देशलाई अनिर्णयको बन्दी बनाउनेहरु
![]() |
Image source: BBC |
संविधान निर्माणकोलागी जनमत संकलनको कार्य सुरु भए लगत्तै विभिन्न समूहहरुले आ–आफ्नै मागहरुका साथ अवरोधहरु श्रृजना गरेका घटनाहरुले छापा भरिन थाल्दा देशले निकास पाउने आशा बोकेको मेरो मनमा केहि चिसो पस्न थालेको थियो । मलाई छिट्टै खुट्टा कमाउन मन थिएन । त्यसैले हतास मानसिकतालाई पोख्नु भन्दा केहि समय चुप लाग्नुमै वेश भनेर गित गजलमै लेखनीलाई सिमित पारेको थिएँ । अहिले आएर देशले सबैको विचार मागिरहेका बेलामा मैले मौन हुनु कहाँ कहाँ गलत हो कि भन्ने भयो । त्यसैले पनि लेख्न बाध्य भएँ ।
रेडियो नेपालले ‘प्रजातन्त आयो हाम्रो नेपालमा’ भन्ने धुन समाचारका अघि सुन्दा सुन्दा हो कि त भन्ने लाग्ने गथ्र्यो । अहिले प्रवासको बसाइका क्रममा यहाँको प्रजातन्त्रको रंग देखेपछि यहाँको समाज कति अघि पुगि सकेको छ र हामी अझै पनि कति पिछडिएका छौँ भन्ने सोच्न बाध्य भएँ । हामीलाई प्रजातन्त्रको अर्थ भनेको आफूले बोल्न पाउने स्वतन्त्रता भएको राज्य व्यवस्था भन्ने लाग्छ । यो अपुरो छ । स्वतन्त्रतासँगै जिम्मेवारी र कर्तव्य पनि आउँछ । आफ्ना वैचारिक स्वतन्त्रताको अभ्यासका क्रममा अरुको आत्मसम्मानमा ठेस पुग्ने र अरुलाई आघात पुग्ने कुनै पनि कार्य गर्ने छुट प्रजातन्त्रले दिँदैन । मैले यहाँ देखेको र भोगेको प्रजातन्त्रमा मानिसहरु आफूलाई मन लागेका कुराहरु व्यक्त गर्न पाउँछन् तर अरुका विचारहरुको पनि यथासक्य सम्मान गर्ने गर्दछन् । वलको प्रयोग र विरोधका नाममा भौतिक क्षति पु¥याउनलाई यहाँ कसैले छुट पाउँदैन ।
एकपटक फ्रान्कफर्ट एयरपोर्टमा विरोध प्रदर्शनीलाई प्रत्यक्ष देख्न पाएको थिएँ । त्यहाँ मानिसहरु बाजा गाजा र प्लेकार्डका साथ कसैलाई बाधा नपु¥याई प्रदर्शन गरि रहेका थिए । पछि गएर उनीहरुको जुलुस एक सभामा परिणत भयो । सभामा एक कार्यकर्ताले एकदमै मिठो गित गाएर श्रोता सामु आफ्नो विरोधको कारण उल्लेख गर्दै थिइन् । उनीहरुको त्यो विरोधको संस्कार देखेर मनमनै त सोचे, ‘नेपालमा यस्तो दिन कहिले आउला ?’
![]() |
http://abcnews.go.com/International/wireStory/hindu-protesters-clash-police-nepals-capital-32892038 |
म उती द्यौता मान्ने मान्छे होइन । हाम्रा संस्कारको अन्धानुशरण गर्नु भन्दा पनि तिनीहरुले सिकाउन खोजेको पाठहरु प्रति ध्यान दिनु पर्छ भन्ने मलाई लाग्छ । पुराना हुँदैमा सबै राम्रा नै हुन्छन् भन्ने होइन । समयानुकुल परिवर्तन गरिएन भने हाम्रा संस्कारहरु हाम्रा प्रगतिका बाधक बन्न जान्छन् । एक जमानामा समाजलाई व्यवस्थित गर्नका लागी बनाइएका नियमहरु यो समयमा आएर पनि उत्तिकै सान्दर्भिक छन् भन्नु गलत हुन्छ । मानव सभ्यताको विकाससँगै जीवनशैलीमा पनि उत्तिकै परिवर्तनहरु आइसकेका छन् । ती परिवर्तन सुहाउँदो संस्कारहरुको व्याख्या हुनु अति जरुरी छ । त्यसो हुन सके मात्रै हाम्रो धर्म र संस्कार दिर्घकालसम्म बाँच्न सक्छ । जीवन भनेकै परिवर्तन त हो । जे कुरामा समय सापेक्ष परिवर्तनहरु आउँदैन ती डाइनेसोरस जस्तै लोप भएर जान्छन् । यस कुरामा हाम्रा धर्मको ठेक्का लिएका ठेकेदारहरुले सोच्नु पर्ने बेला भइसकेको छ ।
हिन्दु राज्यको माग एक जमानामा सुहाउँथ्यो होला । अहिलेको समयमा आएर त्यो मागको त्यति तुक देखिँदैन । तर अचम्म के लाग्छ भने हिजो गुफा पसेकाहरु पनि यतिबेला हिन्दु राज्य घोषणाको मागका साथ सडकमा देखिन थालेका छन् । धर्ममा भएका विभिन्न विकृति विसंगतिलाई हटाउनमा उनीहरुको केहि भूमिका देखिँदैन । तर हिन्दु राज्य घोषणाका लागी भने तिनीहरु नथाकी लागेका छन् । राजनीतिक जीवन सकिएकाहरु देखि लिएर विभिन्न बखेडा गरेर संविधानसभा भाँड्न सकियो भने आफ्ना दिन फिर्ने आशा भएका सबै यसमा होमिएका छन् । धर्मकै आडमा मौलाएका जातीय छुवाछुत, छाउपडि, दाइजो प्रथा, बलि प्रथा, छोराका लागी छोरीको भ्रुण हत्या गर्ने प्रवृत्ति, आदिका विरुद्धमा जनचेतना फैलाएर समाजमा सदभाव कायम गर्ने जिम्मा लिनुपर्नेहरुले झनै समाजिक सद्भाव खल्बल्याउन धर्मको नारा उचाल्दै छन् । चोर देखि डराउनु भन्दा आफ्नो पोको कसेर राख्नु बेश । यदि हिन्दु धर्ममा भएका दोषहरुलाई धर्मका ठेकेदारहरुले समयमै सम्बोधन गरेर तिनलाई हटाउने काममा लागेको भए मिसिनेरीहरुको मिठो बोलीमा अल्झेर धेरैले धर्म त्याग्ने नै थिएनन् । हुँदा हुँदा अन्तरिम संविधानमा धर्म निरपेक्षता राखिएकाले नरबलीको घटना घटेको भनी लेखिएको सम्म पनि पढ्न प¥यो । यस्तो सोचले कसरी हामी प्रगति गर्नसक्छौँ ? विचार गर्नु भएको छ हिन्दु राज्यको माग गर्नेमा कथित उच्च जातमा जन्मेकाहरु नै बढि छन् । यदि धर्म सबैका लागी समान भइदिएको भए हरेक तप्काबाट त्यसका पक्षमा आवाज उठ्नु पथ्र्यो ।

धर्म, राज्य बाहेक पनि धेरै कुराहरुमा फेरबदल ल्याउने बेला भइसक्यो । जमाना अर्को पृथ्वीको खोजीमा लागी सक्यो । हामी हाम्रै घरआँगनमा सद्भाव कायम गर्न सकि नरहेको स्थिति छ । सूचना प्रविधिको विकास अनि यातायातको सुलभताले विश्व एक गाउँ जस्तो भइ सक्यो । हामी भने आँगनमा सिमा कोरेर दैलो बाँडेर बसेका छौँ । कुरीति र कुसंस्कारहरुले अझै पनि हामीलाई आदि युगका मानवको जीवन जिउन बाध्य बनाएको छ । अखण्डताको अनि हिन्दु राज्य घोषणाको जोश हाम्रो समाजका कुसंस्कार फाल्ने अभियानमा देखाआँै त यो देश कति छिटै काँचुली फेर्छ ! स्वास्थ्य र शिक्षाका आधारभुत व्यवस्था सम्म नभएको हाम्रो समाजमा कति धेरै कामहरु गर्नु छ । तर हामी भने अनेक आग्रह र पूवाग्रहमा अलिझएका छौँ । बेलैमा यी कुराहरुमा ध्यान नदिए भोलि देशलाई अनिर्णयको बन्दि बनाएको दोषको जिम्मा हाम्रा काँधमा थापिने छ । के त्यो दोष स्वीकार्नका लागी हामी तयार छौँ ?
Comments
Post a Comment