सुन्दरताको तिमी उदहारण हौ !

 तिमी नारी किन यति हठी ? –१६
बाटामा हिंडीरहेको थिएँ । पहिले उनी सामान्य चालमा आइरहेकी थिइन् । मेरो नजिक पुग्ने वित्तिकै उनको पदचाल नै फेरियो । सामान्य अवस्थामा हिँडीरहेकी ती युवती केही भिन्न पाराले हिंड्न थालिन् । उनको मुहारमा नजर दौडाएँ । उनले नथाहापाए जस्तो गरी हिंड्न थालिन् । विस्तारै शीर देखि पाउ सम्म टटोलेँ । उनी सामुन्नेबाट गुज्रीसकेपछि फर्किएर उनलाई हेरें । पछिबाट उनको सम्पूर्ण बान्किहरु देखिन्थे । उनले लगाएको पहिरनै त्यस्तै थियो । उनले रोजेको आफ्नो लवाइ नै त्यस्तो थियो जसले गर्दा उनको दैहिक सुन्दरता हेर्नलाई उनका सामु पर्ने जो कोही पनि लालायित हुँदा हुन् । सायद यो कुरा उनले पनि राम्ररी बुझेकी होलिन । एक त उनको कसिलो पहिरन, अझ त्यसमाथि उनको विशेष चालाले उनको शरीरका हरेक बान्किहरु थप आकर्षक बनाइदिन्थे । उनी छेवैवाट गएकोले उनको शरीरबाट आएको विशेष प्रकारको अत्तरको बास्ना पछि सम्म आइ रहेको थियो । हेर्दा राम्री थिइन् । जीउडाल पनि राम्रै थियो । उनको पीठ्युमाथि लत्रिएका काला सर्पकेशहरु अझै मोहक थिए । समग्रमा उनी सुन्दरी थिइन्, अत्यन्तै सुन्दरी ।
ईन्टरनेटमा ताजा घटनाहरुको बारेमा जानकारी बटुल्दै थिएँ । फेसबुकका वालहरुमा सबैले गरेका पोष्टहरुमा उनको तस्वीर थियो । सबैले उनको पक्षमा उभिइदिनका लागि आग्रह गरेका थिए । पछिल्ला दिनमा उनको सम्मानित हुँदाको श्रब्य–दृष्यहरुका लिंकहरु पनि पोष्ट गरिएका थिए । उनको तस्वीर हेरेँ । निधारमा ठूलो रातो टिका, कानमा फुली, एक हातमा घडी अनि अर्को हातमा रातो चुराः बस श्रृङ्गारका नाममा यत्ति छ । नाक मुख सामान्य नै छन् । आँखीभौँका रौं कमै मात्रै देखिन्छन् । पहिरन उही सादा सारी चोलो । तर पनि त्यो चेहराले विश्वको ध्यान खिचेको छ । अहिले यत्र–तत्र–सर्वत्र उनकै चर्चा छ । उनको सुन्दरताको चर्चा छ । मलाई लाग्छ उनी हरेक नारीका लागि एक आदर्श बन्न सक्छिन् । जिन्दगीका अप्ठ्यारा मोडहरु सबैका जीवनमा आउँछन् । उनले आफ्ना जीवनका अप्ठेरा मोडहरुमा अरुको सहारा बन्ने बाटो रोजिन् । सबै मानिसका जीवनमा अप्ठ्यारा परिस्थितिहरु आउँछन् । महान हस्ती तिनै बन्छन् जसले आफ्ना अप्ठेरा परिस्थितिहरुमा समेत अरुको सहारा बन्ने बाटो रोज्छन् । उनले पनि त्यसै गरिन् । उनी सुनाम भइन् । उनलाई विश्वले चिन्यो । सिएनएन हिरो भनेर उनलाई संसारले सलाम ग¥यो । उनी अर्थात लाखौं नारी–पुरुषकी प्रेरणाकी श्रोतः अनुराधा कोइराला । उनी पनि सुन्दर लागिन,अत्यन्तै सुन्दर । उनको चारित्रिक सुन्दरताको अगाडि विश्व सुन्दरीहरुको दैहिक सुन्दरता समेत फिका लाग्यो । उनको बारेमा कुरा सुन्दा वा उनलाई हेर्दा मनमा अर्कै श्रद्धा पलाएर आयो । सामान्य नारीहरु आफ्नो दैहिक सुन्दरतालाई कायम राख्न अनेकन उपायमा मस्त हुन्छन् । श्रृंगारका अनेकन सामग्रीहरुको प्रयोगले आफ्नोपनै गुमाएर
क्रितृम सुन्दरतामा मग्न हुने सुन्दरीहरु बजारमा प्रसस्तै भेटिन्छन् । मुहारको अनि देहको सुन्दरतालाई मात्रै उनीहरुले सुन्दरता देख्छन् । त्यो सुन्दरता जो क्षण भरको लागि हुन्छ । जसमा केही समयपछि समयका रेखाहरु कोनिेछन्, अनि जसमा समयका सहिछापहरु पर्नेछन् । त्यो क्षणिक सुन्दरतामा भुलेर उनीहरुले आफ्नो जीवनको सार्थकतालाई पनि मेटाउन पुग्छन् । एक दिन त्यसै सुन्दरताले कुनै झिल्के लोभिनेछ, आफ्नो तिर्खा मेटाउनेछ अनि एउटा नभलाउने घाउ छोडेर जानेछ । जूनमा दाग बनाएर जानेछ । कति जूनले ती दागमाथी आफ्ना आभाहर थपेर जीवनलाई फेरि जीउने आँट देखाउनेछन् अनि कतिले त्यसैलाई जीवनको अन्त सम्झन पुग्नेछन् । पारिजातकी बोनी भएर जीवनलाई असमयनै बिराम दिनेछन् । यो सुन्दरता पनि के सुन्दरता ? जसलाई देखेपछि भक्तिभाव भन्दा आशक्तिभाव हावी होस् । जीवनमा प्रेरणाको साटो लालसा थप्ने सुन्दरता पनि के सुन्दरता ? आफ्नै लागि अभिसाप बन्ने सुन्दरता पनि के सुन्दरता ? क्षणिक उन्माद ल्याउने सुन्दरता पनि के सुन्दरता ? सार्थकता विहीन सुन्दरता पनि के सुन्दरता ? धेरै पटक यस्ता कुराहरुमा विवाद भए । उनीलाई पनि आफ्नो दैहिक सुन्दरता भन्दा चारित्रिक सुन्दरतामा ध्यान दिन भनेँ । उनले कहिल्यै माने जस्तो गरिन, कहिल्यै मानिनन् पनि ! अरु थुप्रै नारीहरुसँग पनि यसका बारेमा चर्चा भए । सबैले अरुका बारेमा कुरा गर्दा सहि थप्थे तर आफूले आफ्नो चेहरा टल्काउन लगाएका लाली पाउडरको भेउ भने विरलै पाउँथे । मान्छेको बानी अनौठो हुँदो रहेछ, अरुको जुन कम्जोरीका बारेमा कुरा गर्दा ऊ खुशी हुन्छ, आफूमा भएका त्यस्तै कम्जोरीहरुलाई भने उसले मुश्किलले देख्दो रहेछ । अनि यदि कसैले त्यो औँल्याइ दियो भने पनि त्यसलाई सहज रुपमा लिन नसक्दो रहेछ । यसको अर्थ यो होइन कि नारीहरुले श्रृंगार नै गर्नु हुँदैन । तर श्रृंगार नारीको पर्याय हो भन्दै हिँड्नु सायद उचित होइन होला । श्रृंगार बाहेक पनि अरु थुप्रै कुराहरु छन् जसले नारीको चरित्रलाई प्रेरक र पथप्रदर्शकको रुपमा स्थापित गराउन सक्छ । श्रृंगारले नारीलाई आकर्षक बनाउँछ, प्रेरक होइन । श्रृंगारले नारीलाई लोभलाग्दी बनाउँछ, प्रेरणादायी होइन । त्यसैले सक्छौ भने श्रृंगारलाई नारी हुनुको पर्याय नसम्झ । तिम्रा चारित्रिक गहना पनि तिम्रा श्रृंगार सामग्री बन्न सक्छन् । यसका उदाहरणहरु पहिलेका थुप्रै नारीहरुले प्रस्तुत गरेर गइ सकेका छन् । तिमीले आदर्श मानेकी हेलेन केलर, पासाङ्ग ल्हामु शेर्पा, मार्गरेट थ्याचर, एमी जोन्सन्, झाँसी कि रानी लक्ष्मी बाई, पारिजात, जेके रोलिङ्ग, म्याडम क्यूरी, भेलेन्टिना टेरेस्कोवा, कल्पना चावला, आदि थुप्रै सुविख्यात नारीहरुले नारीका थप परिभाषाहरु व्याख्या गरेर गइ सकेका छन् । उनीहरुले आफ्नो जीवनकालमा नारीका सम्भावित अवतारहरुका बारेमा कहिल्यै नभुल्ने पाठहरु छोडेर गइ सकेका छन् । हालै मात्र पनि अनुराधा कोइरालाले नारी सुन्दरताको अद्वैत उदाहरण प्रस्तुत गरेर दुनियामा आफ्नो देशलाई चिनाएकी छिन् । देश चिनाउने उनको सुन्दरता लाली पाउडरले उनलाई दिएको होइन, त्यो त उनले गरेका कार्यहरुले उनलाई दिएको हो । उनले आफ्नो जीवनलाई असहाय नारीहरुको सेवामा लगाए वापत प्राप्त गरेको चारित्रिक उचाइले उनलाई सुन्दरता प्रदान गरेको हो । उनको त्यो सुन्दरता मलाई उदाहरणीय लाग्यो । सक्छौ भने तिमी पनि यसलाई अपनाउने प्रयत्न गर । तर होइन तिमी आफ्नो दैहिक अनि मुहारको सुन्दरतामा मात्रै मग्न हुन चाहन्छ्यौ भने मेरो भन्नु केही छैन । बस एक प्रश्न छः तिमी नारी किन यति हठी ?
यो प्रश्नका लागि तिमीले मलाई बारम्बार उक्साइ रहन्छ्यौ । एक पटक त तिम्रो हठको कारण तिमीलाई सोध्ने आँटै गुमाइ सकेको थिएँ । तर तिमीले नै फेरिफेरि बाध्य बनायौ । बाटाघाटामा हिँड्दा–डुल्दा तिमीलाई सम्मानपूर्ण दृष्टीले हेरौँ भन्छुः सक्दैन । मलाई थाहा छैन यो दोष कसको हो । लाखौँ यत्नका बाबजुद तिमीलाई ससम्मान हेर्न सकिन । तिमीले लाएका पहिरन नै यस्ता हुन्छन् कि चिउँडा मनितिर नजर नडुलाई धरै मिल्न गाह्रो हुन्छ । सायद तिमीले आफ्नो दैहिक सुन्दरतालाई चारिरित्रिक सुन्दरताले छोप्न सफल भएको भए मैले त्यो धृष्टता गर्न सक्ने थिएन होला । मलाई थाह छ तिमी मेरो जीवनमा धेरै नाताका रुपमा गाँसिएकी छ्यौ । तर ती सबै नाताहरु अनि सम्बन्धहरुमा रहँदा पनि तिमीलाई यथोचित सम्मान गर्न नसक्नुमा जत्तिको दोषी म छु त्यत्तिकै दोषी म तिमीलाई पनि पाउँछु । दृष्यले प्रतिक्रिया जन्माउँछ । जस्तो देख्यो त्यस्तै सोच बन्छ । हुन त जस्तो सोच भयो त्यस्तै देखिन्छ भनेर पनि भन्नेहरुको कमी न होला । तर एकै व्यक्तिले मैले बाटामा देखेकी सुन्दरी र इन्टरनेटका पानाहरुमा भेटेकी सुन्दरीहरुलाई देख्दा पक्कै पनि मेरै जस्तो अनुभव गर्लान् । बाटाकी सुन्दरीले उनीहरुलाई आशक्त बनाउला अनि इन्टरनेटका पानामा भेटेकी सुन्दरीले उनीहरुलाई भक्त बनाउला । अर्जुनले जस्तो उर्वसीको प्रस्तावलाई समेत लत्याउन सक्ने विक्रमोर्वशीयको चरित्र देखाउन सक्ने पुरुष भेट्न सायदै सकिएला । सक्छौ तिमी पनि कोशिस गर आफूलाई चारित्रिक उचाइ दिने । आफूलाई दैहिक सुन्दरताबाट मात्रै मापन गर्ने नबनाउ । तिमीमा अरु पनि गुणहरु छन् जसले तिमीलाई अमर सुन्दरता प्रदान गर्न सक्छ । त्यो सुन्दरता जो हेलन केलर, पासाङ्ग ल्हामु, आदिहरुमा थियो । त्यो सुन्दरता जसको आडमा तिमीले नारीहरु पनि सबै कुरामा सक्षम भएको भनि पुष्ट्याउन सक्छ्यौ । अनि यी कृतघ्न नजरहरु कहिल्यै पनि तिमीमाथि कुदृष्टि राख्ने छैनन् । तिमीले मौकै नदिएपछि कसरी गर्नु त्यो धृष्टता ?

Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

सुधीर शर्माकाे प्रयोगशाला