बदमास भए म तिम्रै कारणले !

 तिमी नारी किन यति हठी ? –१४
सबैले मलाई ‘तँ त बिग्रीछस’ भनेर भन्छन् । हो अचेल मलाई सबैले यसै भन्छन् । म फेरिएँ रे ! म पहिले जस्तो छैन रे ! अनि अहिले म बिग्रिएँ रे ! तर मैले आफूमा त्यस्तो विधि केही फरक पाएको छैन । सिवाय तिमी मेरो जीवनमा आयौ, अरु ममा केही परिवर्तन भएको छैन । हो तिमी आउनुले केही परिवर्तनहरु आएका छन् । हिजो सम्म जीवनमा निरासा सिवाय केही नपाउने मेरो मनले अहिले जीवनलाई छुट्टै दृष्टिले हेर्न थालेको छ । थाह छ, म आशावादी भएको छु । म जतिबेला जीवनको एकदमै अप्ठेरो मोडमा उभिएको थिएँ त्यसबेला तिमीले मेरो मनमा स्थान खोज्यौ । मलाई मेरै सम्स्याले अँठ्याएको बेला तिमीले अपनाउन खोज्यौ । तिमीप्रति मैले कत्तिको न्याय गरेँ–गरेन मलाई थाह छैन । तर यत्ति अवश्यै भन्छु कि मैले सकेसम्म तिमीलाई मेरो भद्रगोल जीवनवाट अलग राख्न चाहेको थिएँ । हो ममा पनि इच्छा थियो, कोही यस्तो साथी बनाउने जोसँग मैले मेरा मनका कुराहरु साँट्न सकुँ । जसले मलाई मेरा अप्ठेरा पलहरुमा साथ देओस् । जसले मेरा कमीहरुलाई पुरा गरिदेओस् । मैले तिमीमा मेरो परिपूर्णताको प्रतिविम्ब खोजेको थिएँ । त्यसैले त मैले मुखले जे भनेको भएपनि मनमनै तिमीसँग जीवन विताउँदाका पलहरु कल्पी सकेको थिएँ । मलाई थाहा छैन मेरो जीवन मैले कल्पना गरे जत्तिको सुखद् हुन्छ वा हुँदैन । तर पनि म सकेसम्म आफूखुशी बाँच्ने कोशिस गर्नेछु । हो तिमी मेरो जीवनमा आउँदा मेरो जीवन प्रतिको सोच र योजनाहरुमा तिमी पनि समाविष्ट भएकी छ्यौ तर पनि म सकेसम्म तिमीलाई बन्दि बनाउने छैनः मेरो चाहनाहरुको र मेरा महत्वाकांक्षाहरुको । तिमी अहिले जस्तै स्वतन्त्र हुनेछ्यौ । पछिपनि तिमीले यस्तै छुट पाउने छ्यौ जुन अहिले पाएकी यस्तै छुट पाउने छ्यौ जुन अहिले पाएकी छ्यौ । होला तिमीले गर्ने निर्णय सँधै मेरा हकमा नहोलान् तरपनि म बुझ्ने कोशिस गर्नेछु । केही समयकोलागि तिम्रा असमान्य निर्णयहरुले मलाइ आहत र हताहत अवश्यै पार्नेछन् तर मैले जीवनमा यस्ता पलहरु पनि विताइसकेको छु जसभन्दा अप्ठेरा क्षणहरु सायदै मेरो जीवनमा आउलान् । जीवनमा भोगेका उतारचढावले मलाई असमयमै पाको बनाएको छ । मेरो जिम्मेवारी वोध र वास्तविक जीवनका यथार्थताप्रतिको मेरो गलत ठम्याइले मलाई जीवनमा धेरै निराश पलहरुको सामना गर्न वाध्य तुल्याएको छ । जीवनमा मैले आत्मसमर्पण गर्ने सोच राखेको बेलामा तिमी मलाई विथोल्न आयौ । हो मैले सबैकुरा त्याग्ने निर्णय गरिसकेको थिए । म आफ्नै गोरेटो सजाउने दाउमा थिए । त्यो गोरेटोमा कसैको लागि पनि स्थान थिएन । म त्यहाँ आफू एक्लै हिंड्न चाहन्थे । हो गाह्रो हुने थियो होला त्यो यात्रा यदि तिमीले मलाई मेरो सहयात्री हुने सान्त्वना नदिएको भए । तिमी आयौ मेरो त्यो बाटो केही फैलियो । त्यसको पुछारमा मैले मेरो कल्पनाको सहर सजाएको थिएँ । अब त्यसमा तिम्रो चाहनाको बुट्टाहरु समेत थपिएकाछन् । पहिले राम्रो थियो अहिले अझ राम्रो भएको छ । हो केही जटिल भने भएको छ । तिम्रा चाहनाका बुट्टाहरु बुझ्नलाई मैले तिम्रो मन छाम्न सकेको हुनुपर्छ । कहिलेकहीं त्यहीं निर गल्ती भइदिन्छ । सामान्य मनमुटाव हुन्छ, तर तिमी त्यसैलाई जीवनको अन्त्य ठान्छौ । म चाहन्छु तिम्रो जीवन ममा सिमित नहोस् । म भन्दा पर जाओस् । यदी यात्राबीचमै मैले विश्राम लिनु पर्ने भयो भने म तिमीलाई मेरो विश्रान्ती धाम कुरेर बसाउन चाहन्न बरु तिमी मेरो अस्तु बोकेर हाम्रो सपनाको सहरको कुनाकुनामा छरिदिनु । हो, मैले चाहेको यही हो । यसलाई तिमी पागलपन भन वा जे भन, मेरो मनले चाहेको यही हो । अब रह्यो म बिग्रिएको कुरो । हो अचेल म आफैसँग कुरा गरिरहेको हुन्छु । आफैआफै हाँस्ने गर्छु । पहिले म एक्लो हुने पलहरुमा तिम्रा यादहरु साथमा हुन्छन् । पहिले जीवनमा आएका खुशीका पलहरु मेरा नितान्त हुन्थे भने अब म तिनमा तिम्रो पनि अंश भेट्टाउँछु । पहिले एक्लै बरबराउँथे त अहिले तिमीसँग फोनमा बर्बराउँछु । पहिले आफू देखि दुःखी थिए, जीवन देखि निराश थिए । अब जीवनमा नयाँ किरण उदाएको छ । त्यो किरणले मेरा आँखाबाट खसेका आँशुहरुमा ठोकिएर इन्द्रधनुषका नयाँ धर्साहरु कोरेका छन् । तीनै धर्साकालागि मैले मेरो कायापलट गरेको छु । अचेर दुःखान्त नाटक हेर्ने मन हुँदैन । टेलिभिजनका पर्दाका प्रेमालाप भन्दा तिमीसँगको कुरा मिठा लाग्छन् । सुःखान्त गितहरु गुन्गुनाउन थालेको छु । कालो रंग देखि घृणा हुन थालेको छ । हर्षका रंगले जीवनमा स्थान पाउन थालेका छन् । हो म विग्रेको भनेको यही हो । सबैले यसलाई म बिग्रिएको भन्छन् । तिम्रो सामिप्यता रुचाउनु र तिमीसँग प्रत्यक्ष होस् वा भावनात्मक रुपमा निकटता रोज्नुलाई अरुले म विग्रिएको भन्छन् । जीवनमा सबैको चित्त बुझएर सकिने रहेनछ । त्यसैले मैले मेरो जीवन पनि आफ्नो आकांक्षामा बाँच्न चाहेँ । मेरो आकांक्षामा तिमी थियौ । तिम्रो आकांक्षा र मेरो आकांक्षा मिलाएर जिउन खोज्दा मान्छेहरुले फेरिएको भने । तिमी प्रति उठ्ने नजरहरुप्रति उठेको रीसलाई अरुहरुले पागलपन भने । तिमीलाई म भन्दा बढि माया गर्ने मानिस सायदै कोही होला अनि म तिम्रो जीवनमा वसाईकी झुमाको जीवनमा आएका रीकुटेहरुजस्ताहरुको अस्तीत्वालाई कसरी सहजै लिन सक्थे । तिनीसँग जाइ सम्म पनि लागे । दुनीयाले ‘नपाउनेले ...पायो कान चपाइ मा¥यो’ भनि उल्याउन थाले । मैले सबैलाई नजरन्दाज गरेँ । बोतलको नशाले त मलाई कहिल्यै तानेन तर जीवनदे दिएका मातहरुनै बढि नशालु सावित भए । हरदम तिमीसँगको निकटताको अपेक्षा गरिरहनु अनि तिमी नहुँदाको अवस्थामा तिमीसँगका पलहरुमा हराएर एक्लै मुस्कुराइ रहनुले मलाई बदमासको उपाधी भिरायो । अनि सबैले मलाई ‘तिमी त कति सोझो थियौ । अचेल खुब बदमास भएका छौ’ भन्न थाले । तिमी नै भन न म बदमास भएको हो र ? म यदि बदमास भए भनेपनि तिम्रै कारणले हो । तिमी मेरो हँसिलो जीवनमा आफ्नो उपस्थितीलाई कारण ठान्छौ भने मेरो परिवर्तित छवि पनि तिम्रै देन हो । म तिम्रै कारणले बदमास भएको । मैले यो गुनासो अरुबाट पनि सुनेँ । उनीहरु सबै तिमी जस्तै कुनै नारीका लागि नै त्यसरी परिवर्तित भएका रे ! आफ्ना आमाबाबुको भन्दा तिम्रा चाहनाको बढि सम्मान गर्ने प्रेमीहरुलाई तिम्रा संगीनीहरुले असल बाटो पनि देखाउन सक्थ्यौ । तिमीले चाहेको भए तिमी उनीहरुलाई सुराको मातमा डुबेर नारायण गोपालका गित गाउनेहरुमा बदल्नुको सट्टा म जस्तै आँशुका ढिक्कामा परेका जीवनका आशाका किरणहरुले बनाएको इन्द्रधनुषको रंगमा रमाउन सक्ने बनाउन सक्थ्यौ । तर सबैका लागि तिमी मेरालागि जस्तै उदार हुन सकिनौ । आज त तिमीसामु म आफ्नो पुरानो प्रश्नै पनि तेस्र्याउन नसक्ने भएको छु । तिमीलाई हठी भनुँ त कुन हकमा । तर यदी मलाई कसैले बदमास भन्छ भने म तिम्रै कारणले म बदमास भएँ । तिमीलाई खुशी दिन अनि तिम्रा दुःखका पलहरु खुशीका अवसरमा परिणत गर्न मैले कठोर समेत हुनु प¥यो । तिम्रा आँशुको भेललाई मैले रुखो किनाराको बालुवा भएर ग्रहण गर्नु प¥यो र त तिमी त्यति मुस्काउने भएकी छौ । तिमीलाई थाह छ मैले जस्तै तिमीले पनि आफ्ना जीवनमा परिवर्तनहरु फेला पारेकी छ्यौ । तिमीले पनि अचेल मैले देखेको साझा सपनामा आफ्नो स्थान बनाउन थालेकी छौ । म बदमास भएरै भएपनि तिमीलाई सुखी देख्न चाहन्छु । मेरा हरेक कठोर व्यवहारको अन्तमा तिमीप्रतिका प्रेमपूर्ण वार्तालापहरुले तिम्रो मुहारमा ल्याएका हर्षका रेखाहरुको आदी बनेको छु । अनि तिनै रेखाहरुलाई बारम्बार तिम्रो मुहारमा ल्याउन म बदमास हुने गर्छु । हो म बदमास भएछु तिम्रै कारणले, र मलाई बदमास हुन मज्जा लागेको छ ।

Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

सुधीर शर्माकाे प्रयोगशाला