अस्पताल बसाइ अनि गाउँघरको सम्झना

घर छोड्दा आमाले भन्नु भएको थियो, ‘स्वास्थ्यको ख्याल राख्नु । बाहिर गएपछि आफ्नो भन्ने कोही हुन्न । विरामी पर्दा तातो पानी खुवाउने सम्म कोही भेटिन्न । त्यसैले सबैभन्दा बढि महत्व स्वास्थ्यलाई दिनु ।’ त्यसैले आएको दिन देखि कतै बिरामी परिएला कि भन्ने साह्रै डर लागी रहन्थ्यो । यहाँ सबैका लागि स्वास्थ्य विमा अनिवार्य गराइएकोले मैले पनि स्वास्थ्य विमा गराएको थिएँ । विमाले उपचार खर्च व्यहोर्ने भएकाले खर्चको भने उति डर थिएन तर चिसो मौसमका कारण विरामी परिने साह्रै पीर परि रहन्थ्यो । हिउँ पर्ने ठाउँमा कहिल्यै हिउँद काट्नु नपरेकोले पनि पहिलो हिउँदमा के कस्तो हुने हो भन्ने साह्रै डर लागि रहन्थ्यो । देख्दा रहरलाग्दो सेतो देखिने हिउँले कहिले काहिँ भने हात गोडै चल्न बन्द हुने गरी चिस्याउँथ्यो । माइनस २२ डिग्री सम्म जाडो हुने भन्ने कुरा सुन्ने बित्तिकै थुक्दा थुकै जम्ने अनि मुत्दा मुतै जम्ने जाडो होला कि जस्तै भएको थियो । माइनस १० सम्मको जाडोमा बाहिर हिँडियो पनि तर थुक चाहिँ कहिल्यै जमेन । बाक्ला लुगा लगाउँदा खासै जाडोको अनुभुति नै हुँदैन थियो । अनुहारमा भने चिसो हावाले हानी रहन्थ्यो ।
हिउँद त लगभग जसो तसो काटियो । हिउँले छोएन तर पुरानो कान पाक्ने समस्याले भने निकै सतायो । घरमा कान पाक्दा तेल हाल्ने अनि तुलसीको रस हाल्ने नेपाली घरेलु उपचारले निको हुने कान अब यहाँ त्यो गरिरहनलाई न त शुद्ध तोरीको तेल नै थियो न त तुलसीको बोट नै । दुई तीन पटक दोहोरिए पछि केही शीप नलागेर डाक्टरलाई जचाउनका लागि गएँ । डाक्टरले सामान्य संक्रमण भएकोले आँत्तिनु नपर्ने बताए । मैले बारम्बार दोहोरिने र धेरै अघिदेखिको विमारी हो भनि भन्दा एक नाककानघाँटी विषेशज्ञकहाँ जाने सल्लाह दिए । तत्काललाई भने कानमा हाल्ने औषधी लेखिदिए ।
विमाले खर्च व्यहोर्ने भनेपनि अलिअलि निम्नतम खर्चहरु भने लाग्दो रहेछ । विमाले गर्दा कम भएको खर्च पनि नेपालको उपचार खर्चको तुलनामा धेरै बढि हुन आउने रहेछ । औषधी किन्दा समेत अलिकति भने तिर्नु पर्दाे रहेछ । औषधीमा बढि मोल प¥यो भनि गुनासो गर्दा यहाँका स्वदेशी साथीहरुले भन्थे, ‘ड्वेचलान्ड इस्ट् ट्वेर (जर्मनी महँगो छ) ।’ यसको प्रतिउत्तरमा भन्नलाई मसँग केही हुन्थेन ।

डाक्टरले लेखिदिएको औषधी हाल्दा मर्ने गरी दुख्ने हुन थाल्यो । पछि गएर विशेषज्ञ डाक्टरलाई देखाउँदा उनले कानको जालीमा प्वाल रहेको बताए । उनले कानको शल्यक्रिया गर्नु पर्ने र शल्यक्रिया पश्चात तीन दिन अस्पतालमै बिताउनु पर्ने हुनसक्छ भनेर बताए । उनको प्रारम्भिक अनुमान पक्कापक्की गर्नका लागि नजिकैको एक ठूलो अस्पतालमा जानका लागि लेखिदिए । जिन्दगीमा उपचारका नाममा सुइ लाउनु र केही दवाइ खानु बाहेक केही नगरेको मान्छेका लागि एक्कासी शल्यक्रिया भन्दा केही डर लाग्यो । त्यो भन्दा बढि डर तीन दिन सम्मको अस्पताल बसाइको लाग्यो । तीन दिन सम्म खानपानको के भन्ने प्रश्नले पनि मनमा डेरा जमायो । पैसाले खाना त किनौँला किनेर ओछ्यान सम्म ल्याइदिने कसले भन्ने भयो । सबैको आफ्नै व्यस्तता हुने भएकाले कसैलाई गुहार्नै पनि गाह्रो ।

यहाँको समस्या भनेको अंग्रेजी बोल्न जान्ने मान्छे साह्रै कम हुनु । नयाँ पुस्तालाई अंग्रेजी आउने भएपनि पुरानो पुस्ताले जर्मन भाषा बाहेक थोपो बोल्न नजान्ने । आफ्नो जर्मन भाषा भनेपछि झन् उस्तै । त्यसैले अस्पतालमा समय लिनका लागि एकजना जर्मन जान्ने साथीसँग सोधी मागे । उसले अस्पताल जाने बेलामा भाषामा कठिनाइ नआओस भन्नका लागि अस्पताल जाँदा साथै गइदिने कुरा सुनायो । अनि अघिको मेरो डरको निदान पनि गरिदियो । अस्पतालमा भर्ना भएपछि निको नहुँदा सम्म औषधी खुवाउने देखि लिएर खानपान सम्मको सारा बन्दोबस्त अस्पतालले नै मिलाउँदो रहेछ । त्यो पनि निःशुल्क । त्यति भनेपछि म शल्यक्रियाका लागि हर किसिमबाट तयार भएँ ।
अस्पतालमा गएपछि पुरानै जाँचबाट आएको प्रतिवेदनलाई पक्कापक्की गरियो । पढाइमा बाधा नआओस भन्नका लागि परीक्षा सकिएपछिको बिदाको समयमा शल्यक्रियाको मिति लिएँ । सँगै आएको जर्मन साथीलाई उसको बसको भाडा अनि खानाको पैसा तिरिदिन्छु भन्दा उसले मानेन । आफ्नो खानाको पैसा आफै तिर्ने बतायो । अनि मैले नेपालमा कसैले साथ लागेर आउँदा उसको सारा खर्च साथ लैजाने मान्छेले नै तिर्ने कुरा बताए । साथ लागेर आएको गुनको आभारको रुपमा त्यसो गरिने बताएँ । उसलाई हाम्रो चलन आश्चर्यजनक लाग्यो ।
बिदाका पट्यारलाग्दा दिनपछि शल्यक्रियाको मिति आइपुग्यो । फेर्नका लागि केही जोड लुगा साथमा लिएर आफु एक्लै अस्पताल हानिएँ । यहाँ समयको धेरै महत्व हुने अनि सार्वजनिक यातायातका साधनहरुपनि भनेको समय भन्दा एक मिनेट ढिलो नगरी गुड्ने हुँदा समय भन्दा पहिले नै बस बिसौनी पुगेँ र समय भन्दा अघि नै अस्पताल पनि पुग्न भ्याएँ ।
अस्पतालमा विहानका कर्मचारी भर्खरभर्खर आउँदै रहेछन् । उनीहरुले नै मलाई मैले जानुपर्ने कक्षसम्म पु¥इदिए । कट्टु बाहेक सबै खोलेर अप्रेसनको छुट्टै पछाडिबाट तुना लाउने च्यातिएको म्याक्सी जस्तो एप्रोन लाउन भने । मलाई हाफकट्टु भन्दा बढि खोल्न मनले दिएन अनि त्यसैमाथि एप्रोन लाइदिएँ । आफकट्टु अलि सानो भएकोले नर्सले केही भनिन ।
बेहोसीको दबाइ खाइसकेपछि शल्यक्रिया कक्षमा लैजानका लागि म पल्टेकै बिछ्यौना गुडाएर लगे । विरामी सुत्ने विछ्यौना स्ट्रेचर जस्तै पाङ्ग्रा भएको र उचाइ समेत तल माथि गर्न मिल्ने खाले रहेछ । उनीहरुले मलाई शल्यक्रिया कक्ष सम्म पु¥याउँदै गर्दा मलाई सिनेमामा दुर्घटना पछि नायकलाई अस्पताल लैजाँदै गर्दाका दृश्यहरु जस्तै लाग्यो । हिँड्न सक्ने मान्छेलाई पनि त्यसरी गुडाएर लैजाँदा मैले हाँसोका खित्का थाम्न सकिन । मैलाई लैजाने नर्सहरुले मैले हाँसेको देख्दा आफू पनि हाँस्दै, ‘उत्साहित छौ हो ?’ भनी सोधे । मैले हाँस्दै भनेँ, ‘हैन, अलिअलि डर लागेको छ ।’ उनीहरुको हाँसा रोकियो ।
शल्यक्रिया कक्षमा डाक्टरहरुले आफ्नो परिचय दिए । केही बेरमा शल्यक्रिया सुरु हुने बताए । भ्याएसम्मको अनुभुति बटुल्छु सोचेको थिएँ । लठ्ठ निद्राले छोप्दाको जस्तै गरी आँखाहरु बन्द हुन थाले । जति कोशिस गर्दा पनि नखुल्ने भए ।
आँखा खुल्दा जाडोले कामी रहेको थिएँ । कानमा पट्टि थियो । छेउकी नर्स म जाडाले कामेको देख्दा आँत्तिन लागेकी थिइ । तातो हावा फ्याँक्ने मसिनबाट मेरो ओढ्ने भित्र तातो हावा फ्याँकेको केही बेरपछि बल्ल कम्पन थामियो । करीब दुईघण्टा अप्रेसन चलेको रहेछ । त्यसको एक घण्टा पछि फेरी म सुरुमा गएको कक्षमा फिर्ता लगिएँ । म आउँदाका सबै खाली आछ्यानहरुमा अहिले तीन जना आइसकेका थिए । सबैले अभिवादन गरे र मैले पनि हाँस्दै अभिवादन फर्काएँ ।
अस्पतालका तिनदिन कसोकसो बित्यो । तीन दिनसम्म इन्टर्नेट चलाउन नपाउँदा अनि भात खान नपाउँदा भने केही नरमाइलो लागेको थियो । आफूसँगैका बिरामीहरुलाई भेट्न आउने उनीहरुका आफन्तहरु देख्दा घरको सम्झना आउँथ्यो । छेउकै विछ्यौनामा आएको अर्को बिरामीकी प्रेमीका उसको नाकको शल्यक्रिया अघि र पछि बारम्बार आइरहन्थी । बिरामीकी आमा नर्स भएपनि अस्पतालको ८ बजेपछि भेट्न आएका मान्छेहरु फर्कनुपर्ने नियममाथि उसको केही चल्थेन । उसकी प्रेमीका गाह्रो मान्दै जान्थी । ऊ पनि नजान भनि रहन्थ्यो । भोलि छिट्टै आउने बाचाका साथ ऊ जान्थी । उसकी उनीहरुको प्रेमालाप देख्दा पनि रहरै लाग्थ्यो ।
मलाई पनि भेट्न भनि केही साथीहरु आए । सबै छुट्टिमा गइसकेकाले धेरै भने आउन सकेनन् । फेरी मेरो त्यस्तो घनिस्टता प्राय कसैसँग हुँदैन । त्यसैले पनि होला मलाई त्यति एक्लोपन पनि महसुस भएन । चौथो दिन फर्कदा लिनलाई एक जना बंगाली र अर्का नेपाली साथीहरु आइपुगेका थिए । जाने दिनसम्म कानको पट्टिको आकार सानो भइसकेको थियो । घर पुग्ने बित्तिकै डेरा सार्नुपर्ने थियो । त्यसैले उति आराम नगरी कनै फेरी उही पुरानो दिनचर्यामा फर्किएँ ।

अहिले शल्यक्रियाका टाँटाहरु लगभग हराइसके । अस्पतालका ती दिन फर्कि हेर्दा लाग्छ संसारको यो कुना एक्लै बाँच्न सक्ने गरि बनाइएको छ । एक्लै अस्पताल गएँ, उपचार गराएँ, फर्कँदा सामान्य काम गर्न सक्ने भइसकेको थिएँ । सोच्छु यहाँ सामज भित्रै रहेर पनि एक्लिएर बाँच्न सकिने रहेछ । एकातिर लाग्यो यत्तिको भइदिए त जिन्दगीमा कसैको साथ नै पो किन चाहियो र ? फेरी सम्झन्छु त्यो छेवैको विरामीलाई उसकी प्रेयसीले बारम्बार आलिंगनमा लिएर ढाडस दिएको क्षण, भेट्ने समय सकिँदा मन नलागीनलागी हात छुटाएको क्षण, उसकी आमाले कपाल सुम्सुम्याउँदै सोधनी गरेको क्षण, कोठाका एक अर्का विरामीलाई उसकी श्रीमती र छोरीहरु आउँदाको खुशीका क्षण र फेरी घोत्लिन बाध्य हुन्छु । आफु बिरामी हुँदा सानामा बाबाले काँधमा बोकि मेडिकल लगेको, दश कक्षामा पढ्दै गर्दा बिरामी भएका बेलामा दाइले ननिदाउन्जेल छेवैमा पल्टेर कपाल सुम्सुम्याएको, आमा र दिदीबहिनीहरुले गरेको स्याहार र साथीभाइहरु भेट्न भनि आएको क्षणहरु सबै पालैपालो सम्झन थाल्छु । लाग्छ जीवन काट्नु र जीवन जिउनु फरक कुरा हो । शरीरका लागि भौतिक सुविधाले पुगे पनि आत्मा अघाउन मायाप्रेम नै चाहिन्छ । त्यो माया प्रेमका अभावमा जीवन जति नै सुविधासम्पन्न भएपनि भित्रैभित्र खोक्रो रहिरहन्छ । त्यही खोक्रेपनले घर, परिवार र गाउँठाउँको सम्झना ल्याउँददा पलपल मुटु कुटुकुटु खाइरहन्छ । 




 raman.paneru@gmail.com

Comments

  1. very beautiful...even though we weren't there with u physically in your hard time our best wishes and prayers are always with you! take care.

    ReplyDelete
  2. thanks ..yeah you all were there in my head and heart i didn't mention much during surgery coz i didn't want you all to worry much now m fine and i can share it :)

    ReplyDelete

Post a Comment

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

सुधीर शर्माकाे प्रयोगशाला