सागर अनि युवती

भू–मध्यसागरसम्मको यात्रा –२


जर्मर्नीको चिसो हावापानीको दाँजोमा यहाँ केही गर्मी महसुस भयो । मौका यही हो भन्दै म पनि हाफकट्टुु र भेस्टमा बाहिर निस्किएँ । ऊ सदा झैँ पाइन्ट सर्टमै बाहिर आयो । मैले उसलाई किनारा छोएर फर्कने भनेको भएपनि म पानीमा गोडा हाल्ने योजनामा थिएँ । त्यसैले पनि त्यो मेरालागि उपयुक्त पहिरन थियो । हामी अनुमानका भरमा अघि बढ्दै गयौँ । सानामा सामाजिक शिक्षाको भूगोल अन्तर्गत समुद्री हावाका बारेमा पढेको कुरा याद आयो । दिनमा जमीन तातेर सतहमाथिको हावा भारी हुने हुँदा जमिनको सतहमा एककिसिमको खालीपना सृजना हुने गर्छ । समुद्रको पानी तात्न समय लाग्ने हुँदा त्यहाँको हावा चिसो नै रहिरहन्छ । त्यही चिसो हावा सतहको खालीपनलाई पुरा गर्न समुद्रबाट जमीन तिर बग्ने गर्छ ।  हामीलाई हावाको उल्टो दिशामा हिँड्नु थियो । तसर्थ बार्सेलोनाका प्राचीन घरहरुबीचको सडकसँगै हामी हावाको विपरित दिशामा अघि बढ्यौँ ।
सडकमा मानिसहरुको भीड विस्तारै बाक्लिँदै गयो । चोक आइपुग्दा परपर समुद्र छ भन्ने आभास मनमनै भयो । घरहरु सकिएको ठाउँमा समुद्र छ भन्ने पक्का थियो तर जाने पो कसरी भन्ने टुङ्गो थिएन । प्रविधिको विकासले हालमा आएर धेरैकुरा सजिलो बनाइ दिएको छ । मानिसलाई अचेल कहिँ कतै जानपर्दा साथमा एक फोन भए पुग्छ । त्यसैमा दुनियाँभरको जानकारी अटाएको छ । फोनमा भएको नक्सामा मैले हाम्रो गन्तब्य तर्फ जाने बाटो खोजेँ । खासमा गन्तब्य नै पनि ठ्याक्कै थाहा थिएन । समुद्री किनार निकै लामो थियो । त्यसको कुनभागमा जानु उपयुक्त हुन्छ भन्ने थाहा थिएन । त्यसैले अनुमानका भरमा एकातर्फको बाटो समातेर अघि लाग्यौँ । बाटामा हिँड्दै गर्दा फोटोहरु खिच्ने क्रम पनि चलिरहे । समुद्र किनारको एक पहाडको ढिस्को पनि देखिँदै थियो । मलाई उचाइ मन पर्छ । किन हो किन अग्ला शिखर देख्दा चढ्ने मन लाग्छ । यात्राको थकानले त्यो प्रस्ताब गर्नु उचित थिएन । त्यसैले चुपचाप अघि बढिरहेँ ।
सडक छेउमा पामका रुखहरु हावाले सुसाइरहेको थियो । हल्का बादले पाटेको आकास अस्ताउँदो सूर्यलाई बिदा दिने तयारीमा थियो । हामी उज्यालो छँदै किनारामा पुग्नु थियो । त्यसैले मेरा गोडाहरु छिटोछिटो बाटा नापी रहेका थिए । जहाजका ध्वजाहरु देखिए । लगत्तै जहाँजका केही अंश पनि प्रष्टिँदै गए । प्रत्येक नयाँ दृश्यसँगै गोडा र हृदयका गति दुबै तेज हुँदै गए । प्रथमपटक प्रेमीकालाई भेट्दाको जस्तो खुशीले मन अत्याइ रह्यो । मनमा असीम लहर र तिनलाई छोप्ने निलो आकाशमा रातो घामको परिकल्पना लिएर अघि बढि रहेँ ।
किनारामा मानिसहरुको भीड बाक्लो थियो । सबैलाई मन अघाउञ्जेल समुद्र हेर्नु थियो । त्यो भीडमाझमा हामी जस्ता मानिस नजाने कति थिए होलान । हामी पनि त्यसै भिडमा मिसियौँ । आँखा नअघाउञ्जेल समुद्र हेरि रह्यौँ । साना ठूला सबै पानीजहाज हेरि रह्यौँ । समुद्रमाथि एउटा मानिसहिँड्ने पुल बनाइएको रहेछ । मानिसको ताँती त्यतै देखेर हामी पनि उतैतर्फ लाग्यौँ । जाँदा भोकमानै मकैका फुलौरा किनेर लग्याँै । पुलमाथि हिँड्दै र मकैका फुलौरा चपाउँदै समुद्रावलोकनको त्यो साँझ जीवनका अनेक रमाइला प्रहर मध्येको एक अब्बल प्रहर थियो । बीचबीचमा हातमा लिएका फुलौराहरु जिन्दगीमा समात्न खोजेका अनगिन्ती खुशीहरु जस्तै मुखमा नपुग्दै उडेर जान्थे ।
सम्भोगमा रमाइरहेका जोडीले चरमोत्कर्स नजिकिन लाग्दा सिकसिकाउँदै ‘अझै, अझै’ भनी आग्रह गरे जस्तै हाम्रा आँखाहरु पनि समुद्रसँग अझै सम्भोग गर्न चाहि रहेका थिए । तसर्थ अब हामी बलौटे किनार खोज्न अघि बढ्यौँ । थकाइ मार्न एक सानदार बजारगृहमा पसेर यता उता नजर डुलाउन थाल्यौँ । खानेकुरा र तरुनी दुबै ताक्दै थियौँ । बजारगृहको भुइँतला समुद्र किनारासँग जोडिएको थियो । त्यसैमा बाहिरपट्टि बसेर समुद्र हेर्दै खान मिल्ने व्यवस्था भएको रेस्टुराँ देखियो । सजावट हेर्दै महँगो लाग्यो । फेरी आफ्नो स्वादको खाना पाइने हो या नपाइने हो भन्ने डर पनि उस्तै । ग्राहकहरु हे¥यो सबै जोडी । वरपर किनारामा समेत चुम्बन र आलिङ्गनमा व्यस्त जोडीहरु मात्रै देखिन्थे । हेर्दै जाँदा एक ओठे चुम्बनमा लिप्त समलिङ्गी जोडि पनि देखियो । मैले हामी दुईलाई हेरेँ । बढि समय त्यहाँ बसि रहन उचित लागेन अघि बढ्यौँ ।

बन्दर्गाहका बिसाइएका जहाजहरु हेर्दै हामी हिँडी रह्यौँ । मुलसडकमा पसेर फेरी अर्को किनारामा पुग्नु थियो । घाम पनि डुब्नै लागि सकेको थियो । अँधेरोमा समुद्री किनारा पनि उति मजा नआउने भएकाले हामी गोडाका चालहरु तेज पारिरहेका थियौँ । बाटाका आसपासमा जमल र घण्टाघरका पुलमाथि सामान बेच्न बोरामा थापिएका पसलहरु सम्झाउने पसलहरु देखिन्थे । एक दुई ठाउँमा गितार बजाएर पैसा माग्दै गरेका मान्छेहरु पनि भेटिए । अलिअलि सुन्दै अलिअलि हेर्दै नरोकिइ अघि बढि रह्यौँ ।जति जति घाम लुक्दै जान्थ्यो सडक छेउका बत्तीहरुले झिलिमीली थप्दै जान्थे । मेला लागे जस्तै सडक छेउमा पसलहरु थापिएका थिए । दशैँमेलामा देखिने भैय्याहरुको जस्तै रोटेपिङ्ग र अनेकौँ चर्खाहरुमा मानिसहरु मच्चिदै चिच्याइरहेका थिए । म मनमनै त्यो उचाइबाट समुद्र कस्तो देखिँदो हो भनी कल्पना गरिरहेको थिएँ । किनार छुनु थियो त्यसैले अलिअलि हेर्दै र अलिअलि फोटो लिँदै हामी अघि बढ्यौँ ।

हामी किनार पुग्दा सम्म साँझ झमक्क परिसकेको थियो । चिसो हावाले मलाई केही जाडो महसुस भइरहेको थियो । अन्तिम चोक छिचोल्दा खुट्टाहरु थाम्न सकिरहेको थिएन । कुद्दै अघि बढेँ । अँध्यारो भइसकेको भएपनि किनारमा अझै केही मानिसहरु थिए । बलौटे किनारामा खुट्टाहरु भासिँदै थिए । आँखा अघि अन्धकार चिर्दै समुद्रका सेताछालहरु आलिङ्गनका लागि दौडिरहेकी प्रेमिका जस्तै मतिरै बढि रहेका थिए । म पनि दौँडीदै अघि बढेँ । किनार चुम्दा अबेर निक्कै भइसकेछ भन्ने लाग्यो । तरपनि नुनिलो पानी चाख्न बिराइन । जुत्ता खोलेर पानीमा पसेँ । नुहाउने आँट थिएन । अँधेरो र चिसो दुबैले रँजाइ गरिसकेको थियो । भोलिपल्टको सूर्याेदय छोप्ने बाचाका साथ फेरी बलौटे किनारमा फर्किएँ । यताउतिका कुराहरु सुरु भए । वरिपरि आँखाले भ्याउञ्जेल हेरेँ । 
हामी कुरा गरिरहँदा एक व्यक्ति खानेकुरा बेच्न सामु आइपुग्यो । हेर्दा भारतीय झै लाग्ने र म अलि हिन्दी जान्ने भएकाले सोधनीपुछनि गरिहालेँ । पाकिस्तानबाट आएको रहेछ । बसेको बर्सौँ भइसक्यो भन्थ्यो । प्रवासमा बाँच्नुको कथाहरुमा एक अध्याय थपेर ऊ पनि बाटो लाग्यो । संसार साँघुरिएको कुरामा थप विश्वास भयो । जानु अघि सामानको हेरविचार गर्न भनि झस्काएर गयो । म झन चनाखो भएँ । अघि सम्म फुक्का छोडेको झोला सारेर आफू नजिक ल्याएँ ।

“उः ट्याँ हेर । ट्यो केटी एक्लै छ ।”
उसले कुराको विषय मोड्यो ।
“अनि ?”
कुटिल हाँसोका साथ प्रश्न तेस्र्याएँ ।
“एकछिन बस्ने भए म उसँग कुरा गर्र्छु । टिमी बीचमा नआउ है ?”
अविरल हाँसो केही छिल्लिएका कुरासँगै सहमतीमा “ल...ल” भनेँ ।

ऊ गइहाल्ला भन्ने लागेको थिएन । तर ऊ गयो । म एकछिनसम्म हेरि रहेँ । म ऊ निन्यौरो मुख लिएर फर्किआउने पलको व्यग्रताका साथ प्रतिक्षा गरिरहेको थिएँ । खै अलिअलि आरिस थियो सायद । वर्षौँ सुर्ताएको समुद्रको छेउमा साँझ बिताउँदै थिए र पनि त्यो अपरिचित केटिसँग ऊ नजिकिएकोमा आरिस गर्न चुकेन । लोभी मन न हो, जति भएपनि पुग्दैन । सायद सपना र चाहानाको अन्त्य भएको दिन जीवनको पनि अन्त्य हुन्छ होला ।
म हेरेर थाकेँ । ऊ आएन । ऊ झन् मज्जाले उसैको छेउमा बस्यो । अलि स्थायी आसन कसेकोले तुरुन्तै फर्कने छाँट देखेन । नआउनु भनेर गएको थियो त्यसैले उसामु जान पनि सकेन । अब के गर्ने । आइमाइका छेउमा पुरुषका लागि समुद्रै पनि कम आकर्षक हुँदो रहेछ ।
समुद्रमा आँखा गाडेर बसी रहेँ । किनारामा धीत मरुञ्जेल हिँडे । पत्थरका साना कणहरु बेलाबेला गोडामा बिझाउँथे । अघि आएको मान्छेले सामानका बारेमा तर्साइ दिएकोले बेलाबेला ध्यान त्यतै तिर तानिइ रहन्थ्यो । उसका जिम्मामा लाउँ भने नआउनु भनेर गएको थियो । त्यसैले जसो तसो उसको वार्तालापको अन्त्यको व्यग्र प्रतिक्षामा एक–डेड घण्टा त्यसै बिताएँ । ...क्रमशः

Comments

Post a Comment

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

सुधीर शर्माकाे प्रयोगशाला

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी