दोधारा चाँदनी पुल देखि चिसापानी सम्म


सुदूरपश्चिममा पर्यटकीय सम्भावनाका बारेमा धेरै अघि देखि आवाजहरु उठ्दै आएका हुन् । पर्यटकीय सम्भावना बोकेका स्थानहरुको पहिचान भने यथेष्ट मात्रामा भइ नसकेको देखिन्छ । कतिपय पर्यटकीय सम्भावना बोकेका स्थानहरुको पहिचान भइसकेको भएपनि तिनीहरुको उचित प्रचार प्रसार र त्यस्ता स्थानहरुमा पुग्नको लागि पर्याप्त यातायात सुविधा एवं त्यस्ता गन्तव्यहरुको उचित व्यवस्थापन हुन नसकेको देखिन्छ । म स्वयं पनि भ्रमणका क्रममा सुदूरपश्चिमका सुगम मानिने कञ्चनपुर र कैलालीका केही यस्ता स्थानहरुमा पुगेको छु जसमा केही मात्रामा सुधार ल्याउन सकेको खण्डमा स्थानीय पर्यटकका साथसाथै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पर्यटकहरुलाई समेत भित्र्याउन सकिने देखिन्छ । 

कैलाली कञ्चनपुरका भ्रमणका लागि योग्य स्थानहरु पूर्वपश्चिम लोकमार्गबाट करीब दश देखि पन्ध्र किलोमिटरको दुरीमा छन् । त्यस्ता गन्तब्यहरु प्राय गरेर बनभोजका लागि बढि प्रसिद्ध छन् । ती गन्तब्यमा केही थप सुधारहरु गर्न सके सुदूरपश्चिमका पाहुनाका भ्रमणका लागि राम्रा गन्तब्यहरु बनाउन सकिने देखिन्छ । चिसापानी, टिकापुर पार्क, घोडाघोडी ताल, हाट खोली, गोदावरी, खानीडाँडा, बुढितोला, बन्दरखाल, बेतकोट ताल, जखौर ताल, शुक्लाफाँटा बन्यजन्तु आरक्ष, दोधारा चाँदनी पुल, आदि त्यस्ता गन्तव्य हुन जसले प्रचुर पर्यटकीय सम्भावना बोकेका छन् । यी नाम उल्लेख गरिएका गन्तव्यहरु मध्ये केही दुबै जिल्लाका सदरमुकाम बाट नजिकै छन् भने केही लोकमार्गबाट दश देखि पन्ध्र किलोमिटरको दुरीमा छन् । यी गन्तव्यहरु मध्ये चिसापानी, टिकापुर पार्क शुक्लाफाँटा बन्यजन्तु आरक्ष र गोदावरी पुराना गन्तव्यहरु मध्ये पर्छन भने हाट खोली, खानीडाँडा, बुढितोला, बन्दरखाल, बेतकोट ताल, जखौर ताल र दोधारा चाँदनी पुल हालसालै चर्चामा आएका गन्तव्यहरुमा पर्छन् ।

कञ्चनपुरको दोधारा चाँदनी पुलमा वनभोजका लागि जाने र नदी किनारमा सूर्यास्त अवलोकन गर्नका लागि जानेहरुको संख्या दिनानुदिन बढ्दै गएको छ । आसपासका क्षेत्रहरुबाट मात्रै नभइ सुदूरपश्चिम बाहिरका जिल्लाबाट समेत पर्यटकहरु भित्रिने गरेका छन् । नेपालको सबैभन्दा लामो झोलुङ्गे पुलका कारणले प्रसिद्ध यो स्थानले हालैका दिनमा थुप्रै पाहुनाहरुलाई निम्त्याउने गरेको छ ।

कञ्चनपुरकै अर्को गन्तव्यको रुपमा शुक्लाफाँटा वन्यजन्तु आरक्ष समेत रहेको छ । वन्यजन्तु आरक्ष विशेषतः स्वाम्प डियरका ठूला ठूला झुण्डहरुका लागि विशेष प्रचलित छ । हात्ती, बाघ, जंगली बँदेल, विभिन्न किसिमका चराचुरुङ्गी र अन्य दुर्लभ वन्यजन्तुका लागि समेत यो आरक्ष प्रख्यात छ । त्यसका अलावा जीप सफारी र हात्ती सफारी आरक्षका थप आकर्षणहरु हुन् । जीप सफारी जुनसुकै बेला गर्न सकिन्छ भने हात्ती सफारीका लागि एक दिन अगावै बुकिङ्ग गर्नुपर्ने व्यवस्था गरिएको छ । टेलिफोन बुकिङ्गको सुविधा नभएकोले एक दिन अगावै आरक्ष पुगी बुकिङ्ग गर्नु पर्ने व्यवस्था आरक्षले गरेको छ । हात्तीहरु थोरै भएका र आरक्षका विविध कामका लागि तिनको प्रयोग हुने भएकोले यस्तो व्यवस्था गरिएको हो ।
त्यस्तै कञ्चनपुर जिल्लाकै दैजी बाट साढे बाह्र किलोमिटर उत्तर तर्फको कच्ची सडक मार्ग पार गरेपछि पुगिने बेतकोट ताल पनि हालका दिनमा आएर बनभोगको लागि प्रसिद्ध गन्तव्यहरु मध्येको एक बनेको छ । बेतकोट सम्मको बाटो कच्ची हुनु र बेतकोट नजिक पुग्दै गर्दा पर्ने खोला र त्यसपछिको सडकको अवस्थाका कारण बेतकोट जाने पर्यटकका लागि केही असुविधा हुने गरेको छ । तालको छेवैसम्म सडक पुगेको भएपनि गाडी मोड्ने स्थनको अभावमा गाडी डेढ किलोमिटर अघि नै रोक्नुपर्ने बाध्यता रहने गरेको छ । मोटरसाइकल भने तालको छेवैमा पु¥याउन सकिन्छ । यहाँ पनि थुप्रै विद्यालयका, कलेजका र संघसंस्थाका वनभोजहरु आयोजना हुने गर्छन् । वरिपरि हरियाली बीचमा ताल, तालको एक छेउमा मन्दिर, शान्त र शीतल ठाउँ, प्रकृतिको काखमा रमाउनेहरुका लागि एउटा उचित गन्तव्य । हालसालै तालवरिपरि तटबन्ध गरेर ताल पुरिने समस्या समाधानका लागि प्रयास पनि थालिएको छ ।

गोदावरी पहिले देखि नै चर्चामा आएको गन्तव्यको रुपमा रहेको छ । कैलालीको सदरमुकाम धनगढीबाट तेइस किलोमिटरको दूरीमा रहेको यो गन्तव्य जानको लागि यातायातको पर्याप्त सुविधा रहेको छ । तराईंको गर्मी छल्न र गोदावरीको संग्लो पानीमा पौडी खेल्नका लागि यहाँ थुप्रै आगन्तुकहरु आउने गर्छन् । साथै नदी पारिपट्टि रहेको मन्दिरका कारण थुप्रै वैवाहिक कार्यक्रमका लागि पनि यो गन्तव्य हुने गरेको छ ।
गोदावरी बाटै केही उकालो लागेपछि आउने बुढितोला अर्को गन्तव्यको रुपमा रहेको छ । कैलाली र डडेल्धुरालाई जोड्ने भीमदत्त लोकमार्गकै छेवैमा रहेको यो गन्तव्य तालअवलोकन र वनभोजका लागि बढि लोकप्रीय छ । यहाँ मोटरसाइकलमा एकान्त वातावरणको आनन्द लिने उद्देश्यले आउने स्थानीय पर्यटकको पनि ताँती लाग्ने गरेको छ । हालैका दिनमा त्यो प्रवृत्ति झनै बढेको छ ।
बुढितोलाबाटै करीब दश देखि पन्ध्र किलोमिटरको दुरीमा रहेको खानी डाँडा पनि अर्को गन्तव्यको रुपमा विकास हुँदै गएको छ । पहाडी वातावरण र एकान्त मन पराउनेहरुका लागि खानीडाँडा आकर्षक गन्तव्यका रुपमा स्थापित भएको छ । भीमदत्त लोकमार्गमै पर्ने भएकाले यहाँका लागि यातायात पाउन त्यति गाह्रो नहुने र मोटरसाइकलमै पनि कैलाली बाट आउन र जान भ्याउने हुँदा पनि यो गन्तव्यलाई धेरैले रुचाएको पाइन्छ ।
हाट खोली धेरै कमले सुनेको नाम हो । धनगढी सदरमुकामको पीपल चौताराबाट पूर्वपश्चिम लोकमार्ग जोड्ने करीब दश किलोमीटरको सडक पार गरेर पुगिने स्याउले बजारबा फेरि साढे दश किलोमिटर उत्तरतर्फको कच्ची सडक पार गरेर पुगिने यो गन्तव्यले पनि हालैमा आएर धेरैको ध्यान तानको छ । हाटखोली गाउँ पहाडको फेदिमा अवस्थित छ भने हाटखोलीमा जानेहरु प्राय होट खोलीको कञ्चन पानीमा पौडनको लागि जाने गर्छन् । खोलामा तपाईं उभिदा आफ्नो छायाँ खोलाको पीँधमा रहेका ढुङ्गाहरुमा देख्न सक्नुहुन्छ भने गहिरो ठाउँहरुको पानी पुरै निलो देखिन्छः आकाश तलको अर्को आकाश जस्तै । नदिको घुम्ती नेर भएको गहिरो भागमा पौडनको लागि धेरैले आँट गर्न सक्दैनन् । केही कम गहिरो भागमा भने पौडनेको ताँती हुन्छ । गहिरो भागहरुमा पनि त्यहीँका स्थानीय साना बालकहरु भने मजाले पौडेको देख्न सकिन्छ । खोलाकै छेवैमा पानी घट्ट पनि रहेको छ । यो गन्तव्य विद्यालयका बालबालिकाका लागि ग्रामीण परिवेश चिनाउन र जलक्रिडा गराउनका लागि उपयुक्त हुन सक्छ । त्यस्तै कलेज स्तरका विद्यार्थीहरुका लागि पनि यो उचित गन्तव्य हुन सक्छ ।
कैलालीको सदरमुकाम धनगढीबाट पूर्वतर्फ जाँदा पर्ने सुख्खड नजिकैको घोडाघोडी तालले पनि हालआएर देशव्यापी चर्चा कमाइ सकेको छ । प्रसिद्ध सिमसार क्षेत्रको रुपमा रहेको र चराहरुको वसाइसराइका क्रममा विश्राम स्थलको रुपमा रहेको ताल विभिन्न दुर्लभ चराहरु अवलोकनको लागि पनि प्रसिद्ध मानिन्छ । त्यसका अलावा त्यहाँको मन्दिरको आफ्नै धार्मिक महत्व रहेको छ । वनभोजका लागि एवं पारिवारिक भ्रमणका लागि समेत घोडाघोडी ताल असल गन्तव्यको रुपमा रहेको छ ।
कैलाली भित्रकै अर्को नगरपालीका टिकापुर नगरपालिका भित्रै रहेको टिकापुर पार्क पनि भ्रमणका लागि उचित गन्तव्यको रुपमा प्रयोग हुँदै आएको धेरै भइसक्यो । विशेष गरि राजा महेन्द्रले समय बिताएका काठे भवन र एक दमै राम्रो मिलाएर लगाइएका विभिन्न जातजातीका फुलहरुका कारण उद्यान बढि प्रचलित छ । साथै उद्यान भित्रै भएर बग्ने कर्णालीबाट तानिएको नदिले यहाँको सुन्दरतामा थप बुट्टा भरेको छ । साथै उद्यानको क्षेत्रफल पनि निकै ठूलो रहेकोले एकै पटक धेरै व्यक्तिहरुले अवलोकन गर्नसक्ने देखिन्छ ।
पूर्वपश्चिम राजमार्गमै पर्ने र सुदूरपश्चिमलाई मध्यपश्चिमसँग जोड्ने चिसापनी पनि धेरै अघिदेखि बनभोजको गन्तव्यको रुपमा प्रख्यात छ । पुलमाथि जहिले दिउँसोको समयमा चल्ने चिसो हावा, कर्णालीको हिउँ पग्ली आएको पानी र त्यहाँको माछा पर्यटक तान्ने मुख्य आधारहरु हुन् । पटकपटक ¥याफ्टिङ्ग समेत सञ्चालन हुनुले यसको पर्यटकीय सम्भावनालाई झन् प्रचुर बनाइदिएको छ ।
कैलालीको सदरमुकाम धनगढी भित्रै पर्ने देवरीया उद्यान भित्रको जखौर ताल पनि अर्को गन्तव्यको रुपमा रहेको छ । हालसालै नौकामा जलविहारको व्यवस्था हुनुले यो ठाउँको महत्व झनै बढेको पाइएको छ । हाल आएर थुप्रै विद्यालयहरुको वनभोज र पारिवारिक वनभोजका लागि यो असल गन्तव्यका रुपमा रहेको छ । वनभोजका लागि टहराहरुको पनि व्यवस्था भएकोले मानिसहरुलाई यहाँ आउन झनै सजिलो भएको छ । त्यसका अलावा देवरीया उद्यान भित्रका विभिन्न दुर्लभ जडिबुटिहरुका कारण यो उद्यान वनपति शास्त्र अध्ययन गर्नेहरुका लागि पनि उचित गन्तव्यको रुपमा विकास गर्नसकिने प्रचुर सम्भावना रहेको छ ।
यी गन्तव्यहरु त मात्र दुई जिल्ला भित्रका कुरा भए । यसका अलावा सुदरुपश्चिमका अन्य जिल्लामा यस्ता थुप्रै गन्तव्यहरु छन् । यिनै दुई जिल्ला भित्र पनि अन्य गन्तव्यहरु होलान जो प्रचारमा आउन सकेका छैनन् । यस्ता गन्तव्यहरुको उचित प्रचारप्रसार हुन सक्यो भने सुदूरपश्चिममा पनि पर्यटकीय विकासको थुप्रै सम्भावनाहरु रहेको छ । यहाँका खप्तड, मालिका लगायतका गन्तव्यहरु प्राय उच्च पहाडी भेगमा रहेकाले त्यहाँ पुग्नको लागि सहज यातायातको अभावले गर्दा तिनले त्यति उजागर हुने मौका पाएका छैनन् । यातायात सहज भएका ठाउँहरुको पनि उचित प्रचारप्रसारको अभावमा ती स्थानहरु ओझेलमा छन् ।

त्यस्ता ठाउँहरुमा पर्यटकका लागि विशेष कार्यक्रमहरु नहुनु र स्थानीय तहबाट प्रयासहरु नथालिएकाले पर्यटक आगमन नियमित नहुने गरेको पाइएको छ । सुदूरपश्चिमेलीहरुलाई पर्यटन पनि आयआर्जनको बाटो हुन सक्छ भन्ने चेतनाको अभाव रहेको देखिन्छ । आफ्ना वरपरका पर्यटकीय महत्व बोकेका स्थानहरुको बारेमा प्रचारप्रसार गर्ने र अरुलाई जानकारी गराएबाट पनि यस्ता ओझेलमा परेका स्थानहरुको मुहार फेरिने पक्का थियो । खप्तडलाई मात्र सुदूरपश्चिमको एकमात्र पर्यटकीय गन्तव्य रहन दिनु हुँदैन ।
त्यसका अलाबा आसपासका अन्य स्थानहरुको पर्यटकीय सम्भावना पनि देख्न सकियो भने मात्र सुदूरपश्चिममा पर्यटक आगमनको संख्या बढ्ने देखिन्छ । बाजुरा भ्रमणका क्रममा बेतालमाण्डौ गाविसको खत्याढुङ्गा आसपासमै पनि त्यस्ता कतिपय ठाउँहरु थिए जहाँबाट हिमाल, खप्तड, मालिका लगायतका आसपासका थुपै्र मनमोहक दृष्यहरु अवलोकन गर्न सकिन्थ्यो । त्यस्तै भगवते ढुङ्गो लगायतका स्थानीय गाथा बोकेका थुपै्र कुराहरु त्यहाँ भेटिएका थिए । खोज्दै गए प्रत्येक जिल्लामा त्यस्ता स्थानहरु भेटिन सक्छन् । त्यस्ता स्थानहरु खोजी ती स्थानहरुसम्म पुग्ने सहज बाटाहरुको पहिचान र ती स्थानहरुको प्रचारप्रसारले सुदूरपश्चिम पर्यटनमा थुप्रै योगदान दिन सक्छ ।

माथि उल्लेख भएका तालहरुमा जलविहारको व्यवस्था गर्न सकिएको खण्डमा ती गन्तव्यहरु अझै प्रचलित हुने थिए । साथै ती गन्तव्यका आसपास पसलहरुको व्यवस्था र वनभोजका लागि आउनेहरुका लागि टहराहरुको व्यवस्था हुन सकेको खण्डमा स्थानीय पर्यटन मात्रले पनि त्यहाँको अवस्था सुधारमा थुपै्र मद्दत गर्नसक्ने थियो । साथै गोदावरी जस्ता गन्तव्य जो धेरैले थाहा पाएका छन् त्यस्ता गन्तव्यमा हुने फोहरहरुको बारेमा समयमै व्यवस्था गर्न सकिएको खण्डमा ती नदीहरुले भविष्यमा देशको राजधानीका बागमती र विष्णुमतीको हविगत भोग्नु पर्ने छैन ।
आरक्षमा भ्रमणका लागि पनि हात्ती सफारिको सुविधालाई अग्रीम बुकिङ्ग गर्न सकिने केही व्यवस्था मिलाइयो वा हात्तीहरुको संख्या थप गरेर नियमित सेवा संचालन गर्न सकिएको खण्डमा पनि त्यहाँ आउने पर्यटकको संख्यामा पक्कै पनि सुधार ल्याउन सकिने देखिन्छ । चिसापानीको ¥याफ्टिङ्गको सुविधा पनि नियमित गर्न सकिएको खण्डमा पनि सुदूरपश्चिमेलीको कर्णालीमा ¥याफ्टिङ्गको धोको पुरा हुनुका साथसाथै देशका अन्य स्थान र देश बाहिरका पर्यटकहरुको देशकै लामो नदिमा ¥याफ्टिङ्ग गर्ने धोको पुरा हुने देखिन्छ ।

यसरी हामी सबैले आफूले सकेको प्रयासमात्रै थाल्यौँ भने पनि सुदूरपश्चिमलाई पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्ने र पर्यटनका मार्फत यहाँको कायापलट गर्ने सपना सपना नभएर वास्तविकतामा फेरिन बेर लाग्ने छैन । हामीले प्रचारप्रसारमा मात्रै पनि योगदान दिन सक्यौँ भने त्यो हामीले हाम्रो क्षेत्रको लागि गरेको ठूलो योगदान हुनेछ । साथै त्यस्ता प्रचारप्रसारले सरकारलाई समेत त्यस्ता ठाउँहरुमा लगानी गर्नको लागि बाध्य पार्ने छ ।

Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

सुधीर शर्माकाे प्रयोगशाला