि अभाव र गरिवी हुनुले उनको मन रोएको थियो । त्यसै भिडियो हेरेको आसपासको समयमा म केम्प्टनर हुटे सम्म पुगेको थिएँ ।
युक्रेनयुद्ध सुरु भएदेखि तेलको मुल्यमा भएको वृद्धि र सामानका आयातमा भएको अप्ठ्यारोले गर्दा जर्मनीमा महँगी अचाक्ली बढेको छ । त्यसैबाट राहतका लागि जर्मन सरकारले अपनाएको विभिन्न उपाय मध्ये एक उपाय जुलाई देखि अगस्तको महिनासम्म सार्वजनिक यातायातको भाडा सस्तो बनाएको थियो । छोटो दुरीमा चल्ने रेल जर्मनी भरि ९ युरो तिरेर चढ्न पाइने भएको थियो । अब जर्मनीको उत्तरी कुनाबाट दक्षिणी कुनासम्म आउन छोटो दुरीको ट्रेन प्रयोग ग¥यो भने महिनाको ९ युरो मात्र लाग्ने भएको थियो । धेरै रेल बदल्नु पर्ने र त्यसले गर्दा समय लामो लाग्ने भएकोले टाढाको यात्रा त्यति सहज नभए पनि नजिकैको यात्रा भने निकै सहज बनाएको थियो । त्यहि सहजताका कारण ओबस्र्टडोर्फ तिरको यात्राको क्रम बढेको थियो ।
ओबस्र्टडोर्फ क्षेत्र हिम पर्यटन र आल्प्सहरुका लागि बिख्यात छ । ओबस्र्टडोर्फलाई नेपालीमा उल्था गर्ने हो भने यसको अर्थ माथिल्लो गाउँ भन्ने हुन्छ । ओबस्र्ट भनेको सबै भन्दा माथिल्लो अनि डोर्फ भनेको गाउँ । यो उल्थाले मोहन मैनालीको उपल्लो थलो सम्झाउँछ । भू–बनोट उस्तै भएपनि यो दुर्गम भने छैन । रेलले सजिलै गाउँसम्म पु¥याउँछ । आल्गोए क्षेत्रका आल्प्सहरु यहाँबाट चढ्न सकिन्छ । त्यसका लागि रज्जुमार्ग देखि हिँड्ने सम्मका बिकल्पहरु छन् । त्यस्तै स्किजम्पिङ विश्वकपका लागि पनि यो ठाउँ चर्चित छ । ओवस्र्टडोर्फको वेबसाइटमा दिइएको जानकारी अनुसार यो संसारकै ठूलो स्कि जम्प गर्न मिल्ने पहाड हो । अष्ट्रियासँग सिमाना जोडिएको यो जर्मन गाउँबाट आल्गोए क्षेत्रको सबैभन्दा अग्लो चुचुरो ग्रोसर क्रोटेनकोप्फ जान पनि मिल्छ । केम्प्टनरहुटे त्यहि बाटोमा पर्ने विश्राम स्थल हो ।
‘मैले त अन्नपूर्ण आधार शिविरको यात्रा गरि सकेको छु । त्यस्तै ७ दिन सम्म दैनिक ७ देखि ८ घण्टा हिँड्नुपर्छ ।’ सुसन भाइले रेलमा आफ्नो हिँडाइको अनुभव पेश गर्दै थिए । ‘म पनि कालिन्चोकको यात्रा गर्दा दिनको ७ देखि ८ घण्टा त हिँडेको छु ।’ हिँड्न गाह्रो होला कि भनेर ठानेको सोनमले पनि आफू हिँडेको अनुभव सुनाउँदा मलाई आज चाहिँ टाढाकै यात्रा आँट्नुपर्छ भन्ने भएको थियो । दुबैको हिँडाइको अनुभव सुन्दा कम हिड्ने मै परेछु कि भन्ने भएको थियो । न त कालिन्चोक पुगेको थिए न नै अन्नपूर्ण आधार शिविर सम्मको यात्रा नै गरेको थिएँ । तर दुबै जना हिँड्ने भएपछि सकिन्छ होला नि भन्ने भएर हौसिएको थिएँ ।
नक्सामा हेर्दा र साँच्चिकै हिँड्दा फरक हुन्छ । यात्राको सुरुवाती पाटो बस्तीबाट निस्केर त्रिस्टलजे नामक तालसम्मको थियो । त्यसपछि केम्पटनर हुटे र अन्तिममा हाम्रो गन्तव्य ग्रोस क्रोटेनकोप्फ पुगिन्थ्यो । कृष्टलजे सम्मकै यात्रा केहि लामो लागि रहेको थियो । हामी बस्ने सहरबाट ओबस्र्टडोर्फ पुग्न नै पनि ३ घण्टा भन्दा बढि लाग्थ्यो । विहानै ६ बजे देखि बाटो लाग्यो भने नै पनि रेलको तालिकाका कारण साढे १० बजे ओबस्र्टडोर्फ पुगिन्थ्यो । अनि हिँड्ने बेलामा टाउकामा मध्यदिनको घाम पथ्र्यो । समथर भागमा हेर्नका लागि परपरका डाँडा र खुला चौर बाहेक उस्तो केहि हुँदैन थियो । चौर पनि यहाँका रमाइला देखिन्छन् । साह्रै हरिया । मिलाएका काटेको दारी जस्तो । त्यस्तै बाटाहरु छिचोल्दै अलि उकालो सम्म पुगेको केहि क्षण पछि हामी थोरबहुत असिन पसिन हुँदै एउटा सुन्दर ताल कृष्टलजे पुग्यौँ ।
जंगलको बीचमा कञ्चन पानीले भरिएको अनि वरपर अग्ला चुचुरा देखिने कृष्टलजे साँच्चिकै कुनै मणि जस्तै थियो ।
‘अनि कस्तो लाग्यो त!’ यात्राको सुरुवातले केहि थाकेकाहरुलाई त्यो दृश्यले केहि आराम त दिने नै भयो । अनि आफूले बाटो तय गरेकाले मलाई एक किसिमले यो यात्राको अनुमोदन पनि चाहिएको थियो । हामी यो ठाउँ सम्मकै लागि करीब ६ किमि जति हिँडि सकेका थियौँ । खुला बाटो र चर्को घामले केहि थकित चाहिँ बनाएको थियो । त्यसैले यो दृश्य एकदमै आवश्यक थियो । यसले एक किसिमले अघिको थकान बिर्साउने काम चाहिँ गरेको थियो । हाम्रो गन्तव्य अझै टाढा भएकोले हामीले छोटो समय त्यहाँ बिताएर अघि बढ्यौँ ।
सोनम केहि थाकिसकेकी थिई । सुसन हिँड्ने मुडमै थियो । तर उसले सोनमलाई यो यात्रा सुझाएकोले ऊ सोनमको चिन्ता लिन थालिसकेको थियो । ताल पुग्नु अघि बाटामा उसको जुत्तामा परेको गिट्टी झिक्न सोनम रोकिँदा सुसन रोकिन चाहन्थ्यो । हामी अघि बढ्यौँ भने सोनमका पछि चाँडो हिँडेर हामीसम्म पुगिहाल्छ । त्यसो गर्दा समयको बचत हुन्छ भनेर मैले सुसनलाई अघि बढाएको थिएँ । सायद हामीले उसलाई पछि छोडेको हुनाले ऊ केहि रिसाएकी थिई । त्यसैले ताल पछिको बाटोमा हामीलाई निकै पछि छोडेर सोनम अघि बढि । ताल भन्दा २ किमी परको स्पिलमानसाउ पुग्दा सोनम अघि अघि थिई । हामीले खिचेको तस्वीरको पृष्ठभूमीमा ऊ नचिनिने गरि देखिन्थी ।
![]() |
पछाडि देखिने मान्छे साेनम हाे |
टर्मिनेटरको एक संवाद छ, ‘निराशा भन्दा रीस राम्रो हो ।’ सोनम निराश हुनु भन्दा रिसाउनु राम्रो थियो । त्यसले उसलाई हामी भन्दा अघि पु¥याएको थियो । त्यहि भन्दै दुबै जना गफ गर्दै अघि बढ्यौँ । करीब १५ मिनेट पछि फेरि म अघिल्तिर भएँ । बाटो फाटेपछि सोनम एक्लै अघि बढ्न सकिन । फोनमा नक्सा हेर्ने र बाटो देखाउने जिम्मा त्यसै पनि मेरो थियो । अब सोनमको पछि पर्ने पालो थियो । म चाहिँ अघि बढ्दै केहि राम्रो चिज देखियोस् भन्नेमा थिएँ । बिहान हतारमा आएकाले खानको लागि पनि हामीसँग धेरै कुरा थिएन । पानी भने बोक्न भनेको थिएँ । पानीले प्यास त मेट्थ्यो तर झोला भारी पनि बनाउँथ्यो । जंगलमा एक ठाउँमा सोनम थुचुक्कै बसेपछि हामीले त्यसै ठाउँमा सानो बिराम लिएर खाना खायौँ ।
‘बाटो कता हो केहि नभनी सुरुसुरु हिँड्ने !’ सोनम थकाईले भन्दा पनि रिसले बसेकी थिई । मलाई त्यो कुरा थाहा थियो । तर मेरो फाइदा भनेको मसँग ऊ रीस पोखिरहेकी थिइन । सुसन चेपमा परेको थियो । चाँडो हिँडाउने म र उसले कोलोन सहरको सजिलो यात्राबाट ओबस्र्टडोर्फका लागि फकाएर ल्याएको सोनमका बीचमा घरि ऊ मसँग हुन्थ्यो त घरि सोनमसँग । यसै बीचमा बाटामा झरनाहरु देखिए । दुईवटा पुलहरु आए र फेरि उकालो बाटो आयो । झरना र पुलले बाटोको थकाई केहि मेटायो । चिसो पानीमा हात मात्रै भिजाउँदा पनि रमाईलो हुन्थ्यो । सानो बिरामले अर्को सजिलो पनि थप्यो ।
पहिलो पुलसम्म पुग्दा २ बजिसकेको थियो । बाटो अझै सकिएको थिएन । रुखहरुको ओतले केहि शितल भने बनाएको थियो । फर्कनको लागि पनि समय चाहिन्थ्यो । म सकेसम्म ६ बजेसम्म अउँदा ताल पारि भेटिएको स्पिलमान्साउ पुग्न चाहन्थे । त्यहाँ सम्म बस देखिएको थियो । त्यसैले ३ बजेसम्म जता पुगियो त्यताबाट फर्कने योजना थियो । दुबै जनालाई अलि अत्याउन नै पनि म अघि लागेँ । पुल पारिको केहि अप्ठ्यारो उकालोमा दुबैलाई पछि छोड्दै म एक डाँडाको थुम्काको चर्चमा पसेँ । दुबैको प्रतिक्षा सँगसँगै केहि दृश्यावलोकन पनि हुन्छ भन्ने मनसाय थियो । केहि बेरको बिराम पछि भने बाटा भन्दा केहि माथि रहेको ठाउँमा उनीहरु पुगेनन् भने के भन्ने तनाब भयो ।
‘हजार भन्दा बढि जवानहरु होलान् !’ मैले दुई जना जवानहरुलाई कतै देख्नु भयो भनी सोधेको प्रश्नमा एक ओर्लँदै गरेको मानिसले भन्यो । म अलमलमा परेँ । उनीहरु पछि नै छन् भने त छुट्ने भए । अघि छन् भने म पछि हुने भएँ । फेरि फोन पनि लाग्दैन थियो । एक छिनको अलमल अनि फोन लगाउने प्रयास पछि तलतिर बाटै उनीहरु आइपुगे ।
‘तपाई अघि जानुस्, म सोनमसँग बिस्तारै आउँछु ।’ सोनमलाई अप्ठ्यारो पर्न थालेपछि र म त्यसै पनि अघिअघि हुन थालेपछि सुसनले सुझाएको थियो । केहि तल अर्को पुलमा हामीले फेरि बिराम लियौँ र केहि तस्विर पनि खिच्यौँ । त्यसपछिको बाटो म अघि बीचमा सुसन र पछिपछि सोनम हुन थाल्यौँ । पुल पछिको बाटोको अन्ततिर एक चुचुरो देखिन्थ्यो । बीचमा खोला बगिरहेको थियो भने ठाउँठाउँमा बाटामै झरना झरिरहेको थियो । झरना झरेको ठाउँमा फलामको तारले समाउन सजिलो पनि बनाइएको थियो । यी सबै पार गरेर हामी अघिल्तिर देखिएको चुचुरोको फेदिमा पुग्यौँ । मलाई हाम्रो गन्त्व्य नजिक आएकोमा छुट्टै खुशी लागेको थियो ।
उचाई जति बढ्दै जान्छ छाँगा र छहरा देखिँदै जान्छन् । रुखहरु हुँदैनन् । हरिया घाँस र रंगिबिरंगी फूलहरु हुन्छन् । लगभग त्यस्तै दृश्य जुन दृश्य देखाएर सृजना त्यो सुरुवातमा उल्लखे गरिएको भिडियोमा रुँदै थिइन् । अझ हल्का बादल लाग्न सुरु गरेकोले चुचुराहरु बादलको बीचबाट चिहाउँदा झन् सुन्दर देखिँदै थिए । त्यहिँ थियो केम्प्टनरहुटे पनि । हुटे भनेको अंग्रेजीको हट हो । जसको अर्थ झोपडि भन्ने हुन्छ । तर यी हुटेहरु विशेष गरि पर्वतारोहीका लागि बनेका हुन्छन् । आल्पको संस्थामा सदस्य भएकालागि केहि छुट सहित र अन्यलाई अलि महँगो पर्ने गरि यहाँ सुत्ने व्यवस्थाहरु हुन्छ । निश्चित समय सम्म खाना र पिउने व्यवस्था सहितको रेष्टुरेन्ट पनि सञ्चालन गरिन्छ । प्राय हरेक ठूला चुचुराको नजिकमा यस्ता हुटेहरु हुन्छन् । अनि केहि अघि ओर्लँदै गरेको पर्वतारोहीले भनेको ‘हजारौँ जवानहरु’ यस्तै हुटेमा बियरको मजा लिएर ओरालोका लागि थप ताकत भर्दै गर्दै हुन्छन् । तर यहाँ सृजनाहरु रोएर भिडियो खिचि रहेका हुन्नन् । कारण यो ठाउँ गरिवीको पर्याय छैन । छ त केवल सुन्दर प्रकृतिको पर्याय ।
१८४६ मिटरको उचाईमा रहेको केम्प्टनरहुटे पुग्दा ४ बजि सकेको थियो । ३ बजे चुचुरो पुग्ने कुरा बाटामै बिलाई सकेको थियो । कम से कम यहाँ सम्म चाहिँ जाउँ भनेर उक्लिएको थिएँ । अनि हुटेकै परिसरमा वरपर जान सकिने ठाउँ र त्यहाँ सम्म जान लाग्ने समय उल्लेख थियो । क्रोटेनकोप्फको लागि ३ घण्टा १५ मिनेट लेखिएको थियो । २६५६ मिटर अग्लो आल्गोए क्षेत्रको सबै भन्दा ठूलो चुचुरो चढ्ने सपना केम्प्टनर हुटेमा बिराम गर्दै थियो । २४२८ मिटरको क्राच्चरले केम्प्टनर हुटेमा लाग्ने पश्चिमी आकाशमा पुगिसकेको घाम पनि छेकेको थियो । त्यसले समय धर्किसकेको संकेत दिइरहेको थियो । अर्को २६४४ मिटर अग्लो वैकल्पिक चुचुरो मेडेलेगाबेल पनि लगभग क्रोटेनकोप्फकै दुरीमा थियो । आएकै बाटो फर्कने बाहेकको विकल्प हामीसँग थिएन ।
‘त्यो मुटलर कोप्फ हो ।’ हुटेकी कुरुवाले भनेकी थिई ।
बाटोभरि गन्तब्य मानेर हिँड्दै आएको चुचुरो हाम्रो गन्तब्य छेक्ने २३६८ मिटर अग्लो फरक चुचुरो रहेछ । एक मनले यसैलाई भए पनि चढौँ भन्ने थियो । तर फेरि करबल गर्दा गाह्रो होला भन्ने डर थियो । त्यसैले हेरेरै चित्त बुझएँ ।
‘अब अर्को पाली एक्लै भए पनि यो चुचुरो चढ्ने गरि आउँछु ।’ त्यतै बिराम लिएर फर्कने पक्का भएपछि मैले सुनाएको थिएँ ।
हुटेमा केहि पिउनका लागि हामीसँग नगद पैसा थिएन । फोनबाट या कार्डबाट तिर्न मिल्दैन थियो । अनि छेवैको एक जर्मन केटोसँग हल्का कुरा गरेर केहि पैसा मागेका थियौँ । उसले दिएको दुई युरोले हामीलाई जेनतेन पुगेको थियो । उप्रतिको कृतज्ञता तिर्ने कुनै बाटो थिएन । हाँसेरै टा¥यौँ । हामी साँझ फेरि फर्केर स्टुटगार्ट पुग्ने भनेपछि ऊ अचम्म मान्दै थियो । हामी फेदै फेद हिँडेको डाँडाको चुचुरै चुचुरा हिँडेर ऊ आएको थियो । बाटामा जत्ति पनि झरनाहरु थिए भन्थ्यो । म त्यो बाटो कहिले हिँडौला भनेर सुर्ताउँदै थिएँ । केहि बेरको गफगाफपछि ऊ बाटो लाग्यो ।
हामी अझै बस्यौँ । सम्झनाका तस्वीरहरु खिचेर आएकै बाटो फर्कँदै गयौँ । आफूले हिँडेर आएका सुन्दर बाटोहरु अझै सुन्दर लाग्दै थिए । स्पिलमानसाउमा बस भेटिने आशा थियो तर हामी त्यहाँ पुग्दा ७ बजी सकेको थियो । केहि गरि कसैले पु¥याइ दिन्छ कि भन्ने आशले सोधपुछ त ग¥यौँ तर कोहि भेटिएन । प्राय विदामा आएकाहरु साँझ परेपछि पिएरै मस्त हुँदा हुन् । छेउको होटेलले पनि ओबस्र्टडोर्फ सम्म सटल चलाउँदो रहेछ । तर त्यो समय पनि धर्किसकेछ । विकल्प केहि नहुँदा हामी हिँडेरै अघि बढ्यौँ । विहानको कृष्टलजे अझै सुन्दर भएको थियो । पृष्ठभूमीका हिमालहरु अस्ताउँदो घामको लालिमामा रंगिएका थिए । अझै ६ किमी जति बाँकि थियो । समय ८ बजी सकेको थियो । सायद ट्याक्सी आदि खोज्दा केहि धेरै समय नै बित्यो । नत्र करीब २ किमी हिँड्न १ घण्टा त लाग्दैन थियो ।
‘दाइले मलाई हिमाल चढ्ने चाहिँ भन्नु भएन !’ सुसनले बारम्बार दोहो¥याउँदै थियो । यो यात्रा सोचे भन्दा निकै लामो भएको प्रतिको रोष थियो । केम्प्टनर हुटेको वियरले त्यो भन्न सहज पनि बनाएको थियो । ओबस्र्टडोर्फका चित्रहरु सामाजिक सञ्जालमा उसले देखेको थियो । उसको सोचमा कुनै गाउँको वरपरको बाटो होला भन्ने थियो । तर हामी लगभग दिनभरि नै हिँडौला भन्ने उसले सोचेको थिएन । त्यहि गुनासो उसले बारम्बार सुनाएको थियो ।
८ बजेर २३ मिनेटको बस हिँडेरै पनि छोपिन्छ भन्ने थियो । तर तालमै ८ बजेपछि अब २३ मिनेटमा त जसै पुगिन्न । ९ बजेर २३को सम्म भेट्यो भने पनि भोलि पल्ट बिहान २ बजेतिर घर पुगिन्छ भन्ने थियो । सोनम अति नै थाकिसकेकी थिई । सुसनलाई पनि गाह्रो भइसकेको थियो । म पनि थाकेको थिएँ तर फेरि यसरी हिँड्ने बुद्धि आफ्नै भएपछि थाकेँ भन्ने पनि मिलेन । अनि जहाँ जाने भनेर हिँडेको थियौँ, त्यसको आँगन बाट फर्केका थियौँ ।
म अघि अघि हिँड्दै थिएँ । एउटाले गाडि रोक्यो । सोनमको घुँडामा सानो घाउमा लाउने प्लास्टर थियो । उसले ट्रेन स्टेसन सम्म छोड्न गरेको गुहारलाई एक स्थानीयले सुनेको थियो । करीब ३ किमीको बाटो बाँकि नै थियो । गाडीले सजिलै पु¥याइ दियो । ८ बजेर २३ को ट्रेन त हामीले भ्याएनौँ तर ९ बजेर २३ को भ्याइने भएकोमा एक किसिमले खुशी भयौँ । त्यस दिन हामी ३५ किमी हिँडेका थियौँ । राम्रोसँग खाएका थिएनौँ । अनि फर्कन अबेर गरेकाले सुत्न पनि ढिलै हुने पक्का थियो । बाटामा ट्रेनहरु ढिला हुँदा अर्को भेट्नुपर्ने ट्रेनको डरले सातो त्यसै लगेको थियो । जेनतेन पहिले भनिए भन्दा ढिलै भएपनि घर पुग्यौँ ।
यो यात्रा सकेपछि मैले नेपालमा त्यत्रो सुन्दर ठाउँहरु हुँदाहुँदै पनि किन ती यात्रा गर्न सकिन भनेर आफैलाई सोधेँ । यो यात्रा मेरा लागि उति भहँगो भएको थिएन । टिकट महिनाभरिको लागि भएको हुनाले यसै यात्राका लागि थप खर्च गर्न परेको थिएन । घरबाट ल्याएको खाना र बाटामा पिएको कुराको खासै हिसाब भएन । समयका हिसाबले पनि यसका लागि छुट्टै बिदा लिन परेको थिएन । सप्ताहन्तकै बिदाले पुगेको थियो । तर यहि खाले भ्रमण नेपालमा गरौँ भने सम्भब हुँदो हो त !
स्पिलमानसाउको होटेलमा १३ हजार नेरु आसपासको भाडा लाग्छ । हुटेमै बसेको पनि ४ हजार जस्तो पर्छ । यता टेन्ट गाडेरै बस्यो भने पनि दुई जनाको लागि लगभग ३ हजार जस्तो दैनिक लाग्न आउँछ । यो सबै यो ठाउँका लागि आम्दानीको श्रोत हो । हाम्रा विकट ठाउँहरुमा स्थानीय श्रोत प्रयोग गरेर त्यहाँको शैली कायम हुने गरेर यस्ता होटेल र हुटेहरु बन्दा हुन् त पर्यटन प्रवद्र्धन कति सहज हुन्थ्यो होला ? शौचालय, नुहाउने व्यवस्था र फोन चार्ज गर्ने सुविधा भएका क्याम्पिङ्ग स्थलहरको जोहो हुने हो भने थोरै रकममै स्थानीयहरुका लागि थप आर्जनको बाटो खुल्थ्यो होला । अनि यात्रा गर्नेका लागि पनि सहजता थपिन्थ्यो होला ।
म बस्ने सहरबाट ओबस्र्टडोर्फ २२४ किमि पर हो । यो दुरी ठ्याक्कै सुर्खेत देखि जुम्लाको दुरी हो । पूर्वाधार विकासले यसलाई सुर्खेत र जुम्ला जस्तो दुरीमा राखेको छैन । न नै यहाँ प्राकृतिक सम्पन्नताका बाबजुद गरीबी छाएको छ । वर्षमा सप्ताहन्त समेत गरेर लगभग १४० दिनको विदा पाउने मेरा लागि यहाँ आउन दशैँ जस्ता चाडपर्व नै कुर्नुपर्ने हुँदैन । न नै मलाई पूर्णकालिन घुमन्ते भएरै हिँड्नु पर्छ । सहरमा कमाएर यहाँ खर्च गर्न मज्जाले आउन सक्छु । त्यसले एक किसिमले पूँजी वितरणमा पनि सघाउ पुगेको छ । यहाँका पूर्वाधारलाई कायम राख्न मद्दत गरेको छ । यो सब नेपालमा या भनाँै कर्णालीमा किन सम्भव हुन सकेको छैन ? जबकि जुम्ला बजार नै २५०० मिटरको उचाईमा छ । लगभग त्यहि उचाई जुन उचाई छुन म दशौँ घण्टा हिँडे । हाम्रा चुरेहरु नै आल्गोएका आल्प्स भन्दा अग्ला छन् । तिनको पर्यटनमा प्रयोग किन हुन सकेको छैन ?
हामी गोराहरुको प्रतिक्षा गरेर बस्यौँ भने त्यो लामो हुन्छ । पहिले सुर्खेतमा कमाउने मान्छेलाई जुम्ला देखाऔँ । धनगढीमा आरामले बसेको मान्छेलाई अपि र शैपालका काख टेकाऔँ । पहिले हामीले हाम्रो वरपरको प्राकृतिक सम्पदा चिनौँ र त्यसलाई महत्व दिन थालौँ । ८ देखि १० हजार परका गोराहरु लगभग त्यस्तै सुन्दरताका लागि आसपासमै टहलिन्छन् । उनीहरुलाई त्यहाँ सम्म पु¥याउन पहिले हामीले नै ती ठाउँलाई भ्रमण योग्य बनाऔँ । पक्कि रोड सबैतिर पुग्नुपर्छ भन्ने छैन । बास बस्नका लागि व्यवस्था हो । पर्याप्त सूचनाहरु होस् जसको आधारमा मान्छेले ती यात्राहरु तय गर्न सकोस् । जुम्ला, दार्चुला, बाजुरा, लगायतका हरेक जिल्लाले आफ्नो वेबसाइट बनाओस् र जिल्लामा पर्ने ठाउँहरुका बारेमा जानकारी राखोस् । यस किसिमका ठाउँमा पूर्वाधार सरकारले नै थप्नपर्छ भन्ने छैन । चन्द्रागिरीको केबलकार सरकारी होइन । नीजिले मुनाफा हेरेर लगानी गर्ने हो । सरकारले दुर्गम भन्दा दुर्गम ठाउँमा पूर्वाधार थप्दा लगानीकर्तालाई नाफा देखाई दियो भने लगानीकर्ता त्यसै आकर्षित हुन्छ । स्थानी जो जुम्लामा बसेका छन्, उनीहरुलाई नै प्राथमिकतामा राखेर जुम्ला आसपासका ठाउँमा पर्यटकका लागि व्यवस्थाहरु मिलाईयो भने त्यसले स्थानीयलाई उनीहरु वरपरको श्रोतको फाइदा पनि दिन्छ । यो यात्रा अघि र पछि यिनै कुराहरले मन पिरोली रहे ।
यो यात्राको रुट यसप्रकारको छः रुट
यो लेख साहित्यपोष्टमा प्रकाशित छः लेख पढ्न यहाँ थिच्नुस्
Comments
Post a Comment