केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी
विगत केहि वर्ष देखि पुस्तक पठनको पहिलेको लत व्युँताएको छु । पढ्नलाई पुस्तकको अभाव छैन । विदेशी साहित्यका थुप्रै कितावहरु सजिलै पाउन सकिने अवस्था छ । स्वदेस बाट पर बसेकोले होला विदेशी साहित्यले मात्रै तिर्सना मेटिँदैन । त्यसैले नेपाली साहित्यका चर्चामा आएका पुस्तकहरु हर तरहले पढ्ने प्रयास थालेको छु । त्यसका लागी चिनजानका मानिसहरुसँग निर्लज्ज भएर किताब पढ्न माग्ने देखि लिएर नेपाल पुगेकाहरुसँग झिकाउने सम्म गरेको छु । पछिल्लो पटक आफ्नो रहर अरुका लागी कहर नबनोस् भन्ने हिसाबले अरुलाई दुःख नदिइकनै किताब हात लाउने बाटो पहिल्याउने क्रममा अनलाईन किताब किन्ने बुद्धि सुझेको हो । नयनराज पाण्डेको कथा संग्रह निदाएँ जगदम्बाको विद्युतीय कापी बाट सुरुभएको यात्रा पिल्ग्रीम बुक्सको भौतिक कापी खरीद सम्म पुगेको छ । किन्डलमा पढ्न नमिल्ने र एक पटक भन्दा दोश्रो पटक इन्स्टल समेत गर्न नमिल्ने भएकोले पाण्डुलीपी थोप्लो कमको विद्युतीय कापीहरु खरीदमा अरुचि भयो । किताब पढ्न त्यसै पनि सुस्त छु । औसतमा एक घण्टामा २० पाना पढि सक्छु । त्यसमा पनि तारन्तार ध्यान भङ्ग भइदिनाले पठन त्यति सहज हुँदैन । त्यति लामो समयसम्म कम्प्युटरको पर्दामा आँखा गाडि रह्यो भने बुढेसकालसम्म यी काम नलाग्ने होलान् कि भन्ने डर छ । चस्मा उहिल्यै चढि सक्यो । वित्थामा सिसा किन बाक्लिन दिनु भनेर यसपाली भौतिक पुस्तक नै मगाइयो ।
भौतिक पुस्तकको लागी करीब १ महिना कुर्नु प¥यो । हवाइ चिठीद्वारा पुस्तक पठाउन सस्तो भएपनि हुलाक सेवा अवरुद्ध भएकाले र मगाएको १२ दिन पछि मात्रै हुलाक मार्फत पठाइएकाले कुराइ साचे भन्दा लामो भयो । खरीदको अलि बिझेको पाटो भनेको सबैले जस्तै पुस्तक विक्रेताले पनि विदेश बसेका सबैसँग टन्नै पैसा हुन्छ र जति पनि दाम झार्न सकिन्छ भनेर हो वा किन हो नेपाली बजार मुल्यमा थपथाप गरेर मोल लिएको पाइयो । पछि गुनासो गरेपछि भने आइन्दा सहुलियत दिइने आश्वासन सम्म पाएको छु । पुस्तकको मोल मात्रै नभएर पठाउँदा लाग्ने शुल्क नै पनि त्यसै महँगो छ । त्यसमाथि पठाउनेले सेवाशुल्क थप्दा अझै सात आठ सय नेरुको थप भार पर्न जाने देखियाे । जे होस् विदेशमा बसेरै पनि नेपाली साहित्य पढ्न पाउनु नै ठूलो कुराहो भनेर चित्त बुझाइएको छु । साथीभाइको ६ यूरो (करी ७०० नेरु) तिरेर किनेको एक बट्टा चुरोट भन्दा किताब स्वास्थ्यवर्धक पनि र सस्तै पनि लागेर किताबको शौक सदर गरिएको छ ।
नेपालबाट आएको त्यहि कोशेली मध्यबाट सबैभन्दा पातलो र कविता हो कि भनेर मगाएको केशवराज पिँडालीको ‘बाँच्ने एउटा जिन्दगी’ सबै भन्दा पहिले पढियो । साझा प्रकासनबाट २०४३ मा प्रकासित पुस्तकको छैटौँ संस्करण रोज्नुको पछाडि त्यसको दाम (३५ नेरु किन्दा ४१ सेन्ट) पनि एउटा कारक थियो । फेरी मलाई नेपाली साहित्यका उति चर्चामा नआएका र नपढिएका लेखकहरु पनि पढ्ने लहड चलेको छ । त्यसै क्रममा कृष्ण भुसालको 'हुरीका स्वरहरु' (यहाँ पढ्नुहाेस्)भन्ने कविता संग्रहले निकै खुशी तुल्याएको थियो । पिँडाली त्यो अनुभवका कारण पनि छनौटमा परेका हुन् ।
झपताली, ठुमरी तथा जयवन्तीहरुमा खास रुपसौन्दर्य थिएन । तर दरबारी भने आगोको फिलिङ्गो नै थिई । गोरो पुष्ट शरीर, रगत चुहिएलान् जस्ता राता गाला, दारिमका दाना जस्ता मिलेका धवल दन्तपङ्क्तिि, मण्डलाकार पुष्ट उरोज, छिनिएको कटी, भारी नितम्ब । देख्दा लाग्दथ्यो–विधाताले त्यस नारीको गढनमा आफ्नो सम्पूर्ण सीप एवं चातुर्य लगाएका छन् । नजर परेपछि नजर हटाउनै मन नलाग्ने । ऊ दुस्साहसी पनि त्यत्तिकै थिई । मौका प¥यो कि गाँज्न खोजि हाल्ने । कति पटक त उसले ज्ञानुलाई आच्छुआच्छु पारेकी थिई । एकान्तमा फेरा पारी कि ऊ ट्याप्प हात समातेर साउतीको स्वरमा भन्ने गर्दथी, “सुब्बासाहेब ! तपाईंलाई छुन मात्र पाउँदा पनि मेरो मनको तार त्यसैत्यसै झङ्कृत भइदिन्छ ।”
बाँच्ने एउटा जिन्दगीमा राणाकाल देखि प्रजातन्त्र प्राप्ती पश्चातको समयलाई समेटिएको छ । राणाकालमा सौमित्रशम्शेरको दरबारमा काम गर्ने ज्ञानप्रताप शाहको जीवनलाई यो लघु उपन्यासले समावेश गरेको छ । राणाको दरबारमा काम गर्दै गर्दा दरबार भित्रको जीवनका केहि अंशहरु पाठकका सामु पस्किइएको छ । विशेष गरी सुरा र सुन्दरी अनि राणाहरुको उपभोगवादी प्रवृत्ति पुस्तकमा समावेश गरिएको छ । ९० सालको भुकम्पको चर्चा पनि छुस्स पसेको छ । वयस्क छोरालाई सँगै नराख्ने राणापरिवारको चलन र वयस्क छोराहरुको दरवारका सुसारेहरुमाथिको ताकको पनि चर्चा छ । छोरालाई भनि ल्याएको डोलामैयाँलाई बाबुले नै पेट बोकाएको र पछि आफ्नै कान्छी बनाएको घटनाले कुलीन भनिएका परिवार भित्रका अध्यारा पाटाहरु तर्फ संकेत गरिएको छ ।
“मनको लवलीनताका लागी नै अन्तिम्, साध्यको रुपमा मानेर तन्त्रवादको जन्म भएको हो । तान्त्रिकहरुले पञ्चमकारको उपासनाको उपदेश दिए अर्थात् मांस, मदिरा, मत्स्य, मुद्रा तथा मैथुन । जोगीहरुमा गाँजाको सेवन पनि त्यही लवलीनतालाई सहज प्राप्त गर्ने कोसिस हो । योग साधन पनि लवलीनताकै लागीको साधन हो । ”
राणाकालको अन्तसँगै पतनोन्मुख राणापरिवारको जीवन शैली र तिनीहरुमा आश्रितहरुको अवस्थासँगै कथा अघि बढ्दै गएको छ । एक ठाउँमा सौमित्रशम्शेरले राणाकाल उदयको बेला पूर्वीय देशहरुमा प्रजातन्त्रको अवधारणा नै विकास नभएको र जसको ‘लट्ठी उसकै भैँसी चल्ने’ भएकोले आधुनिक समयको चस्माले त्यो युगलाई हेर्न नहुने भनेर राणाकालप्रति सहानुभुति बटुल्न खोजेका छन् । उनले पाँडे र थापाहरुको मारकाट अनि उत्तराधिकारी कसलाई बनाउने भन्ने राजपरिवार भित्रकै द्वन्द्वकाबीच जंगवहादुर उदय नभएको भए देश हालकै अवस्थामा नरहन पनि सक्थ्यो भनेर समेत भन्छन् । रणोद्दिप भाइभतिजाकै हातबाट मारिनु, देवशम्शेर र खड्गशम्शेर लघारिनु, जुद्धशम्शेरर पद्मशम्शेरलाई सत्ता छोड्न बाध्य गराइनु, आपसी वर्गीकरणाबट सुवर्णशम्शेर (कांग्रेसका संस्थापक मध्येका एक) लगायतलाई सत्ता च्युत गराउनु, जंगबहादुरकै सन्तानहरु मारिनु, लगायतका घटनाक्रमको छोटो चर्चा पनि संवादकाे माध्यमबाट उपन्यासमा समावेश गरिएको छ ।
मानव जीवनमा सम्पूर्ण खरावीको जड गरिवी हुन्छ । गरिव र अभावबाट आजित भएकी याशोधरा अब ज्ञानुलाई झन् बढि लाञ्छित र अपमानित तुलयाउन थालेकी थिई । कमाइ नभएको लोग्ने स्वास्नीका दृष्टिमा कुनै पनि मूल्यको हुँदैन । स्वास्नीको लोग्नेप्रतिको माया लोग्नेको धनसम्पत्तिको पोको अथवा लोग्नेको आयको राशिबाट निचोरिएर निस्केको हुन्छ । धनसम्पत्ति नभएको एवं कमाइ नभएको लोग्ने स्वास्नीको दृष्टिमा नपुंसकसरहको हुन्छ । नपुंसक लोग्ने स्वास्नीको मायाको अधिकारी हुँदैन । लोग्नेस्वास्नीको परस्पर मायाको सूत्रमा बाँध्ने अर्को सारभूत तत्व शारीरिक सम्बन्ध पनि हो । शारीरिक सम्बन्धका लागी वयको कारणबाट अक्षम भएका लोग्नेस्वास्नीमा पनि यसै गरी माया घटेको हुन्छ ।
राणाहरुको शान र शौकत छउञ्जेल तिनका दरबारमा काम गरेका ज्ञानप्रतापको सौमित्रशम्शेरको देहावसान पछिको अवस्थाले कथामा केहि संघर्षको स्थिति निम्त्याएको छ । जागिर पनि छुट्नु अनि वृद्धावस्थाले पनि गाँज्नुले कष्टकर बनेकाे जीवनले पाठकलार्इ यसकाे निकास के हाेला भनेर साेच्न बाध्य बनाउँछ । त्यसै क्रममा राखाकै दरबारमा डाेलामैयाँकहाँ जागीरे एक छोरा र अमेरिकामा विहे गरी बसोबास गरेका दुई छोराहरुको शरणमा परेका ज्ञानप्रताप दम्पतिको हण्डरहरु पढ्दै गर्दा उहिलेका पहुँचवालाको दुःख अब अहिलेका मध्यमवर्गीय परिवारमा सरेको जस्तो भान हुन्छ। यही अप्ठ्यारो परिस्थितिसँगको संघर्षको कथा र उपन्यासका मुख्य पात्र ज्ञानप्रतापले राेजेकाे निकाससँगै कथानक अन्त्य भएको छ ।
किताबका लागी खर्च हुने समय र मूल्यका हिसाबले पुस्तक एकदमै पठनीय छ । अहिलेका १० गुणा बढि मोल पर्ने चल्तीका पुस्तक भन्दा बढि गुदि भएको र एउटा महत्वपूर्ण राजनीतिक समयको चेत भर्ने हिसाबले यो पुस्तक पढिनु पर्छ जस्तो लाग्छ । सम्पादनबाट सुधार्न सकिने केहि त्रुटिहरु छन् । भाषा केहि जटिल लाग्न सक्छ । पुराना साहित्यको स्वाद र एउटा तुलनात्मक अध्ययनको लागी भने पिँडालीको ‘बाँच्ने एउटा जिन्दगी’ गज्जबको पुस्तक हो ।
Comments
Post a Comment