सौता ल्याउने त पुरुष सौता भएर आउने नि ?





तिमी नारी किन यति हठी ? –४


यसपाली दशैंमा केही फरक गर्ने मन थियो । सँधै भरि घरमै दशैं मनाउँदा दशैं अलि फिक्का लाग्न थालेकोले दशैँका बेलाको फुर्सदलाई देश दर्शनमा विताउन मन भयो । त्यसैले हानिएँ आफ्नै सुदूरपश्चिमको बाजुरा तर्फ । हिमाल दर्शनको अभिलाषा लिएर हिंडेको थिएँ । तर त्यो त पुरा हुन सकेन । देशको भुगोल अफूले सोचे जत्तिकै सानो नभएकोमा मलाई अपशोच भन्दा पनि गर्व महशुस भयो । हिमाल पुग्न म पुगेको ठाउँबाट पनि अझै निकै दिन हिंड्नु पर्ने रहेछ । अनि सँधै आफूसँग यो छैन त्यो छैन भन्ने हीनताबोधले ग्रसित मानसिकता लिएर आफू वरपरका श्रोत र साधनहरुलाई उपेक्षा गर्नु भन्दा तिनीहरुको मूल्यलाई बुझेर तिनीहरुको आदर्शतम प्रयोग हुने वातावरणको सृजना गर्न सकेको खण्डमा हाम्रो देश पनि सम्पन्न हुने थियो भन्ने उत्प्रेरणा समेत मनमा आयो । यस्तै सोचहरु मनमा ल्यायो यसपालिको दशैंमा गरिएको बजुरा भ्रमणले ।

मान्छेले जे अपेक्षा गरेर आफु वरपरको परिवेशलाई नियाल्छ त्यसै अनुरुप उसले प्राप्त पनि गर्छ । सायद नारी हठका बारेमा लगातार लेखिएको लेखहरुको लागि पनि यसै हुनाले विषय मिलेको हुनुपर्छ त्यो यात्राका क्रममा !

कुरा के भने, यात्राको क्रममा जाँदै गर्दा मेरो नजिकै एक अलि विरामी देखिने महिला बस्न पुगिन । म र एक जना साथी बसेका थियौँ त्यो सिटमा । सायद साथीले चिनेको मान्छे भएर होला ऊ आफू भइँमा बसेर भए पनि ती अबलालाई (?!) चाहिँ सिटमै बसायो (तीनको साटो पछि मलाई चाहिँ उभ्यायो – सायद नारी हुनु नै पुरुषहरुको उदारताको पात्र हुने पहिलो योग्यता हो) । ती नारी केही झोक्राएर बसी रहेकी थिइन् । सायद केही अन्तर्मुखी स्वभावको भएको हुनाले होला मैले उनीसँग ठाडै कुरा गर्न सकेन । बरु मसँगै बसेकी एक सानी बालिकाले उनीसँग कुरा गर्न पुगिन । उनी दार्चुलाबाट बाजुरा जाँदै रहेछिन् । दशैंको मुखमा घर छोडेर बाजुरा घुम्न जाने भनेको सुन्दा मलाई केही अनौठो अवश्यै लागेको थियो । आफ्नो कथा पनि उस्तै–उस्तै भएकोले मुखै फोर्न भने सकेन । बाटो भरि त्यसरी नै बित्यो । बस गन्तव्यमा पुगरे रोकियो । उनी कता गइन मलाई थाहा भएन । म आफ्नो गन्तब्य तर्फ लागँे ।

यात्रा मेरो लागि सँधै अप्ठेरो हुने गर्छ । मलाई भ्रमण गर्ने रहर भए पनि बसको यात्रा भने निकै अप्ठेरो लाग्छ । स्वास्थ्य समस्याले गर्दा म यात्राका क्रममा खाना समेत नखाने भएकोले पनि हुनसक्छ त्यो यात्राको अठार घण्टा मेरालागि केही जटिलै भयो । त्यसैले यात्राका क्रममा साथैमा यात्रा गरेकाहरुको अनुहार पनि त्यति याद रहेन ।

दिनहरु बित्दै गए । गाउँघर घुम्दै जाँदा थुप्रै मानिसहरु भेटिन थाले । तिनै भेटिने मानिसहरु मध्ये एक जना म आउँदा बसमा भेटेको महिलासँगै यात्रा गरिरहेका युवक पनि थिए । पछि कुरा गर्दै जाँदा थाहा भयो । ती युवती त्यस गाउँमा नयाँ आएको कुरा थाहा भएकोले उनको बारेमा बुझ्न मन लाग्यो र मैले उनको बारेमा सोधी पनि हालेँ । बुझ्दै जाँदा उनको घर दार्चुला रहेछ । आफ्नै घरमा बहालमा बस्ने एक गैह्र सरकारी संस्थामा काम गर्ने युवकसँग उनको हेलमेल बढेको रहेछ । हेलमेल केही बढि नै भएछ क्यारे यसपटकको दशैँमा ती युवतीले घरै सम्म जाने जिद्दि गर्न थालिछन् । कुरा के रहेछ भने उनीसँग हेलमेल बढेको युवकको घरमा विहे भइसकेको रहेछ । दुईजना बालबच्चा समेत रहेछन् । त्यसैले ती युवकले उनलाई लग्न नमानिरहेको रहेछ । उनको साथैमा आएका अर्थात मलाई उनको बारेमा भन्ने साथीले समेत उनलाई सम्झाइ बुझाइ फिर्ता पठाउन खोजेका रहेछन् । तर ती युवतीले कसैको भनेको सुनेनछिन् । बरु उल्टै नआउ भन्दा मुर्छा पर्दि रहिछन् । दाँत किट्दी रहिछन् । अनि पानी हालेर ब्युझाउने बित्तिकै उनी होसमा आउने र फेरी आफ्नो पुरानो ढिपी दोहो¥याउने गर्दि रहिछन् । पछि भर्सेला परोस भनेर तिनलाई आउन दिएको रे ! मैले अब के गर्लिन त तिनी घरमा आफ्नी सौता देखेपछि भनेर सोधेँ । ती युवकले भने, “अब अरुको भनेको नमान्नेले दुःख पाउँछन् भने हामीले के गर्नु ? भन्नु भनेकै हो ः श्रीमति छ, छोराछोरी छन् , दुःख पाउँछ्यौ नजाउ , आदिआदि । मानेन अब के गर्ने ।”

मलाई यत्ति भए पुग्यो । मैले मुस्काउँदै मनमा अनेक तर्कनाहरु सुरु गर्न थालेँ । सोच्ने क्रममा मनमा अनेकौं विचार मन्थनहरु हुन थाले । एक नारीका लागि आफ्नो पतिको माया बाडिनु जतिको दुःख पुर्ण कुरा के होला ? मलाई पनि थाहा छ किन भने मैले पनि त्यस्ता परिवारहरु देखेको छु जसमा दुई श्रीमतिका पति र श्रीमतिहरु दुबैले दुःख खेप्नु परेको छ । उखानै छ नि, “दुई जोइको पोइ कुना पसी रोइ !” अनि श्रीमतिलाई पनि आफ्नो पति बाँडिएको पक्कै पनि मन पर्दैन होला । नत्र सौता लडेका कुराहरु सुन्नमा आउँदैन थिए होला । त्यस्तै बालबालिकाका लागि सौतेनी आमाको छायाँ स्वीकार्य हुने कुरै भएन ।

मलाई अचम्म के लाग्यो भने ती युवतीलाई जब आफु सौता पर्न जान लागेको थाहा थियो भने उनी किन अन्जान बनी रहेकी थिइन । सँधै पुरुषलाई सौता ल्याउने भनेर दोष दिने नारीले आज आफै मरिहत्ते गरेर सौता बन्न किन चाहिरहेकी थिइ । हुन सक्छ सुरुका दिनमा सम्बन्ध नहुँदा सम्म ती पुरुषले पनि उनलाई ढाँटेका होलान । तर पुरुषको बारेमा सम्पूर्ण कुरा नबुझिकन आफुलाई सुम्पिनु उनको के भुल होइन र ? मलाई थाह भएसम्म उनीमाथि जबरजस्ती करणी त भएको थिएन । आफूलाई सँधै पुरुषको समान विवेकशील ठान्ने र दमनका कारण आफ्नो विवेकले योग्य स्थान नपाउन सकेको ठान्ने नारीको विवेक त्यसबेला कहाँ गयो जब उनी जान्दा जान्दै सौता पर्न जान लागेकी थिइन् । दुबै प्रेमालापमा भएका बेला जति सुख वा दुःख नारीले पाएकी हुँदी हो त्यस्तै सुख वा दुःख त्यो सम्पुर्ण कुरामा संलग्न हुने पुरुषले पनि पाएको थियो होला । अनि जब त्यो सम्बन्धले भविष्यमा दुःख सिवाय केही दिन सक्दैन त्यसलाई लम्ब्याउनुको अर्थ के ? आँखिर कुरा दुई जीन्दगीको मात्र थिएन पहिली पत्नी र उनका दुई बच्चाको जीवनको सवाल पनि थियो । पछि गएर नौली दुलहीका पनि सन्तान हुने होला । अनि त्यो सम्बन्धले पीराउनेको संख्या थपिने स्वभाविक छ । यति जान्दा जान्दै त्यो अपहत्ते किन ?

सौता ल्याउने पुरुषलाई गाली गर्ने नारीहरुले के बुझ्न जरुरी छ भने सौता भएर आउने पनि नारी नै हो । पुरुषले सौताका रुपमा अर्को पुरुष भित्र्याएको मैले त सुनेको छैन अरुले सुनेको भए मलाई थाहा छैन । अनि सौता ल्याउने पुरुष जत्तिकै दोषी सौता लाग्न आउने नारी पनि होइन र ? अब फकाइफुल्याइ ग¥यो भन्छन यदि कोही भने म के भन्छु भने पुरुषले आकासका तारा झार्ने जस्ता अव्यवहारिक कुरा गर्दा मख्ख पर्ने नारीको विवेक यस्ता बेला कहाँ जान्छ ? आफ्नो सुन्दरताको झुटै भएपनि प्रसंसा रुचाउने नारीले किन नबुझेको कि उसको सुन्दरता दैहिक मात्र नभएर आत्मिक पनि हुन सक्छ । अर्थात ऊ बौद्धिक रुपमा सुन्दर हुने सोच किन राख्दिन ? सँधै लाली र पाउडरले नै उसको सुन्दरता वृद्धि गर्छ भन्ने सोचमा किन हुन्छे ? ऊसको त्यो सुन्दरता क्षणिक हो भन्ने जान्दाजान्दै त्यस्तो क्षणिक सुन्दरताको प्रसंसामा ऊ चीरकाल सम्म रमाउन किन खोज्छे । प्राय नारीको गुनासो हुन्छ विहे अघिको जस्तो प्रसंसा विहे पछि नपाएको कुरामा । तर ऊ किन विर्सन्छे ऊसको सौन्दर्य नै पनि पछिसम्म (पुरुषसँगको लामो सहकालपछि) शरीरबाट हटेर आत्मामा सरिसकेको हुन्छ र जीवन बढि व्यवहारिक बनिसकेको हुन्छ । मुहारको जुन भन्दा पनि पतिले उसमा व्यवहार र गुन (गुण) खोज्न थालेको हुन्छ । आकासको तारा कसरी झार्ने भन्ने भन्दा बढि चिन्ता पुरुषलाई साँझ विहानको छाक कसरी टार्ने भन्ने हुन्छ । तर नारीको अपेक्षा सँधै तारा झार्ने कुरा सुन्ने हुन्छ । उसका मुहारमा समयका रेखा र छायाँ पर्दा पनि ऊ पुरानै प्रसंसा सुन्न चाहन्छे । अब यस्तो चाहना राख्नुलाई विवेकी भएको भनेर कसरी मान्ने ? यस्तै यस्तै ढिपी गर्ने अनि सौता पर्न लागेको थाहा पाउँदा पाउँदै र त्यसले आफ्नो साथसाथै अरु धेरैको जीवनलाई भड्खारामो जाक्ने थाहा पाउँदा पाउँदै पनि अपहत्ते गरेरै भएपनि सौता लाग्ने नारीलाई फेरी पनि मेरो उही पुरानो प्रश्न छः तिमी नारी किन यति हठी ?

raman.paneru@gmail.com

Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

सुधीर शर्माकाे प्रयोगशाला