प्रबास र काम



“जर्मन भाषा बोल्न आउँछ ?” मैले प्रश्न सोझ्याएँ ।
“अँहँ ।” एकछिन छेऊकोसाथीसँग मुखामुख गरेर हाँस्दै र लजाउँदै उत्तर दिई ।
“त्यसो भए त भाँडा माझ्ने काम मात्रै पाइन्छ ।” मैले उल्याउनलाइ भनेँ ।
“त्यो त गरि हालौँला नी । बरु भाँडा पो कत्रा माझ्नु पर्ने हो ?” छेउकीले ठट्टा गर्दै सोधी ।
“डराउनु पर्दैन । त्यहाँ त भाँडा माझ्ने पनि मसिन  हुन्छ रे !” हाँस्दै भनेँ । अनि आफ्नै पीर लागेर आयो ।
म जर्मन दूतावासमा प्रवेशआज्ञा आवेदनका लागी पालो कुरेर बसीरहेको थिएँ । म जस्तै आशा र डर मिश्रित भावना बोकेका देश छोड्ने युवा जमात त्यहाँ उपस्थित थियो । हामीहरुबीचमा यस्तैयस्तै कुराकानीहरु भइरहेका थिए ।
नेपाल छँदा विदेशमा गरिने कामका बारेमा उति राम्रो सोच कमैले राख्छन् । विदेश जाने नेपालीहरु प्राय विना कुनै विशेष तालिम विदेश पस्ने हुँदा उनीहरुले पाउने कामहरु प्राय शारीरिक श्रममा आधारित कामहरु हुने गर्दछन् । निर्माणका काममा ज्याला मज्दुरी, होटेलहरुका भान्छामा भाँडा माझ्ने, वस्तुभाउ चराउने, कारखानामा मज्दुरी, आदिलाई नै बढि प्रचलित कामहरुका रुपमा लिइन्छ । यी सबै कामलाई हामी तल्लो स्तरको काम भन्ने संज्ञा दिने गर्छौँ । प्राय शारीरिक श्रमलाई तल्लो दर्जाको ठान्छौँ । हाम्रा माथिल्लो दर्जाका कामहरु भनेका प्रशासनिक कामहरु हुने गर्छन् ।
एक प्रकारले कामलाई वर्गिकृत गर्ने यसकिसिमको सोच उति असमान्य होइन । तर कामले नै सामाजिक स्तर निर्धारण गर्नु अनि कामले सानो र ठूलो भइन्छ भन्ने मानसिकताले ग्रसित हुनुले हामीलाई कता कता निकम्मा बनाएको छ । कृषि, पशुपालन, व्यापार–व्यवसाय, उद्योगधन्दा, आदि जस्ता सबै उत्पादनमुलक कामहरु हाम्रा दोश्रो प्राथमिकतामा पर्छन् । कतिपय अवस्थामा हामी यी विकल्प छान्नुको सट्टा बिना काम बसिरहन नै उचित ठान्छौँ । हाम्रो विद्यालय या विश्वविद्यालयबाट हाँसिल गरेको ज्ञानले हामीलाई यस्ता कामका लागि अयोग्य बनाउँछ । हाम्रो प्राथमिकतामा त केबल सरकारी कार्यालयको कुर्सीमा रजाइँ गर्नु पर्दछ । हो, समस्या यहाँनिर छ ।
म जर्मनी पसे लगत्तै काम गर्नुपर्ने स्थिति आइप¥यो । हुन त काम गर्दै पढ्छु भन्ने योजनाका साथ आएको थिएँ । तरपनि जीवनका २५ वर्ष सम्म कहिल्यै नगरेको र नसोचेको कामहरुका लागि मानसिक रुपमा तयार हुनै गह्रो भएको थियो । कामका नाममा नीजि विद्यालयमा मास्टरी र पत्रिका तथा छापाखानामा कम्प्युटर चलाउने काम बाहेक अरु खासै केही गरेको थिएन । जर्मनीमा भाषागत समस्याका कारण ती अनुभव र शीपहरुबाट तत्काल आम्दानी गर्न गाह्रो थियो । त्यसैले सामान्य साफ सफाइको कामकै अपेक्षा राखेको थिएँ ।
धेरै आवेदनहरुबाट निराशाजनक उत्तर पाइसकेपछि अन्तिममा आएर एक चिनीया रेस्टुराँमा काम पाइयो । जर्मनी बसाइका पहिला दिनमा हरेक युरोको खर्चलाई नेरुमा बदलेर हेर्न बानीले खानामात्रै पाउने काम भएपनि गर्छु भन्ने मानसिकतामा पु¥याइसकेको थियो । त्यसैले साहुनीलाई काम नसिक्दा सम्म कम पैसा भएपनि हुन्छ भन्ने कबोलका साथ काम थालेँ । उसले सरदर रेट भन्दा कम भएपनि पैसा चाहिँ दिने बताइ । सप्ताहको अन्तमा कामको चाप बढ्ने भएकाले उसले मलाई रेस्टुराँका वेराहरुको मद्दत गर्न राखेकी थिई । टेबलसम्म अर्डर पु¥इदिने, खाएपछि टेबल साफ गरिदिने,बफेमा खाना थपिदिने, आदि काम गर्नुपर्दथ्यो । कामको अन्त्यमा रोजी रोजी खाना पाउने भएकाले काम गर्न पनि निक्कै रमाइलो लाग्दथ्यो । विस्तारै काम सिक्दै जाँदा खान लाउन पुग्ने कमाइ हुन थाल्यो । यसरी सुरु भए प्रवासमा मेरा कामका दिनहरु । यो क्रम झण्डै एक वर्ष सम्म चल्यो ।
यहाँ गर्मीयाममा प्राय मानिसहरु बिदा मनाउने गर्छन् । परिवारका सदस्यहरुसँग छुट्टि मनाउनका लागी मानिसहरु कामबाट महिना दिन सम्मको विदा लिएर देश–विदेश भ्रमणमा जाने गर्दछन् ।  उनीहरुमा विदामा रहँदा कारखानाहरुमा रहेका रिक्त पदका लागि दरखास्त आह्वान हुने गर्दछ । त्यस्ता रिक्त पदमा सोह्र वर्ष भन्दा माथिका जोसुकैले पनि निवेदन दिन पाउँछ । यी पदहर खासगरि विद्यार्थीहरुलाई लक्षित गरेर सृजना गरिएको हुन्छ । यसबेला विद्यालय र विश्वविद्यालयहरुमा पनि लामो समयका लागी बिदा हुने हुँदा उनीहरुले यो समयमा विद्यार्थीहरुले काम र कम्पनी अनुसार राम्रै आम्दानी गर्न सक्छन् । मैले पनि यस्तै काम गर्ने अवसर पाएँ ।
आफू बस्ने ठाउँबाट करीब साढे आठ किलोमिटर परको एउटा मोटरसाइकल कम्पनी टुराटेकमा काम पाएको थिएँ । कम्पनीका कामहरु विहानी पख र साँझ पख अनि राती गरेर तीन वर्गमा विभाजित हुन्छन् । मैले विहानीपख रोजेकोले विहानै साइकलमा या हिँडेर जानु पर्दथ्यो । पाँचबजे आफ्नो पालो सुरु हुने तर त्यसबेला कुनै गाडी नहुने हुँदा साइकल या हिँडेर जानुको बिकल्प थिएन । त्यसैले हिँडेर जाने भए तीन बजे नत्र चार बजे उठेर बाटो लाग्नु पर्दथ्र्यो । अँध्यारो बाटो छिचोल्दै कारखाना सम्म पुग्दा छितिजमा लाली चढि सकेको हुन्थ्यो ।
छ हप्ता लामो काममा मैले करीब ३२० घण्टा जति काम गरेँ । कामका हरेक दिन पट्यार लाग्दा हुन्थे । विहानै उठेर साढे आठ किलोमिटर पर पुग्नु अनि निरन्तर ८ देखि १० घण्टा काम गर्नु उति सजिलो पककै थिएन । फेरी कामको अवधीभर उभिएर काम गर्नु पर्दथ्यो । पहिला केही हप्ता त उभिँदै थकाइ लाग्थ्यो । काम थालेको छ घण्टा भित्रमा विराम लिनु पर्दथ्यो । दिनमा ८ देखि १० घण्टा काम गर्ने अनुमति थियो । घण्टाको हिसाबले पैसा मिल्ने हुँदा कति पटक एकै दिनम १४ घण्टा सम्म काम गरेँ । आएको र कामबाट गएको अनि विराम लिएको समय जति सबै मसिनमा आफ्नो परिचय पत्र घुसार्दा टिपोट हुन्थ्यो ।
खाना बनाएर लैजाने न त समय हुन्थ्यो न त जाँगर नै । पहिले पहिले पाउरोटी र सुपरमार्केटका दुधको एकलिटरका प्याकेटहरु रित्याउने गर्न थाले । पछि दुध बोक्न भारी हुने भएकोले लामो समयदेखि खान छोडेको अण्डा बनाएर लग्न थालेँ । आइतबार एकदिन छुट्टि हुन्थ्यो । त्यो दिन रेस्टुराँको काम गर्थे । त्यसै बेला एक भारतीयको पिज्जेरीयामा पनि काम पाएको थिएँ । त्यहँ पनि समय मिलाएर भ्याएकै हुन्थे ।  डेढ महिना जस्तो होला, ज्यान लाएर काम गरेँ । आउँदा लागेको ऋण फर्काउनलाई पनि त्यति नगरी नहुने थियो । छ हप्ते काममा मास्टरी गरेर ढाइ वर्षमा कमाएको तलब एकैचोटी हात पर्दा बल्ल ऋणको भारी बिसाउन पाएको थिएँ । कामको थकाइ पनि त्यसै बखत मेटिएको थियो ।
पछि पिज्जेरीयाको काम पनि छोडेँ । चिनीया साहुले पनि आफ्ना परिवारका सदस्याहरुबाट काम लिन थल्यो । मेरा लागी त्यो कामले नपुग्ने भयो । पहिले उसको छोराछोरीलाई पढाउने काम दिएको थियो । पछि घरमा हेरबिचार गर्नेको कमी नहुने भएपछि त्यो पनि छुट्यो । आम्दानीको श्रोत सप्पै मर्दै गएको देख्दा नयाँ काम खोज्नु पर्ने भयो । ‘ऋण लागोस दिन नलागोस’ भन्छन् हो रहेछ । एक वर्षको बसाइले भाषामा पनि निक्कै सुधार आइसकेको थियो । त्यही भाषागत दक्षताका कारण सजिलै म्याकडोनल्डमा विक्रेताको काम पाएँ । अहिले सम्म त्यही कामले हात मुख जोड्ने सामथ्र्य दिएको छ ।  हप्ता भरि कक्षाहरु भ्यायो सप्ताहको अन्तमा काम ग¥यो ।

यहाँ काम गर्दै जाँदा धेरै नयाँ कुराहरु सिक्ने अवसर मिल्यो । पहिलेपहिले सोच्थेँ म मात्रै यसरी काम गरिरहेको छु या भनौँ विदेशीहरु मात्रै यसरी काम गर्छन् । तर पछि बुझ्दै जाँदा थाहा भयो यहाँका थुप्रै विद्यार्थीहरु अध्ययनका क्रममा यस्ता सानातिना कामहरु गरेर खर्च चलाउने गर्दा रहेछन् । चाहे घुमघामका लागी पैसा जुटाउन होस् चाहे सप्ताहका अन्तमा हुने पार्टीहरुका लागी खर्च जुटाउनका लागि होस्, यस्ता कामहरु प्राय सबै गर्ने गर्थे । झन् बर्षायामको बिदाका काममा त १६ वर्षका स्कुले केटाकेटीहरु समेतलाई देख्दा दङ्ग परेको थिए । सम्पन्न परिवारबाट भएपनि सानै देखि यसरी काम गर्नाले होला उनीहरु पछि गएर आत्मनिर्भर हुन गाह्रो नपर्ने गरेको । पक्कै पनि सोह्र वर्षे केटाकेटीको काम र अठार वर्ष भन्दा माथिकाको काम एकै किसिमको थिएन । सबैलाई आ–आफ्नो शारीरिक क्षमता अनुसारको काम दिइएको थियो । अठार वर्ष मुनिकालाई दैनिक सात घण्टा भन्दा बढि काम गर्न अनुमति थिएन । उनीहरुले त्यो अवधिमा दुई पटक सम्म विराम लिइ सक्नु पर्दथ्यो । जे होस विकसित देशमा पनि यसरी सानै उमेर देखि काम गर्ने प्रचलनले हाम्रो देशमा यस्तो पद्दति किन विकास नगर्ने भन्ने प्रश्न मनमा उठ्थ्यो । आँखिर सानोतिनो काम गर्दा उमेर छँदै विद्यार्थीहरुले काम गर्नुको अनुभव पनि बटुल्छन् र आत्मनिर्भर हुनुको अर्थ बुझ्छन् ।
काम त मैले स्वदेशमा पनि गरेँ । स्वदेशको काम गराई र यहाँको काम गराईमा आकाश पातालको फरक छ । विशेष त के भने स्वदेशमा उत्पादकत्वमा उति ध्यान दिइँदैन । आफ्नो घण्टा सक्यो गयो । यहाँ त्यस्तो हुँदैन । कामदारले कामको ज्याला पाउँछ । काम भन्दा बाहेक सौचालय जाँदा समेत परिचयपत्र मसिनमा घुसारेर आफ्नो अनुपस्थिति जनाएर जानु पर्छ । बेलाबेलामा धुम्रपानका लागी लिने बिरामको समेत पैसा पाइँदैन ।
यो सबै भोगीरहँदा मैले नेपालमा छँदा आफूले काम गर्ने तरिकालाई सम्झेँ । लाग्यो हामी कति झुटमा बाँचेका रहेछौँ । हामी सँधै आफूलाई पौरखी भन्छौँ । तर पौरखको सही अर्थ हामीलाई थाहा छैन । यहाँको काम गराइ देख्दा यहाँ आउनु भन्दा अघि मैले कहिल्यै काम गरेकै थिएन जस्तो भान भयो । यहाँको कामको एकदमै उच्च अनुशासनले गर्दा नै होला आज यो देश विकासको यो चरम बिन्दुमा पुगेको । अरु कुराका लागी त हामी नेतालाई दोश दिएर पन्छिन सकौँला तर यसका लागि हामी सबैले आफ्नै टाउकामा दोस लिनु पर्छ । जर्मनीमा काम गर्ने हातहरु छैनन् । जनसंख्या वृद्धिदर ज्यादै न्यून छ । तर हाम्रो देशमा थुपै्र जनशक्ति छ । त्यो जनशक्तिले सहि पौरख गर्न सकेमा देशविकासका तमाम सम्भावनाहरु खुल्न जान्छन् । एक दमै ठूलो काम गर्नु पर्छ भन्ने छैन । सानासाना लघु उद्यमबाट पाइला चाल्न सकिन्छ । विकास भनेको क्रमैले हुने कुरा हो । आज विश्वका विकसित मुलुकका रुपमा कहलिएका देशहरुले पनि हिजोका दिनमा हाम्रो देशको जस्तो स्थिति पार गरेका थिए । हाम्रा लागि त्यो यात्रा किन पनि सहज हुनेछ भने विकासका कैयौँ पाटाहरुमा हाम्रो पहुँच सहज छ । विकासित  मुलुकहरुमा सूचना तथा प्रविधिको बिकासलाई आत्मसात गरेर हाम्रो देशले आफ्नो विकासको गतिलाई तीब्र बनाउन सक्छ ।
मैले यहाँ गरेका कुनै काम प्रति पनि मलाई गुनासो छैन । न त दुःख भयो भनेरै गुनासो छ । परदेश आउँदा केही दुःख र कठीनाइ त हुन्छ नै । वास्तवमा कठीन परिस्थितिले नै मानिसलाई खारिनमा मद्दत गर्दछ । प्रतिकुल परिस्थितिले नै जीवनमा आइपर्ने समस्याको सामाना झन् जुझारु भएर गर्न सक्ने सामथ्र्य प्रदान गर्छ । ममा पनि त्यस्तै परिवर्तनहर आएको छ । मलाई लाग्छ म स्वदेश फर्कँदा बेग्लै मान्छे भएर फर्कनेछु । आफै केही गर्नसक्ने भएर फर्कने छु । पैसाको पोको होला नहोला तर अनुभबको भने ठूलो भारी बोकेर फर्कने छु । अस्तु !

Comments

  1. after reading the each and every post related to germany.........my mind has been trained to face the upcoming situations that i will have to if i'll be in GERMANY......i request you to post your experience with other more posts in this blog.......so we can be aware about the problems and opportunities.......thank you

    ReplyDelete
  2. Good one raman ji..realistic

    ReplyDelete
  3. very realistic and beautiful.

    ReplyDelete
  4. very nice and inspiring Raman daju :)

    ReplyDelete
  5. Gone through this.... very thoughtful and really inspiring....:)

    ReplyDelete
  6. This is what I like about life abroad.. They respect small to small work and are always sincere towards it.. They are proud when their children leave home after 18, as now they are self dependent. This is a great thing.. but our Nepalese society lacks..we are making our children dependent and the result is.. everyone knows their Rights but forgets Responsibilities...responsibility towards their family, community, nation and the world...
    Beautiful piece of writing..beautifully expressed.. Keep it up!!... :)

    ReplyDelete

Post a Comment

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

सुधीर शर्माकाे प्रयोगशाला