विद्यार्थी राजनीति र विदेशी विश्वविद्यालयको अनुभव



नेपालमा स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन चलिरहेका बेला क्याम्पसहरुमा आगजनी र तोडफोडका घटनाहरु बाहिर आउन थालेका छन् । विद्यार्थी–विद्यार्थी बीच कुटाकुटका घटनाहरु पनि बाहिरिएका छन् । स्ववियु निर्वाचनका लागी करोडौँको रकम माग भएको भनी अनलाइनमा समाचाहरु प्रकाशित भएका छन् । उमेर हदबन्दीले यसपाली केहि सकारात्मक परिवर्तन ल्याउने संकेत अवश्यै गर्न सकिन्छ । तरपनि देशका राजनीतिक दलहरुप्रचि चरम असन्तुष्टि बढि रहेकै बेला उनीहरुकै भ्रात्री संगठनहरुले राष्ट्रिय राजनीतिमा व्याप्त अराजकताकै अनुकरण गरिनुलाई धेरैले निराशाजनक मानेका छन् ।

नेपालमा विद्यार्थी संगठनका सभापति चुन्ने क्रममै माउ पार्टी भित्र आफ्ना मान्छेलाई त्यो पद पार्ने हानथाप सुरु हुन्छ । अहिलेको नेविसं को नेतृत्व छनौटका क्रममा पनि पार्टी सभापति शेरबहादुर देउबाका आशिर्वादले नैनसिंह महर अघि आएको भनी समाचारहरुमा पढ्न र सुन्न पाइएकै हो । त्यसै गरी अनेरास्ववियुको नेतृत्वमा रहेकी नविना लामालाई पनि एमाले अध्यक्ष ओलीको आशिर्वाद पाएकी पात्र भन्नेहरु पनि धेरै छन् । नविना लामाको हकमा त उनको बोल्ने कौशलका कारण पनि उनको नेतृत्व क्षमतामा शंङ्का गर्ने धेरै छन् । हुन त महिला भएकाले आउँला उठाइएको भन्नेहरु पनि भेटिएलान् तर रामकुमारी झाँक्रिको पालामा यस्ता कुराहरु उति सुनिएन । यसरी नेतृत्वमा भएकाहरु भागवण्डाबाट आउँदा उनीहरुको नेतृत्व क्षमतामा प्रश्न गर्न सक्ने ठाउँ रहन्छ । कुनै एउटा प्रकृया स्थापित गरेर त्यस अन्तर्गत चुनिएर आउनु एउटा हुन्छ तर कसैको आशिर्वादमा र संरक्षणमा चुनिएर आउनुले कुशल नेतृत्व प्रदान गर्नका लागी नैतिक रुपमै कम्जोर बनाउँछ । त्यस्तो अवस्थामा अफूलाई आशिर्वाद दिने नेताको अनुकुलको राजनीति गर्ने बाहेक अन्य कुनै ठूलो काम गर्न त्यस्तो नेतृत्व असफल रहन्छ । हाम्रा स्ववियुहरु पनि यही समस्याले ग्रस्त छन् । जति नै स्वतन्त्र भनेर भनिए पनि या नाम मै स्वतन्त्र जोडिए पनि ती विलकुलै स्वतन्त्र छैनन् ः पार्टी र पार्टीका शीर्ष नेताको आग्रह र पुर्वाग्रहमा बाँधिएका छन् । एकातिर स्वतन्त्र पनि भन्नु अनि दलगत भएर विभाजित पनि हुनु आफैमा पनि विरोधाभाषपूर्ण कुरा हो ।
स्ववियु निर्वाचनकै सेरोफेरोमा विविसीको साझा सवालमा एक जना विद्यार्थीले क्याम्पसको तालामा तीन विद्यार्थी संगठनले तीन ताला लगाएबाटै ती संगठनको बौद्धिक स्तर देखिने उल्लेख गरेका थिउ । गेटमा एक ताला लाउनु र तीन ताला लाउनुको तुक के रह्यो र ? गेट बन्द गर्नु उदेश्य हो भने एकले लगाएको ताला काफी थियो । त्यसैमा आफ्नो हात पनि देखाउनका लागी अन्य दुई ताला थपिएका न हुन् । यसरी गेटमा ताला लगाउने समान उद्देश्यमा पनि एक हुन नसक्ने स्ववियु राजनीति कति स्वतन्त्र छ र कति आग्रह–पूर्वाग्रहपूर्ण छ भन्ने प्रष्ट हुन्छ ।
स्ववियु राजनीतिलाई नै पेशा बनाइएको कुराको प्रमाण स्ववियुको राजनीति गर्दागर्दै बुढा भएका नेताहरुले प्रष्ट पार्छन् । ०५५मा पसेर ०६५ मा रत्नराज्यलक्ष्मी क्याम्पसका स्ववियु सभापति भएका खोटाङका राजकुमार राई ८ वर्ष देखि सभापति पदमा कार्यरत छन् । लगभग २० वर्ष अर्थात ०५५ सालमा प्रवेश गरेको मान्छे ०७४ सालसम्ममा क्याम्पसमै रहनु अनि दुई मास्टर्स सकेर बस्नुले नेपाली उच्च शिक्षाको बेथिति देखाउँछ । साथै स्ववियु निर्वाचनले विद्यार्थी अगाडि ल्याउँछ वा स्ववियु निर्वाचनकै लागी विद्यार्थी बनेर रहिरहन्छन् भन्ने कुरा पनि प्रष्टै हुन्छ ।
स्ववियु निर्वाचनका क्रममा देखिने अर्को रमिता भनेको विद्यार्थी भर्नाको हो । जसरी राष्ट्रिय राजनीतिमा आउने नयाँ शक्तिहरुले किस्ता किस्तामा देशको नागरिकता भारतीयलाई बाँडेको आरोप लगाइन्छ त्यस्तै विद्यार्थी राजनीतिमा पनि स्ववियु निर्वाचन नजिकिँदा नया भर्नाहरु बढ्ने कुराहरु जताततै सुनिन्छ । यी भर्नाहरु भोट बढाउनकै लागी हुने कुरामा सायदै कसैको दुईमत होला । विद्यार्थी भर्ना त एक ठाउँमा छ, विद्यार्थीलाई नास्ता खुवाउने, पिकनिक आयोजना गरिदिने लगायतका आर्थिक चलखेलका कुराहरु पनि हुने गर्छन् । त्यसैले ०६५ मा रत्नराज्यलक्ष्मी क्याम्पसका स्ववियु सभापतिमा निर्वाचित हुने क्रममा राजकुमार राईले कमै अर्थात ४–५ लाख रुपैयाँ मात्रै खर्च भएको भनेर भन्न भ्याए । यदि विद्यार्थी हकहितकै लागी राजनीति गरिएको हो र विद्यार्थीहरुको इक्षा अनुसार नै स्ववियु गठन भएको हो भने त्यो ४–५ लाख के मा खर्च हुन्छ ? अनि त्यति ठूलो रकम खर्च गर्नेले त्यसको असुली कसरी गर्छ ? यो सोचनीय छ ।
स्ववियु को औचित्य पूष्टि गर्ने क्रममा विद्यार्थीका हकहितको कुराहरु उठाउनका लागी संगठन आवश्यक रहेको र त्यसले विद्यार्थीमा राजनीतिक नेतृत्वको विकासमा समेत सहयोग पु¥याएको तर्क दिइयो । धेरै नेताहरु विद्यार्थी राजनीति बाटै अगाडि आएका देखिन्छन् । तिनै भध्ये नाम चलेका एक नेता गगन थापा पनि हुन् । नेतृत्व विकासको कुरा त ठीक छ कस्तो नेतृत्व विकास गर्ने भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ होला । गुण्डागर्दीका आडमा राजनीति गर्ने, अनुशासनका फिटिक्कै पालना नगर्ने, राजनीतिक आग्रह–पूर्वाग्रहका आधारमा कदमहरु चाल्ने, समान मुद्दामा पनि एकठाउँमा उभिन नसक्ने, लगायतका चरित्रहरुको विकासै गरेपनि त्यसले फाइदा भन्दा बढि घाटा हुन्छ ।
विद्यार्थी युनियनहरु विश्वव्यापी भएको कुरा स्थापित गराउन विदेशमा समेत विद्यार्थी युनियनहरु भएको भनेर तर्क गर्नेहरुले के कुरा चाहिँ भनेनन् भने विदेशि विद्यार्थी युनियनको राष्ट्रिय राजनीतिसँग कुनै सरोकार हुँदैन । न त ती युनियनका लागी हुने चुनावहरुमा कुनै खाले पैसाको चलखेल नै हुन्छ । यति सम्म कि एक विश्वविद्यालयको युनियनको अर्को विश्वविद्यालयको युनियनसँग कुनै औपचारिक सम्बन्ध नै हुँदैन । सबै युनियनहरु एकदमै विकेन्द्रिकृत हुन्छन् । युनियन प्रतिनिधिहरु चुनाबमा उठ्दा पार्टिगत प्यानलहरु बनाएर नभै व्यक्तिगत रुपमा उठ्छन् । विश्वविद्यालयहरु नै पनि स्वायत्त किसिमका हुन्छन् । सहर पिच्छे विश्वविद्यालयहरु हुन्छन् जसको आफ्नै संकायसदस्य र डिनहरु हुने गर्दछन् । नेपालमा जस्तो केन्द्रमा एउटा विश्वविद्यालय अनि त्यसैमा आश्रित आङ्गिक क्याम्पसहरु उति प्रचलनमा देखिँदैन । आङ्गिक क्याम्पसहरु भएको अवस्थामा पनि तिनको संख्या सिमित हुन्छ र ती धेरै हदसम्म स्वतन्त्र हुन्छन् । क्याम्पस मात्रै किन क्याम्पसका हरेक संकायहरु पनि एक अर्काबाट स्वतन्त्र हुन्छन् । युनियन प्रतिनिधि तिनै स्वतन्त्र संकायहरुबाट छानिएर आउँछन् । निश्चित कार्यकाल पछि फेरिन्छन् ।

मैले जर्मनीको दुई विश्वविद्यालयमा पढ्ने मौका पाएँ । दुबै विश्वविद्यालयको विद्यार्थी राजनीतिलाई धेरथोर बुझेँ । स्नातकको अध्ययन ताका एचएफयुमा कक्षा प्रतिनिधि र सेमेस्टर प्रतिनिधिको प्रचलन थियो । कक्षामा संकाय प्रमुख र विद्यार्थी प्रमुखको बीचको पुलको काम कक्षा प्रतिनिधिले गर्थे । कक्षा पिच्छे कसैमा दुई त कसैमा तीन हुन्थे । मुख्य काम भनेको इमेलहरु पठाउने अनि संकाय प्रमुखले मागेको सहयोग गर्ने हुन्थ्यो । सेमेस्टर प्रतिनिधि चाहिँ विश्वविद्यालयको वैठकहरुमा भाग लिन पाउँथे । त्यहाँ आफूलाई लागेको सल्लाह सुझाव दिन पाउँथे । त्यत्ति हो ।
त्यसका अलावा अन्य विभिन्न उद्देश्यले दर्ता गराइएका विद्यार्थी संगठन (क्लब) हुने गर्दथे । तिनीहरुका आ–आफ्नै उद्देश्यहरु हुने गथ्र्यो । अर्थ संकलनका लागी विभिन्न क्लबहरुमा पार्टी आयोजना गरेर बचेको पैसा प्रयोग गर्थे । अनि विद्यार्थी केन्द्रित मनोरञ्जनात्मक एवं शैक्षिक कार्यक्रमहरु आयोजना गर्थे । म अन्तर्राष्ट्रिय विद्यार्थी समाज (इन्टर्नेशनल स्टुडेन्ट्स कम्युनिटि) र इन्याक्टस नामक संस्थामा आबद्ध थिएँ । अन्तर्राष्ट्रिय विद्यार्थी समाजले विद्यार्थीहरुका लागी सेमेस्टर भरी नै हरेक मंगलबार पार्टी आयोजना गर्दथ्यो । चाडपर्व पिच्चे फरक फरक नाम राखेर त्यस्ता मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना गरिन्थ्यो । त्यसका अलावबा बर्षको एक पटक अन्तर्राष्ट्रिय महोत्सवको आयोजना गर्ने गर्दथ्यो । त्यसै क्रममा मैले नेपालको प्रतिनिधित्व गरेर समेत धेरै पटक सहभागीता जनाएको छु ।
इन्याक्टस विद्यार्थीहरुमा उद्ययमशीलता विकासको उद्देश्यका साथ संस्थापना गरिएको विद्यार्थी संगठन थियो । यसको पनि विशुद्ध विद्यार्थीसँग सम्बन्धित कामहरु मात्रै हुन्थ्यो । संगठनमा आबद्ध साथीहरुले विभिन्न उद्ययमका उपायहरु सुझाउँथे र हामी त्यसैमा काम गथ्र्यौँ । यो संगठन व्यापक भएकोले वर्षमा एक पटक विभिन्न विश्वविद्यालयका प्रतिनिधिले आफ्नो विश्वविद्यालयका सफल कार्यक्रम प्रस्तुत गरेर सबै भन्दा उत्कृष्ट कार्यक्रमलाई पुरस्कृत पनि गरिन्थ्यो । हामीले तान्जेनियाका महिलाहरुलाई स्वाभलम्बी बनाउनका निम्ति सिलाई मेसिन किनिदिने र सिलाई कटाइको तालिम दिएर आत्म निर्भर बनाउने योजना पारित गरेका थियौँ । नेपालको लागी त्यतिबेला कार्यक्रम बनाउने प्रयास गर्दा कसैबाट पनि सकारात्मक सहयोग नभएपछि तान्जेनियाका लागी सो कार्यक्रम तय भएको थियो । त्यसको लागी चाहिने अर्थ जुटाउनका लागी हामीले विश्वविद्यालयमा नास्ता बनाएर बेचेका थियौँ । फाइदाको २०० युरो जतिले कार्यक्रम संचालन गरिएको थियो ।
नेपालका विद्यार्थी संगठनमा यस्तो कुनै पनि गुण भेटिँदैन । २०६१ सालमा कैलाली बहुमुखि क्याम्पसमा प्रविणता प्रमाणपत्रतह अध्ययनका क्रममा अनेरास्ववियुको कमिटि गठनका बेला मैले नामको अर्थ नबुझेर अखिलको अर्थ सोधेको थिए । कार्यक्रममा उपस्थित लामै समयदेखि अखिलको राजनीति गरिरहेकालाई पनि त्यसको अर्थ थाह थिएन । यसरी अर्थ नपाइ गोविन्द गाइ गरिरहेकाहरुको पछि लाग्नु मनैले मानेन । फेरी म राजनीतिमा लागेर पढाइ बिगार्ने पक्षमा थिएन । सदस्यतालिए तालाबन्दी र जुलुसमा भाग लिनुपर्ने हुनसक्छ भनेरै पनि म विद्यार्थी राजनीतिबाट टाढै रहेँ । बरु विद्यार्थी साहित्य समाजको भने सदस्यता लिएको थिएँ । त्यसबाट पनि खासै योगदान केहि गर्न सकिएन न सदस्यताको प्रमाणपत्र बाहेक अरु कुनै उपलब्द्धि नै हाँसिल भयो ।
समाधानका उपाय भनिएन भने खाली प्रतिक्रियात्मक लेखको आरोप लाग्ने हुँदा नेपालको उच्च शिक्षाको सुधारका लागी विदेशी अनुभवमा आधारित केहि सुझाव समेत यहाँ पेश गर्न मन लाग्यो । नेपालको उच्च शिक्षाको समस्याको मुल जड यसको केन्द्रिकृत संरचना हो । पूर्वको ताप्लेजुङ्ग देखि पश्चिमको कञ्चनपुर सम्म एउटै त्रिबिले हेर्नुपर्ने बाध्यताले शैक्षिक कार्यक्रमहरु प्रभावकारी ढङ्गले लागु भइरहेका छैनन् । देश संघीयतामा गएसँगै शिक्षा क्षेत्रमा पनि त्यस्तै संरचनागत हेरफेर भएमा धेरै सुधार आउन सकिन्छ । सेमेस्टर प्रणालीले पनि केहि सुधार त अवश्यै ल्याउला त्यसका अलावा अहिलेको निर्धारित प्रदेशहरुमा रहेका आङ्गिक क्याम्पसहरुलाई नै एकठाउँमा ल्याएर त्रिविबाट अलग गरी छुट्टाछुट्टै विश्वविद्यालय घोषणा गरियो भने यसले धेरै सहजता ल्याउने देखिन्छ । परीक्षाफलको लागी मैले स्वयं ११ महिना कुर्नुपरेको थियो । यसका अलावा विकेन्द्रिकृत गर्दा धेरै विकृतिहरु न्यूनीकरण सम्भव हुन जान्छ । त्यस्तै स्ववियुलाई क्याम्पसको भित्रको स्वायत्त संस्था बनाइ विद्यार्थी दलको प्रतिनिधि भन्दा पनि संकायका प्रतिनिधीहरुको संस्था बनाउनु उपयुक्त हुन्छ । स्ववियुलाई आर्थिक चलखेलको अवसर नै नदिइ त्यसलाई विशुद्ध सेवा गर्ने थलो बनायो भने मात्र कुशल नेतृत्व निर्माण हुन सक्छ । आर्थिक स्वार्थ नै नरहेपछि लाखौँ खर्च गरेर सभापति हुने हानथाप त्यसै रोकिन्छ । विद्यार्थी राजनीतिका नाममा गरिने अपराधलाई राजनीतिक खोल ओढाएर दण्डहिनताको निरन्तरता दिनुले आपराधिक मानसिकतालाई झन बढावा मिल्छ । जो सुकै संलग्न भएपनि अपराध गरेवापत सजाय दिइयोस् । होइन भने विद्यार्थीको लागी राजनीति गर्ने नाममा क्याम्पस प्रमुख अपहरण पर्ने देखि लिएर विश्वविद्यालयमा आगो लगाइने हालका घटनाहरुले यस्तै निरन्तरता पाइ रहनेछन् । यदि बहसमा ल्याइए थप उपाय पनि निस्कनेछन् । होइन भने आउने पुस्ताले पनि हालका पुस्ताकै नियती खपिरहनु पर्नेछ ।

Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

सुधीर शर्माकाे प्रयोगशाला