तिमीलाई रुवाउने मेरो धोको होइन !
तिमी नारी किन यति हठी ? –१२
तिमीलाई रुवाउने मेरो धोको होइन... बारम्बार तिम्रा हठका कुराहरु लेख्नु, तिमीलाई रुवाउने उद्देश्यले होइन । त्यो त तिमीमा भएका कम्जोरीहरुलाई तिमी सामु ल्याउँदा तिमी केही सम्हालिन्छ्यौ कि भन्ने चाह मात्रै हो । तिमीलाई पनि त थाह हुनु प¥यो नि तिमीले गरेका सबै कामहरु ठीक हुँदैनन् । तिमीले गरेका कामप्रति पुरुषहरुको धारणा बुझ्दा तिमीलाई पनि त सम्हालिन सजिलो हुन्छ होला । त्यही भनेर मात्रै मैले तिम्रा हठका बारेमा लेख्न थालेको । अस्ति तिमीले कुरैकुरामा तिमी आफू असक्षम भएको कबुल ग¥यौ । अझ तिमी त आफ्नो असक्षमता, आफ्नो दुर्बलता र आफ्ना कम्जोरीहरु पुष्ट्याउन समेत तम्सेकी थियौ । मैले नै सुन्न चाहेन । मलाई लाचारीका कथाहरु सुन्ने मन हुँदैन । मलाई परिस्थितिहरुलाई दोष दिने बानी मन पर्दैन । सायद म आफै पनि पहिले त्यस्तै गर्ने भएकोले होला मलाई आफ्नो इच्छालाई वा आफ्नो अकर्मण्यतालाई बाध्यताको खोल ओढाएको मन पर्दैन । भन्छन् एउटा अकुशल डकर्मीले कहिले पनि राम्रा औजार हात पार्दैन रे ! अर्थात उसलाई सँधै आफ्ना औजारका कारण आफ्नो कार्य कुशलता पूर्वक सम्पन्न गर्न नसकेको जस्तो लाग्छ रे ! तिमीले आफूलाई असक्षम भन्नु वा तिम्रो परिस्थितिले तिमीलाई उठ्न नदिएको भनेर प्रमाणित गर्न खोज्नु भनेको आफ्नो अदक्षतालाई ढाकछोप गर्न एक अकुशल डकर्मीले आफ्ना औजारहरुलाई दोष लगाए जस्तै हो । मैले त्यो कहिले चाहेको थिएन । मैले तिमीले त्यसरी आत्म समर्पण गरेको हेर्ने इच्छा कहिल्यै राखेन । हो तिम्रामाथि बारम्बार बिभिन्न बहानााम झटारोहरु हाने होला तर त्यसको उद्देश्य तिमीलाई थिलथिल्याउने थिएन । तिमीलाई घुँडा टेकाउने उद्देश्यले मैले तिम्रा बारेमा लेख्न चाहेको होइन । बरु तिमीले आफ्नो स्वच्छन्दतालाई जसरी स्वतन्त्रता भनि परिभाषित गरेकी छौ, त्यसैलाई तिम्रै आँखा अघि उदाङ्गो पार्न मात्रै खोजेको हुँ । तिमीले गरेका आचार व्यवहारमा भएका त्रुटीहर वा मैले देखेका त्रुटीहरु मात्रै औँल्याउन खोजेको हुँ । तिमीले बारम्बार त्यसको प्रतिउत्तर आफूसँग भएको कुरा त ग¥यौ तर तिमीले त्यसलाई कहिल्यै अघि ल्याउन सकेनौं । कहिले काहिं त एकोहोरो एकालाप कहिले सम्म गरिरहुँ जस्तो पनि लाग्छ । तर मेरा शब्दहरु पढेपछिको तिम्रो मुहार अनि तिम्रा प्रतिक्रियाहरु सम्झेपछि भने अझ लेख्ने मन लागेर आउँछ । अनि कहिलेकाही तिम्रा व्यवहारहरु यस्ता भइ दिन्छन् कि मैले त्यसमा विवेकको रक्तिभर पनि प्रयोग नभएको पाउँछु । अनि फेरी लेख्न मन लाग्छ । तिम्रा बारेमा शब्दमा जे लेखेपनि मनमा भने स्रद्धा र सम्मान बोकी हिंड्ने मान्छे । हो पुरुष भएपछि सामान्य पुरुषमा हुने कम्जोरीहरु त अबश्यै होलान्ः तिम्रो मुस्कान र सामीप्यतामा पग्लीने । तर पनि सकेसम्म शिष्ट बन्ने चेष्टा गरेको छु । मनमा बन्ने मुक चाहना र योजनाहरुलाई सकेसम्म तिमी सामु हुँदा प्रकट गरेको छैन । आज तिम्रा बारेमा यति धेरै लेखिसकेपछि कतै गल्ती गरेछुु कि भन्ने पनि हुन्छ तर तिमीसँगै बुझ्न जाँदा तिमी नै सहि थपि दिन्छौ । तर फरक यत्ति हो तिमी आफू त्यो स्रेणीमा नपर्ने कुरा राख्छ्यौ । यहीं निर त चूक हुन्छ तिम्रो । तिमी कहिल्यै नारी भएर सोच्न सक्दैनौ । सकेसम्म व्यक्ति भएर आफूलाई मेरा झटाराहरुबाट चोख्याउँछौ । म त चाहन्थे एक दिन तिमी पनि गर्जनका साथ मेरा झटारोहरुको प्रतिउत्तर दिनेछौ । कति शब्दमा त कति तिम्रा कामहरु मार्फत । तर त्यसो केही भएन । मलाई कुनै कोणबाट पनि तिमी असक्षम वा म भन्दा कम्जोर छौ भन्ने लाग्दैन । तर तिमी नै आफै आफूलाई कम्जोर बनाइरहेकी हुन्छ्यौ । तिमीलाई तिम्रा हरेक कार्यमा मेरो स्वीकृति चाहिन्छ । तिमीले राम्रैसँग सम्पन्न गरेका कार्यहरुमा पनि मेरो अनुमोदन भइसकेपछि मात्रै तिमीलाई आफूले कार्य कुशलतापूवर्कक सम्पन्न गरेको विश्वास हुन्छ । म ठान्थे तिमीले मुखले भन्ने गरे जस्तो तिमी पुरुष विनाको जीवन सरल ढंगले विताउन सक्छौ । तर त्यस्तो कतै रहेनछ । तिमीलाई जुनसुकै नाताका रुपमा भएपनि पुरुषको जरुरत हुँदो रहेछ । तिमीले अमूक रुपमै भनेपनि यो कुरा धेरै पटक पुष्ट्याइ सकेकी छौ । जबजब म तिमीसँग टाढिने बहाना खोज्छौ तबतब तिमी आफै मेरा सामु आइ मलाई त्यसो गर्न बाट रोक्छौ । सँधै जसो तिम्रा आँशु र लल्कारमा म पनि घुँडा टेक्न पुग्छु । म चाहन्थे तिमी आफ्ना खुट्टामा उभिने होऔ । तिमीले एक्लै पनि बाँच्न सक्छु भनेर भनौला भनेर म कल्पी रहन्छु । तर तिमीले त्यो विचारलाई सँधै आफ्ना मनको कुनामा थन्क्याएर राख्छ्यौ । थाह छैन तिमीलाई कुन डरले खान्छ । अझै पनि तिमी कुनै पुरुषको जुठो माझ्ने र मैला लत्ता धोएर बस्नमा आफ्नो नारी चोलाको सार्थकता देख्छौ । सिउँदोमा सिन्दुर र गलामा मंगल सुत्रको पाशो लाउनुलाई तिमी आफ्नो जीवनको पूर्णता ठान्छ्यौ । तिमी भन्छौ विवाह पछि तिम्रो जीवन सुरु हुन्छ रे ! त्यसो भए त तिमीले यौवनावस्थामा साँचेर राखेका सपना अनि आकांक्षाहरु के त्यत्तिकै हु्न् त ? त्यो के तिम्रो जीवन होइन र ? पुरुष भने जन्मे देखी नमरेसम्म आफ्ना रहरका लागी मरिहत्ते गरिरहन्छ र जसरी तसरी आफ्ना सपनाहरु साकार पार्छ । अनि तिमीचाहीं सँधै आफ्नो चोलालाई धिक्कार्दै चुलोभाँडोमै आफ्नो इच्छा र आकांक्षालाई पखाल्छौ । यसरी पनि त तिमी कम हठी देखिँदैनौ । उमेर छँदा सम्म स्वतन्त्रता र समानताका कुरा गर्छौ अनि उमेरका धर्साहरु मुहारमा कोरिन थालेपछि वा जीवनको कटुताहरुसँग सामना गर्न सुरु हुन थालेदेखि भने तिमी पनि तिम्री आमाले जस्तै शिशु उत्पादन गर्ने कारखाना र घरकी चाकर्नी बनेर आफ्नो जुनीको सार्थकता आफ्ना सन्तान मार्फत खोज्छ्यौ । यदि तिमी सँगैका कसैले तिम्रो भन्दा फरक विचार राखेर आफ्नो शैलीमा जीवन जीउन चाहे भने तिमी तिनलाई गति छाडा भएको ठान्छौ । तिमीले तिम्रो जीवनसाथी घुम्टो भित्रैबाट स्वीका¥यौ होला त्यसैले अबका नारीलाई पनि सालीनताका नाममा हरेक पलमा त्यसै गरि आँखा चिम्लनु पर्छ भनि दासताको पाठ सिकाउँछौ । तिमीलाई तिम्रो अघिल्लो पुस्ताको कट्टरता देखि रीस उठ्छ तर तिमी आफ्ना संकिर्णतालाई भने आफ्नो नारी धर्म भनि परिभाषित गर्न पछि पर्दैनौ । जुन अप्ठेरोमा तिमी प¥यौ त्यही अप्ठेरोमा अरुलाई पार्दा तिमी कहिल्यै पनि आफ्ना पीडा र छट्पटीहरु सम्झीन्नौं । तिमीबाट त्यहीं नेर त चूक हुन्छ । आफूले भोगेका अप्ठेरा क्षणहरु अरुले नभोगुन् भन्ने तिमी कहिल्यै सोच्दैनौं । आफू पनि लाचार भएर जीवन टुङ्गाउने मोडमा पुगेकी छौ अरुले पनि त्यसै गरोस् भन्ने सोच्छौ । समर्पणको जीवन बाँच्यौ अरुको बँचाइ पनि त्यसै होस् भन्ने सोच्छौ । यो तिम्रो घायल ‘स्व’का कारणले पनि यस्तो भएको हुन सक्छ । तिम्रो हविगत अरुले किन भोग्नु प¥यो ? तिमी स्वयं पनि लाचारीको जीवन किन बाँच्नु प¥यो । तिमीले चाह्यौ भने परिस्थितिहरु फेरिन सक्छन् । तिम्रा अबेर रातसम्म रोएर ओशाएका आँखाहरुमा पनि खुशीका चाउरीहरु पर्न सक्छन् । एक पल्ट आँटेर त हेर ! अँ हँ तिमीले यस्तो कहिल्यै गर्नेछैनौ । तिमीलाई सँधै आफूलाई एक दुखान्त नाटकको पात्रका रुपमा उभ्याउनु छ । त्यो पात्र जसप्रति दर्शकहरुले सतही सहानुभुती देखाउन सकुन् । तिमीलाई म बाट पनि तिम्रा लाचारीका पलहरुप्रतिको सहानुभुति मिल्ला भन्ने अपेक्षा हुन्छ । तर म त्यसो कदापी गर्ने छैन । तिमीलाई तिम्रा आँशु खसाल्दा सहानुभुतिका मिठा शब्दले अझै लाचार बनाउनु भन्दा तिम्रा खोटहरु औँल्याएर तिमीलाई परिस्थितिको दास हुनबाट बचाउनुलाई म आफ्नो धर्म ठान्छु । केही उत्साह र जाँगर थपियोस भनि कोर्न सुरु गरेकोमा कहिले मेरो अहं देख्ने अनि कहिले आफ्नो लाचारीमाथि मेरो सहानुभुतिको अपेक्षा राख्दै आँशु खसाल्ने तिमी नारीलाई मेरो प्रश्नः तिमी नारी किन यति हठी ?
Comments
Post a Comment