नेपाली चलचित्रले मारेको फड्को


नेपाली चलचित्रक्षेत्रले विगतका केही दिनहरुमा निकै नेपाली दर्शकहरु बटुल्न सुरु गरेको छ। नेपाली चलचित्र क्षेत्रमा दर्शकहरुको खडेरी परेको र विदेशी चलचित्रको नक्कल गरेर बनेका चलचित्रहरुका भरमा चलेको नेपाली चलचित्र उद्योगमा अहिले नयाँ नयाँ प्रयोगहरु हुन थालेका छन् ।
विगतको क्रमलाई निरन्तरता दिँदै परम्परागत शैलीमा निर्मित चलचित्र भन्दा पनि नयाँ पुस्ताको स्वादलाई ध्यानमा राखेर बनाइएका चलचित्रहरु बढि सफल भएका देखिन्छन् । नेपाली कथानक चलचित्र लुट, चपली हाइट, सायद, आदि यस्ता नयाँ पुस्ताको दर्शकलाई ध्यानमा दिएर बनाइएका चलचित्रहरु हुन् ।

भर्खरै मात्र चलचित्र भवनहरुमा प्रदर्शन भइरहेको नेपाली कथानक सायद हेर्दा र त्यहाँको जमातलाई देख्दा नेपाली चलचित्र क्षेत्रले पनि दर्शक तान्न सक्छ भन्ने भान भयो । चलचित्र सायदको विज्ञापन, त्यसमा प्रयोग गरिएका सम्वाद र दृश्यहरु अनि त्यसको संगितले म र म लगायतका धेरै युवा जमातलाई तानेको कुरा चलचित्र भवनमा भरिएको भीडले प्रमाणित ग¥यो । यस अघि पनि त्यस्तै किसिमको विज्ञापन र व्यापक प्रचार प्रसार पाएको चलचित्र लुटले पनि अहिले सम्मकै किर्तिमानहरु तोड्न सफल भएको थियो । लुट चलचित्रको विज्ञापन युवाहरुले बढि मात्रामा प्रयोग गर्ने सामाजिक संजालको साइट फेसबुक मार्फत पनि व्यापक रुपमा गरिएको थियो ।
हुन त लुट चलचित्रलाई धेरै गाली गलौज भएको चलचित्र भनेर भन्नेहरु पनि कम थिएनन् र पनि त्यसको कथावस्तु र पात्रहरुको अभिनयले त्यस चलचित्रलाई हेर्न लायक बनाएको कुरा सायदै कसैले पनि अस्वीकार नगर्ला । वास्तविक जीवनमा अहिलेको युवा पुस्ताहरुबीचको सम्बाद हेर्ने हो भने पनि ती सम्बादहरुमा भगवानका नामहरु लिइएको पक्कै पनि पाइँदैन ।
निम्न मध्यम वा मध्यम वर्गीय परिवारका युवा जमातहरुको बोली चलचित्रमा प्रयोग गरिएको संवाद भन्दा उति फरक छ जस्तो मलाई लाग्दैन । तसर्थ वास्तविक जीवनमा हुने किसिमका सम्वादहरु राखिनु र चलचित्रका वेरोजगारीले अपराधतिर उक्साएको, असफल प्रेम सम्बन्ध, ठगी, आदि घटनाक्रमहरुले आंशिक रुपमा भएपनि वास्तविक जीवनसँग मेल खानुले पनि चलचित्रलाई मन पराउनेहरुको कमी भएन । पहिले पहिले किशोरकिशोरीहरुको मुखमा हिन्दी चलचित्रका संवादहरु कण्ठस्थ पाइन्थे भने लुट चलचित्र प्रदर्शन भएपछि लुटका सम्बादहरुले त्यो स्थान ओगट्यो ।

चलचित्र सायद पनि नयाँ पुस्ताका किशोरकिशोरीहरु एवं युवा जमातको ध्यान तान्नमा सफल प्राय देखिन्छ । चलचित्र लुटमा युवा पुस्ताको बारेमा थियो भने यो चलचित्र १० जोड दुईका छात्रछात्राहरुबीच मौलाएको लागु औषध दुव्र्यसनी, सामूहिक झगडाहरु, कक्षा वहिष्कार गर्ने प्रवृत्ति, अभिभावकहरुलाई सँधै अँध्यारोमा राख्ने प्रवृत्ति, लागु औषधले नै अपराध तर्फ उन्मुख बनाएनु, लगायतका विक्रितिको बारेमा बनेको छ ।
चलचित्रको सार बोकेको सायद बोलको गीतले अहिलेका किशोरहरुको मानसिकतालाई सफलता पूर्वक प्रस्तुत गर्न सफल भएको छ । चलचित्रमा पहिलेका किशोरकिशोरीहरु र अहिलेका किशोरकिशोरीहरुको तुलना समेत गरिएको छ । पहिलेका किशोरकिशोरीहरु अध्ययनशील भएका र अहिलेका किशोरकिशोरीहरु आफ्ना पथबाट बिचलित भएको कुरालाई पनि राम्ररी प्रस्तुत गर्न सफल भएको छ ।
हुन त चलचित्रले शिक्षा क्षेत्रका अन्य विक्रिति र विसंगतिका बारेमा पनि आवाज उठाउन पनि उत्तिकै सफल भएको देखिन्छ । शिक्षामा भित्रिँदो व्यवसायिकता, शिक्षकहरुले आफ्ना मागहरुको सुनुवाइका लागि विद्यालय बन्द गर्ने, विद्यार्थीहरुलाई अनुशासनमा बस्न लगाउने शिक्षकहरु आफैले त्यो अनुशासन पालना नगरेका कुरा, कापी जाँचमा हुने लापर्वाहिका कारण प्रतिभावान युवाहरु पनि हरेस खाएर शिक्षाबाट पलायन हुनु परेका विडम्बना, अभिभावकले विद्यालयमा शुलक तिर्ने बित्तिकै आफ्ना नानीहरुको सम्पूर्ण जिम्मा विद्यालयले लिनुपर्छ भन्ने सोच, आफ्ना नानीहरुका गल्तीहरुलाई ढाकछोप गर्ने र अरुका थाप्लामा सार्ने प्रवृत्ति, राजनीतिले शिक्षामा पारेको असर, आदि जस्ता विषयहरुलाई पनि यस चलचित्रले देखाउन सफल भएको छ । चलचित्रमा सुदूरपश्चिमको देउडा भाकालाई पनि आधुनिक रुप दिएर समावेश गर्नुले संस्कृति सम्बर्धनमा समेत चलचित्रले आंशिक भएपनि योगदान दिन सफल भएको देखिन्छ ।

चलचित्र सायदका लागु औषध दुव्र्यसनीमा फसेका अधिकांश किशोरकिशोरीहरुको अध्ययनको पृष्टभूमि एकदमै उज्वल देखाइएको छ । अध्ययनमा अब्बल भएका भएपनि पछि गएर साथीभाइको संगतका कारण अनि अभिभावकको सिको गर्ने क्रममा उनीहरुले लागु औषध दुव्र्यसनी तर्फ उन्मुख भएको देखाइएको छ । प्रायले यस्तो दुव्र्यसनी विद्यालयमा छँदै सुरु गरेको देखाइएको छ । यो एक वास्तविकता पनि हो । नेपाली समाजमा दुव्र्यसनमा लाग्न त्यति गाह्रो छैन ।
कतिपय विकसित देशहरुमा एक निश्चित उमेर नपुग्दा सम्म सार्वजनिक पसलहरुबाट चुरोट र मदिरा जन्य पदार्थहरु खिरीद गर्न पाइँदैन । र पनि ती समाजहरुमा दुव्र्यसनीहरु पर्याप्त पाइन्छ भने हाम्रो समाज जहाँ सानो बालकले चुरोट माग्दा समेत साहुजीले केही नसोधि दिन्छन् ।

जहाँ घरेलु मदिरा पाँच–दश रुपैयाँमै पाइन्छ, चरेसका गोटीहरु पनि त्यस्तै पाँच दश रुपैयाँमै छ्याप्छ्याप्ती पाइन्छन्, त्यस्तो ठाउँमा दुव्र्यसनमा लाग्न त्यति गाह्रो छैन । यी सबै कुरा अभिभावकहरुलाई थाहा हुँदैन (?!)। अभिभावकहरु प्राय आफ्ना नानीहरुलाई सज्जन र उनीहरुका साथीहरुलाई दुर्जन भनि मान्छन् । आफ्ना नानीहरुको दोषलाई ढाकछोप गर्ने यो प्रवृत्तिले गलत काम गर्नकालागि झन अभिप्रेरणाको काम गर्छ । फेरि किशोरकिशोरीलाई दुव्र्यसनीमा फस्ने सम्भावित उमेर पुग्दा उनीहरुका लागी कुनै किसिमको सतर्कताका कार्यक्रमहरु आयोजना गरिँदैन ।
अध्ययनमा अब्बल हुनु नै सबै थोक हो भनेर हेरिन्छ । उनीहरुका भावनाहरुलाई सुनिदिने कोही हँदैन । उनीहरुका इच्छा आकांक्षालाई बुझि दिने कोही हुँदैन । यथार्थ भन्दा बेहोसी नै प्रीय बन्छ । अनि पाँच दश रुपैयाँको बेहोसि किन्न उनीहरु किन पछि पर्थे । जिज्ञासाबाट सुरु भएको यात्रा पछि गएर अभ्यस्ततामा परिणत हुन्छ । समाजले एउटा नाम दिइदिन्छः ट्यापे, अम्मली, एडिक, आदिआदि । उनीहरुलाई पनि सहि बाटो देखाउन सके उनीहरुबाट पनि समाजले केही प्राप्त गर्न सक्छ भन्ने कसैले बुझिदिँदैन । यस्तो समाजमा दुव्र्यसनी नफस्टाओस पनि कसरी ?

चलचित्रलाई मनोरञ्जनका लागि मात्रै हो भन्ने ठान्ने एक जमात र चलचित्रले समाजलाई झक्झक्याउने काम समेत गर्न सक्छ भन्ने जमातका बीचमा बहस चलिरहेकै बेला चलचित्रले मनोरञ्जनका साथसाथै समाजमा जागरण ल्याउने दोहोरो मुमिका निर्वाह गर्न सक्छ भन्ने विचारको विकास हुनु जरुरी छ । सस्तो मनोरञ्जनका लागि भन्दा पनि स्वस्थ मनोरञ्जनका लागि चलचित्रहरु निर्माण भएमा त्यसले समाजका लागि ठूलो योगदान पु¥याउन सक्ने देखिन्छ । पहिलेको समयमा जब छापा थिएन त्यसबेला दन्त्यकथाहरु र पुराणका कथाहरुका आदर्श पात्रहरुले समाजलाई सहि बाटोमा लाग्न अभिप्ररित गर्थे ।
समाजमा साहित्य एक पुस्ताबाट अर्को पुस्तामा अप्रकाशित रुपमै हस्तान्तरण हुँदै आएको थियो । पछि छापाको आगमन पछि पुस्तक प्रकाशन हुन थाले नयाँ कथाहरु रचिन थाले र तिनीहरुबाट समाजले मार्ग दर्शन पाउन थाल्यो । रेडीयो, टेलिभिजन, लगायतका विद्युतीय उपकरणको आगमनसँगै छापा साहित्य पनि श्रव्य एवं दृष्य साहित्यमा परिणत हुन सुरु भयो । अहिले मानिसहरु विश्वविख्यात पुस्तकको श्रव्य रुपहरु मोबाइलमा राखेर सुन्न सकिन्छ ।
त्यस्तै अनेकन पुराणका कथाहरु र ख्याती कमाएका उपन्यास तथा नाटकहरुमा चलचित्र बनेका छन् । रोमीयो जुलियट देखि लिएर महाभारत, रामायणका चलचित्र एवं टेलि चलचित्रका डिभिडिहरु बजारमा छ्यापछ्याप्ती पाइन्छन् । नयाँ पुस्ता पुस्तकमा भन्दा त्यस्ता चलचित्रहरु मार्फत ति कथाहरु हेर्दछन् । अबको युगको साहित्य टेलिभिजनका पर्दामा अध्ययन हुन्छ । त्यसैले चलचित्रलाई हल्का रुपमा लिनु भन्दा पनि चलचित्र क्षेत्रमा काम गर्नेहरुले आफूलाई युगले सुम्पेको जिम्मेवारीलाई गम्भीर रुपमा लिनु जरुरी छ र समाजालई सहि बाटो देखाउन सक्ने खालको चलचित्रहरुको निर्माणलाई बढि प्राथमिकता दिनु जरुरी छ ।

आगामी दिनमा नेपाली चलचित्रले माथि उल्लेखित कुराहरुलाई पनि मनन गरोस् । नेपाली दर्शकहरुले पनि नेपाली समाजलाई चलचित्रका पर्दा मार्फत हेर्न पाउन र त्यसमा भएका कमी कम्जोरीहरुलाई केलाउने अवसर चलचित्रले प्रदान गरोस् । नेपाली चलचित्र क्षेत्रले सँधै दर्शकहरुको माया पाओस । अंग्रेजी, हिन्दी, कोरियन, आदि भाषाका चलचित्रमा भुलेका जमातलाई नेपाली चलचित्रले आफू तिर आकर्षित गर्न सकोस् । मेरो यही शुभकामना ।

Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

सुधीर शर्माकाे प्रयोगशाला