यात्रा राजधानी सम्मको –भाग ३ (अन्तिम भाग)

...यात्रा आधै बाँकि थियो । त्यसैले अलमल नगरी चिया पनि नखाइ यात्रा थालेँ । आफू बसेको होटेलको केही पूर्व लागेपछि बल्ल लमहीको मुख्य बजार आइपुग्यो । गाडीवालाहरु सँधै बजार आउनु अघिको होटेलमा रोक्दा रहेछन् । सायद यहाँ रोक्दा यात्रीहरु उनीहरुले लग्न चाहेको बाहेक अरु होटेलमा नजाउन भन्नको लागि होला । बिकल्प थोरै भएको ठाउँमा उनीहरुले रोजेकै ठाउँ जाने बाध्यता रहने भयो । बजारमा रोक्दा बिकल्प धेरै हुने भए । 
बजार क्षेत्र सकिएपछि फेरी खुला फाँटहरुका बीचमा सडक सर्प जस्तै मोडहरुका साथ अघि बढ्यो । सडक छेउछाउ फाट्टफुट्ट बस्तीहरु देखिन्थे । त्यसैले गती बढाएँ ।
चारैतिर नजर डुलाउँदै जाँदा एकाएक नजर सडककोे दायाँतिर गयो । उच्च पहाडीहरुमा छायाँ परेकोले गाढा हरियो रंग चढेको थियो । अनि पूर्वोत्तर कुनामा डाँडामाथि बाट रातो घाम चिहाउँदै थियो । लालीमाले पूर्वोत्तर क्षितीजलाई कुनै चित्रकारको चित्र जस्तै सुन्दर बनाएको थियो । विहानीको समय भएकोले होला आकाश खुला थियो । हावा समेत स्वच्छ थियो । लामा लामा निस्वास लिँदै फोक्सामा स्वच्छता भर्न थालेँ । आँखामा प्राकृतिक दिव्यतापूर्ण दृष्यहरु खिच्न थालेँ । सम्झनाका लागि ती पलहरु सँगाल्न थालेँ । गति नथामी यी सबै अनुभुतिहरु बटुली रहेँ ।
फाँटहरु सकिएपछि सानो बजार आयो र त्यसपछि एउटा पक्की पुल । पुलमुनीको कञ्चन पानीले नुहाउन निम्ता दिएझैँ लाग्थ्यो । स्वच्छ पानीका कारण पुल माथि स्वच्छ वतास निरन्तर चलिरहेको थियो । पुलपछि भालुवाङ्गको नामचीन जङ्गल ।
भालुवाङ्गको जङ्गल पनि लुटेराहरुको लागि उत्तिकै ख्याती कमाएको जङ्गल अनि पूर्वपश्चिम लोकमार्गको अप्ठेरो भागहरु मध्ये पर्ने ठाउँ । यसका मोडहरुको कारण गाडीहरु मन्द गतिमा चल्छन् । मेरो गतिमापकयन्त्रको सुई पनि तीस मुनी झ¥यो । त्यसै मन्द गती सँगै वरपरको दृश्यावलोकनको मेसो समेत मिल्यो । सडकका दायाँ बायाँ ठूलाठूला भीरहरु देखिन्थे । ती भीरहरुमध्येका केही भीरहरुमा उम्रीएका कुस जस्तै देखिने घाँसहरुले तिनमा सुन्दरता थपिएका थिए । अनि तिनै भीरहरुबीच बाट चिहाउने लमहीबजार आसपासको दृश्य, अघि बजार क्षेत्र पार गरेछि दायाँ तिर देखिएको पहाडको दृष्य र नदीको बगर पनि कम मनमोहक थिएन ।
भालुवाङ्गको जङ्गल सकिएपछि चनौटाको जङ्गल सुरु भयो । चनौटा वन्दबाट बढि प्रभावित हुने ठाउँ हो । ०६५ सालको चैत्र महिनामा क्याम्पसको भ्रमण कार्यक्रममा आउँदा बन्दका कारण यसै जङ्गलमा थुनिन परेको थियो । साथीहरुले जोसै जोसमा बन्दकर्ताले तेस्र्याएका रुखहरु पाखा लगाउँदै गाडीहरु बजार क्षेत्रसम्म त पु¥याए तर बजारका स्थानीय वासिन्दा सित सकिएन । मध्यरातमै सबै लट्ठीहरुका साथ सडकमा ओर्लिए । कतिले अनेकन प्रयास गरे, यात्रुबाट पैसा संकलन गरेर सहयोग गर्ने कुरा राखे, बाध्यता देखाए तर कसैको केही सीप चलेन । प्रहरी समेत माथिबाट केही आदेश नआएकाले मुक दर्शक भएर बस्न बाध्य थिए । भोलिपल्ट विहानै प्रहरीले आदेश पाएछ क्यारे लाठी बर्साउँदै भीड तितरबितर पा¥यो र बन्द खुल्यो ।
चनौटाको जङ्गलपछि तराईका उस्तै उस्तै लाग्ने थुप्रै स्थानहरु पार गरियो । अनि आइ पुग्यो बुटुवल बजार । अघिल्लो रात लमहीमा तेल हालेको थिएँ । आज फेरी यहाँ आएर तेल हालेँ । एक छिन अडिए तर अmभै २५५ किमि बाँकि भएकोले त्यहाँबाट बेर नगरी अघि बढेँ । चितवन आइ पुग्दा सम्म करीब बाह्र बजिसकेको थियो । खाना खान अडिन त मन थियो र पनि राजधानी नजिक आउँदै गर्दा राजधानीले भोकले भन्दा बढि तानी रहेको थियो । त्यसैले यात्रालाई निरन्तरता दिएँ ।
यात्राले उत्तर तिरको दिशा समात्यो । सडक छेउबाट तल सिधै नदी देखिन थाल्यो । जसो तसो मुग्लीन पुगेँ । थकाइ पनि धेरै लागि सकेको र राजधानी ३÷४ बजे भन्दा अघि नपुगिने भएकाले खानाखाने गरी अडिएँ । खाना एक थकाली भोजनालयमा खाने निधो गरेँ । यात्राको थकान मार्न केही गतिलो भोजनको आवश्यकता थियो त्यसैले खानामा सम्झौता गर्ने मन भएन । थकाली भोजनालयहरु राम्रो खानाको लागि प्रख्यात भएकोले र त्यहाँके थकाली भोजनालय केही सफा र अलि सुकीलामुकीलाहरुकै भीड बढि देखेर त्यहीँ गएँ ।
खाना राम्रै थियो । खाना खाएपछि उति बसेन । यात्रा टुङ्गयाउने हतारोले यात्रालाई फेरि निरन्तरता दिएँ ।
त्रीशुलीको तिरै तिर मोटरसाइकल गुडाउँदा मन केही डर अनि केही रोमाञ्चले स्थान पायो । धमिलिएको पानी अनि सडकबाट तल हेर्दा सिधै नदी । ठाउँठाउँमा आउने घुमौरो मोडले गति सिमित राख्नु पर्ने बाध्यता । केही माथि उक्लिए पछि त्रिशुलीमा ¥याफ्टिङ्ग गर्नेहरुको ताँती देखियो । साथ लागेका चारपांग्रेहरुले पटक पटक उछिन्दा जोसले म पनि तिनीहरुलाई उछिन्नमा लागि रहन्थेँ । अनि उच्च गतिमा भएका बेला अघि मोड आउँदा मोटरसाइकल अनियन्त्रित झैँ हुन खोज्थ्यो । सडकबाट केही गरि खस्यो भने आफै पनि मोटर साइकलमै ¥याफ्टिङ्ग गर्न पुगिएला भन्ने डरले फेरि गति मत्थर पार्थेँ ।
बीचमा मनकामना जाने केबलकारको स्टेशन पनि देखियो । यहाँ पार्किङ्ग स्थलको अभावमा लोकमार्गमै गाडी राखिने भएकाले लामो दुरीका सवारी साधनहरुलाई सँधै जाममा पर्नुपर्ने बाध्यता छ । अझसम्म कसैको ध्यान यसमा जान सकेको छैन । त्यहाँका गाडीको लागि उचित पार्किङ्ग स्थलको जोहो गर्न सकेको भए सायद लामो दुरीका यात्रीहरुले घण्टौँ जाममा पर्नुपर्ने बाध्यता समाप्त हुने थियो कि ?
त्यसपछि धाधिङ्गका राजमार्ग आसपासका सानाठूला बजारहरु देखिए । बाटोको उकालो केही बढेपछि थानकोट आउन थाल्यो भन्ने मनमा लाग्यो । थानकोट आउनु यात्रा टुङ्गिनु थियो । परै छ परै छ भन्दै गर्दा थानकोट आइपुग्यो । प्रहरीको चेकजाँच पछि यात्रा निरन्तर अघि बढ्यो । कलंकी पुग्दा मैले व्यस्त अवस्थामा छोडेर गएको सहर व्यस्तै फेला प¥यो । घरमा फोन गरेर यात्रा सकुसल समाप्त भयो भनि खबर गरेँ । मोटरसाइकलमा राजधानी पुगेको थिएँ त्यसैले मनमा केही दम्भ पनि बढेको थियो । दम्भ भन्दा बढि थकान पनि थियो । त्यसैले छिट्टै कोठासम्म पुगेर आराम गर्ने निधो गरेँ ।
यात्रा त सकियो तर यो जीवनका अनगिन्ती यात्राहरु गर्ने सम्भावना दर्शाएर गयो । चाहे सकिँदो रहेछ भन्ने प्रमाणित गरेर गयो । बिना कुनै लामो योजना अपर्झट बनेको यात्रा सफल भयो । मन खुशीले नाच्यो । यात्राका क्रममा भोगेका अनुभवहरु साँट्नका लागि मन आँतुर भयो । भोलिपल्ट देखि साथीभाइलाई अनलाईन अफलाईन अनुभव साँटासाँट सुरु भयो ।
एक पटक पोखरा भ्रमणमा हुँदा एक जर्मनी नागरिकसँगको कुरामा उनले आफू एक्लै यात्रामा आउनुको कारण बताएकी थिइन् । उनी भन्थिन साथीभाइसँग हुँदा धेरै कुरामा सम्झौता गर्नुपर्छ । आफूले चाहेको जस्तो सँधै नहुन सक्छ । साथीभाइको कुरा सुन्नु पर्ने हुन्छ । आदिआदि । अनि एक्लै हुँदा मनलागी गर्न पाइन्छ । कसैको कर र दबाब रहँदैन । समस्याहरु त साथी हुँदा पनि आउँछन् नहुँदा पनि । उनको कुरा मैले वाल्ल परेर सुनेको थिएँ । अनि आफ्ना अनुभव र जर्मनीका बारेमा जानकारी दिएकोमा स–धन्यवाद उनका लागि एक पेय किनिदिएको थिएँ । यसपालीको राजधानी सम्मको यात्राले मलाई उनले भनेका कुराहरु अनुभुति गर्ने मौका दियो । उत्रो टाढाबाट नेपाल घुम्न एक्लै आएको सुन्दा मलाई कताकता आफूले देशका स्थानहरु घुम्नलाई समेत साथ खोजेकोमा आफू कातर भएझैँ लाग्थ्यो । यसपाली एक्लै भए पनि आँट गरे । अबका दिनमा पनि मौका जुरे यस्तै यात्राका लागि सँधै तयार रहनेछु ।
यात्रा राजधानी सम्मको- भाग १

Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

सुधीर शर्माकाे प्रयोगशाला

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी