व्यालेन्टाइन्स डे :वास्तविकता र होडबाजी
हालको लागि सबै भन्दा चर्चाको दिवस भनेकै व्यालेन्टाइन्स डे । अचेलका हरेक बालकलाई अनि हरेक किशोर किशोरीहरुलाई थाहा भएको विषय । सन्त व्यालेन्टाइन्स डे जसलाई आजभोलि व्यालेन्टाइन्स डे भनेर छोट्याइएको छ । यो दिवस १४ फेब्रुअरीमा इसाइ धर्मका शहीदका सम्मानमा मनाइन एक दिवस हो । यसको सुरुवात पोप गीलासीयस प्रथम (Pope Gelasius I)ले सन् ४९६ देखि गरेका हुन् । पछि सन् १९६९ मा आएर पोप पल छैठौँ(Pope Pau VI)ले यसलाई रोमन क्यालेन्डरबाट हटाएका थिए ।
अंग्रेजी साहित्यका कविताका पिता (Father of Poetry)भनेर जानीने जफरी चसरका पालामा आएर यो दिवसले प्रेमसँग सम्बन्धित दिवसको रुपमा पहिचान कायम गर्न सफल भयो । पछि पन्ध्रौँ सताब्दीमा आएर यो प्रेमी प्रेमिकाले एक आपसमा प्रेम प्रस्ताब राख्ने र माया बाँड्ने दिवसका रुपमा मनाइन थाल्यो । त्यसपछि व्यालेन्टाइन्स डेका दिनमा विभिन्न उपहारहरु साँटासाँट गर्ने क्रमहरु सुरु भयो । अचेल आएर पहिलेका हातले लेखेर बनाइने ग्रिटिङ्ग कार्डहरु छापिएर व्यापारिक रुपमा उत्पादन गरिने गरिन्छन् । त्यस्तै विभिन्न सपिङ्ग मलहरु, होटेल तथा रेष्टुरेन्टहरुमा पनि व्यालेन्टाइन्स डे विशेष कार्यक्रमहरु आयोजना गर्ने गरेका छन् ।
पहिले पहिले इसाइ धर्मका सहीदहरुलाई व्यालेन्टाइन नामाकरण गर्ने गरिन्थ्यो । फेबु्रहरी १४ मा सम्मान गरिने त्यस्ता व्यालेन्टाइनहरुमा व्यालेन्टाइन अफ रोम र व्यालेन्टाइन अफ टेर्नी (Valentine of Rome and Valentine of Terni) पर्दछन् । व्यालेन्टाइन अफ रोम रोमका पादरी थिए, जसले सन् २६९ तिर शहादत प्राप्त गरेका थिए । त्यस्तै व्यालेन्टाइन अफ टेर्नी पनि रोमकै पादरी थिए र उनले सन् १९७ मा इम्पेरर अरेलियनका पालमा चरम यातनाका कारण शहादत प्राप्त गरेका थिए । क्याथोलिक इन्साइक्लोपेडियाले १४ फेबु्रअरीमा सम्मान गरिने तेस्रा व्यालेन्टाइनको पनि उल्लेख गरेको छ जसले आफ्ना साथीहरुसँगै अफ्रिकामा शहादत प्राप्त गरेका थिए । तर यी तेस्रा सन्तको बारेमा धेरै कुराहरु कहिँपनि उल्लेख गरिएको छैन ।
यी तीनै शहीदहरुको वास्तविक मध्ययुगीन जीवनीमा प्रेमसाग सम्बन्धित कुनै पनि कुराहरु उल्लेख गरिएको छैन । तर जब १४ औँ शताब्दीमा आएर सन्त व्यालेन्टाइनलाई प्रेमका प्रतीकका रुपमा हेरिन थाल्यो त्यति बेलासम्म आएर व्यालेन्टाइन अफ रोम र वयालेन्टाइन अफ टेर्नीको बीचको भिन्नता मेटियो । १४ औँ शताब्दीमा आएर चसरले लेखेका कविताहरु पूर्व वयालेन्टाइन त्यति प्रख्यात भएका थिएनन् । सन्त व्यालेन्टाइनलाई अन्य सन्तहरु जस्तै सम्मान गर्ने गरिन्थ्यो र उनका नाउँमा कुनै छुट्टै गिरिजाघरको स्थापना समेत भएको थिएन ।
सन्त व्यालेन्टाइन प्राचीनतम भएका भए पनि उनलाई फेब्रुअरी १४ मा भाया फ्लामीनीयामा गाडिएको थियो भन्ने बाहेक अरु कुनै पनि कुराहरु जानकारीमा नआएको भन्ने कारण देखाइ सन् १९६९ मा पुनर्लेखन गरिएको रोमन क्याथोलिक क्यालेन्डरबाट १४ फेब्रुअरीको व्यालेन्टाइन्स डेलाई हटाइयो र स्थानीय तथा क्षेत्रीय क्यालेन्डरहरुमा मात्रै सिमित राखियो ।
सन्त व्यालेन्टाइनहरुका बारेमा हालमा जे जस्ता किस्साहरु प्रचलनमा ल्याइएका भएपनि लेजेन्डा अरिया (Legenda Aurea)मा उल्लेख भए अनुसार उनलाई रोमका इम्पेरर क्लडियस द्वितीय (Claudius II)ले इसाइ धर्मावलम्वी भएकै कारण हिरासतमा लिएर पुुछताछ गरेको र सो क्रममा उनी सन्त व्यालेन्टाइनबाट प्रभावित भएको कुरा उल्लेख गरिएको छ । त्यसै क्रमममा क्लडियसले सन्त व्यालेन्टाइनलाई ज्यान रक्षार्थ रोमन पैगन (Roman Pagan) मा परिवर्तित हुन सल्लाह दिँदा सन्त व्यालेन्टाइनले उल्टै क्लडियसलाई नै इसाइ बनाउन प्रयास गर्दा उनलाई मृत्युदण्ड दिइएको थियो । त्यसै क्रममा उनले जेलरकी अन्धी छोरीको आँखा चमत्कारपूर्ण ढंगले ठीक गरिदिएको किस्सा पनि जोडिएको छ । यस बाहेक उनका सन्दर्भमा प्रारम्भिक कथनहरुमा प्रेम सम्बन्धी केही कुरा पनि उल्लेख गरिएको छैन । उनी एक इसाइ धर्मानुयायी थिए र आफ्ना धर्मका लागि उनी शहीद भए ।
पछि आएर उनको यसै किस्सालाई केही परिवर्तित रुपमा क्लडियसले रोमन साम्राज्यको विस्तारका लागि आफ्ना सेनामा अविवाहित सैनिक मात्रै राख्ने र त्यस्ता अविवाहित सैनिकहरुलाई लुकिछिपी विवाह गराइदिने पादरीका रुपमा सन्त व्यालेन्टाइन फेला परेका हुँदा व्यालेन्टाइनलाई पक्राउ गरी जेल हालिएको किस्सा प्रचलनमा आयो
फेरी त्यसै किस्सालाई फुलबुट्टा भरेर, कुनै ऐतिहाँसिक आधार बिना नै, सन्त व्यालेन्टाइनले आफूलाई मारिनु पूर्वको दिनको साँझमा जेलर एस्टेरियस (Asterius)की अन्धी छोरीलाई पहिलो व्यालेन्टाइन कार्ड आफ्नै हातले लेखी पठाएको र त्यसमा ‘तिम्रो व्यालेन्टाइनबाट’(FROM YOUR VALENTINE) भन्ने पंक्ति उल्लेख गरिएको कुरा प्रचलनमा ल्याइयो ।
हालका दिनमा हेर्ने हो भने व्यालेन्टाइन्स डे भन्दा धेरै अघि देखि यसको चर्चा परिचर्चा किशोर किशोरीहरु माझ सुरु हुन थाल्छ । संचार माध्यमहरुले पनि यसलाई प्राथमिकताका साथ प्रचार प्रसारमा ल्याउँछन् । व्यापारिक प्रतिष्ठानर्ले पनि ‘धमिलो पानीमा माछा मार्ने’ या भनौँ ‘पशुपतिको जात्रा सिद्राको व्यापार’को कथ्यलाई चरितार्थ पार्न खोजेको झैँ आभास हुन्छ । इन्टर्नेटको विश्वव्यापी संजालमा सहज पहुँच भएका हाम्रा युवा पिढीहरु पनि इन्टर्नेट मार्फत एक अर्कालाई व्यालेन्टाइन्स डे को शुभकामना दिनमा त पछि पर्दैनन् तर त्यसैका सम्बन्धमा सत्य तथ्य खोज्नका लागि भने कहिल्यै तयार नभएको देखिन्छन् ।
व्यालेन्टाइन्स डे अहिलेलाई एकदमै प्रचलनमा आएको चाड बनेको छ । यस दिवसका दिन आफ्ना मनमा भएका प्रेम भावना मन मिल्ने साथीका सामु राख्ने र मनमिलेका साथीको साथ पाएकाहरुले आफ्ना साथीहरुलाई विभिन्न उपहारहरु बाट खुशी तुल्याउन प्रचलन बढ्दै आएको छ । त्यस्तै व्यालेन्टाइनका अवसरमा विभिन्न नयाँ जोडीहरु हातमाहात काँधमा काँध मिलाएर सहरका सडकहरुमा चहारिएको देख्नु कुनै नौलो कुरा रहेन । त्यस्तै उपहारका पसलहरुमा लाग्ने गरेको भीड पनि हालका दिनमा आएर सामान्य जस्तै भइसकेको छ । उपहार बेच्नेहरुका लागि व्यालेन्टाइन्स डे ले एक राम्रो अवसर जुराइदिएको छ । त्यस्तै रेडियो, एफएम, टिभि लगायतका संचार माध्यहरुमार्फत पनि व्यालेन्टाइन्स डेसँग सम्बन्धित आफ्ना सन्देसहरु आदान प्रदान गर्ने क्रममा पनि विगतका दिनहरुमा बढ्दै गइरहेको छ ।
व्यालेन्टाइन्स डे त आफ्नो ठाउँमा छ हालका दिनमा आएर व्यालेन्टाइन्स डे पूर्वका एघार दिनलाई पनि छुट्टाछुट्टै नामाकंंंंंरण गरिएको छ । ७ फेब्रुअरी लाई गुलाव दिवस (Rose Day), ८ फेबु्रहरीलाई प्रस्ताव दिवस (Propose Day), ९ फेब्रुअरीलाई चकलेट दिवस (Chocolate Day), १० फेब्रुअरीलाई टेडी दिवस (Teddy Day), ११ फेबु्रअरीलाई वाचा–कसम दिवस (Promise Day), १२ फेब्रुअरीलाई चुम्बन दिवस (Kiss Day), १३ फेब्रुअरीलाई अंकमाल दिवस(Hug Day) र अन्तिम १४ फेब्रुअरीलाई व्यालेन्टाइन्स डे । यसरी एक दिनको इसाइ धर्मका प्रचारक वा धर्मका लागि शहादत प्राप्त गर्ने व्यक्तिका लागि मनाइने दिवसलाई अनकानेक रुप दिएर १४ दिनको विजया दशमी जस्तै लामो चाडका रुपमा विकसित गर्न थालिएको छ । अब यस्ता प्रचलनलाई अन्धानुशरण गर्नु भन्दा त्यसका पछाडिको सत्यताको खोजी गर्नु उचित हुन्छ होला । माथि उल्लेखित सबै कुराहरु इन्टर्नेट मार्फत जोसुकैले पनि खोजी गर्न सक्छ । तर त्यसो गर्ने इच्छा कमैले राख्छन् ।
जोडी हुनेहरुका लागि त व्यालेन्टाइन्स डे नहुनेहरुका लागि यो दिवस हीनता बोध गराउने दिवसका रुपमा आउने गरेको छ । अनि त्यस्ता हीनता बोधबाट जोगिन कसैले प्रेमलाई जोडीहरुको बीचमा हुने प्रेममा मात्रै सिमित पारिनु हुँदैन भन्दै आफ्ना परिवारका सदस्यहरुलाई व्यालेन्टाइन्स डेको शुभकामना फेसबुक जस्ता सामाजिक सञ्जालका वेवसाइट मार्फत दिने गरेका छन् भने कसैले यस दिवसले आफ्नो जीवनमा कुनै परिवर्तन नल्याउने खालका भनाइहरु व्यक्त गर्ने गर्छन् ।
कुराको जरो थाहा नपाइ त्यसै हल्लै हल्लाका पछि दौडिने हाम्रो बानीले गर्दा हालका दिनमा यी सबै कुराहरु देख्न अनि सुन्नमा आएका हुन । अझै पनि हामीले यस्ता संस्कारहरु मौलाउन नदिनका लागि यस्ता संस्कारका पछाडि निहित स्वार्थहरुका बारेमा पर्दाफास गरी समाजलाई सही दिशा तर्फ उन्मुख गराउनमा मद्दत गर्नु पर्छ ।
Comments
Post a Comment