फागुले बोकी ल्याएको तिम्रो सम्झना (तिमी नारी किन यति हठी ?– ३१ )
याद छ पोहोरको फागुमा के भएको थियो ? तिमीले सम्झेकी छौ जस्तो लाग्दैन । सम्झेकी भए यसपालिको फागुमा मेरो मुहार दिन भरि रंग विहीन हुने नै थिएन । यसपालिको फागुले सबैका लागि रंग बोकी ल्यायो । मेरा लागि भने रंगहीन उमंगहीन सावित भयो । के गर्नु मलाई रंग लाउनका लागि अनि मसँग फागु खेल्नका लागि तिमी जो थिएनौ । कुर्न त कुरेकै थिएँ । तिम्रो प्रतिक्षामा हातमा अविर लिएर अनि आँखामा आशा बोकेर बाटो हेरेकै थिए । तिमी आएनौ । पर्खाइ व्यर्थै भयो ।
तिमीसँग विताएका दिनहरु हिजै हुन कि जस्तो लाग्छ । फागुको त्यो दिन पनि अझै मनमा ताजै छ । त्यस दिन तिमी विहानै देखि नुहाइ धुवाइ गरी म कहाँ आएकी थियौ । तिमीलाई मेरो हातबाट रंग लगाइ होली सुरु गर्ने धोको थियो । तिम्रो त्यो रहरले मलाई पनि खुशी तुल्याएको थियो । सायद तिमीलाई मैले यो कुरा जाहेर हुन दिइन । के गर्नु पुरुष हुँ धेरै भावुक हुने छुट समाजले दिएकै छैन । मनमनै दंग परेको थिएँ ।
तिमी मेरा हातबाट रंग लगाएर अन्त होली खेल्न जान चाहन्थ्यौ । म तिमीसँगै दिन विताउन चाहन्थे । त्यसैले त तिमी कतै नजाओस भनि मैले तिमीलाई ‘पछि लाउँला पछि लाउँला’ भन्दै टारेको थिएँ । तिमी बारम्बार कर गथ्र्यौ, अन्त जानु छ भन्थ्यौ । म तिमीलाई अल्मलाउने जवाफ दिन्थे । तिमी रिसाएर रंगै नथापि जान खोज्दा म रंग लगाउन तयार भएको जस्तो गरी आफ्नो स्थान बाट उठ्थेँ । तिमी केही शान्त भएपछि फेरी आफ्नै काममा फर्कन्थे ।
साँच्चै कति मिठा थिए ती पलहरु । तिमीसँगका तिनै यादहरु आजका दिनमा आएर मेरो एकान्तका साथी भएका छन् । तिनै यादहरुले मेरा नीरस बसाइमा रस थप्छ । जीवनमा केही बाँकि छैन जस्तो लाग्दा तिमीसँगकै यादहरुले मुहारमा हाँसो ल्याइ दिन्छ । तर तिमी त अव मेरा लागि असम्भव भइ सक्यौ । हामी दुईको मिलन सायद अव सम्भव छैन । यसमा केही दोस मेरा होलान् केही तिम्रा । तर मान्छे हुँ त्यसैले तिमी सामु आफ्ना भन्दा बढि तिम्रै दोसहरु देखाएँ । आँखिर तिमीले पनि त त्यसै ग¥यौ नि ।
एकअर्काको दोस देखाउने होडमा हामीले साथ छँदा के पायौँ भन्ने कुरा नै भुल्यौँ । एउटा साथी जसले दुःख पर्दा नभनि बुझ्थ्यो । अरुले चित्त दुखाएका बेला आएर ढाडस दिन्थ्यो । एउटा त्यस्तो साथी जो हतास भएका आफ्ना कोमल स्पर्शले कान माथिका केशहरु सुम्सुम्याइ दिन्थ्यो, अनि शीर राख्न काँध र छाती थाप्थ्यो । कसिलो बाहुपाशमा कसेर सबै पीडा विर्साउँथ्यो । यस्तै यस्तै साथी पाएका थियौँ । केही तिता पलहरु अवश्यै थिए । तर ती पलपछिका मिठा क्षणले सम्पूर्ण तिक्तता विर्साइ दिन्थ्यो ।
बाँझाबाँझ गथ्र्यौँ, एक अर्काको दोस देखाउँथ्यौँ, भेट भयो कि विवाद सुरु हुन्थे । तर मौका मिल्ना साथ एकअर्काका सबै दोस भुलेर एक अर्काको अँगालोमा लुकामारी खेल्थ्यौँ । त्यतिबेला मलाई तिमीलाई कसिलो गरि अँगालोमा बाँधेर आफैमा समाहित गराइदिने मन हुन्थ्यो । कोशिस पनि गथ्र्यौ । तिम्रो पीडा बोधक आह सँगै आफ्नो बाहुपाश खुकुलो पारि दिन्थेँ । त्यसपछि तिम्रा आँखा माथिका आँखीभाँैहरु आउँलाले चलाइ रहन्थे । तिम्रा लामा केशहरु आउँलाले खेलाइ रहन्थे । तिम्रा बन्द आँखामा चुम्थे । तिम्रो निधारका केश हटाएर तिनमा पनि चुम्थे । आहा ! क्या स्वर्गीय क्षण हुन्थे ती । जीवन सँधै त्यस्तै होस जस्तो लाग्थ्यो । चाहेको सबैकुरा पुरा हुन कहाँ सक्छ र ?
त्यस दिन होली खेल्नका लागि म कतै गएन । तिमी पनि अवेर सम्म मसँगै रह्यौ । त्यसपछि एक्कासी साथीहरुले बोलाए । म सबै कुरा विर्सेर उनीहरु भएतिर गएँ । केही भन्न नपाउँदै सबैले मुखभरि अविर दली दिए । म रातो, हरियो र पहेँलो रंगले रंगिन भएँ । साथीहरुलाई विदा गरेँ । तिमी कहाँ फर्किएँ । तिमीले मेरो रुप देख्ने बित्तिकै आफ्ना आँखाहरु आद्र बनायौ । विस्तारै साउने खोलामा भेल बढे झैँ रसाएका तिम्रा आँखाबाट आँशुको भेल बग्न सुरु भयो । म अवाक हेरिरहेँ । त्यसपछि तिमी रुवाई केही चर्को हुन थाल्यो । बुझ्न केही समय लाग्यो । बुझि सक्दा अवेर भइ सकेको थियो । तिमी चाहन्थ्यौ मेरो होली तिमीबाट र तिम्रो होली मबाट सुरु होस् । त्यसो हुन पाएन । त्यसैको शोकमा तिमी द्रविभूत भएर रोएकी थियौ । त्यसपछि मैले धेरै प्रयास गरे तिमीलाई फकाउन । तिमी धेरै बेर रोइ रह्यौ ।
तिम्रो रुवाइ रोक्ने मसँग एउटै उपाय थियो । तिमीलाई तिम्रो पछिबाट अँगालोमा बेरेर तिम्रा गाला माथि आफ्ना गाला राखेर तिमीसँग बस्नु । त्यसै गरेँ । तिमीलाई हरेक कुरा गरेर फकाएँ । तिमीले मान्दै मानिनौ । मैले तिमीलाई तिमीले बोकेर ल्याएको अविर निकालेर गालामा र निधारमा लाइ दिएँ । अनि त्यसै अवीरले तिम्रो सिउँदो समेत रँगाइ दिए । होली थियो कसैले प्रश्न गर्ने ठाउँ नै थिएन । त्यसैले तिमीले पनि सहर्स स्वीकार ग¥यौ । केही शान्त भयौ । अनि कहिल्यै त्यसो नगर्न भनि भन्यौ । मैले पनि ज्ञानी बालकको जस्तो तिमीले भनेका हरेक कुरामा हुन्छ भनि भनेँ ।
यसपालि पनि होली आयो । सबै सडकमा ओर्लिए । अवीर खुशीको रंगले सबै रंगिए । म रंगविहीन रहेँ । तिम्रो प्रतिक्षामा साँझसम्म बसिरहेँ । तिमीले भनेका कुराहरु सम्झिँदै बसेँ । तिमीसँगका पलहरु कल्पँदै । तिम्रा सम्झनाले मात्रै पनि फागु रमाइलो भयो । तिमी साथमा छैनौ भन्ने यथार्थको काडाँले बेलाबेला घोची रहन्थे । र पनि कल्पनाको मीठासले यथार्थको तिक्तालाई जित्थ्यो ।
सुने तिमी खुशी नै थियौ रे । होलीको रंग यसपाली मबाट नभइ अरुबाटै लायौ रे । साथीभाइसँग रमाइला क्षणहरु बितायौ रे । अघिल्लो होलीको सम्झना सम्म पनि गरिनौ होला सायद । यति भइ सक्दा मलाई तिमीले अघिल्लो होलिमा खसालेका आँशुका ढिक्काहरु झुठा लागे । तिमीले मसँग गरेका बाचा र कसमहरु टुटेको अनि हाम्रो साथ छुटेका बेला तिमीले भनेका सबै कुराहरु अनि तिमीले गरेका बाचाहरु सबै झुठा लागे । अनि त्यो झुठका लागि तिमीले गरेका हठ माथि सधैँ झैँ प्रश्न गर्न मन लाग्यो ः तिमी नारी किन यति हठी ।
Comments
Post a Comment