तिम्रो भोगाइ तिम्रै रोजाइ थियो !

तिमी नारी किन यति हठी ?– १७   
अचेल साथीभाइहरुसँग भन्दा पनि बढि समय इन्टर्नेटमा बित्ने गर्छ । इन्टर्नेटमा पनि अरु भन्दा बढि फेसबुकमै बित्ने गर्छ । नजिक टाढा सबै दुरीका साथीभाइहरुसँग लगातार सम्पर्क बनाउन सकिने हुनाले अरु कुरामा भन्दा फेसबुकमै बढि समय बिताउने मन लाग्छ । त्यसै क्रममा नारी दिवसको अघिल्लो दिन एकजना फेसबुककै महिला मित्रले नारी शोषणका बारेमा लेखेका कुराहरु पढें । उनी नारी भएकीले होला उनले नारी शोषणका कुरालाई आफ्नो स्ट्याटस बनाएकी थिइन् । उनले घरमा अनि कार्यालयमा नारीहरु शोषित भइरहेका कुरा लेखेकी थिइन् । सृष्टिकी सुन्दर रचना नारीको यो हविगतलाई सुधार्न अनि नारीलाई माया गर्न समेत उनले आग्रह गरेकी थिइन् । त्यसै स्ट्याटसमा सम्पूर्ण नारीहरुका लागि नारी दिवसको शुभकामना समेत दिइएको थियो । मलाई कसो कसो त्यसमा प्रतिक्रिया जनाउने मन लाग्यो । अनि उनको स्ट्टसमा तल लेखिदिएँ, ‘मोटो के मोटिँदो हो र पात्लो न पात्लिएपछि.... भने जस्तै नारीहरुले शोषित नभइ दिएका भए कसले शोषण गथ्र्यो र ? .......’ अनि त्यत्तिले चित्त बmुझेन अनि यो लेखै लेख्ने निधो गरेँ ।
मलाई नारीहरु शोषित पीडित भएका कुराहरु सुन्दा सँधै खसखस लागेर आउँछ । प्रकृतिको नियमै त्यस्तै छ । सबलले निर्बललाई हेप्ने अनि आफू अनुकुलको व्यवहार गर्न लगाउने । अनि प्रकृतिले सबै प्राणीलाई आफू जीउन सक्ने बाटो पनि दिएकी छन् । यस सृष्टिका सबै जीवहरुले आफ्नालागि बाँच्ने बाटो सजिलै खोज्न सक्छन् । यो अवस्यै हो कि बाँच्नका लागि गर्नुपर्ने संघर्षबाट कसैले पनि विमुख हुन सक्तैनन् । त्यही कुरा मानव समुदायका लागि पनि लागु हुन्छ । हरेक व्यक्तिले आफू बाँच्नको लागि संघर्ष गर्नुपर्ने हुन्छ । संघर्षविना कसैले पनि कुनै सफलता प्राप्त गर्न सकेको छैन । सबैले आ–आफ्नो किसिमको मिहिनेत गरेर मात्रै सफलताको चुली चुम्न सफल भएका हुन् । चाहे पुरुष होस् वा नारी, संघर्ष विना सफल भएको कुनै पनि उदाहरण छैन । सबैले आ–आफ्नो किसिमको संघर्ष पश्चात मात्रै मानव इतिहाँसमा आफ्नो नाम सुनौला अक्षरले लेखाउन सफल भएका छन् । संघर्षशील व्यक्तिहरुलाई लैङ्गिकताले कहिल्यै छेकेको छैन । खाने मुखलाई जुँगाले छेक्दैन भनेझैँ नारी भएकै कारणले संघर्ष पश्चात पनि सफल नभएकाहरु सायदै कोही होलान् । केही बढि संघर्ष गर्नु परेको अवश्यै होला तर संघर्ष पश्चात पनि ओझेलमा परेका कमै होलान् । अनि नारी भएकाले आफू गर्न सक्तैन भनेर हरेक अवसरमा आफै पछि हट्ने पुरुषै किन नहोस, सफल कहिल्यै हुन सक्तैन । पुरुष भयो भन्दैमा डोकामा दुध दोएर अड्दैन । नारी भयो भन्दैमा लोटामै दोएको दुध पनि पोखिने हुँदैन । सबैले आ–आफ्नो कर्मको फल पाउने हुन् । कामै नगरी फल पाउने सायदै कोही होला । नारी भएर पनि दुनियाँलाई चुनौति दिन सक्ने थुप्रै हस्तीहरु छन् । हालसालै पनि नेपाली नारी अनुराधा कोइरालाले सिएनएन हिरोको उपाधी जितेर संसारलाई चुनौति दिएकी थिइन् । एक त पिछडिएको विश्व भनेर चिनिने एशिया, त्यसमाथि पनि एशियाकै गरीव मुलुकहरु मध्येको एक देश नेपालकी नारी भएर पनि उनले विश्व विख्यात उपाधी जित्न सफल भइन् । संघर्षले उनलाई विश्व सामु चिनायो । उनलाई सम्मान गर्दा उनको लैङ्गिकता हेरिएन । उनलाई सम्मान गर्दा उनी भू–गोलको कुन कुनामा छिन् भन्ने कुरालाई हेरिएन । उनलाई सम्मान गर्दा उनी कुन थरकी भन्ने हेरिएन । केवल उनको योगदानलाई हेरियो अनि उनले गरेको संघर्षलाई हेरियो । उनले पनि सामान्य नारीले भोग्नु पर्ने सम्पूर्ण भोगाइहरु भोगिन् होला । र पनि उनलाई कुनै कुराले विचलित गराएन, र त उनलाई सिएनएन हिरो भनेर जगतले चिन्यो । सफल र सक्षम व्यक्तिहरुले चुनौतिहरु वीच अवसर देख्छन् अनि कम्जोर र असक्षमहरुले अवसरहरुवीच पनि चुनौतीहरु देख्छन् । नेपाली पुरुषहरुले समेत पाउन नसकेको उपाधी उचालेर अनुराधा कोइरालाले विश्व अव लैङ्गिकताको घेराबाट बाहिर आइसकेको कुरा पुष्टि गरिन्.। काम गर्दै गरे, अनि आफ्नो गर्नुपर्ने संघर्षमा जीउ ज्यान लगाएर कटिवद्ध भइरहे सम्पूर्ण विश्वलाई आफ्ना अघि झुकाउन सकिन्छ भन्ने कुराको पुष्टि गर्नमा अनुराधा सफल भइन् । एकातिर उनी जस्ता नारीहरु छन् भने अर्कातिर अझै पनि नारीहरु शोषित छन् उत्पिडिछ छन् भन्ने गित मात्रै गाइरहने अनि त्यो अवस्थाबाट माथि उठ्नका लागि केही नगर्ने नारीहरुको जमातको पनि कमी छैन । आजसम्म नारीहरु अपहेलित हुनुमा उनीहरुकै अकर्मण्यता पनि कारक हो । आफ्नो परिस्थितिसँग सम्झौता गर्नु अनि कुनै परिवर्तनका लागि पनि पहल गर्न नसक्नुले नारीलाई कम्जोर बनाएको हो । नत्र भने हाम्रै वरपर ती नारीहरु पनि छन् जसले आफू परिस्थितिको दास हुनुभन्दा परिस्थितिलाई आफू अनुकुल बनाएर आफ्नो युगमा शासन चलाएका छन् । उत्पीडनै नहुने होइन तर उत्पीडन सहने बानीले उत्पीडनलाई बढावा दिएको हो । उत्पीडित अवस्थाबाट माथि उक्लिने प्रयास नहुनुले उत्पीडनको कथालाई निरन्ताता दिएको हो । ठूलाठूला तानाशाहीहरुको उत्पीडनको कथाको टुङ्ग्याएको इतिहासको साक्षी यही मानव समुदाय हो । यो विश्वले ठूला ठूला परिवर्तनहरु पनि देखेको छ । आकासमा उड्ने पन्छी देखेर मानव पनि उड्न सक्छ कि भन्ने सोच्ने मनहरुले विमानहरु आकासमा उडाएर देखाएका छन् । सूचना र प्रविधिका जगतमा भएको विकासले मानवलाई संसारको जुनसुकै कुनालाई पनि नजरका सामु ल्याउन सक्ने सामथ्र्य दिलाएको छ । अचेल साउथ अफ्रिकाको फुटवल वल्डकप प्रतियोगिता नेपालमा बसेकाले टेलिभिजन मार्फत प्रत्यक्ष अवलोकन गर्ने अवसर पाएका छन् । संसारले यी र यस्ता थुप्रै परिवर्तनको आस्वादन गरिसकेको छ । तर अझै पनि हामी भने लैङ्गिक विभेदका कुराहरुलाई मुद्दा बनाएर बसेका छौँ । अझै पनि नारी र पुरुषका बीचको भाषणमै भएपनि जीवित बनाएर बसिरहेका छौँ । नारीहरुको अवस्था पहिलेको भन्दा धेरै माथि उठि सक्दा पनि हामी अझै पनि पहिलेकै चित्रलाई सत्य मानिरहेका छौँ । खासगरि सहरी क्षेत्रमा नारी पूरुष विभेदका घटनाहरु विरलै सुन्न पाइन्छ । छिटपुट घटनालाई छोडेर शोषणका कुराहरु त्यति सुन्नमा आउँदैनन् । अनि ती छिटपुट घटनाका शिकार हुने नारीहरुको पृष्ठभूमि हेर्दा उनीहरु आर्थिक अनि सामाजिक रुपले कमजोर पृष्टभूमिका भएको पाइन्छ । चाहे नारीको शोषणको सन्दर्भमा होस् चाहे पुरुषको शोषणको सन्दर्भमा होस्, शोषित हुनेहरु कम्जोर आर्थिक स्थिति भएकाहरु हुन्छन् । गरीव परिवारको पुरुषै पनि विभिन्न अवसरहरुबाट बिमुख हुन पुग्छ । कम्जोर आर्थिक अवस्थाकी नारी परिवारमा अपहेलित हुन्छे । आफ्नो कुनै हैसियत बनाउन नसकेकी अनि समाजमा आफ्नो स्थान सुरक्षित बनाउन नसकेकी नारीले परिवारमा पनि कुनै हैसियत बनाउन सक्दैने । उसले आफ्नो पतिको आर्थिक उदारताको कामना गरिरहनुपर्छ । आफ्ना चुरा पोतेको खर्च पनि पतिको गोजीबाट झर्ने भएकाले पतिको भकुराइको समेत वेवास्ता गरि तीज र शिवरात्रीका ब्रतहरु नबिराई बस्छिन् । पतिले जति नै शास्ती दिएको भएपनि पतिको दीर्घायुको कामना गर्नबाट उनी पछि हट्दिनन् किनभने पतिको अनुपस्थिति भनेको आर्थिकश्रोतको अनुपस्थिति हो ।
यदी ऊ आर्थिक रुपमा अनि सामाजिक रुपमा सक्षम हुँदि हो त विना कारण पतिबाट प्रताडित हुनुपर्दाको घडिमा उसले पनि प्रतिवाद गर्दी हो । यदी ऊ पढेलेखेकी हुँदी हो त उसले पनि पानी नखाई पतिको दीर्घायुको कामना गर्नुलाई वाहियात ठान्दी हो । (जाँड खाने पतिको आयु पत्नीको ब्रतले बढाउला भन्ने मान्नु कति सम्मको बुद्धिमानी होला र ?) उसले पनि आफ्ना चुरा पोतेको रहर आफू खुशी मेट्दि हो । आफूलाई रहर लागेका कामहरु गर्दी हो । अनि विवाह नभएको अवस्थामा साउने सोमवारको व्रत बसेर महादेव जस्ता पतिको बर माग्नुको साटो ईश्वरसँगको हरेक प्रार्थनामा आफ्नो सफलताको बर माग्दी हो । ऐश्वर्य भोग गर्न धनाढ्य पतिको साटो आफैले आर्जन गर्ने सपना देख्दी हो । बारम्बार नारी पीडित छन् भनेर रट लगाउनुको सार्थकता म देख्दिन । जहाँ जान्छु नारीहरुले आफै आफूलाई अवसरबाट पछि सारेको पाउँछु । तालिममा सहभागी हुँदा महिला मित्रहरु अघि सर्दैनन् । त्यहाँ कुन चाहिँले उनलाई हेपेको हुँदो हो र ? विद्यालयमा अध्ययनका क्रममा छात्राहरु भन्दा छात्रहरु बढि सक्रिय देखिन्छन्, त्यहाँ कसले उनीहरुलाई पछि पारेको हुँदो हो र ? आफू विद्यार्थी हुँदा कक्षाकोठामा प्राध्यापकहरुको प्रश्नको उत्तर दिनेमा सबै पुरुषहरु हुन्थे । नारीहरु बिरलै उठ्थे । आफूले पाएका अवसरहरुको सदुपयोग गर्न नसक्ने अनि आफू उत्पिडित भए भनेर भन्ने नारीलाई एउटै प्रश्न फेरि फेरिः तिमी नारी किन यति हठी ?

Comments

  1. u write better in nepali.... ur language is quite refined,

    ReplyDelete

Post a Comment

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

सुधीर शर्माकाे प्रयोगशाला