परोपकारी प्रतिस्पर्धा
बाबुरामले दिनभरी ढुङ्गा बोकेको अनि प्रचण्डले गलले खन्दा अग्नी सापकोटाले माटो निकालेको समाचारहरु संचार माध्यममा छाउँदा नेपालमा पनि परोपकारको प्रतिस्पर्धै सुरु भएको प्रष्टै देखिन्छ । भूकम्पले ल्याएको एउटा सकारात्मक परिवर्तनको रुपमा यो परोपकारी प्रतिस्पर्धालाई पनि लिन सकिन्छ । सुरुमा सबै हताहत भएपनि पछिका दिनमा राहतमा अघि सरेका अनि उद्धारमा लागेकाहरुको तस्वीरले सामाजिक सञ्जालका भित्तो कहिल्यै खाली भएन । यसका बारेमा अनेकानेक टिका टिप्पणीहरु पनि सुरु भए । सानो सहयोग गरेर बढि प्रचार गरेको भन्ने कुराहरु पनि आए । तर यसको सकारात्मक पक्ष के भइदियो भने यसले सबैमाथि एकखाले नैतिक दबाब पारिदियो । सबैले आफूलाई ‘मैले के गरेँ ?’ भनेर सोध्ने मौका पाए । र त्यही प्रश्नको उत्तरको खोजीमा धेरैले परोपकारमा समय पनि खर्चे । यसरी परोपकारमा लाग्ने राजनीतिक दलहरुमा नेकपा एमाले र नेपाली कांग्रेस पनि थियो । एमाले सम्बद्ध युवासंघ पनि अहिले मैदानमा खटिएको छ । ‘आफ्नो गाउँ आफै बनाउँ’ भन्दै उनीहरु प्रभावित जिल्लाहरुमा खटिएका हुन् । त्यस्तै कांग्रेसका युवा नेता गगन थापा नुवाकोटमा ४० टहरा बनाएर फर्केको समाचार पनि सामाज...