छापामार ठिटोको गन्थन


“उमा सिंह, जेपी जोशी, शुशिल ढुङ्गाना, प्रकाश ठकुरी, विरेन्द्र शाह, डेकेन्द्र थापा, टिका विष्ट, आदिआदिको नियती खेप्नु पर्ला है । बढि लेख्न पायो भन्दैमा जे पायो त्यही लेख्ने होइन । भोलिपर्सि औंला चिरियो भने अनि चेत होला !” छापामार ठिटो भरखर भरखर छिरेको हो उसको गुटमा । सडकमा गुडेको गाडि पछाडि धुलोका कणहरुले गाडिको गतिसँगै गाडिलाई केही बेर पछ्याए जस्तै गरेर उसले पनि ठूलै ईच्छा आकांक्षाहरु बोकेर लागेको हो । कुराहरु राम्रै गर्छ । उसका कुरामा पनि दम हुन्छन् कहिले काहिं । तर कहिले काहिं उसले पनि आफूले पाएको अनियन्त्रित ताकतको प्रयोग गर्ने गर्छ । उसका तर्कका पछाडि उसको डरको आड उसले भरपुर मात्रामा लिन्छ । उसलाई थाहा छ उसको गुटका कमरेडहरुले विगतमा मच्चाएको आतंकको चित्र अझै पनि जनमानसबाट उत्रिएको छैन । त्यसैको फाइदा उठाइ रहेको हुन्छ ।
    छापामार शब्दसँग मलाई कहिले देखि मोह भयो मलाई ठ्याक्कै थाहा छैन । सानै छँदा देखि मलाई जोरी खोज्ने रोगले च्यापेको थियो । जहाँ जोसँग पनि मैले निहुँ खोज्नै पर्ने । त्यस्तै तेह्र चौधको हुँदा विद्यालयमा अलि सम्भ्रान्त परिवारका साथीहरुले राजनैतिक गफहरु गर्दा म आफू सर्वहाराको पार्टि भनि फुक्नेहरुको पक्षमा तर्क दिन्थें । त्यो कुनै राजनैतिक चेतनाको कारणले होइन । बरु मैले त्यस्तो तर्कहरु दिँदा उनीहरु चिढिन्थे अनि मलाई मजा आउँथ्यो, त्यसैले मात्रै मैले त्यसो गरेको । उनीहरुलाई मुख भरिको जवाफ दिन पाउँदा बेग्लै मजा आउँथ्यो । उनीहरु मैले रोजेको दलको हिंसाको पृष्ठभूमी देखाउँथे । म भन्थे क्रान्तिमा त्यस्तो हुन्छ । जसले क्रान्तिको क जानेको छैन उसैका मुखबाट ठूला ठूला कुरा सुन्दा उनीहरुलाई पनि ‘खुबै जानिस’ भन्ने हुँदो हो । तर पनि म आफ्नो अर्धज्ञानी मगजको पूर्ण आत्मविश्वासका साथ प्रयोग गर्थें ।
    पछि पछि मैले आफुले भन्ने गरेको क्रान्तिको साकार चित्र देख्दै गएँ । देशभर हजारौंको ज्यान गयो । निकै विभत्स रुपमा मानिसहरु मारिएको समाचारहरु आउन थाले । एकपटक गाउँबाट कन्चटमा गोली हानेको लाश ल्याउँदा म दौडेर अस्पतालमा हेर्न पुगेको थिएँ । अगाडि सानो दुलो परेको अनि पछाडिबाट टाउकोको हाड र गिद्दि नै बाहिर निस्केको ! मैले तर्क दिने क्रान्तिकारीहरुले गरेको कृत्य । डर लाग्यो देख्ने बित्तिकै । त्यसैबेला हो मैले कैलाली जन पुस्तकालयमा गएर लुकाइलुकाई बाबुराम भट्टराईद्वारा अनुवादित एवं म्याक्सिम गोर्कीद्वारा रचित आमा पढेको थिएँ । त्यसबेला मैले त्यसमा बुझेको भनेको त्यसमा भएको युवा पात्रको आफ्नो बाबुसँगको सम्बन्ध त्यति राम्रो थिएन, अनि उसकी आमाले र उसले मिलेर क्रान्तिमा ठूलो योगदान दिएका थिए । पछि कक्षामा ऐक्षिक गणित अध्ययन हुँदै गर्दा मैले सो पुस्तक पढेको थाहा पाएर मलाई गणित पढाउने शिक्षकले मलाई त्यो पुस्तकको महिमा सुनाउँदा मलाई लागेको थियो, “ज्या ! ठूलै पुस्तक पढेको रहेछु । ” महात्मा गान्धि जस्तालाई स्वतन्त्रता संग्राममा लाग्ने प्रेरणा दिने पुस्तक रे अनि मैले नौ कक्षामा नपुग्दै पढि सकेको । मैले त त्यो पुस्तकको अघाडिको गाता देखेर पढेको थिएँ अनि बाबुराम भट्टराईको नाम देखेर पढेको थिए । झन् त्यस्ता पुस्तकहरु पढेको पाएभने प्रहरी र सेनाले केरकार गर्छ भनेर लुकाइ लुकाइ पढेको थिए । बन्देज विरुद्ध जोरी खोज्नको लागि भनौं । अनि शिक्षकले सो पुस्तकबाट के सिक्यौ भनेर सोध्दा मैले अधिकारको लागि लड्नुपर्छ भन्ने सिकें भनेर भनें, तर पुस्तकबाट मैले त्यो निचोड निकालेको भने होइन । पुस्तकमा त्यस्तै केही हुनुपर्छ भनेर भनिहालेँ ।
    हिंसाको रुप अझै विभत्स हुँदै जान थाल्यो । सेनाका परिवारका महिलालाई  बलात्कार पछि हत्या गरिएका समाचार र तिनका लाशहरु सदरमुकाम आउन थाल्यो । मैले भन्ने गरेको क्रान्तिमा बलात्कार पछि हत्या भन्ने थिएन । वितृष्णा बढ्दै गयो क्रान्ति भन्ने शब्द देखि । पछि सदरमुकाम आक्रमण भएको बेला बाटा छेउछाउको पर्चाहरु लुकाइ लुकाइ घर लिएर आएँ । अनेकौ मीठा कल्पनाका कुराहरु थिए । झन् वितृष्णा बढ्यो । पछि पार्टी आम भयो । सिंङ पुच्छर भएका मान्छे पो छन् कि त भनेको सामान्य मान्छेकै पार्टि रहेछ । कुरा सुन्दा जति डरलाग्दा होलान भन्ने सोच थियो त्यति डरलाग्दा थिएनन् । हो उनीहरुको हतियारले उनीहरुलाई डरलाग्दा बनाएको थियो । त्यो त एउटा पाँच वर्षको बालकलाई पनि लोड गरेको बन्दुकको ट्रिगरमा आउँला हालिदिएर भीडमा पठायो भने पनि सबै ऊ देखि डराउँछन् ! न चलाइ पो हाल्ने हो कि भनेर ।
    ०६२÷०६३ को जनआन्दोलन भाग ३ मा ढुङ्गा मुढा भाग लिएन । बरु एउटा गजल चाहिं लेखेको थिएँ, यस्तो ऐतिहासिक घडिमा पनि के कातर बनिरहनु भनेर । त्यत्ति हो मैले आन्दोलनमा भाग लिएको । पछि सम्म पनि नरमाइलो लागि रहन्थ्यो । परिवर्तित परिस्थितिमा आफ्नो कुनै योगदान छैन भन्ने अनुभुतिले मन खल्लो हुन्थ्यो । लोकतन्त्रका दिनहरु पनि देखिँदै गए । ‘नेपाललाई सिंगापुर बनाउँछु’ भन्ने नेताको बोली सिंगापुर भ्रमणपछि ‘नेपाललाई नेपालै बनाउँछु’ मा परिवर्तन भयो । नेपाल नेपालै त छँदै त छ नि किन व्यर्थका शब्दजालमा अल्झाउनु परेको होला जनतालाई । झन वृतृष्णा जाग्यो । परिवर्तनका नाममा सभासदको संख्या झण्डै तीन गुना बढ्यो । अराजकताको पराकाष्टा देखियो । देशका महत्वपूर्ण अंग भनिएका संचार क्षत्रका कारिन्दाहरु बेलाबेला मारिए, चिरिए र केके गरिए गरिए । तर देशमा लोकतन्त्र छँदै थियो रे ! यो सबै बेथिति देख्दा आफूले जनआन्दोलनमा डटेर भाग नलिएकोमा खुशी लाग्यो । यो बेथिति निम्त्याउन मेरो उति हात थिएन भनेर चित्त बुझाएँ । अनि पहिले ठूला ठूला कुरा गरेर परिवर्तन, भ्रष्टाचार रहित प्रशासन, विदेशी साम्राज्यवाद र विस्तारवाद विरोधी नीति, सुगौली सन्धि खारेजी, आदि जस्ता लोकप्रीय नारा लाउने दलका छापामारहरु देखि पनि घृणा हुन थाल्यो । दुई जीब्रे लाग्न थाल्यो उनीहरुका कुराहरु पनि ।
    छापामार शब्दमा आकर्षण बढेको भनेको महेशविक्रम शाहको ‘छापामारको छोरो’ ले मदन पुरस्कार पाएपछि हो । छापामार शब्द त्यसपछि मलाई पनि आकर्षक लाग्न थाल्यो । अनि छापामारसँगको साक्षातकारहरुका बारेमा लेख्ने ईच्छा हुन थाल्यो । यसपालि छापामार ठिटोसँग भेट भयो ।
    पुरानो मिश्रित अनुभवमा आधारित मैले उसँग कुराहरु गर्न थाले । उसले हतियार बिसाएपछि त ऊ पनि मै जस्तो भइगयो अनि म के डराउनु उसँग कुरा गर्न ? सबै भने, उसले हतियारका भरमा गरेका अन्यायका कथाहरु । चन्दा, विद्यालयमा तोडफोड, अपहरण, हत्या, सार्वजनिक यातायातमा विष्फोट, आदिआदि । उसँग सबैको सफाइ थियो । धेरैलाई उसले क्रान्ति र परिवर्तनका बाईप्रोडक्ट भनेर भन्थ्यो । हत्या र अपहरण गरिएका व्यक्तिहरु मध्ये कोही दुई नम्बरी कारोबार गर्थे भनेर भन्थ्यो भने कसैले पार्टीमा भएका अवसरवादी कार्यकर्ताको कारणले गर्दा दुःख पाएको भन्थ्यो । गलत प्रवृत्तिका मान्छे लाई सफाया (उनकै शब्दमा) गर्नु भन्दा तिनीहरुलाई समाज सामु नङ्गयाउदा उसैको पार्टीको लोकप्रीयता बढ्ने थियो नि किन त्यसरी नसोचेको अनि ज्यानै लिनमा उद्दत भएको भनेर प्रश्न गर्थें । उसले गरेको वा उसको पार्टीले गरेको हिंसाको जस्तै सफाइले पनि हिंसालाई नपुष्ट्याउने भनेपछि उसले मैले लोकतान्त्रिक भनेका पार्टिहरुले विमान हाइज्याक देखि लिएर राजाको गाडीमा बम विष्फोट सम्म गराएका कुराहरु सुनाउँथ्यो मलाई । म राजनैतिक दलहरु सबै उस्तै भएको निश्कर्ष निकाल्थे । उसको पार्टीले फरक हौं भन्ने गरेको भएर अन्य दलहरुका कुकृत्यको निरन्तरता भन्दा केही नयाँ दिन सक्नु पथ्र्यो भन्थें । ऊ मलाई प्रतिक्षा गर्न भन्थ्यो । प्रतिक्षा गरेकै त छु । संविधान सभाको म्याद सकिइसक्दा पनि प्रतिक्षा गरेकै छु । समय सीमा समाप्त भइसकेपछि थप समय माग गरिँदा पनि प्रतिक्षा गरेकै छु । चारचार महिनासम्म कामचलाउ प्रधानमन्त्रीले सरकार चलाउँदा अनि दर्जन भन्दा बढिपटक प्रधानमन्त्री चयन नहुँदा प्रतिक्षा गरेकै छु । अझै गरौंला !
    छापामार ठिटो बेलाबेला आफ्ना कमाण्डोहरुले यसो गरे उसो गरे भनेर सुनाइ रहन्थ्यो । उसका कमाण्डो बाहिर के गर्दै रहेछन् मैले बुझेन । बेलाबेला एसएलआर र एलएमजी बोकेर गस्ती गरेको कुरा गथ्र्यो । यस्तै यस्तै गफहरुमा उसलाई म समात्थें । तिम्रा हतियार त बाहिरै रहेछन् नि व्यर्थै अरुलाई शंका ग¥यो भन्थ्यौ भनेर म उसलाई उल्याउँथे । उ ङिच्च दाँत देखाउँथ्यो ।
    छापामार ठिटो बेला बेलामा आफ्नो तुजुक झारेर पार्टीको ताकतको गलत उपयोग पनि गर्दो रहेछ । एकपटक आफ्नै स्वविवेकमा उसले कारवाही चलाउँदा उसको कार्यालयमा ऊ विरुद्ध निवेदन परेछ । अनि उसको पार्टीले कारवाही गरेर उसलाई तल्लो अहोदामा झारिदियो रे ! अचेल पार्टीको नियम कडा भएको छ भन्थ्यो । नत्र मैले सुनेको त उसका दलका कार्यकर्ताले मान्छे मारे भनेपनि सामान्य मिलापत्र गरेर कुरा टुङ्गो लगाइन्छ रे ! अनि अरु दलका वा सामान्य जनताले उसका कुनै कार्यकर्तालाई थप्पडै मात्रै हान्यो भने पनि अदालतमा मुद्दा दर्ता गराएर कडा सजाय तोकिन्छ रे ! उनको पार्टीका एकजना वकिलै छन् रे यस्ता मुद्दा हेर्ने अनि उनैले यो चाँजो मिलाउँछन् रे ! मैले उसलाई यस्तो कुरा सोद्धा उसले ‘त्यो त त्यै हो नि!’ भन्थे ।
    उसका दलका कार्यकर्ताले तस्कर र कालोबजारी नियन्त्रण गर्ने नाममा उनीहरुसँग पैसा लिन्छन् नि(!?) भन्दा उसले ‘त्यो सबै हाम्रो पार्टीलाई बदनाम गरेको हो । अनि यदी कसैले गरेको भए पनि तिनलाई पार्टीले कारवाही गरेको छ ।’ भनेर भन्थ्यो । अनि मैले हिसाब लगाएँ, उसको पार्टीको कारवाही भनेको बढि से बढि सफाइ माग गर्ने अनि पद तल झारी दिने त होला नि ! बढि गरे पार्टीबाट बाहिर निश्कासन गर्ने । सामान्य जनताले जस्तो अदालती कारवाही त हुँदैन होला । मैले त सुनेको छैन गलत नियतले पैसा उठाएका उसका दलका कार्यकर्तालाई जबरजस्ती चन्दा वा भ्रष्टाचारको आरोपमा अदालतमा मुद्दा चलेको । अदालत त कुनै राजनैतिक पहुँच नभएकाहरुको लागि मात्रै हो जस्तो लाग्छ मलाई(!?) । नत्र धेरै जस्ता अपराधहरु त बाहिरै मिलापत्र भइहाल्छन् ः सामान्य झगडा देखि हत्यासम्मका ।
    छापामार ठिटोसँग कुरा गर्ने क्रममा विगतमा उसका पार्टीले गरेका विभत्स हत्याको बारेमा मैले पनि केही फुलबुट्टा थपेर भनेँ । उसले पहिले त त्यो क्रान्तिका क्रममा हुन्छ भन्यो । मैले उसको क्रान्तिका क्रममा कक्षा कोठामा पढाउँदै गरेका शिक्षकलाई पछाडि हात बाँधेर रुखमुनी राखेर हत्या गर्ने, पत्रकारलाई पुरै गाउँको अनि उसैको श्रीमतिको अगाडि दशैंमा बोका छिनाले जस्तो गरेर छिनाल्ने, गोली जोगाउन छेनी टाउकोमा राखेर घनले हानेर मार्ने, घाइते साथीहरुको टाउको गिणेर डोकामा हालि लैजाने, यात्रुवाहक बसमा बम विष्फोट गराएर तीन दर्जन भन्दा बढिको एक चिहान बनाउने, आदिआदि उसका सम्झनै पनि डर लाग्ने हिंसाको चित्रहरु उसका सामुमा ल्याउँदा उसको मुहार केही मलीन बन्यो । मुखले उसले सबैको आफ्नै किसिमको सफाइ दिएको भए पनि उसको आत्माको स्वर उसको मुहारमा झल्किन्थ्यो । उसको त्यो डरलाग्दो मुखाकृतिमा चढेको रक्तिम छायाँले मलाई समेत डगायो । अनि मैले उसलाई शान्त पार्न उसका साथीहरुमाथि सरकारले गरेका वा भनौ लोकतान्त्रिक पार्टी भनाउँदाहरुले आफ्नो सत्ताको उन्मादमा छँदा गरेका कारवाहीहरुको विस्तार लाएँ । किलो सेरा टू देखि लिएर सेनाका व्यारेकमा भेटिएका मानव कंकालका किस्सा सुनाए । ऊ केही सामान्य हुन लागे जस्तो ग¥यो । अनि देशमा सबै भन्दा लामो प्रजातान्त्रिक इतिहास बोकेको भनेको नेपाली कांग्रेसका नेता गणेशमान सिंहका बारेमा जगदीश घिमिरेले अन्तरमनको यात्रामा लेखेको कुरा सुनाए । प्रधानमन्त्री पद त्याग गर्ने नेताका रुपमा त्यागी नेताको छवि बनाएका नेताले आफ्ना नातागोताका मान्छेलाई जीएम बनाएन भनेर अनि उच्च अहोदामा पु¥याएन भनेर पार्टी छोडेको जस्तो कुराहरु सुनाए । अनि राजनीतिको र देखि पनि मलाई घृणा भएको सुनाए । त्यसैले त राजनीति लेख्ने मन लाग्दैन । यो त उसले चुनौति दिएकोले लेखेको !
    छापामार ठिटो आफ्ना सपनाहरु सुनाउँथ्यो । क्रान्ति सफल हुँदाको नयाँ नेपालको चित्रहरु मेरा सामु राख्थ्यो । निकै सुन्दर कल्पनाहरु थिए उसका । अनि बेला बेलामा केही सिमित सामन्ती वर्गको हातमा शासन शत्ता भएका बेलाको सामान्य मानिसको हालतका बारेमा मलाई भन्थ्यो । ऊ भन्थ्यो, ‘यहाँ योग्यता भन्दा अहोदाबाल आफन्त चाहिन्छ जागिर खान । योग्यता भएकाले परीक्षा दिन्छन्, अहोदाल भएकाले जागिर खान्छन् । राजनैतिक चेतनाको नाममा यहाँका मानिसहरु चुनाव चिन्हको आधारमा पार्टीलाई मत दिन्थेः रुखले हरियाली ल्याउने भएकोले रुखमा, सूर्य नभए दिनै नहुने हुनाले सूर्यमा, हलोले नभए त खेत जोत्न पाइन्न अनि के खाने, आदिआदि । कमसेकम अब मान्छेहरु आफ्नो भोटको उपयोग पार्टी हेरेर गर्ने भएका छन् । आ–आफ्ना अधिकारको बारेमा सचेत भएका छन् । विभिन्न जातीय, वर्गीय मुद्दाले स्थान पाएका छन् । यही हो हामीले चाहेको । हिंसा त कसले पो चाहला र ? तर हामीले हिंसाको त्यो दौर पछिको विहानीलाई हेरेर त्यसमा होमीयौं । सोचे जस्तै त भएन तर हतार गर्नुहुन्न । परिवर्तन विस्तारै हुँदैछ ।’
    उसको परिवर्तन विस्तारै हुँदैछ । परिवर्तन नभएकै भन्ने पनि होइन । अनेक क्षेत्रीय, वर्गीय, जातीय दलहरु उमे्रका छन् । मधेसमै कति दलहरु छन् । उसैको दलबाट अलग्गीएर गएकाहरुको आफ्नै छुट्टै दलहरु छन् । चेतनाको अभिवृद्धि हुनु सबल पक्ष हो । सबैले आफ्ना अधिकारका लागि लडाइ गर्नु राम्रो हो । तर हिंसाले राजनैतिक सफलता मिल्छ भन्ने जुन गलत नजीर उसको दलले स्थापित गरेको छ त्यसले भोलि उसैलाई अप्ठेरोमा पार्छ । त्यसको उदाहरण त उसका दलका सुप्रीमोले हामी सत्तामा जाने बित्तिकै यी सानातिना दलहरु बिलाएर जान्छन् भनेको र परिणाम ठीक विपरित आएको बाट थाहा भइहाल्यो । चेतना अभिवृद्धि हुनु ठीक थियो तर हरेक कुरामा हिंसाको प्रयोग बेठीक थियो ।
    मलाई थाहा छैन उसले भनेको वर्गहीन समाज मैले देख्न पाउँछु कि पाउँदिन ? तर उसले भनेजस्तै प्रतिक्षा गर्नेछु । छापामारको ठीटोको सपना साकार भएको देख्न पाउँ बस् !     यस्तै कुराहरुमा टुङ्गियो छापामारसँगको गन्थन । बस, मलाई लेख्ने बहाना पुगिहाल्यो र लेखें पनिः छापामार ठिटोको गन्थन

Comments

Popular posts from this blog

Letters to a Young Poet -Rainer Maria Rilke (with quotes)

अम्बेडकरको Annihilation of Caste

निर्मलालाई न्याय