जय सम्भो आस्था अलि कम भो !

हिन्दुहरुका आराध्य देव भगवान शिवको विशेष आराधना हुने महान पर्व शिवरात्री भरखरै हामी सबैले मनायौँ । भगवान शिव जसले समुद्र मन्थनका क्रममा अमृत सँगै निस्किएको कालकुट विष पान गरेर आफ्नो गलामा राखी समस्त जगतलाई विषको दुष्प्रभावबाट जोगाएका थिए, तिनै भगवान शिवको आराधना हुने विशेष दिनका रुपमा शिवरात्रीलाई लिने गरिन्छ । शिवको यो गाथा कमैले सम्झेका छन् । अरुको कल्याणका लागि आफूलाई जोखिममा राख्ने अनि भक्तहरुको पुकारमा छिट्टै खुशी हुने देवताका रुपमा पुराणहरुमा शिवको चर्चा गरिएको पाइन्छ । बाघको छाला र नागको माला लाउने, डमरु बजाउने, त्रिशुलधारी, शीरमा चन्द्रमाले शोभित भएका अनि जटायुक्त केशरासी भएका भगवान शिवको हालको छवि भने बेग्लै भएको छ । भगवान शिव र भाङ्ग–धतुरो एक अर्काका पर्याय भएका छन् । आधुनिक परिभाषामा शिवप्रतिको आस्था कम भएको प्रष्टै देख्न पाइन्छ । भगवान शिवलाई गाँजा चरस खाने अनि हरेक प्रहर नशामा लीन भएर रहने नशाका देवताका रुपमा स्थापित गर्ने काम नयाँ पुस्ताले गरेको छ । शिवका चेला हौँ भन्नुको मतलब अबलाई गाँजा चरसका अम्मली हौँ भन्नु बराबर भएको छ । त्यसै अनुरुप शिवरात्री शिव आराधनाको दिवस भन्दा पनि बढि गाँजा चरस खाने दिनका रुपमा विकसित हुँदै गएको छ । देशभरका शिवालय आसपासका बाबाहरुले शिवरात्रीका अवसरमा शिवबुटी भन्दै यस्ता लागु पदार्थहरुको खुल्ला रुपमा कारोवार गर्ने गरेको र यसमा कहिँ कतैबाट पनि छेकबार नभएकोले यो कुसंस्कारले स्थापित मान्यता पाउन थालिसकेको छ । अन्य दिनमा यस्ता पदार्थहरु लुकिछिपी कारोवार हुने हुँदा नयाँ अम्मलीहरुका लागि यस्ता लागु पदार्थ पाउन त्यति सहज नहुने तर शिवरात्रीका दिनमा भने सहज रुपमा उपलब्द्ध हुने भएकाले पनि यस दिनदेखि यस्ता नशा सेवन गर्ने नयाँ जमातहरु थपिने कुरा स्वतः अनुमान लगाउन सकिन्छ । यसरी शिवरात्रीलाई भाङ्ग–धतुरो लगायतका अन्य नशालु पदार्थ सेवन गर्ने अवसरका रुपमा विकसित गदै जान लागिएको हालको सन्दर्भमा यस पावन दिन प्रतिको फेरिएको आस्थाको विश्लेषण एवं व्याख्या गर्नु अति जरुरी भइ सकेको छ । शिवरात्रीका बेला शिवालयहरुमा जम्मा हुने युवा पुस्ताहरुका हातमा विरलै फुल अक्षता देख्न पाउनु हुन्छ । उनीहरुको धेय शिवालयमा पुजापाठ गर्ने भन्दा पनि शिवालयका बाबाहरुको प्रसाद थाप्ने हुन्छ । कतिको धेय शिवालय धाउने पार्वतीहरुको दर्शन गर्ने हुन्छ । शिवरात्रीका दिनमा सडक पेटीमै भाङ्ग र गाँजाको कारोवार हुने भएकाले शिवरात्रीको हालको दिनको परिभाषा बेग्लै भइ सकेको छ । ‘पशुपतिको जात्रा सिद्रको व्यापार’ भन्थे तर त्यो जात्रामा त थुप्रै कुराको व्यापार हुन्छ । अबलाई भने त्यस भनाइलाई ‘पशुपतिको जात्रा गाँजाको व्यापार’ भन्दा त्यति फरक पर्ला जस्तो मलाई लाग्दैन । हुन त गाँजा चरस नेपली बजारमा पाउनका लागि शिवरात्री नै कुरिरहनु पर्दैन । प्राय युवा जमातहरु जम्मा हुने पसलहरुमा पाँच रुपैयाँ गोटाका दरले चरेसका डल्लाहरु सहजै पाइन्छन् । पाँच रुपैयाँमा चरेस, पाँच रुपैयाँको सूर्य चुरोट, चुरोटमा भ¥यो बम भोले गायो अनि त त्यसै कैलास पुगिन्छ । नेपाली बजारा हामीले अनुमान लाए भन्दा सहजै गाँजा चरसको कारोबार हुने गरेको छ । किलोका किलो गाँजाबोकेका झोलाहरु लोकमार्गमै यताउता गराउने गरेको कुराहरु सुन्दा म पनि पहिले अकमक्क भएको थिएँ । लोकमार्गमा यात्राका क्रममा बसका यात्रुहरुलाई मात्रै निकुञ्ज परिसरका चेकपोष्टहरुमा जाँच हुने तर मोटरसाइकल यात्रीहरुलाई मोटरसाइकलको नम्बर र लाइसेन्स नम्बर दर्ता गराएर जान दिइने भएकोले पनि यस्तो पैठारी सहज भएको हो । फेरी निकुञ्जका पोष्ट नपर्ने ठाउँमा त झन् सजिलो हुने भइगयो । गलत काम गर्नेहरुलाई रोक्न त त्यति सजिलो छैन तर त्यस्ता गलत कार्यहरुलाई हाम्रा आस्थासँग जोडेर आस्था मैल्याउने काम गर्नु दिनु राम्रो होइन । शिवका नाममा गाँजा चरसको कारोवार फुक्का गरिनु पक्कै पनि हाम्रो धर्ममाथि खोट देखाउने ठाउँ बनाउनु हो । गाँजा चरसले हानी गर्छ भन्ने जान्दा जान्दै र तिनको कारोवार अवैध हो भन्ने जान्दा जान्द यस्ता अवसरहरुमा तिनको कारोवार फुक्का पार्नु भनेको त्यस्ता अम्मलीको संख्या बढ्नमा मद्दत गर्नु मात्रै हो । हामी मध्ये कसैलाई पनि हाम्रो भावी पुस्तालाई यस्ता चीजहरुको सेवनलाई संस्कारका रुपमा हस्तान्तरण गर्ने इच्छा नहोला । गाँजा चरसका अम्मली स्वयं पनि आफूलाई बिग्रेको भनि भन्छन् । उनीहरु स्वयंलाई पनि आफ्नो सन्तानले आफूले बिराएर समातेको बाटो नसमातोस् भन्ने पक्कै पनि लाग्छ होला । यदि त्यसो हो भने हामीले यस्ता कुराहरुका बारेमा अहिले देखि नै सोच्नु पर्ने जरुरी भइ सकेको छ । आस्थाको नाममा नशाको कारोवार हुनु र धर्मका नाममा कुरीतिलाई बढावा दिनु पक्कै पनि उचित होइन । यदि भोलिका दिनमा पनि हामीले अफुलाई सनातन धर्मी भनेर चिनाउने इच्छा राख्छौँ भने हाम्रो धर्म र संस्कारसँगै बेलाबेला जोडिने यस्ता कुरीतिहरुलाई उन्मुलन गर्नतर्फ ध्यान दिनु पर्छ । देश विकास र समाज विकासको खाका कोर्ने हाम्रो युवा जमात यस्ता कुसंस्कारबाट ग्रसित भए भने देशको भविष्य कता तिर जाला भन्ने कुरा सोच्नु जरुरी छ । शिवरात्रीका बारेमा रिपोर्टिङ्ग गर्ने सञ्चार माध्यमहरुले पनि यस्ता कुसंस्कारहरुका बारेमा प्रचार प्रसार गरी तिनलाई निरुत्साहित गर्ने खालका सामग्रीहरु प्रशारण गर्नु पर्छ ।
एक पटक एक जर्मन नागरिक नेपाल भ्रमणका क्रममा आएको बेला उनले बोकेको किताबको गातामा पशुपति क्षेत्रका जीउभरि खरानी धसेका भारतीय मूलका बाबाले मजाले चिलिम खाइरहेको देखाइएको थियो । कस्तो विडम्बना प्रकृतिका अनगिन्ती बरदानले परिपूर्ण नेपालको प्रतिनिधित्व गर्ने छवि एउटा गाँजा खाने बाबाले नेतृत्व गरेको । यस किसिमको छविले हिप्पीहरुलाई त हाम्रो देशमा तान्ला तर जुन खास पर्यटकहरु हुन् उनीहरु त्यही बाबाकै लागि र उनको चिलिम कै लागि मात्र यहाँ आउलान जस्तो मलाई लाग्दैन । यस्ता बिगारिएका छविका बारेमा हामी सबैले ध्यान दिनुपर्ने बेला आइसकेको छ । हामीलाई एक पुस्ताले कलाकौशलले भरिपूर्ण मठ मन्दिरहरु र देवलहरु दियो । हामीले ती देवलहरुलाई समाजले अवैध ठान्ने कार्यहरु गर्ने ठाउँका रुपमा प्रयोग ग¥यौँ । हामीलाई एक पुस्ताले गौरवशाली संस्कार र संस्कृति प्रदान ग¥यो हामीले त्यसलाई आफ्नै परिभाषाहरु दिएर कुसंस्कार र कुसंस्कृतिमा परिणत गरिदियौँ । हाल आएर हामीसँग भावि पुस्तालाई दिनलायकको गौरवशाली संस्कृति नै पनि बाँकि छैन । हामीसँग हाम्रा भावि पुस्तालाई दिनलायक कुनै आस्था पनि छैन । आफ्नो मौलिकताको हामीले इतिहास सम्म पनि बनाउन सकेनौँ । ती त्यसै लोप भएर जाने भए । पशुपति क्षेत्रमा भजन किर्तनको तयारी भइरहँदा पछाडिको शिवलिङ्ग भएको मन्दिर भित्र युवाहरु गाँजा भरेको चिलिम पालैपालो तानिरहेको देख्दा मेरो मनमा यीनै कुराहरु खेली रहे । अनि यी सबै बाट आहत भएर तिनै आराध्य देव पशुपतिनाथलाई भन्न कर लाग्योः जय सम्भो आस्था अलि कम भो !

Comments

Popular posts from this blog

निर्मलालाई न्याय

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

Growing up in a Suburb (Story)