दिव्य उपदेशको प्रकाशमा पृथ्वीनारायण शाह


 यो किन्डलमा निकै अघि देखि भए पनि पढि हालौं भन्ने थिएन । शिलान्यास र Fatalism and Development को चर्चा हुंदै गर्दा यो किताब पढ्नै पर्ने आइ लाग्यो । एउटा किताब पढ्ने राष्ट्रवादी हुने र अर्को पढ्ने वा प्रशंसा गर्ने डलरवादी र पश्चिमाको दलाल हुने भाष्य पछि यो किताब पढ्ने मेसो मिल्यो । 


पृथ्वीनारायणले मृत्यु अघि भनेका सन्देशहरुलाई नै दिव्य उपदेश नामाकरण गरिएको हो । तिनै सन्देशकै प्रकाशमा पृथ्वीनारायण शाहको व्यक्तित्व बुझ्ने प्रयास यो किताबले गरेको छ । खासमा यो स्नातकोत्तरको शोधपत्र (थेसिस) हो जो पञ्चायत कालमा तयार गरिएको थियो । सायद विदेशी लेखक हुनाले त्यो बेलामा पनि यो किताबमा केहि फरक विचार सम्म अट्न पायो । 


किताबको रोचक पक्ष भनेको यसले पृथ्वीनारायणले राज्य विस्तारका क्रममा गाभेका वा जितेका राज्य मध्ये मकवानपुरको इतिहास विस्तृत रुपमा राखिएको छ । बुटवल देखि हालको प्रदेश नं १ सम्मको राज्य कसरी नेपालमा गाभियो भन्ने पृष्ठभूमी यसमा छ । मकवानपुर अन्तरगत नै पर्ने विजयपुर (मोरङ) को सम्बन्धमा पनि यसमा केहि जानकारीहरु छ । हालको मधेस नेपालमा कसरी गाभियो भन्ने पनि यसमा छ । 


अंग्रेजलाई गंगा उत्तरको मैदानको सुरक्षा गर्न कठीन भएको सन्दर्भमा सुरक्षा गरिदिने सुनिश्चितता दिंदै शत्रुको नियन्त्रणमा रहेको जमिन लिनका साथसाथै सोको सुरक्षा वापत पौसा पनि लिएको प्रसंगल हालको लिम्पियाधुरा विवाद किन त्यसै गरि नसुल्झाइएको होला भन्ने प्रश्न मनमा उल्झाउंथ्यो । भारतलाई। सो नाका उसको विरुद्ध प्रयोग हुन नदिने प्रत्याभुती जनाएर आफ्नो भूमी फिर्ता लिने प्रयास नेपालले किन गरेको छैन अचम्म लाग्छ । उल्टै भारत बिच्क्याउने कामले समस्या जटिल बनाउंदै लगिएको छ ।



त्यसबाहेक दिव्य उपदेशको अंग्रेजी उल्था र त्यसको विस्तारमा विवेचना पनि गरिएको छ । त्यसका कम्जोरीको पनि चर्चा गरिएको छ । केहि कुराको प्रशंसा पनि गरिएको छ । जस्तो निश्चित जातकालाई मात्रै सेनामा लिने कुरा उनको किर्तिपुरसंगको बारम्बारको हारकै प्रसंगले गलत सावित भनि भनिएको छ । त्यस्तै पृथ्वीनारायण शाहले किल्ला का लागि र राजधानीका लागि रोजेको भुगोलको प्रशंसा पनि गरिएको छ । यो पढि रहंदा भौगोलिक हिसाबले अनुपयुक्त टुंडिखेल सेनाले किन कब्जा गरेछ भन्ने पनि मनमा आएको थियो । 


किर्तिपुरेको नाक काटेको भन्ने कुरा कर्कप्याट्रिक र जिजेस्पीले भनेबाट प्रज्माणित भए पनि ती पूर्वाग्रही देख्नेले त्यसको विरुद्धमा कुनै ठोस प्रमाण पेश नगरेको भन्ने उनको तर्क पनि मनन योग्य छ । जिउंदै मान्छेको छाला काढ्न सक्नेले नाक चाहिं काटेनन् भन्ने मलाई लाग्दैन । अझ युद्धमा त गला सम्म काटिन्छ । गलाको माया नलाग्नेले नाकको माया गरे भनि पत्याउन पनि गाह्रै छ । 


यसका कम्जोरी चाहिं दिव्य उपदेशको उल्थाका क्रममा भएको जस्तो लाग्छ । नेपाली पाठकका लागि अंग्रेजी उल्था भन्दा मौलिक उपदेश नै बुझ्न सहज हुन्छ । त्यस्तै मौलिक उत्पादन बआवा दिनुपर्ने र विदेशी व्यापारी छिर्न दिन नहुने कुराको खण्डनमा प्रस्तुत तर्क पनि उति गतिला लागेनन् । 


समग्रमा किताब पठनीय छ । सानो पनि भएकोले पढ्न समय पनि उति लाग्दैन । पठन सुखद रहेस् 🙏🏽


Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

सुधीर शर्माकाे प्रयोगशाला