यात्रा राजधानी सम्मको –भाग २


...बतास त जितेँ तर पानिले छोप्यो । पानी पर्ला भन्ने अनुमान नै गरेको थिएन त्यसैले ओढ्नलाई केही भएन । पानीमा भिज्दै भएपनि अघि बढि रहेँ । अगाडि क्षितिजको आकाश केही सुख्खा देखिन्थ्यो । त्यही आकाशको ओत लिने सोच बनाएँ । बाटामा बबइको पुल पनि आयो । त्यहा सिँचाइका लागि बनाइएको नहरले जहिले अन्य नदिहरुमा पनि त्यस्तो योजनाहरु ल्याउन सकेको भए कृषि पैदावारमा कति मद्दत मिल्दो हो भन्ने सोच मनमा ल्याइ रहन्छ ।
बबइमा घडियाल घोहीहरु समेत संरक्षित छन् । तर वर्षातका कारण अडिने सम्भावना नै थिएन । त्यसैले अघि बढेँ । बाँके प्रवेश गरिसक्दा पानी कम भइसकेको थियो । पानीबाट छुट्कारा पाएपनि भिजेको कपडाले शरीर चिसो पार्न छोडेन । गतिमा नै भएकाले बतासले भिजेका कपडाहरु विस्तारै सुकायो । कोहल्पुर चोक पुग्दा कपडाहरु सुकी सकेका थिए । अनि यात्राको एउटा महत्वपूर्ण भाग पनि समाप्त भइ सकेको थियो । करीब साढे तीन घण्टामा कोहलपुर सम्म पुगेँ । घडिमा ६ बजेको थियो । दिन छँदै थियो । त्यसैले कोहलपुरमा नभइ सके बुटुवल नसके लमहीमा बास बस्ने गरी यात्रालाई निरन्तरता दिने भन्ने घरबाट सल्लाह पाएँ । त्यसै गरेँ । बाँकेको कुसुमको जङ्गलका बारेमा पहिले नै पनि धेरै सुनेको थिएँ । यसपटक नजिकैबाट नियाल्ने अवसर प्राप्त भयो ।
चैत्र–वैशाखको मौसम भएकाले होला वनक्षेत्रमा आगो लागेको दृष्यहरु जताततै देख्न पाइन्थे । कुसुमको जङ्गलमा लुटपाट भएका थुप्रै घटनाहरु पहिले देखि सुनेको थिएँ । केही डर पनि लाग्यो । फेरी नयाँ वर्षको दिन भएकाले लुटेराहरु पनि नयाँ वर्ष मनाउँदै होलान् भनि मनलाई भुल्याएँ । सडक पनि झण्डै झण्डै रित्तो नै थियो र वस्ती पनि नभएकाले मोटरसाइकलको गतिमापकमा भएको रातो सियोलाई सयपार गराउने मन भयो । मलई गति सँधै प्रीय लाग्छ । हिँड्दा समेत मेरो वेग बढि नै हुन्छ । सँधै हतारमा भए जस्तै गरि हिँड्छु । त्यसैले साथ लाग्नेहरुलाई अलि गाह्रो पर्छ । त्यसो हुँदा कताकता आफू एकलकाँटे स्वभावको छु कि जस्तो भान हुन्छ । केही बेरपछि आफ्ना दुबै तर्फ रुखहरु थिए । अघिल्तिर पनि त्यस्तै रुखैरुख बीचको सिधा बाटो र माथिबाट बादलुले ढाकेको आकासले छोपेको । पछि पर्केर हेर्दा समेत सोही दृश्य । अनि सडकमा म नितान्त एक्लो । साथ थियो त मोेटरको इन्जिनको आवाजको । केही डर पनि लाग्यो अनि अडिने रहर पनि ।
अडिने रहर त थियो तर पनि समयको पावन्दीले त्यसो गर्न सकेन । समयमै वनक्षेत्र काट्न नसके अप्ठेरोमा परिने निश्चित थियो । कुसुम वनक्षेत्र सकिन लाग्दा तिरको हुनुपर्छ । पहाडका केही थुम्का र तिनीहरुबीच घुमाउरो गर्दै घुमेको बाटोमा पुगेँ । साँझ झमक्कै परिसकेको थियो । पश्चिमी आकाशमा भरर्खरै अस्ताएको सूर्यको लालिमा भने कायमै थियो । त्यसमाथि बादलुले बुट्टा थपेको थियो । रुखको अग्लाई केही कम देखिन्थ्यो । पहाडी थुम्कामा बुट्यानको अभावले होला माटो समेत प्रष्ट देखिन्थ्यो । यस्तो दृष्य जीवनमा दोश्रो पटक देखिने सम्भावना थिएन । मन त तस्वीर खिच्ने थियो तर बोकेको क्यामेरामा चार्ज नै थिएन । मनले नै तस्वीर खिचेँ अनि हिँडे । बाटामा एकजना मोटरसाइकल चालक मोटरसाइकल डो¥याएर लैजाँदै थिए । उनको मोटरसाइकल पन्चर भएछ । सोधनी पुछनी भयो । मैले आफ्नो गन्तव्य बताउँदा उनले टाढा जाने मान्छे तपाईं जानुहोस् भनि भनेँ ।
मैले वस्ती नजिकै छ नआँत्तिनुहोस भन्ने ढाढस दिँदै अघि बढे । एउटा गजबको कुरा । कोहलपुर देखि लमही सम्मको त्यत्रो लामो बाटोमा एउटा पेट्रोल पम्प पनि भेटिएन । बाटोमा आफ्नै दरभाउ बनाएर बेच्नेहरु त थिए तर मूल्य केही चर्को अनि लमही सम्म पुग्ने पेट्रोल छँदै भएकोले किनेन । तर मनमा भने लागि रह्यो, कमसेकम सय–सय किलोमिटरको दुरीमा लोकमार्गमा पेट्रोल पम्पहरुको व्यवस्था भइदिएको भए केही सहज हुने थियो कि ? डिजल पम्पको भने उस्तो अभाव थिएन । साँझ छिप्पिँदै जाँदा थकान पनि बढ्दै गयो । वस्ती रहित बाटो भएकोले केही डर पनि लाग्न थाल्यो । त्यसमाथि गाडीहरुको हेडलाइटले बेलाबेला आँखा तिर्मी¥याउन छोडेन । झण्डै साढे आठ बजे लमही पुगेँ । लमही बजार सुरु नहुँदैको सानो बजार जस्तो ठाउँ छ ।
अनि त्यहीँ एउटा होटल छ । सँधै जसो काठमाडौँ जाने बेला गाडी रोकिने होटलमा म पनि अडिएँ । बासका लागि कोठा सोध्दा साहुनीले केही चर्को मोल लाइन । राजधानी बस्दा सिकेको सीप मध्येको मोल आधै घटाउने सीप त्यहाँ पनि प्रयोग गरे । साहुनीले खानाबाट असुल्ने सुरले होला हुन्छ भनिन् । कोठा त्यहाँ लिए अनि खानाको लागि अन्तै गएँ । बस रोकिने होटेल भएकाले त्यहाँको खाना उती राम्रो हुँदैन थियो । न भात खान लायक हुन्छ न त रोटी नै । तरपनि गाडीहरु सँधै त्यहीँ रोकिन्छ । साहुनीले के मोहनी लाएकी छिन् खै ड्राइभर सँधै त्यहीँ गाडी रोक्छन् । फेरी आसपासका होटेल भन्दा मोल पनि चर्को । हुन त वर्तमान सरकारले राजमार्गमा हुने यस्ता अनियमितता रोक्नका लागि प्रयास गर्ने भनेको धेरै भइसक्यो र पनि यस्ता कुरा रोकिएला भन्ने आशै छैन । जेनतेन यात्राले विराम लिएको थियो ।
नयाँ वर्षको पहिलो दिन यात्रा त सुरु गरेँ तर दिन यात्रामै सकियो । विराम गन्तव्य अघि नै लाग्यो । दिनभरिको अनुभव समेट्न खोजेँ । डायरी र कलम खोजेको फेला परेन मनमै सिमित राख्न बाध्य भएँ । पुग्ने बित्तिकै लेखौँला भनि मनलाई भुल्याएँ । दिन भरि थाकेकोले निदाउन खोजेँ । भोलिपल्ट विहानै यात्रा सुरु गर्ने सुर थियो त्यसैले रातभरि आराम लिनु थियो । मनमा नानाथरी कुराहरु खेली रहेका थिए र पनि सबैलाई थाती राखेर सुतेँ । ढोकामा कसैले बीच रातमै ढक्ढक्याएछ । घडि हेरेँ बाह्र बजेको थियो । मोटरसाइकल भित्र राख्न खोज्दा ह्डान्डल लक भएकोले चाबी लिन आएका रहेछन् ।
आफै तल ओर्लिएर भित्र राखेँ । बल्ल तल्ल लागेको निद्रा बिग्रियो । निदाउन लाख कोशिस गरे सकेन । एक त यात्रामा मलाई उति निद्रा लाग्दैन पनि त्यसैमा सुत्ने समय पनि बित्नै लागेको थियो । जेनतेन चार बजाएँ । तल ओर्लिँदा सबै सुतेका अनि होटेलको ढोका समेत थुनेको । फेरि माथि उक्लिएँ । विहान ६ बजे आँखा खुल्यो । एक छिन निदाएछु क्यरे ! .... क्रमशः
यात्रा राजधानी सम्मको –भाग ३ (अन्तिम भाग)

Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

सुधीर शर्माकाे प्रयोगशाला