एउटा नौलो द्रोहः समाज थर्कमान छ

(यो कविता लेख्ने प्रेरणा एक दलित महिलाले आफ्नो जँड्याहा पतिलाइ भकुर्दा प्राप्त भएको हो । यसमा प्रयोग भएका ‘ती हात’ शोषक एवं उत्पीडक पुरुषका हातका प्रतिक हुन् । महाभारतको द्रौपदी वस्त्र हरण चुपचाप हेर्ने भीष्मपीतामह र द्रोणाचार्य लगायतका मानिसहरुको सभा अनि हाँस्दै हेर्ने दुर्योधन र कर्ण लगायतका पुरुषहरुको सभालाई हिजोको समाज भनि उल्लेख गरिएको हो भने हालको समाज भन्नाले ती महिलाले आफ्नो पति भकुर्दै गर्दा जम्मा भएका हेर्नेहरुको प्रतिनिधी हो । )


 हिजो झैँ आज पनि
ती हातहरु अघि बढे,
उनी माथि धावा बोल्न,
उनी माथि जाइ लाग्न,
अनि उनको चीर हरण गर्न ।

 तर, आज परिस्थिति बेग्ले छ,
 हिजो झैँ उनी ति हातदखि डराइनन्,
 पहिलले झैँ समेटिइन्,
उनको आँखामा भय थिएन,
 न निधार पसिनाले भिजेको थ्यो,
 न कतै नीरीह चिच्याहट थियो,
 न स्वर नै कामेका थिए ।

थियो त केबल आक्रोशती'
हातै निमोठ्ने अठोट,
समाजले सिर्जेको नियतीसित,
 एउटा नौलो द्रोह गर्ने आँट,
 समाजले हौस्याएका दुश्सासनलाई,
खबर्दारी गर्ने जोश ।

त्यसैले त आज उनी जाइलागीन,
ती हातमाथि,
समाजले कारेको सीमा नाघ्दै,
 वर्षौँ सम्म यस्तै–यस्तै,
चीरहरण रचाइरहने,
नारी अस्मितालाई तुच्छ तिर्खा मेट्न,
चिथोर्ने, चिमोट्ने, निचोर्ने,
ती अपराधी हातमाथि,
निसंकोच र विनाभय जाइलागीन् ।

समाज रमिते नै बनेको छ,
हिजो जस्तै आज पनि फरक यत्ति छ:
 हिजो उनी रुन्थीन–समाज हाँस्थ्यो ;
 आज उनी हाँस्दा–समाज थर्कमान छ ।


Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

सुधीर शर्माकाे प्रयोगशाला