सुजित मैनालीको शिलान्यास
किताबको समय काल पृथ्वीनारायण देखि केपी ओलीको दोश्रो चुनाबी जित सम्म छ । सन्दर्भ सूचीहरु राम्रा छन् । सौरभ शैलीमा "मैलेजे लेख्यो त्यहि सत्य हो । सन्दर्भ सामग्री मैले दिनै पर्दैन " भन्ने भ्रमबाट कम से कम उनी ग्रस्त छैनन् । "विशेषत: पृथकतावादी अभियन्ताहरुले यस्तो धारणा राखेका छन् ।" जस्ता केहि पूर्वाग्रही र अप्राज्ञिक सन्दर्भहरुलाई नदेखे जस्तो गर्ने हो भने नेपाल अध्ययनका लागि सहायक हुने थुप्रै सन्दर्भ सामग्री किताबमा पाइन्छ । निचोड र धारणाहरुमा नगइ नेपाली इतिहास अध्ययन मात्रैको लागि राम्रै किताब छ । अब लागौं किताबप्रति को दुखेसोतिर ।
पृथ्वीनारायणले एकिकरण नगरेको भए के हुन्थ्यो भन्ने प्रसंगमा परको नागाल्याण्डको उदाहरण छ । दार्जिलिङ र नैनीतालको छैन ।नागाल्याण्ड नै पनि मानव विकास सुचकांकमा अघि छ । त्यो कुरा छैन खाली भाषा र धर्मलाई मात्रै अघि सारिएको छ । २५० वर्ष पछिपनि रेल सपना बिक्ने देश बनेको प्रति कुनै गुनासो छैन । एकातिर जातीय अन्तर्घुलनले सब ठीकठाक रहेको कुरा छ भने अर्कोतिर किताबमै गौहत्यामा रोक लाएको र भुलबस गाई मर्दा पनि तात्कालीन राज्यले पश्चिम पहाडका एक दलितलाई उसैको ढाड बाट मासु झिकेर खान लगाइ, घाउमा नुनचुक छरेर अन्तमा मारिदिनु भन्ने सजाय तोकेको प्रसंग छ ।
हिन्दु र बौद्धकोबीचको अन्तर्द्वन्द्वमा बौद्धमार्गीको हत्या, ८४ हजार किताब जलाइएको र शैव धर्म लागु गर्न खोजेतो लगायतको डानियलराइटको कृतिमा उल्लेख गरिएका तथ्यहरु गलत भएको कुरामा विद्वानहरु एकमत छन् भनेर जन ह्वेल्पटनको सन्दर्भ दिइएको छ । तर ह्वेल्पटनको किताबमा कुनै सन्दर्भ बिनै यो हिन्दु र बौद्ध बीचको द्वन्द्व भाषावंशावलीमा अतिरञ्जित गरिएको भए पनि त्यसले त्यति बेलाको तनाबलाई प्रतिविम्वित गर्छ भनेर भनिएको छ । "सर्बथा गलत हो । विद्वानहरुको एकमत छ ।" भन्ने छैन । शिलान्यासमा नश्लवादी राज्य हैन पनि भनिएको छ र नश्लीय शोच देखिएका जंगबहादुरको मुलुकी ऐन देखि किर्तिपुरमा अनावश्यक बल प्रयोगको घटना पनि प्रस्तुत गरिएकोछ ।
"मुलुकको राजनीतिक जीवन समयसापेक्ष सुधारिंदै जानुपर्छ तर सुधारको नाममा कुनै पनि नेपालीले उथलपुथलकारी क्रान्तीको रुमानीताहना राख्नु हुंदैन । त्यस्तो क्रान्तीबाट प्रकारान्तरमा विदेशी शक्तिकै स्वार्थसिद्ध हुन पुग्ने सत्य सबैले मनन गर्नुपर्छ ।" यति सम्मकोनिश्कर्ष पढेपछि म किताब प्रति सम्पूर्ण रुपमा सकारात्मक हुन सकिनं ।
किताबको अन्त्यमा छुट्टै अध्याय बनाएर २८ पाना खर्चेर डोरबहादुर बिष्टको खेदो खन्ने काम भएको छ । केहि दिन अघि भाग्यवाद र विकासको प्रसंग बुकाहोलिकमा उप्काउंदा केहिले प्रतिवाद गरेका थिए । केहिले मैनालीको किताब पढ्न सुझाएका थिए । पूर्वाग्रही भएर नपढियोस् भन्नको लागि पहिले बिष्टको किताब सक्काएं । बिष्टको किलाबलाई ५ मा ५ अंक दिएपछि यो प्रसंग पढें । यी २८ पाना पढ्दा लेखकले यस्तो किन गरे भनेर बुझ्न कठीन भयो । बौद्धिकताको यो भन्दा दुरुपयोक अरु हुन सक्दैन भन्ने लाग्यो।
म यो सन्दर्भमा यत्ति भन्छु कि मैनाली पढेर डोरबहादुर बिष्ट नपढ्नुस् । तपाईंको दिमागमा भरिएको पूर्वाग्रहले तपाईंलाई अन्धो बनाउंछ ।बरु डोरबहादुर पढेर मैनाली पढ्नुस् । अनि आफ्नो बुझाई र मैनालीको बुझाइको तुलना गर्नुस् । त्यसले बरु सत्यको नजिक पुऱ्याउला ।जातीय सोच भएका, धार्मिक कट्टरपन्थी र राष्ट्रवादीहरुलाई यो लागु नहुन सक्छ । उनीहरुले जहिले जसरी पझे पनि बिष्टलाई गलत नै देख्न सक्छन् ।
भाग्यवाद र वाहुनवादको परिभाषा मैनालीले दिएका छैनन् । किन त्यो नेपाली विकासको वाधक हैन भनेका छैनन् । खाली विदेशीको पैसा पाएर लेखेको, विदेशमा पढ्न गएको, आदि लेखेर चोम्स्की स्टाइलमा लेबलिङ गर्दै बिष्टको खेदो खनेका छन् । नेपाली समाजशास्त्रका पिता मानिएका बिष्टलाई नेपाली धर्म र समाजको सामान्य पनि ज्ञान नभएको भनेरै ठाउंठाउंमा लेखेका छन् । अझ परोक्षरुपमा इसाई धर्म फैलाउन खोजेको आरोप पढ्दा त मैनाली यति तल किन झरे भनेर अचम्म लाग्यो ।
भाग्यवाद भाग्यमाथिको विश्वास हो । पुल भत्किंदा प्रावधिक असावधानी नभएर दशा लागेको भनेर टार्ने इन्जिनीयरहरु भएको देश, विमान किन्दा बोका काटेर साईंत गर्ने अधिकारी भएको देश, ज्योतिष हेराएर ४ महिनाको खड्गो टार्न प्रतिपक्षको भूमिका निभाउन गोडाकमाउने नेता भएको देशमा भाग्यवादले विकासमा बाधा पुऱ्यायो भन्दा किन रुवाबासी ? लुगा किन्न त हामीलाई बार हेर्नुपर्छ ! संविधानविरोधी कदम चाल्ने प्रधानमन्त्रीको भविष्य त व्यवस्थामा भएको प्रावधान नहेरी उनकै ज्योतीष बालाई सोध्न जानुपर्छ । अनि भाग्यवाद विकासको अवरोध भन्न विदेशीको पैसा खानै पर्छ र ?
जात प्रथामाथिको विश्वास बाहुनबाद हो । जातप्रथा गलत हो । जन्मका अधारमा विभेद हुनुहुंदैन । तर राज्यस्तरबाटै दलितहरुमाथि हजारौं वर्षदेखि दमन भयो । त्यो सब बाहुनबाद अर्थात जात प्रथामाथिको विश्वासले भएको हो । बाहुनबाद भनेको बाहुन भन्ने हैन ।बिष्टले किताबमै पनि प्रष्टै लेखेका छन् । महेन्द्रमल्ल, राम शाह, जयस्थिती मल्ल, जंगबहादुर, लगायतका जातीय विभेद भरिएका "थितीबसाल्ने" बाहुन थिएनन् तर बाहुबादी थिए । श्रमको अपमान, श्रमिकहरुलाई भू-स्वामित्व वा उत्पादनका सामग्रीमाथिको पहुंचबाट बिमुख गर्नु, लाभबाट बिमुख गर्नु, शिक्षा बाट बञ्चित गरेर पढे-लेखेकाको जाली तमसुख बाट युगौंसम्म शोषित पिडित राख्ने विचारले देश विकासमा वाधा पुऱ्यायो भन्नु इसाई धर्म प्रोत्साहन गरेको हुन्छ ?
बाहुबादका कारण नेपाल गरीब भएको बिष्टको निष्कर्ष गलत भन्दै लेखकले मानव विकास सूचकांकमा नेवार, पहाडी बाहुन्, मधेसीबाहुन/क्षेत्री र पहाडी क्षेत्री अघि भएको कुरा प्रमाण स्वरुप उल्लेख गरेका छन् ।"गरिब सबैभन्दा कम भएको समुदाय पनि मधेसी ब्राह्मणहो "भनेर उनले उल्लेख गरेका छन् । लेखकको नेपाल के हो यसैबाट थाहा हुन्छ । यिनको अवस्था सूचकांकमा माथि भए देश विकासभएको मान्नुपर्ने जस्तो गरी उनले लेखेका छन् । फेरि उनैलाई दलितहरु गरीब र पछौटे हुनुमा हिन्दुधर्म जिम्मेबार भएकोमा शंका छैन ।भनेपछि बाहुनबादले देश हैन दलित मात्रै पछाडि परेका हुन् । दलित देश हैन । बाहुन, क्षेत्री, नेवार (तिनमा पनि श्रेष्ठ, प्रधान, बज्राचार्यजस्ता बाहुन नेवारको अवस्था पक्कै च्यामे, पोडे लगायतका दलित नेवार भन्दा माथि नै होला) र मधेसी ब्राह्मण मात्रै देश हो ।
त्यसै क्रममा उनले म्याक्स वेबरको प्रोटेस्टेन्ट सिद्धान्तका बारेमा पनि भ्रामक किसिमले उल्लेख गरेका छन् । युट्युबको एक भिडियोमा वेबरको प्रसंग झिक्दा बाबुराम भट्टराईलाई पनि टिप्पणीभरि विदेशी दलाल भनिएको प्रसंग यसैले सम्झाएको थियो । बेबरको तर्कलाई एउटा विकास अर्थशास्त्रको कक्षामा पनि विवेचना गर्ने अवसर पाइएको थियो । त्यसैको आधारमा केहि कुरा यहां उल्लेख गर्न मन लाग्यो।
इसाईमा पनि क्याथोलिक कट्टर हुन्छन् भने प्रोटेस्टेन्ट बढि उदार हुन्छन् । त्यसपछि घरघर गएर ईश्वरसंग कुरा गराउन आउने जेहोभाकासाक्षीहरु आउंछन् । सबै एकै हैनन् । वेबरले प्रोटेस्टेन्टको काम गर्ने संस्कारका कारण विकास भएको तर्क गर्दा त्यसको आलोचनात्मक विवेचनामा प्रोटेस्टेन्ट धर्म अंगाल्ने मुलुकहरु विकसित हुनुमा प्रोटेस्टेन्टहरुको साक्षरता वृद्धिमा भएको योगदानलाई लिईएको छ । वेबरले सहसम्बन्धलाई नै कारक-परिणामको सम्बन्ध मानेकाले वा आफ्नो आस्थाप्रति पूर्वाग्रही भएकाले त्यस्तो तर्क राखेका होलान् । तर प्रोटेस्टेन्ट देश विकसित भएको प्रमाण छ । त्यसैले संभावित कारणका रुपमा प्रोटेस्टेन्ट सबैले बाइबल पढ्नुपर्ने हुंनाले यसले साक्षरता वृद्धिमा सहयोग गरेको भन्ने तर्क छ । साक्षरताले विकासमा सघाउ पुऱ्याउंछ भन्नेमा सायद मैनालीले समेत सहमती जनाउलान् । यहि साक्षरता वृद्धिमा हिन्दु धर्मको योगदान हेर्ने हो भने यसले साक्षरता वा विद्या सिमित लिङ्ग, जात र तहमा सिमित राख्यो । त्यो त एकलब्य या कर्णकै कथाबाट पनि थाहा हुन्छ । अझ बढि त नेपालमा बाहुन-क्षेत्री बाहेकको साक्षरता वा पढाइको तहबाट नै पनि थाहा हुन्छ ।
लेखकले इतिहासको आलोचनात्मक चेत सहितको व्याख्याको शृंखलामा सत्तापक्षको पक्षपोषण हुने गरेर किताब लेखेका छन् ।प्रगतिशीलता पूर्णरुपमा नकार्न नसकेर ०७२ को संविधानमा भएका समावेशीता लगायतका कुराको सराहना पनि गरेका छन् । धर्मनिरपेक्षता विदेशी एजेन्डा भएको भन्नेमा चाहिं उनी पनि विश्वस्त छन् । ती देशमा के व्यवस्था छ भनेर हेर्ने दु:ख सायदै उनले उठाए रोलान्। युट्युबको एक भिडियोमा वेलायती संसदको सपथको एक भिडियोमा गिता, कुरान र बाइबलका विभनिन् संस्करण लगायतको ग्रन्थहरुछानीछानी सपथ लिन पाइने दृश्य देखेको भए उनको धारणा फेरिन्थ्यो कि ? वा युरोपियन युनियनको शक्तिशाली देशमा ३० प्रतीशतनास्तिक रहेको र चर्चबाट बाहिरिनेको संख्या बढ्दै गरेको कुराले उनलाई केहि सुझाउंथ्यो कि ?
कतिपय कुराहरु नभनिदिनाले पनि एक खाले विचार प्रसारमा वा धारणा निर्माणमा सहयोग पुग्छ । जस्तो हालका प्रम १४ वर्ष जेलबसेका हुन् भन्दा उनीप्रति दया या श्रद्धा जाग्ला । झापामा बन्चराले मान्छे काटेको आरोपमा ज्यान मुद्दा लागेर जेल बसेका हुन् भन्दा त्यहि भाव नआउन सक्छ । त्यस्तै प्रमको नाकाबन्दीको अडान र चुच्चे नक्साको कुरा गर्दा "केपी बा आइ लभ यु !" भन्न मन लाग्ला तर फेरि पार्टी फुटाएर सेटेलाइटबाट बिजुली बेच्ने उडन्ते गफ जोतेर लिपुलेक र कालापानी सम्बन्धी विवाद नमेटाइकनै महाकाली सन्धी गरेको भन्दा उनको राष्ट्रवाद नाङ्गिन सक्छ । यो पुस्तकमा पनि ओलीका हकमा वा पृथ्वीनारायण शाहका हकमा वा इतिहासकै हकमा पनिकेहि सूचना उपलब्द्ध छैन । जस्तो ००७ सालको नायक मातृकाप्रसाद कोइराला भनिएको छ । विपीको नामै छैन । यस्ता थुप्रै कुरा छन् ।
अन्तमा, किताब पढ्न चाहने र पढि सकेकालाई एउटै सुझाव के छ भने अध्ययन नरोक्नुस् । धारणाहरु सापटि नलिनुस् । तिनको विपरितकोणबाट पनि केलाउनुस् । त्यसरी मात्रै अध्ययनको अर्थ हुन्छ । नत्र किताबमा लेखेको कुरालाई नै अन्तिम सत्य मानेर हिंड्यो भने गलतकिताबले तपाईंलाई गलत मानसिकता बोकाउन पनि सक्छ । त्यो घातक हुन्छ । त्यो भन्दा नपढ्नु ठीक हुन्छ । कम से कम पूर्वाग्रहहरु तहुंदैनन् ।

Comments
Post a Comment