टोपी दिवसमा धोतीका कुरा
जर्मनीको बसाइको सुरुवाती दिनमा नेपाली हुँ भन्दा नेपालका बारेमा जिज्ञासा राख्ने धेरै हुन्थे । कतिले चिन र भारतसँग जोडेर मेरो राष्ट्रियता परिभाषित गर्ने कोशिस समेत गर्थे । म सकेसम्म सबैलाई स्पष्टिकरण दिँदै हिँड्थे । देश र संस्कृतिको महत्व त्यति नै बेला मलाई अनुभुति भएको हो । देशमा छँदासम्म कसैलाई आफ्नो परिचय दिइरहनु नै परेन । देश बाहिर जाँदा सबैले त्यहि नै मागे । अरुलाई परिचय दिनु अघि आफै पनि जान्नु पथ्र्यो । त्यसेले ती दिनहरुमा मैले आफैलाई चिन्ने अवसर समेत प्राप्त गरेँ । देशका बारेमा धेरै कुराहरु जान्ने अवसर पनि त्यहि थियो । ‘यो मेरो देशको धेरै परम्परागत पोशाक मध्येको एक हो । पहिले यसैलाई राष्ट्रिय पोशाक पनि भनिन्थ्यो । अहिले अन्य संस्कृतिको समेत सम्मानार्थ यो लगायत अन्य थुप्रै जातजातीका पोशाकलाई राष्ट्रिय पोशाक भनेर चिनिन्छ ।’ यति भनेर म परम्परागत पोशाकहरु पहिरिएका नेपालीहरुको चित्र सबैका सामु प्रस्तुत गर्थे । त्यहाँ मधेसी, गुरुङ, थारु, नेवारी, लगायतका समुदायको पहिरन लगाएका मानिसहरु हुन्थे । सबै मुख बाएर त्यो तस्वीरको अवलोकन गर्थे । उनीहरुले त्यो तस्वीरलाई देखेर व्यक्त गरेको अभिव्यक...