तिमी मलाई पाल्न सक्छौ ?ः तिमी भेडा बाख्रा हौ ?
तिमी नारी किन यति हठी ? –८
“तिमी मलाई पाल्न सक्छौ ?”उसले सोधी ।
“तिमी भेडा बाख्रा हौ ?”मैले उत्तर दिएँ । यत्ति हो हाम्रो पहिले कुरा भएको भनेको । मैले, ‘तिमी मसँग बिहे गछ्र्यौ ?’ भन्दा उसले यही प्रश्न तेस्र्याएकी थिइ । म एकछिन नअकमकिइ उसलाई प्रतिप्रश्न गरेको थिएँ । मैले त्यसो किन भने मलाई थाह छैन । मैले त उसलाई तिम्रा लागि संसारको सारा खुशी किनेर ल्याउन सक्छु भन्नुपर्ने ! तर मैले त उल्टै उसलाई भेडा बाख्रासँग पो तुलना गरेँ । पक्कै पनि मेरो बचनले उसको हृदय केही दुखेको हुनुपर्छ । आँखिर उसले सुन्दै गरेका उत्तरहरु वा उसले अपेक्षा गरेका उत्तरहरु भन्दा निकै भिन्न थियो मेरो जबाफ । तर मलाई पछि मैले दिएको जवाफमा गर्व लाग्यो । आँखिर म भेडाबाख्रा पाले जस्तो उसलाई पाल्न पनि त चाहन्न । घाँस हाल्दै जाऊ, दुध दुहुँदै जाऊ । त्यत्ति हो त विहे गर्नु परिवार बनाउनु भनेको । जीवनसाथी भनेको व्यक्तिबाट एउटा पुरुषले अपेक्षा गर्ने भनेको उसको लुगा धोइदिने, उसका लागि खाना पकाइदिने, उसका जुत्ता पालिस लगाइदिने, भोगको साधन भइदिने, बच्चा जन्माइदिने, आदिआदि घरेलु कामदारले गर्ने जस्तो काम गरोस भन्ने मात्रै हो र ? यत्ति कामका लागि त उसले कुनै काम गर्ने खोजे पनि त भइ गयो नि ! रह्यो भोेग र सन्तान जन्माउने कुरा त्यसका लागि त टेस्टट्युब बेबी र अन्य विकल्प छँदै छ नि ! उसले मलाई म उसको लायक छु वा छैन भनेर त्यहि एउटै प्रश्नको उत्तर मागेकी थिइ । मलाई थाह छैन म उसले लिएको परीक्षामा उत्तीर्ण भए कि भएन भनेर । तर मैले मेरो हृदयको स्वर उसलाई सुनाएको हुँ । मलाई साँच्चिकै कसैलाई पाल्नु छैन । म चाहन्न कि कसैले मेरो आड र भरोसामा आफ्नो जीवन गुजारोस् । मैले यसो भन्दा उसले मैले उसबाट दोहोरो फाइदा लिन खोजेको सम्म पनि सोचेकी होलीः घरको काम पनि गर्ने अनि बाहिर गएर कमाउने पनि । मैले त्यसको विकल्प पनि सोचेको छु, यदि उसले मसँग सन्तुष्ट भइन भने उसले मलाई त्याग्न पनि त सक्छे । उसले सँधै भरि मेरो दमन सहेर बस्नुपर्छ भनेर पनि त म भन्दैन । तर त्यसका लागि ऊ आफै तयार हुनुपर्छ । मसँग एक्लीएर बस्नको लागि उसले आफूलाई काबिल त बनाउनु प¥यो । यदि ऊ आफ्नो खुट्टामा उभिने भइन भने त उसलाई मबिना बाच्न कसरी सम्भव होला र ? त्यसैले मैले उसलाई भनेको तिमी भेडा बाख्रा हो ? तिमीले मैले तिमीलाई पाल्नुपर्ने कुरा किन सोचेको ? तिमी आफै केही गर्न सक्दैनौ र ? तिमी आफूलाई आफै पाल्न सक्दैनौं र ? आँखिर तिमीले मेरो दमन बाट स्वतन्त्रता चाहेकी होइन र ? तिमी त त्यसै भन्दै हिँड्थ्यौ ! अनि बाहिर चाहिँ हामी आफै पनि आफ्नो खुट्टामा उभिन सक्छौँ भन्ने अनि भित्रभित्रै आफूलाई पाल्न सक्ने रित्थे खोज्दै हिँड्ने ? तिमी सँधै आफ्ना यस्तै हठहरु किन तेस्र्याउँछ्यौ मेरा अघि ? जब एउटा पुरुषले आफुले जन्मने वित्तिकै आफ्नो परिवार पाल्ने अनि विहे गरेर स्वास्नीको जिम्मा समेत उठाउने मानसिकता तयार गर्न सक्छ भने तिमी नारी भएर किन आफ्नो मात्रै पनि जिम्मेवारी लिने साहस देखाउन नसकेकी ? बरु तिमीले त मलाई भन्नु पर्ने, ‘तिमीले मलाई पाल्नु पर्दैन । तर मलाई खुला रुपमा आफुखुशी बाँच्न दिन्छौ ? मलाई मनमा लागेका कामहरु गर्न दिन सक्छौ ? मलाई मेरो परिचय नगुमाइकन जीउन दिन्छौ ?’ म नाइ भन्ने थिइन । भने हुँला पहिले तर अब मेरो पनि मन फेरिएको छ । नफेरिएको भए पनि तिमीले फेर्न लगाउनु पथ्र्यो । अनि तिमीले आफ्ना इच्छा पुरा गर्नको लागि मेरो स्वीकृति नै लिनुपर्छ भन्ने पनि त छैन । मैले त कहिल्यै तिम्रो स्वीकृति लिनु उचित ठानीन ! तिमी पनि मै जस्तो हुने भनेको होइन र ? अनि मेरो अनुमति किन खोजेकी ? हो पहिले पहिले श्रीमतीहरुबाट सबैले सबथोक गराएका थिए । भीमनिधी तिवारीको मध्यम वर्गकी श्रीमती भन्ने कबिता पढ न, तिमीलाई कति उपयोगी ठानेका छन् तिवारी जी ले ! तिमी त कामदेवकी रती अनि शिवजीकी सतीजस्ती, भान्छे बाहुनीजस्ती, जुठा भाँडा चोखो पार्ने चाकर्नीजस्ती, भँडार्नीजस्ती, बैठकनीजस्ती, धोबिनीजस्ती, मालिनीजस्ती, धाइजस्ती, आदिआदि थुप्रै उपमा जोडेका छन् तिवारीले तिम्रा लागि । तिम्रो दुर्दशालाई उनले राम्ररी रसिक पारामा लेखेका छन् । तिमी धेरै रुपमा शोषित र पिडित भएकी छौ भन्ने कुरा उनले कवितामा भनेका छन् । तर सायद तिमीलाई त्यही स्वीकार्य छ । तिमीलाई त्यो कविताले रीस भन्दा पनि बढि आत्मगौरव दिन्छ । अनि त तिमीसँग कसैले जीवन जीउने चाह राख्यो भने तिम्रो एकै प्रश्न हुन्छः मलाई पाल्न सक्छौ ? तिमी नारी किन यति हठी भन त ? तिमी के साँच्चिकै पशु हो र तिमीलाई कसैले पाल्नु पर्ने ? तिमीले जुन कामहरु गरेकी हुन्छ्यौ एक पत्नीको रुपमा, चाकर्नीको रुपमा, बुहारीको रुपमा, घरीनाको रुपमा, के तिनको कुनै मोल छैन र ? अनि यदि तिनको मोल छ भने तिमीले आफूले गरेका कामको बदलामा पाएको दुई छाकलाई पनि किन अरुको दयाका कारण पाएको जस्तो ठान्छ्यौ । त्यही मिहिनेत तिमीले होटेलमा ग¥यौ भने त्यसको पनि छुट्टै बेतन हुन्छ । होटलवालाले पनि खान र लाउन देला । त्यसबेला त उसले पालेको भन्दैन तिमीलाई, काम दिएको भन्न सक्छ । अनि घरमा त्यही काम गर्दा तिमी कसरी पालियौ त ? मलाई तिम्रो ‘पाल्नु’ भन्ने शब्दै देखि रीस उठेको हो । तिमी कति लाचार र विवश झल्किन्छ्यौ तिम्रो प्रश्नमा । तिमीलाई लाग्छ तिम्रो जीवन
भनेको सानो छँदा अभिभावकको दयामा ठूली भएपछि पतिको अनि ससुरालवालाको दयामा बाँचिन्छ । तर थाहा छ, तिमीलाई कसैले पाल्नु पर्दैन । पाल्नु भनेको पशुलाई पर्छ । त्यसैले त मैले तिमीलाई मेरो प्रतिप्रश्नमा भेडाबाख्रासँग दाँजेको । हुनसक्छ तिमीलाई पशुसँग तुलना गर्नुमा मेरो पुरुष अहंले पनि भूमिका खेलेको होला । तर तिमीलाई न त अहिलेसम्म कसैले पालेका छन् न त भोलिको दिनमा कसैले पाल्ने छन् । तिमी आज सम्म पनि आफूले दिन रात नभनि जोत्तिएको मिहिनेतको फल पाएकी थियौ । तर त्यसमा कसैले तिमी प्रति कृतज्ञता दर्साएको थिएन । तिम्रो आत्मसम्मान निमिट्यान्न बनाइएको थियो । त्यसैले त तिमी आफूलाई अरुले पालेको सम्म सोच्ने भइ सकेकी थियौ । मलाई के लाग्छ भने तिमीले अब आफ्नो हैसियत चुलो चौकामा होइन, समाजमा अगाडि बढेर खोज्नु पर्छ । आफू आत्मविश्वासी भएर आफूलाई आफैले मद्दत गर्नुपर्छ । बरु नारीनारी मिलेर एक अर्काको ईष्र्या मान्नुको सट्टा एक अर्कालाई हौसला दिने, साथ दिने प्रयासमा लाग्नु पर्छ । ता कि तिम्रा लागि कसै पुरुषले छद्मभेषी बनेर वा मै जस्तो भएर केही लेख्नु नपरोस् । था छ तिमी कति विवश छ्यौ, तिमीलाई त मैले लेखेका कुराहरुमा चित्त नबुझेका बेलामा समेत बोल्न सक्ने हुती छैन । परोक्ष रुपमा तिमी बोल्न सक्छ्यौ तर हाकाहाकी बोल्न डराउँछ्यौ । हो त्यही डर अनि आत्मविश्वासको अभावले हो तिमीलाई हीनताबोध ग्रस्त बनाएको अनि तिमीमा, ‘म पालिएकी छु । मलाई मेरो भोलिका लागि एउटा गतिलो मालिकको खोजी गर्नुछ, जसले मलाई अझै राम्ररी पाल्न सक्छ ।’ भन्ने सोच तिम्रो मनमा पलाएको छ । त्यसैका लागि तिमी साउने सोमबारको ब्रत बस्छ्यौ । अनि आफ्नो जीवनसाथीका लागि तिमीले प्रयोग गरेकै शब्द पनि त कस्तो छः स्वामी । स्वामी भनेको त मालिक । अनि आफ्नो जीवनसाथीलाई मालिक भन्ने, उसले दिएको साथलाई तिमी उसले पालेको ठान्ने र आउने पिढीलाई यही संस्कार दिइरहने तिम्रो बानीले के तिमीलाई तिमीले भनेको जस्तो नारी स्वतन्त्रता तर्फ लगिरहेको जस्तो लाग्छ ? पर्ख तिमीलाई यसका बारेमा लामै कुरा भन्नु छ । त्यो पछिका दिनमा भन्ने छु । म चाहन्छु तिमी कसैको आशमा जीवन नबिताउ । तिमी अरुका लागि ब्रत बस्नु भन्दा आफ्ना लागि केही गर । तिमी आफु आफ्ना खुट्टामा उभिने होउ । तिमी पहिले आफ्ना लागि गर्न सक्ने होउ । जीवनको त के भरोसा छ र ! भोलि तिमीले जसले तिमीलाई पाल्न सक्छ भनेर सोचेकी छ्यौ ऊ नै नरहन सक्छ । त्यसपछि के गछ्र्यौ ? त्यसपछि त तिम्रो चुलो चौका गर्ने शीपले मात्रै पनि त तिमीलाई जीवन धान्न गाह्रो होला । त्यसका बदलामा तिमीले आफूमा शीप सिक्यौ भने तिमीले पनि अनुराधा कोइरालाको जस्तो सम्मान पाउन सक्छ्यौ । तिमीलाई पनि तिम्रा छाडेर गएका श्रीमान्ले वर्षौ पछि तिम्रो सफलताको ईष्र्या गर्दै अनि आफ्ना गल्तीमा आत्मग्लानी गर्दै तिमीलाई जन्मदिनको शुभकामना सन्देश पठाउनेछन् । तिमीसँग पहिले जस्तै जीवन जीउने अभिलाष व्यक्त गर्नेछन् । तिमी त्यसबेला कम्जोर हुन्छ्यौ वा दरिली त्यो तिम्रो हातमा हुनेछ । तिमी त्यसबेला तिम्रा श्रीमान्हरुले भन्ने गरेकै भनाई, ‘खुट्टा भए जुत्ता कति !’ भन्ने प्रत्युत्तर पठाउन सक्छ्यौ । तर तिमी सायद चुलो चौकामै सिमित भयौ भने त्यस्तो हुने छैन । त्यसैले आफूलाई पशु नठान । तिमीलाई कसैले पाल्नुपर्छ भन्ने भ्रममा नपर । आफू आफ्नै खुट्टामा उभिन सिक । त्यही संस्कार आउँदो पुस्तालाई सिकाउ । अनि मात्र तिमी नारी हुनुको अर्थ हुनेछ । नत्र तिमीले आफ्नो ढिपी त्याग्न मानिनौ र बारम्बार आफ्नो उही प्रश्न, ‘तिमी मलाई पाल्न सक्छौ ?’ भनेर दोहो¥याइ रह्यौ भने म पनि तिमीलाई प्रतिप्रश्न गरिरहनेछु, ‘तिमी भेडाबाख्रा हौ ?’ भनेर अनि आफ्नो पुरानै प्रश्न पनि ते¥स्याउनेछु ः तिमी नारी कति हठी हँ ?
Comments
Post a Comment