तिम्रा श्लीलता र अश्लीलताको पर्खाल भत्काइ लेख्दा !
तिमी नारी किन यति हठी ? –७
मलाई थाह थियो तिमीले मेरो अपराध कबुलीलाई पनि सहज रुपमा लिने छैनौं भन्ने । सँधै त तिमी मलाई पुरुष आडम्बरले ग्रसित छौ भन्थ्यौ । मैले कत्रो आँट गरेर तिमीसामु आफ्ना गलत कृत्यहरुको कबुली गरेको थिए । परिणाम के भयोः तिमीलाई थाहै छ । तिमीले मलाई म छाडा भएको भन्यौ । तिमीले मलाई तिमीमाथि झटारो हानेको भन्यौ । अनि कहिले सम्म यस्तो गरिरहन्छौ भनेर प्रश्न समेत ग¥यौ । मेरो पहिले जस्तै उत्तर छः‘जबसम्म तिमी प्रत्युत्तर फर्काउँदैनौ ।’ जबसम्म तिमी आफुमाथिको अन्याय अत्याचारको कारण आफ्नै संकिर्णता हो, अनि आफ्नै सहिदिने बानी हो भन्ने बुझ्दैनौ तब सम्म । जबसम्म गलत नियतले उठेका मेरा नजरहरुलाई तिमी झपार्दैनौ तबसम्म । जबसम्म मलाई तिमीमाथि जाई लाग्ने आँट भइरहन्छ तबसम्म तिमीले यो झटारो खेपी रहनुपर्छ । अब तिम्रो हातमा छ यो झटारो कहिले टुङ्ग्याउने भन्ने निर्णय गर्ने । तिमी नारी भनेको मेरो जीवनको आधा हिस्सा हौ । तिमीले नै त भन्छौ रथका दुई पांग्रा हुन नर र नारी भनेर । अनि दुबै पांग्रा सबल नहुँदा सम्म कसरी गुड्ला त हाम्रो गाडी सररर ! त्यसैले तिमीले आफुलाई सबल र सक्षम नबनाउँदा सम्म यो झटारो हानिरहन्छु । बरु चुक भएको बेलामा भन्ने गर मलाई पनि आफुलाई सच्याउने मौका मिल्छ ।
तिमी नारी माथि यौन हिंसाका घटनाहरु घट्ने गरेको कुरा कुनै नौलो होइन । अनि त्यस्ता घटनाहरु म जस्तै पुरुषहरुबाटै न हुने हो । अनि मैले एक पुरुषको रुपमा त्यस्ता घटनाहरु आफुले गरेको कबुली गर्दा तिमीले त्यहाँ अश्लीलता मात्रै देख्यौ होइन ? तिमीले त्यसमा पीडा देखेनौं । मेरो आत्मा रोएको देखेनौं । कल्पना गर त, तिमीलाई विश्वास गर्ने मान्छे माथि तिम्रो कुनै व्यवहारले चोटपर्दा तिमी आफैलाई पनि कति गलतबोध हुन्छ ? मलाई पनि त्यस्तै भएको थियो । सोच्न त मैले पनि सोचेको थिएँ आफ्नो अपराधको गाँठो मृत्युसँगै फुकाउँला भन्ने । तर गाह्रो भयो । तिमीसँग आँखा जुधाउन साह्रो भयो र लेखेको । तर तिमीले सजिलै मलाई अश्लील भएको भनेर टारिदियौ । त्यसैले आज सकेसम्म श्लील भएर लेख्दैछु । सक्छौ भने यसपालि अलि फरासिली भएर पढिदिनु अनि व्यवहारमा उतारिदिनु ।
तिमीनारी माथि जाइलाग्नेहरु अर्कै ग्रहबाट आउने अन्तरीक्षका जीव हुन भनेर त पक्कै मान्दैनौ होला नि तिमी आफै पनि । म जस्तै तिमीसँगको विभिन्न नाताहरुमा भएका तिम्रै वरपरका पुरुषहरु न हुन तिमीमाथि शोषण गर्ने । अनि तिम्रो प्रतिक्रिया प्राय आफुमाथिका अत्याचारहरु दबाएर राख्ने र आउने पुस्ताहरुलाई समेत त्यही संस्कारमा हुर्काउने हुन्छ । तिमी आफ्नै नियती आफ्नो भावी पुस्तालाई पनि किन भोगाउन चाहन्छौ । त्यही मैले बुझेको छैन । आमाकोरुपमा तिमीले बालक छोरी देखि लिएर अन्य सम्पूर्ण नाताहरुमा भइसकेकी हुन्छ्यौ । तिमीलाई थाहा हुन्छ, जीवनको कुन घडिमा तिमीमाथि के कस्ता विश्वासघात भए भन्ने । तिमीलाई थाहा हुन्छ तिमीलाई तिम्रै दाजुभाईले समेत तिमीबाट कसरी आफ्नो हवस मेट्न चाहे भन्ने । अनि तिमीले चाह्यौ भने तिमी त्यो कालो इतिहासलाई आफ्नो छोरीलाई सिकाउन सक्छ्यौ । उसलाई तिमी आफुले भोगेको नियतीको शिकार हुनबाट बचाउन सक्छौ । अँ हँ ! तिमी त्यसो गर्दैनौं । त्यसो गरे भने त तिमी पनि मै जस्तो छाडा हुने भइगयौ नि ! तिमीलाई त जसरी भएपनि आफूलाई श्लील देखाउन छ, भले त्यो श्लीलताको मोल भोलि तिम्री छोरीले तिम्रै जस्तो नियतीहरु भोगेर चुकाउन किन नपरोस । तिमी विद्यालयमा शोसित हुन्छ्यौ, कार्यालयमा शोसित हुन्छ्यौ, समाजमा उत्पीडित हुन्छौ, परिवारमा आतंकित हुन्छौ, तरपनि चुपचाप सही दिन्छौ ः तिम्रो श्लील हुनुको मोल सायद तिमीलाई महँगो परिरहेको छ । र पनि किन यो श्लीलताको पछ्यौरीले तिम्रो जीउभरीका चिथोरेको निशानहरु र नीलडामहरु छोपी रहन्छ्यौ ?
म तिमीलाई यो पनि भन्दिन कि तिमी समाजमा आएर आफूमाथिका उत्पीडनहरुलाई चिच्याइ चिच्याइ सुनाऊ । मलाई थाह छ, त्यसो गरेभने तिम्रै चरित्रमा औँला ठड्याउनेछन् म जस्ता पुरुषहरुले । तिमीलाई जीउन गाह्रो हुने परिस्थितिको सिर्जना गर्नेछन् । तिम्रा नग्न तस्वीरहरुले अखबारको प्रथम पृष्ठमा स्थान पाउँदा तिमीले झुण्डिनुपरेको मैले भुलेको छैन । हुन त तिमीमाथिको अन्याय त्यो तस्वीरले सोझै झल्काउँथ्यो । तिम्रा शरीरमा वस्त्रको एक टुक्रा पनि थिएन । तिम्रा आँखाभरि आँँशु थिए । तिमी चिच्याइरहेकी थियौ । सायद प्रतिकारमा हुनुपर्छ । तर त्यो तस्वीर हेर्नेहरुले त्यसलाई तिमीमाथिको अन्यायसँग होइन तिमी छाडा भएकोले यस्तो नियती भोग्नु परेको भनि हेरे, मेरो यसअघिको कबुलीलाई जस्तै । तिम्रै साथीसंगीहरु मध्ये धेरैले तिमीलाई नै गल्ती देखाए । तिमीले पनि हतारै गरेर आत्मसमर्पणको बाटो रोज्यौ । आँखिर तिमी पनि त पारिजातको शीरिषको फुललाई नारीवादी उपन्यास ठान्नेहरुमा पर्छौ जसमा म जस्ता सुयोगवीर नाम गरेका भमराको चुम्बन मात्रैले तिमी सकम्बरी(बरी) नाम गरेकी शीरिषलाई ओइलीई झर्न बाध्य बनाउँछ । तर म त्यसलाई समर्पणवादी र पलायनवादी सोच भएको उपन्यास ठान्छु । सायद पारिजातले पछि यो कुरालाई बुझेरै शीरिषको फुललाई जलाइ दिए पनि हुन्छ भनेर भनेकी होलिन् । तर तिमीले त्यो बुझ्न चाहेनौ ।
मेरो ईच्छा त के भने तिमी आफ्नो आउने पुस्तालाई अहिलेको किशोरकिशोरीलाई यसका बारेमा सचेत बनाउ । उनीहरुले गलत बाटो रोज्नु पूर्व उनीहरुलाई आफ्ना अनुभवहरुले शिक्षित बनाऊ । तिमीलाई थाह छ, किशोर बयले तिम्रा अर्तिहरुलाई कहिल्यै सुन्ने छैन । तिमीले संगिनी भएर उनीहरुलाई आफ्नो कथा भन्नु पर्नेछ । उनीहरुलाई दाँतको बीचमा जिब्रो भएर बस्न सिकाउनु पर्नेछ । यसको मतलब उनीहरुलाई घरका पर्खाल भित्र थुनिएर बस्न सिकाउ भनेको होइन । मैले त उनीहरुलाई आफूमाथि गिद्दे नजर लगाउनेहरुबाट बच्न पो भनेको । अनि बेला मौकामा तिनीहरलाई नंग्याउ भनेको । परिवार भित्रका उत्पीडनका कुरालाई तिमी आमा सामु आएर सुनाउन सक्ने माहोल बनाउ भनेको । कम से कम यसो गर्दा उसमा कुनै किसिमको कुण्ठा र गलतबोध रहने छैन । न त सानो उमेरमा भएको शोषणका कारणले बल्झिएको प्यासले उसलाई गलत बाटो रोज्न उन्मुख गराउने छ । एउटा जीवन जोगिने छ । एउटा होइन हजारौं–लाखौं जीवन जोगिने छ । तिम्रै चेलीको जीवन सप्रनेछ । मेरै चेलीको जीवन सप्रीनेछ । तिमी चाहँदैनौ र तिमी भन्दा फरक बालापनको अनुभव तिम्री चेलीले सँगालोस भनेर । तिमी चाँहँदैनौ र तिमी भन्दा फरक किशोरावस्था तिम्री चेलीले भोगोस भनेर । तिम्रा किशोरवयमा गरेका गलत निर्णयको सिख तिम्री छोरीहरुलाई तिमी सुनाउन चाँहदैनौ र ? भन नारी तिमी किन यति हठी भएकी ? श्लीलताको घेरा बाँधेर आफुमाथिको अन्यायको इतिहासलाई किन बारम्बार दोहो¥याउन चाहन्छौ ? सँधैभरि मलाई पुरानै गलतबोधको बोझले किन थिच्न चाहन्छौ ? तिमी माथिको दमन मेरो पनि चाह होइन । त्यो त समाजले मलाई दिएको छाडा हुने अधिकार अनि तिमीले सहिदिएर दिएको मूक सहमतिको उपज हो । तिमीलाई दुःख दिने, तिम्रा आँशु खसाल्ने मन त मेरो पनि कहाँ हो र ? आँखिर तिमी पनि मेरै आमा, पत्नी, बहिनी, दिदी, छोरी, आदिआदि होइनौ र ? अनि म मेरै आफ्नालाई किन पो पिराउन चाहँदो हुँ र ?
मैले पुरानै विषयमा लेख्न चाहेको थिएन । तर भरखर हेरेको रस कफम्यान र जाना ब्रीस्कीको बर्न इन्टू ब्रोदेल्स (बेश्यालयहरुमा जन्मिएका) शीर्षकको बृत्त चित्रले तिमीमाथिको हिंसा र तिम्रा सन्तानले विनासित्ति भोग्नुपरेको दुःख–कष्ट फेरि पनि मेरो सामु ल्यायो । अनि फेरि लेखें । जानाले कसरी बेश्यालयमा जन्मेका आठ बालबालिकाहरुलाई उनीहरुको नारकीय जीवनबाट मुक्ति दिलाइन भन्ने कथा थियो त्यसमा । नारकीय अवस्थामा जन्मेका ती वालवालिकाहरुले यदि कसैको सहयोग नपाएका भए तिनीहरु पनि बेश्या र दलालमा रुपान्तरित हुने थिए । अनि फेरि पुरानै चक्र दोहोरिने थियो । कहिले कहिले त मलाई यस्ता उत्पीडित समाजका सबै नारी पुरुषको भुसिया कुकुरको बन्ध्याकरण गरेजस्तै बन्ध्याकरण गराउने मन लाग्छ । एकै पुस्तामा उत्पीडनको कथाको अन्त्य, लौ जा ! थाह छैन मलाई किन अचेल बन्ध्याकरणमा यति रुचि बढेको छ । तर बन्ध्याकरणलाई म धेरै समस्याको समाधान मान्न थालेको छु ।
म चाहन्छु जाना ब्रीस्कीले जस्तै तिमी सबै नारीहरु केही गर आफ्नो स्तर सुधार गर्ने काम । परिवारबाटै सुरु गर, गाउँ समाजबाटै सुरु गर, देशबाटै सुरु गर । तिम्रा प्रयासहरुमा हातेमालो गर्ने म छँदै छु नि ! आँखिर मलाई पनि त मेरी छोरीलाई सुनिश्चित भविष्य दिनु छ । उसले शोषित र उत्पिडित नहुने संसार उसका पोल्टामा हाल्नु छ । तिमीले किन नबुझेकी ? यस्तै गर्छौ र त भन्न मन लाग्छ तिमीलाईः तिमी नारी किन यति हठी ? भनेर ।
चबmबल।उबलभचग२नmबष्।िअयm
Comments
Post a Comment