तिमी नारी किन यति हठी ? 2
प्लेटोको सिम्पोसियममा एरिष्टोफेनले प्रस्तुत गरे अनुसार पहिले मानिसका चार हात, चार खुट्टा, एक शीर र दुई अनुहार हुन्थे रे ! दुई मानिस एक आपसमा पिठ्युँ टासेर उभीए जस्तो । पछि गएर जीअसले मानिसको अपार शक्ति देखि भयभीत भएर मानिसलाई दुई टुक्रा पारिदिए रे ! त्यस भन्दा अघि सम्म मानिस उस्तै सहजताका साथ अघि र पछि दुबै दिशामा अहिलेको सामान्य मानिसले हिंडे जस्तै गरि हिडडुल गर्न सक्थ्यो रे ! आफ्ना चार हात र चार खुट्टा बेरेर ऊ सर्कसको जिम्नास्टले जस्तै एक दम द्रुत गतिमा गुर्किन सक्थ्यो रे ! यसरी गुडदा ऊ एक दम बेगवान हुन्थ्यो रे ! उसको शक्ति, क्षमता र हृदयका गहिरा सोच एवं विचारहरु एकदमै शक्तिशाली थियो रे !
उनीहरुले आफ्नो अथाह शक्तिलाई नियन्त्रण गर्न नसकेर देवताहरु माथि आक्रमण गर्न थाले । त्यो आक्रमणले देवताहरुलाई सोच्न बाध्य बनायो । देवताहरुलाई मानिसहरुले भोग दिने र पूजा–अर्चना गर्ने हुँदा देवताहरुले मानिसमाथि बज्रपात (चट्याङ्ग वर्षाएर) गराएर मार्न नसक्ने सोच बनाए, किनभने मानिसलाई सिध्याउनु भनेको आफुले पाउने भोग र पूजा–अर्चनाको बाटो छेक्नु थियो । तर त्यसो भन्दैमा देवताहरुले उनीहरुलाई अनियन्त्रित पनि छाड्न सक्तैनथे ।
अन्तमा लामो समयसम्मको सोच विचार पछि जिअरले एक जुक्ति निकाले । उनले भने, “मसँग एउटा उपाय छ जसले उनीहरुलाई नम्र र शालीन बनाउने छ र उनीहरुको अस्तित्व पनि जोगाइ राख्नेछ । म उनीहरुलाई दुई टुक्रामा बाँडि दिने छु । त्यसले उनीहरुको शक्ति टुक्र्याइदिने छ र उनीहरुको संख्यामा वृद्धि गराउने छ । यसले उनीहरुलाई हाम्रो लागि बढि लाभदायक बनाउन मद्दत गर्ने छ । उनीहरुको बढेको संख्याले हामीले पाउँदै आएको भोग र पूजा–अर्चनाहरु बढ्दै जानेछन् । उनीहरु पहिले जस्तै दुई खुट्टामा हिड्ने छन् । र यति गर्दा पनि उनीहरुको स्वभावमा परिवर्तन आएन भने म तिनीहरुलाई अझ दुई टुक्रामा विभाजित गरिदिने छु र उनीहरुले त्यसपछि एक खुट्टे भएर उफ्रनु पर्नेछ । ”
यो उपाय सबैलाई मन पर्यो र मानिस अहिलेको अवस्थामा आयो । भनिन्छ ईश्वरले पहिले लिङ्ग रहित अर्थात स्त्री पुरुष भनि नअलग्याइकन बराबर रुपमा पुरुषत्व र नारीत्व भएको आत्मा बनाएको थियो रे ! र पछि गएर आफ्नो कर्मका कारणले र ईश्वरवाट टाढिएका कारणले आत्मा पनि दुई बेग्ला बेग्लै लिंगमा विभक्त भएर गयो रे ! अनि जन्म जन्मान्तरसम्म मानिसले आफ्ना मित्रात्माहरु खोजी गर्छन रे ! र जब दुई मित्रात्माहरुको भेट हुन्छ उनीहरु यो संसारबाट मुक्त भएर ईश्वरमा लीन हुन जान्छन् रे !
यस्तो छ पश्चिमा जगतका विद्वानहरुको मत । लैङ्गिक विभेदका बारेमा उनीहरुको दृष्टिकोण भनेको दुवै लिङ्ग एक अर्काका परिपुरकहरु हुन् । नारी पुरुष दुबै एक अर्काका मित्रात्माहरु हुन् । न कि कोही सानो र कोही ठूलो । तर बारम्बार यहाँ प्रयासहरु गरिए कहिले पुरुषको दम्भलाई पुरुषको लैङ्गिकतासँग गाँस्ने र कहिले नारीको हठलाई नारीको लैङ्गिकतासँग गास्ने । मेरो अघिल्लो प्रयास दम्भ झार्ने थियो न कि आफ्नो दम्भ जायज ठहर्याउने । हठी हुनु भनेको जिद्दि हुनु हो । ठूलो हुनु वा सानो हुनु होइन । बरु हठी हुनुलाई ठूलो भएको भ्रम पालेको भन्न सकिन्छ । नारी हठी हुनु भनेको नारी भएकै कारणले नारीले देखाउने जिद्दिपनालाई ईङ्गित गरिएको हो । उनीहरु काम नलाग्ने वा उनीहरु कमजोर लिङ्ग हुन भन्न खोजेको होइन ।
मैले मानिसको जन्ममा नारी मात्रै होइन पुरुषको पनि उत्तिकै भुमिका हुन्छ भनेको कुरामा पुरुषमा दुबै एक्स र वाई क्रोमोजोम हुन्छन् र नारीमा खालि एक्स एक्स क्रोमोजोम मात्रै हुन्छन् त्यसैले नारी मात्रैले सृष्टि धान्न सक्तैन तर पुरुष एक्लैले चाहिं विज्ञानको चमत्कारले भोलिका दिनमा नयाँ पुस्तालाई जन्माउन सक्नेछ भन्नुको अर्थ कतिले सोझो रुपमा लिए । केही नारीहरुले त्यो अभिव्यक्ति पितृसत्तात्मक सोचको उपज भनि व्याख्या गरे । तर त्यो बक्रोक्ति थियो । गोरु व्याउँदैन भन्ने अभिव्यक्ति हाम्रा पुर्खाले त्यसै बनाएका होइनन् । अनि मित्रात्माका कथाहरु गृकका दार्शनिकहरुले त्यसै बुनेका होइनन् ।
पुरुष एक्लैले न त पहिले कतै सृष्टि चलेको थियो न त आउने दिनमा त्यस्तो केही हुनेबाला छ । प्रयोगशालामा परिक्षण नलिमा शिशु जन्माइएको भए पनि संसारको सम्पुर्ण सृष्टि त्यही प्रक्रियाबाट संचालित भएको छैन । न त कुनै नारीले पाण्डवहरुकी आमाले जस्तो गरि सूर्य नारायणसँग सन्तान माग्न सक्ने बर पाएर जन्मिएको सन्तानले यो सृष्टिले निरन्तरता पाउला भनेर परिकल्पना गर्न सकिन्छ । प्रयोगशालाको शिशु जन्माउन पनि नारीको सहयोग नभइ हुन्न । अनि नारीलाई विना संसर्ग गर्भ धारण गराउन पनि कुनै पुरुषकै सिमेन रोपण नगरिकन ऊ गर्भवती हुँदैने । शिशु जन्माउन अहिले सम्म पनि पहिलेकै प्राकृतिक तरिका भरपर्दो छ । त्यसैले संसार सृर्जेको छ । म पनि त्यसै प्रकृयाको सृजना हुँ र यी लेख पढ्ने सम्पुर्ण आँखाहरु पनि त्यसै प्रकृयाले जन्माएको म ठोकुवा गरि भन्न सक्छु ।
पुरुष र नारी मध्ये कुनै पनि एकको उपस्थिती बेगर जस्तो सुकै विज्ञानले पनि शिशु जन्माउन सक्तैन । यसमा नारी मात्रै वा पुरुष मात्रैले आफूलाई मात्र यसको कारक हो भनि स्थापित गराउन खोज्नु मुर्खता भन्दा बढि केही हुन सक्तैन ।
नारी सृष्टि हो । नारी माता हो । नारी जननी हो । यो चराचर जगत उसकै सृजना हो । प्रकृति समेत नारीको रुप हो । देश पनि मातृभूमी रे ! यो सब नारी हठले स्थापित मान्यताहरु हुन । आफ्नो हठ सहि सावित गर्न प्रयोग गरेका शब्द जाल मात्र हुनः फगत शब्द जाल । त्यसो त हामी पनि भन्न सक्छौं नि पुरुष बीज हो । उसको मद्दत विना कुनै पनि जीवन सम्भव नभएकाले ऊ नै यो चराचर जगतको उपस्थितिको कारण हो । तसर्थ पुरुष महान हो । सायद यस्तो भनाई हाम्रो समाजमा कहिं कतै पनि पाइँदैन । पुरुषले यो कुरा थाह नपाएर नभनेका होइनन् । तर पुरुषको भूमिका बुझेका नारीहरुले चाहिं सृष्टिको कारक नारी हो भनि एकालाप गर्न कहिल्यै छाडेनन् । यो हठ नभएर के ? त्यसैले त मलाई बारम्बार प्रश्न गर्न मन लाग्छ ‘तिमी नारी किन यति हठी ?’ भनेर ।
यो मेरो अरण्यरोदन तब मात्र सफल हुनेछ जब नारीहरुले आफुलाई मात्र सृष्टिको कारण मान्न छाडी पुरुषको साथमा हामीले यो संसार रच्यौँ भनेर भावी पुस्तालाई परिमार्जित सत्य पस्कनेछन् । जब आमाको कविता लेख्न बालकले उत्प्रेरणा पाए जत्तिकै उत्प्रेरणा बाबुको कविता लेख्नले पाउने छ । मातृप्रेम जत्तिकै मधुर पितृप्रेमलाई मानिने छ । मातृसत्ता र पितृसत्ता भन्ने लैङ्गिक विभेद जन्य सत्ताहरुको साटो मानवसत्ता भन्ने शब्दावलीको प्रयोग गरिने छ ।
पितृसत्तात्मक समाज भने पनि अहिलेको समाजमा गृहस्थीको सत्ता नारीकै हातमा छ । उसले पकाएको खान नपाई प्रायको उदर भरिन्न । महिनाको चार दिन हरेक विवाहित पुरुषका लागि अभिषाप हुन्छ । नारीले भान्सामा जेसुकै पकाए पनि पुरुषले कहिल्यै अविश्वास गर्दैन । कालीको पोइको यहि विश्वासले कालेले पकाएको खानासँगै विष खाएर परलोकको टिकट काटेको थियो (?!) । यसरी पुरुषले आफ्नो जीवनको सम्पुर्ण बागडोर नारीको हातमा दिएको अवस्थामा पनि नारीहरु किन पितृसत्तात्मक समाजले यसो गर्यो, त्यसो गर्यो भन्ने गुनासा गरिरहन्छन् ? यसको उत्तर एकै हो नारी हठी हुन्छन् ।
Comments
Post a Comment