Samuel Beckett ~ Waiting for the Godot
‘स्याने त स्यामुएल व्याकेटको ‘वेटिङ्ग फर गोडोट’ पनि पढ न !’ अल्बर्ट कामुको ‘द स्ट्रेन्जर’ पढि सकेपछिको प्रतिक्रिया पढेर मलाई दिदिले असंगतवाद (एब्सर्डिज्म) र अस्तित्ववादमा आधारित अन्य कितावहरुको सुझाब दिइन् । ‘होइन एकदम पातलो छ ।’ कितावको मोटाइले सँधै तर्साउँछ । त्यसैले ढाडस दिँदै कितावको पतलाई पक्का गर्दै दिदिले भनेकी थिइन् । ‘खास केहि छैन । विनाकाम पर्खेर बसेका हुन्छन् । पर्खाइ सकिन्छ तर पनि भेट हुँदैन ।’ हाँस्दै पुस्तकको कथासार सुनाउँदा मलाई पनि एक पटक केहि नभएको कथा पढ्न मन लागेको थियो । सामान्यतया हामी कितावमा के छ जान्नलाई नै किताब पढ्छौँ । यसपटक कितावमा भएको कुरा पहिल्यै थाहा भइसकेको थियो । कितावमा ‘खासै केहि छैन’ । तर पनि पढ्न मन लाग्यो । बीसौँ सताब्दीमा लेखिएको दुई अंकको यो नाटक पहिले फ्रान्सेली भाषामा रचिएको थियो । पछि यसको अंग्रेजी अनुवाद पश्चात यो २० औँ सताब्दीको अंग्रेजी साहित्यको एक महत्वपूर्ण रचनाका रुपमा स्थापित भयो । हेर्मन रोरशाखका मसीका धब्बाहरुको व्यक्तिले उसको मानसिकता अनुसारको अर्थ लाए जस्तै यो नाटकका पनि थुप्रै तहमा पुगेर अर्थ लाउन सकिएला । पात...