घामका पाइलाहरुः ध. च. गोतामे
निद्रा बिउझियो । ठीक यसैबेला हिजो बिहान पनि रेलको तीखो सुसेलीले उसको निद्रा बिउँझाएको थियो । धर्मशाला, रेल–स्टेसनभन्दा टाढा भए पनि रेलको लीकभन्दा टाढा छैन । दीक्षणबाट आउने रेल गुमटीनिरको आउटर सिग्नलनजीक पुग्नासाथ यसै गरी नित्य, नबिराई चीत्कार गर्छ । यस बखत विहानको ठीक साढे चार बजेको हुन्छ ।
पुराना नेपाली साहित्यका किताबहरु पढ्ने क्रममा आजभन्दा करीब २ वर्ष अघि घामका पाइलाहरु मगाएको थिएँ । चल्तिका पुस्तकहरु पढ्ने क्रममा यो पुस्तक भने अलि पछि परेको थियो । धेरै पटक पढ्ने प्रयास गर्दा पनि पुरै पढेर भ्याउन गाह्रो भएको थियो । यसपाली जसरी भए पनि सक्ने भनेर थालेको थिएँ । सिध्याउँदा नेपाली साहित्यको अर्को लुकेको पाटो हेर्न पाएको अनुभुति भयो ।
विशेष गरी नेपालमा रेल यातायातको विकासको इतिहासलाई समेटेर लेखिएको यो पुस्तकमा त्यसैसँगको फेरिँदै गएको समाजको चित्र समेत पढ्न पाइन्छ । २०३५ सालको मदन पुरस्कार प्राप्त यो कृतिमा प्रथम विश्वयुद्ध सकिएपछि र द्वितीय विश्वयुद्ध सुरुहुनु भन्दा पहिलेको समयावधीलाई समेटिएको छ । त्यो भनेको देशमा प्रजातन्त्र आउनु पूर्वको समय हो । यसलाई अघिल्लो शताब्दिको कथा भने पनि हुन्छ ।
नेपालमा रेलवेको विकास अंग्रेजहरुले सन् १९२७ मा चन्द्रशमशेरका पालामा गरेका हुन् । शशी थरुरले एकपटक अंग्रेजलाई भारतको विकासको श्रेय दिन मिल्दैन भनेर सोधिएको प्रश्नको उत्तरमा भनेका थिए ‘अंग्रेजले बनाएको रेलबे भारतीयको सुविधा र विकासको लागी नभएर भारका श्रोत साधन पैठारी गरेर भारत पु¥याउनका लागी थियो ।’ नेपाल रेलवे पनि काठ ओसार्नका लागी बनाइएको थियो । पछि बन पैदावार कम भएपछि मान्छे ओसार्न थाल्यो ।
यहाँ समय थाहा पउने प्रत्यक्ष र अप्रत्यक्ष केही साधनहरु छन् । मिलको घण्टी, चिमनीको आवाज र रेलको आवतजावतलाई समयको नापो तुल्याउने बानी तपाईंले पनि अबदेखि बसाउनुपर्छ ।
यहि रेलवे लाइनको व्यवस्थापनका लागी ल्याइएका अमलेन्दु भट्टाचार्य, उपत्यका बाट आएका रेलवेका डाक्टर, स्टेसन मास्टर श्रीवास्तब, रेलवेमा पान बेच्ने गणेशी, देवशमशेरको निश्कासनसँगै सर्वश्वहरणमा परेका दुर्गाथान बाजेको परिवार र भूमिगत जीवन विताउने नेपाल पसेका भारतीय स्वतन्त्रता संग्राममा भाग लिएका स्वतन्त्रता सेनानी द्वारिका जस्ता पात्रहरुलाई समेटेर त्यतिबेलाको मधेसको चित्रण गरिएको छ । यी सबैलाई कुनै न कुनै रुपमा रेलले जोडेको छ ।
धीरशमशेर दिनभरि विलियर्ड खेल्थे, साहेबजस्तै पोशाक लाउँथे र सुस्केरामा अङ्ग्रेजी गीतको धुन गाइरहन्थे । उनको फेशनप्रियताबारे पिता भन्नुहुन्थ्यो–धीरको अन्तिम बेला आएपछि उनलाई पशुपति लैजान घाट उठाए । केही पर लगेपछि बोकेर लग्ने मानिसलाई धीरले अड्न सङ्केत गरे । वाक्य बन्द भइसकेको थियो । अतः उनले केही साउती गरे । उनको बैठकेले बुझेर दगुर्दै गएर भर्खर बेलाइतबाट झिकाएको घाममा लाउने कालो चश्मा कोठाबाट ल्यायो र उनलाई लगाइदियो । अनि उनले घाटतिर हिँड्ने सङ्केत गरे ।
कथा एक सुरले अघि बढ्ने भन्दा पनि समय रेखामा अघि र पछि गरेर चलिरहन्छ । पात्रहरुको स्मृति मार्फत विगतका कुराहरु कथामा समावेश भइ रहन्छन् । त्यस क्रममा खड्सम्शेरको वीरशमसेर मार्ने षडयन्त्र विफल हुँदा लखेटिएको प्रसंग, विरशमशेरले रणेद्दीपलाई मारेर सुरु गरेको पितृहत्याको प्रसंग जस्ता ऐतिहासिक महत्वका कुराहरु पनि समावेश गरिएका छन् । त्यस्तै पहाडी पृष्ठभूमीका मधेसी पात्रबाट मधेस प्रतिको उनीहरुको पूर्वाग्रह अघि ल्याउने र त्यहाँ उनीहरुले भोगेको असुविधा पस्कने मात्रै नभएर पछि तिनै पात्र मार्फत परिवर्तिन मनोदशा देखाएर एउटा सन्तुलित सन्देश दिने प्रयास पनि लेखकको छ । शिक्षा, स्वास्थ्य सुविधा र हिँडडुलको सहजताका लागी मधेसमा अड्किएका परिवारको कथामार्फत लेखकले पहाडीहरुको बसाइसराईको त्यसबेलाको कारण बताउन खोजेका छन् ।
मानिसको शरीर अनौठो हुँदो रहेछ, जति सधायो उति सधिने, सहनशक्ति बढ्दै जाने । यहाँका मानिस देख्दै रीसउठ्दा लाग्थे । अब तिनै सोझा, निष्कपट र खुल्ला हृदय भएका लाग्दछन् । गौरी दी, अब यहाँका मानिसलाई छाडेर कहीँ जान सक्दिनँ । मैले आमाबाबुको ममता, दीदी–बहिनीको स्नेह र सङ्गी–साथीहरुको सहानुभूति यहीँ मेरो वरिपरिका अनुहारबाट बटुल्न सकेकी छु । शिक्षित भए पनि देशको मानचित्रलाई मैले आँखाले मात्रै टिपेको रहिछु । त्यसलाई आफ्नो आत्मामा उतार्न सकेको रहेनछु । त्यसैले यहाँ आउँदा मलाई कुनै अनकण्टार अफ्रिकामा पसे जस्तै लागेको थियो । तर अब बुद्धिको बिर्को उघ्रेजस्तो लाग्छ । काठमाडौ र यहाँ कुन ठाउँ बढी रुचाउँछस् भनेर कसैले सोध्यो भने म घोरिइरहनेछु, मसित कुनै उत्तर हुने छैन, किनकि मेरो लागि दुबै उत्तिकै प्यारा र रामाइला छन् ।
आफू पनि मधेसमै गर्मी, घमौरा, पिलो, हिलो, सर्प, मच्छर लगायतका थुप्रै अप्ठ्यारा खाइखेली हुर्किएकोले किताबले ती पुराना दिनहरु पनि याद दिलायो । रामलीला मञ्चनको प्रसंगले सानामा दशैंका बेला रातबिरात घरबाट लुकिलुकी रामलिला हेर्न जाँदाका दिनहरु याद दिलायो । व्यापारका नाममा कालो काम गर्ने लालाहरु मधेसमा थुप्रै पाइन्छन् । हाम्रै अघि बोरामा सामान बेच्नेहरु अहिले ठूला व्यापारी भएका छन् । सिमाना सम्म पुग्ने मालगाडी (सामान बोक्ने रेल) निकै पछि सम्म पनि सिमावर्ती भारतीय बजारमा किनमेलका बेला देखिन्थ्यो । घामका पाइलाले यी सबै कुराहरुलाई धेरथोर प्रतिनिधित्व गरेको छ ।
स्वाभिमान प्रत्येक मानिसमा हुनुपर्ने गुण हो, तर अभिमान र स्वाभिमानको साँध छुट्टयाउने एक ज्यादै झीनू रेखा हुन्छ, जसलाई मानिसहरु अज्ञानले गर्दा निरन्तर अतिक्रमण गरिरहेका हुन्छन् ।
घामका पाईलामा दुर्गानाथ पात्रका मार्फत लेखकले केहि हितोपदेशका कुरा पनि पुस्तकमा समावेश गरेका छन् । तीन पुस्ताको सम्बन्ध दर्शाउने क्रममा यस्ता धेरै मौकाहरु पुस्तकमा आउँछन् । स्वाभिमान र अभिमानको फरकको कुरा आमिर खानको गजनीमा सुन्दा बढो प्रभावित पारेको थियो । घामका पाइलामा पनि त्यस्तै अर्थको पंक्ति देख्दा दर्शन वा विचार भनेको एकै परिस्थितिमा एकै किसिमले सोच्दा फरकफरक व्यक्ति भएता पनि समान हुनसक्छ भन्ने लाग्यो । जसरी २ र २ जोड्दा जुन सुकै व्यक्तिले पनि सहि गणीतीय शुत्र लगायो भने ४ नै निकाल्छ त्यसरी नै जिन्दगीका समान अवस्थाहरुमा समान शुत्र लाएर बिचार ग¥यो भने उहि सत्य मान्छेले पाउँछ ।
अलिखितसँगै मगाएको घामको पाइला पढ्न निकै समय लाग्यो । खासगरी भाषाका कारणले पठन त्यति सजिलो मदन पुरस्कार प्राप्त दुबै पुस्तकका लेखकको बारेमा खोज्दै गर्दा घामका पाइलाका लेखक ध.च. गोतामे अर्थात धनुसचन्द्र गौतम र ध्रुवचन्द्र गौतम दाजुभाइ रहेछन् । दुबैका कलमबाट नेपाली साहित्यमा मधेसको सशक्त प्रतिनिधित्व समेत भएको रहेछ । पढि सक्दा पढ्न समय लाग्नुको कारण खोतल्न मन लाग्यो । सामान्य तया अंग्रेजी पुस्तकमा भाषाकै कारण गति सुस्त हुने भएपनि नेपाली पुस्तकहरुमा त्यस्तो समस्या हुँदैन थियो । तर पुराना साहित्यहरुमा भने तत्सम शब्दको बढि प्रयोग र हाल चल्तिको भाषा भन्दा फरक भाषा र शैली भएकाले होला त्यति सहज पठन भने हुँदैन । फेरि पाउलो कोइलोले शास्त्रीय साहित्यका सन्दर्भमा भनेका भनाइले पनि त्यस्तो हुन गएको हुनसक्छ । कोइलोले शास्त्रीय साहित्यका बारेमा धेरैले सुनेका भएपनि थोरैले मात्रै पढ्न सक्छन् । कारण सबै कुरा सुनिसकिएको हुन्छ । पढ्नका लागी बाँकि केहि पनि हुँदैन । मैले त्यही भनाई परख गर्नलाई फ्रान्केन्स्टाईन पढ्ने प्रयास गरेको थिएँ । अहँ, मरे सकेन !
यहाँ बस्नेजति सबैले आ–आफ्नो बुद्धिको भाँडो थापेका छन् । त्यसमा कसैले थोरे पाए होलान् कसैले धेरै । जसरी बाक्लो पानी पर्न थाल्दा कसैले गोडमेल गरेर विशाल खेत तयार पार्छ कसैले केराको बारी । केही नभएकोले गाग्री, लोटा र कचौरासमेत थाप्दछन् । सबैले आफूसित भएको पात्रअनुसार पानी पाउँछन् ।पुस्तकको पठन भनेको व्यक्ति पिच्छे फरक हुन्छ । फरक व्यक्तिले फरक सन्देश पाउन सक्छ । त्यसमा उसको तात्कालिन अवस्था र पूर्वज्ञानले समेत भूमिका खेलेको हुन्छ । घामका पाइलाहरुका बारेमा भनिएका कुराहरुमा पनि धेरै हदसम्म त्यहि लागु हुन्छ । अरुले पढ्दा पनि यस्तै भोग्छन् भन्ने होइन । पुस्तकमा लेखकले भनेजस्तै भाँडो अनुसारको पानी सबैले पाउँछन् । आशा छ ठूलो भाँडो थापेर पाठकले धेरै भन्दा धेरै पानी थाप्न सफल हुनेछन् ।
Image Source: Wikipedia
Other Source: https://en.wikipedia.org/wiki/Nepal_Railways
Other Source: https://en.wikipedia.org/wiki/Nepal_Railways
अति राम्राे रिभियु पढेर खुसि लाग्याे । धन्यवाद ।
ReplyDelete