नखुलेको आकाश खुलेर आयोः कञ्चन रेग्मी प्रकरणका भित्री कुरा
ऊ सायद यो बाटो भुलेर आयो
झ¥यो त के भो जाही र जुही
त्यो पलास मनमा फुलेर आयो’
बिबिसीमा लामो समय काम गरेका सुमन खरेलको कान्तिपुर टेलिभिजनबाट प्रसारित हुने कार्यक्रम ‘सुमन सँग’मा कञ्चन रेग्मीले यी पंक्तिहरु सुनाउँदा एकदमै भावुक बनेको थिएँ । उनले पति र छोरा इन्जीनीयर हुँदाहुँदै पनि आफूलाई हेलाँ गरेको र सात वर्ष सम्म पिडामा बाँचेको, चिताको आगो तापेर हिँउद काटेको, आदि कुरा भनिरहँदा मान्छेहरु सन्तान पाउनाको सास्ती अनि हुर्काउनका लागी गरिने अनेक दुःख कष्ट किन गर्छन होला जस्तै लाग्यो । त्यसको साटो वृद्धावस्थाको व्यवस्थापनका लागी केहि जोरजाम गरे जीवन कति सहज हुन्थ्यो होला भन्ने पनि लाग्यो । आँखिर न पति न छोरा, कोही त आफ्नो हुँदो रहेनछ ।
कञ्चन रेग्मीलाई फोहरको थुप्रोबाट उद्धार गरेर पवित्र सेवा समाजमा लगी आश्रय दिइरहेकी भनिएकी दिक्षा चापागाईंको नाम धेरै सुनेको अनि एक पटक प्रत्यक्ष भेट भएकी व्यक्ति थिइन् । लाजिम्पाट स्थित सनराइज बोर्डिङ्ग स्कुलमा पढाउने क्रममा त्यहाँकी पूर्व प्रधानाध्यापिका सुजला कार्कीको स्मृतिमा आयोजना गरिने कार्यक्रममा उनको वालाश्रममा भएका वाल–वालिकाहरुलाई खुवाउने र कापीकलम वितरण गर्ने कार्यक्रमका बेला हाम्रो सानो कुराकानी समेत भएको थियो । त्यसपछि उनका बारेमा जति कुरा सुनिए राम्रै कुराहरु सुनिए । सामाजिक सञ्जालहरुमा भेटिने तस्वीरहरु मार्फत उनले गरेका राम्रा कामहरुका बारेमा निरन्तर जानकारी भिलिरह्यो । कञ्चन रेग्मीको उद्धार पनि तिनै दीक्षा चापागाईंले गरेकी हुन् भनेर जान्न पाउँदा मनमनै उनलाई धन्यवाद दिइरहेँ ।
सामाजिक सञ्जालले सूचनाको प्रवाहमा यति गति ल्याएको छ कि त्यो अन्तर्वाता एकाएक चर्चित भएर गयो । सबैले त्यसका बारेमा केहि न केहि भनाइहरु राख्न थाले । उनको पतिको बारेमा पत्तो लाग्यो । मोहन रेग्मी र उनको परिवारको तस्वीरहरु सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भेटिन थाले । तिनमा मोहन र उनका छोराहरुप्रति गाली गलौजका शब्दहरु प्रयोग हुन थाले । सामाजिक सञ्जालमा भएका युवाहरुका अनेक समूहमा कञ्चन रेग्मी प्रति सहानुभुति दर्साउने प्रकाशनहरुसँगै उनको पति र छोरालाई सत्तो सराप गर्ने क्रम नै चल्यो । यति सम्म कि मोहन रेग्मी र उनका छोराहरुको फेसबुकमा अनेक गाली–गलौजपूर्ण सन्देशहरु पठाऔँ भन्ने अभियानै पनि चल्यो ।
रवि प्राञ्जलको भनाइले पनि त्यही गतिमा चर्चा पायो जुन गतिमा कञ्चन रेग्मीको अन्तर्वाता चर्चित बन्न पुगेको थियो । कञ्चन रेग्मीका कुरामा शंका गर्ने ठाउँ भेटेपछि र उनका पति मोहन रेग्मीले फेसबुक मार्फत पनि संचार माध्यममा आफ्ना कुराहरु बाहिर ल्याउने जानकारी गराएपछि जनसामान्यको मत विभाजित भएको थियो । अघि सम्म एकतर्फी रुपमा मोहन रेग्मी र उनका छोराहरुलाई गलत देख्नेहरु मध्ये केही कञ्चन रेग्मीले कसैको प्रभावमा आएर गलत बोलेको हुन सक्ने अनुमान गर्न थालेका थिए भने कतिले अमmै पनि मोहन रेग्मीलाई नै दोषी देखि रहेका थिए ।
अहिले मोहन रेग्मीको पूर्ण अन्तर्वाता पनि यूट्युबमार्फत सार्वजनिक भएको छ । अन्तर्वातामा रेग्मीले कञ्चन रेग्मी रक्सीको अम्मली भएको र अनेक अवांक्षित क्रियाकलापहरुमा समेत संलग्न रहनुका साथसाथै आमा हुनुको दायित्व र पत्नीको कर्तव्यवाट विमुख भएपछि पारिवारिक सुझाव अनि सहमतिमा उनलाई पारपाचुके गरेको भनेर भनेका छन् । रेग्मीले उनकी पूर्व पत्नीले बिएस्सी नर्सिङ्ग नगरेको र त्यसको साटो छ महिने अनमी तालिम लिएको पछि बिएस्सी गर्ने क्रममा निश्कासनमा परेर पढाइ पुरा नगरेको बताए । इन्जीनियर छोरो टक्सन गाडी चढेर छेवैबाट जाँदा पनि आफूलाई नहेरेको भन्ने कुरामा रेग्मीले छोरो अझै अध्ययनकै क्रममा रहेको र बीचमा दुव्र्यसनका कारण पढाइ विग्रिएकाले उसको पढाइ लम्बिएको भनेर बताए । प्रमाणपत्र च्यातेको विषयमा पनि एसएलसीको प्रमाण पत्र च्यातेको (थोरै च्यातिएको भनेकाछन्) तर पछि प्रतिलिपि मगाएर कञ्चन रेग्मीलाई बुझाएको उनले बताएका छन् । परिवार कोही बाँकि नभएको भनेर कञ्चन रेग्मीले भनेकी भएपनि मोहन रेग्मीले उनको सबै नालीबेली खोलिदिएका छन् ।
यसो हेर्दा कञ्चन रेग्मीले लगाएका धेरै जसो आरोपहरु झुटा देखिन्छन् । उनक पति मोहन रेग्मीले पतिपत्नीका बीचमा हुने झगडाहरु उनीहरु बीच पनि हुने र आफू देवता नभएकोले अफूबाट पनि भूलहरु भएका छन् भनेर स्वीकारेका छन् । त्यसका साथसाथै परपाचुके पश्चात कञ्चन रेग्मीले पाउनु पर्ने सम्पति दिनका लागी पनि आफू हरदम तयार रहेको कुरा व्यक्त गरेका छन् । माइति पक्षबाट हर्जानाको रकममा सहमती नभएपछि उनी पछि हटेको भन्ने देखिन्छ ।
यति खबरले सबैलाई दोमन पारेकै बेला कञ्चन रेग्मीलाई उद्धार गर्ने चन्दा थापाको तस्वीर सहितको लेख पनि सार्वजनिक भयो । कञ्चन रेग्मीलाई भेट्दा थापाले उनको शरीरबाट पिसाब गन्हाएको र मुखमा रक्सीको गन्ध समेत भएको भनेबाट उनी मद्यपानकी अम्मली थिइन भन्ने कुराको संकेत गर्छ । उनलाई पनि कञ्चन रेग्मीले सुमन खरेललाई जस्तै कुराहरु सुनाएकी रहिछन् । त्यसपछि उनैले दीक्षा चापागाईंलाई सम्पर्क गरेर उनलाई आज भन्दा ४ महिना अघिमात्र (जुलाई २१, २०१६) पवित्र सेवा समाजमा सुम्पेकी रहिछन् । चन्दा थापाले लेख मार्फत नै कञ्चन रेग्मीले उनकाे उद्धार फाेहाेरकाे थुप्राे बाट गरिएकाे भनेर भनेकाे कुरा गलत भएकाे बताएकी छिन् । लेखसँगै राखिएका तस्वीरहरू हेर्दा पनि कहिं कतै त्यस्ताे देखिँदैन ।
यी सबै कुराहरुलाई एकठाउँमा राख्दा कञ्चन शर्माका धेरै कुराहरु झुटो सावित भइसकेका छन् । कञ्चन शर्माले दीक्षा चापागाईंलाई भेट्नु पूर्वको भनाइ नै सुमन खरेलका कार्यक्रममा पनि व्यक्त गरेकोले कतिपयले अनुमान गरे जस्तो दीक्षा चापागाईंले बहकाएर ती कुरा भन्न लगाएको नहुन सक्छ । कञ्चन रेग्मीले आफू प्रतिको सहानुभुति कायम राख्न पहिले पनि र अहिले पनि एकै कुरा गरेको हुन सक्छ ।
जे होस्, यस घटनाले हामी नेपालीहरुलाई एक पाठ भने सिकाएर गएको छ । भावावेशमा आएर कुनै एक पक्षको कुरा सुनेको आधारमा अर्को पक्षलाई तथानाम गर्नु मुर्खता सिवाय केहि होइन । हामीले पद्दतीको सम्मान गर्न सिक्नु पर्छ । यदि कञ्चन रेग्मीका कुराहरु साँचा छन् भनेपनि उनलाई कानुनी उपचार दिलाउन प्रयास गर्नु बुद्धिमानी हुन्थ्यो । त्यसो गर्दा निर्दोशले सजाय पाउने थिएन ।
त्यस्तै हाम्रो संचार माध्यमहरुले पनि यस प्रकरणबाट केहि सजग हुनु आवश्यक छ । यस अघि पनि यस किसिमका घटनाहरु हुने गरेका हुन् । तर ती घटना सेलाएपनि अर्को घटना कताकताबाट जन्म लिइ हाल्छ । आँखिर जे गरे पनि गलत गर्नेले अन्तमा उन्मुक्ति पाउने भएकाले पनि यस्तो भएको हुन सक्छ ।
हामीले कञ्चन रेग्मीका बारेमा अनेकानेक समाचार पछ्याउँदै गर्दा सांसदहरुले आफ्नो तलबभत्ता बढाएका छन् । प्रति सांसद एक लाख भन्दा बढि मासिक तलब हुनुले अबका दिनमा हरेक महिना ६०१ लाख सांसदहरुको तलब भत्तामा खर्च हुनेछ । सुजाता कोइरालाले एक पटकलाई ५० लाख लिएकोमा गाली गर्नेहरुले हरेक महिना ६०१ लाख भन्दा बढि रकम तलबभत्ता वितरण हुने कुराको विरोध गर्न नबिर्सिउन । सकेसम्म सभ्य र शिष्ट शैलिमा विरोध गर्ने वा आफ्नो भनाइ राख्ने संस्कार बसोस । जय देश !
Comments
Post a Comment