स्वप्न नगरी सम्मको यात्रा –भाग १


अँ स्वप्न नगरी नै भन्दा उचित होला । धेरैले इच्छाएको ठाउँ । गगनचुम्बी महलहरुको सहर, चिल्ला गाडी गुड्ने सहर, झिलिमिली सहर अनि लाखौँ सपना पुरा गर्ने आशा बोकेको सहर । नयाँ ठाउँ नयाँ अपेक्षाहरु । अनि जहिले पनि उही त हो, आफ्नो अवस्था भन्दा अरुको अवस्था नै राम्रो लाग्छ । विदेश पुग्ने दुई उपाय छन् ः कि कामदारका रुपमा प्रवेशाज्ञा लिएर अरव तिर लाग्ने कि त अध्ययनका लागि प्रवेशाज्ञाका साथ अमेरिका, अस्ट्रेलिया र यूरोपका देशहरु धाउने । मेरा लागि अध्ययनको बाहाना बढि प्रीय बन्यो । मैले त्यही रोजेँ । धेर थोर उतार चढाव पश्चात जर्मनी जाने अवसर पाइयो । गजब लाग्यो ।
विकसित राष्ट्रहरुको सूची जी–एटमा पर्ने देशहरुमध्येको एक देश जर्मनी जाने अवसर मिल्नु अहो भाग्यको कुरा थियो । विदेश भ्रमणको नाममा छिमेकी मुलुक भारतका सिमावर्ती इलाकाका बाहेक कहिँ जान नसकेको मान्छेका लागि सात समुद्र पारिको मुलुक छिर्न पाउने अवसर सायद गौरवपूर्ण लाग्नु स्वाभाविकै हो ।
जुन बेला मलाई जर्मनीका लागि प्रवेशाज्ञा पाएको सुचना प्राप्त भएको थियो, त्यो बेला म खुलेर खुशी समेत हुन सकेको थिएन । कारण मान्छेहरुको भए नभएको हल्ला । मैले के सुनेको थिए भनेँ एक जनाले अमेरिकाको भिसा पाए पश्चात उफ्रँदै खुशी मनाउँदा उसलाई मानसिक सन्तुलन विग्रेको व्यक्ति भनेर फेरी भित्र लगि उसको प्रवेशाज्ञा रद्द गरिएको थियो रे ! हल्लैहल्लाको देशमा यो हल्लाको पछिको वास्तविकता मलाई पनि थाहा छैन । तर मलाई त्यो दुर्दशा भोग्नु थिएन त्यसैले म सकि नसकी खुशी थामेर दूतावासबाट निकै टाढा पुगेपछि मात्र खुलेर हाँसेको थिएँ अनि घरमा खबर गरेको थिएँ ।
देश छोड्ने मिति आउन आउन लाग्दा अनिदा रातहरु सुरु भए । के होला कसो होला भन्ने डरले मनमा डेरा जमाइ रह्यो । सबैका शुभकामनाहरु बटुल्न पाउँदा खुशी पनि लाग्यो । शिक्षक पेशाका कारण धन नभए पनि मन भएका केही विद्यार्थी कमाइएको छ । उनीहरुको आत्मीय विदाइले मन विभोर हुनबाट रोक्न सकेन । प्रतिदानमा दिनका लागि मसँग केही थिएन । मनैभरिको कृतज्ञता दिएँ । त्यत्ति हो ।
अन्तर्राष्ट्रिय उडानहरुमा सामान लैजाँदा निश्चित भार भन्दा बढि लैजान पाइँदैन, सुनै तौले झैँ तौल्छ अनि बढि भएका सामान छरिपस्ट भुइँमा फालिदिन्छ भनेर सबैले भन्दा डर लागेको थियो । धन्न ठूलो लगेज अनुमोदित तौल भित्रै प¥यो । हाते झोला एक डेढ किलो बढि भएको थियो र पनि केही गरेनन्, जान दिए । सुरुका दिन काट्नका लागि आफूले बजाउँदै गरेको गितार पनि बोकेको थिएँ । त्यसले बोक्न अलि अप्ठेरो पारेको भए पनि अरु खासै दुःख थपेन ।
नेपालको एक मात्र अन्तर्राट्रिय विमानस्थल त्रिभुवन विमानस्थलमा सुरक्षा जाँचका क्रममा अन्य केही कठिनाइ नभएपनि अध्यागमन विभागमा भने अलि समस्या प¥यो । शिक्षा मन्त्रालयको अनुमति पत्र छुटेछ । पढ्न जान लागेको विश्वविद्यालयको पत्र पनि लगेजमै । एक जना कर्मचारीले त सामान्य सोधपुछ पछि विद्यार्थी हुन् जान दिउँ भने तर अर्काले लगेजबाट भएपनि भए जतिको कागजात निकालेर ल्याउन भने । मैले निर्विकल्प भएर तौलेर ठीक पारि सकिएको लगेजबाट आवश्यक सम्पूर्ण कागजात निकालेर ल्याएँ । रीस उठेको थियो त्यसैले उक्त कर्मचारीलाई विश्वविद्यालयको जर्मन भाषामा लेखिएको पत्र देखाएँ । ऊ पढ्न नसकेर कनि कुथी गर्न थाल्यो र अर्का सहकर्मीलाई बोलायो । मैले अर्कालाई अंग्रेजीमा उल्था गरिएको पत्र दिएँ । उसले पत्रलाई अनुमोदन ग¥यो । सायद ती कर्मचारीको मन अझै अघाएको थिएन त्यसैले प्रवेशाज्ञामा जर्मनमा लेखिएको कुराहरुमाथि पनि प्रतिपश्न गर्न थाले । मलाई झोक लाग्यो अनि प्रवेशाज्ञामा केही समस्या भएको भए जर्मन दूतावासमा सम्पर्क गरि पुछताछ गर्न भनेँ । ऊ झन् गम्कँदै आफूले चाहे त्यहाँबाट अघि बढ्नबाट समेत रोक्न सक्ने धम्की दिन थाल्यो । मैले ती मानिसलाई उनको उमेरको दुहाइ दिँदै, ‘बाबु समानको मान्छे जे ठीक लाग्छ गर्नुस् । तपाईंका सहकर्मीले अघि नै जान दिए हुँन्छ भन्नुहुन्थ्यो तर तपाईंलाई खई के पुगेन अझै अल्मल्याइरहनु भएको छ भनी मुख फोरेँ ।’ प्रकृयागत कुराहरु हुन अनि आफ्नो अहोदाले त्यसै जान दिन नमिल्ने भनि आफूलाई सच्याउन थाले । मैले वास्ता गरेन । गम्कँदै मेरो राहदानी पत्र टेबलमा राखिदिए । अनिश्चितताको बादलले अझै पिछा छोडेको थिएन त्यसैले म त्यहाँबाट हिडेँ । त्यसपछि प्रतिक्षा गर्नु बाहेक अरु कुनै ठूलो समस्या परेन ।
निकै धेरै जर्मनहरु पनि साथैमा जान लागेका थिए । चिनेको थिएन र पनि उनीहरुले मुस्कानका साथ पटकपटक अभिभावदन गरि रहेका थिए । उनीहरुकै देशमा पाहुना लाग्न जान थालेकोले एक प्रकारको आनन्द पनि आइरहेको थियो । आफूले चढ्ने विमानको आकार देखेपनि मनैमन दङ्ग परेँ । आकासमा उडेको बाहेक अरु बेलामा नदेखेको विमानमा पस्न पाउनु कम गजबको थिएन ।
भित्र पस्दा दैलोमै मुस्काउँदै विमानकी परिचारिकाले अभिवादन अनि स्वागत गरिन् । विमान भित्रको अंग्रजी सिनेमाको टम क्रुज जस्तै देखिने एक परिचारकले सिट देखाइ दियो । तीनै जना नेपालीको सँगै सिट परेछ । झ्याल तिर पाए हुन्थ्यो झैँ लागेको थियो तर पाएन । घाँटि तन्काएरै भएपनि बेलाबेला बाहिर हेर्न चाहिँ छोडेन ।
विमान भित्रको माहोल रमाइलो थियो । सुकिला मुकिला सिटहरु अनि उड्दा उड्दै शौच गर्ने समेत सुविधा भएपछि अरु के चाहियो । भएन भनेर आफ्नो सिट अघिको सीसामा आफूलाई मनपरेको चलचित्र हेर्न सकिने, विमान कुन बाट उडी रहेको छ भनी हेर्न सकिने अनि गन्तव्य पुग्नका लागि लाग्ने समय र विमानमा रहेका क्यामेराले तलको जमीनको तस्वीर लिएको समेत देख्न सकिने, भएन त गज्जब । बाटाभरि कहिले कुन त कहिले कुन चलचित्र हेरेर भ्याएँ । अनि बेलाबेला घाँटि तन्काउँदै बाहिरको दृश्य हेर्नु अनि झिलिमिली सहर देखेर दंग पर्नु त छँदै छ ।
विमानमै बसेको केही समय पश्चात हामीलाई दिइएको खाना र पेयको सूची बाट साकाहारी खाना र फलफुलको जुस रोजेँ । साथैमा बसेकाहरुका लागि खाना रोज्न भाषाका कारणले केही गाह्रो भयो । सकेजतिको मद्दत गरिदिएँ ।
नेपालमा सूर्योदयको समय अवतरण गर्नु पर्ने आबुधाबीको समयमा भएको भिन्नताले गर्दा आफूले आँकलन गरेको भन्दा फरक समयमा ती ठाउँहरुमा पुुगियो । आवुधाबीमा अवतरणको समय ८ः४० लेखिएको भएपनि त्यो त्यहाँको स्थानीय समय भएकोले नेपालको १०ः२०मा त्यहाँ पुगे । विमानस्थल प्रवेश देखि विमान चढ्दा सम्मको समय नगन्दा ४ घण्टा ४० मिनेट हावामा उडीएछ ! लामो उडान भएकाले पट्यार लाग्दो भयो । सबै भन्दा रमाइलो त मोटरसाइकलकै यात्रा लाग्यो । कमसेकम आसपासको सबथोक हेर्दै र आफ्नो गतियतिको ज्ञानका साथमा यात्रा गर्न सकिन्छ तर विमानमा त अवतरण गर्दा र उडान भर्दा बाहेक अन्य समयमा गति यतिको ज्ञान पाउनै मुस्किल ।
आवुधावी विमानस्थलमा अवतरण गर्नु अघि आकासवाटै देखिएको झिलिमिली दृश्यले मरुभूमीमा पनि परिश्रम ग¥यो भने विकासको मुल फुटाउन सकिँदो रहेछ भन्ने भयो । साथैमा बसेका सबै नेपालीहरु विकास के हो बुझ्न सबैले एकपटक देश बाहिर जानै पर्छ भन्न थाले । मरुभूमीमा खुलेको आवुधाबीले समेत धेरैलाई परिश्रमको पाठ सिकाउन सक्ने सबैले महशुस गरे ।
विमान यात्राको प्रथम अध्याय यहीँ सकिएको थियो । विमानस्थलमा झण्डै ६ घण्टा विताउन थियो । विमानस्थलको नियमित चेकजाँच पश्चात प्रत्रिक्षालय सम्म गएँ । साथमा एक नेपाली थिए । हामी दुबैको गन्तव्य एकै थियो । त्यसैले समय नहोउन्जेल विमानस्थल भित्रैको पसलहरु चाहार्ने निधो ग¥यौँ । संसार रमाइलो रहेछ भन्ने यहाँ पुग्दा थाहा भयो । जीवनमा धेरै थोक छ । जीउन जान्नु प¥यो, त्यत्ति हो । यो अवस्था सम्म ल्याइ पु¥याउने आमाबाबु, घरपरिवार, साथीभाइ र विशेष गरि विदेश गइ शिक्षा आर्जनको प्रेरणा र यसलाई सफल पार्नमा अहं भूमिका निर्वाह गर्ने दुबै दाजुप्रति कृतज्ञ हुन सिवाय मसँग अरु कुनै बिकल्प थिएन ।
क्रमशः
स्वप्न नगरी सम्मको यात्रा -भाग २

Comments

  1. Ja Raman, Du bist sehr glücklich. Ani raman jaha nira trouble haru dherai aau6, timi aba kehi specially kura gain gardai chhau bhanera bujhda hune rahe6. success hune period ma dherai badha haru aaiparchha yar..... timile tyo kura ko experience gareu.....

    Ok Viel spaß....... study hard...... god bless you.... Tschüs !!!!

    ReplyDelete
  2. Ja Raman, Du bist sehr glücklich. Ani raman jaha nira trouble haru dherai aau6, timi aba kehi specially kura gain gardai chhau bhanera bujhda hune rahe6. success hune period ma dherai badha haru aaiparchha yar..... timile tyo kura ko experience gareu.....

    Ok Viel spaß....... study hard...... god bless you.... Tschüs !!!!

    ReplyDelete
  3. thanks..ho malai ni testai lagchha..achel ta malai jati dherai tension hunchha tetni nai thulo khusi pachchyaudai aauchha jasto lagchha...

    ReplyDelete

Post a Comment

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

सुधीर शर्माकाे प्रयोगशाला