अवीरको रंग के भोर सिन्दुरैले सिउँदो सजाउँला ! (तिमी नारी किन यति हठी ? –१८ )

अरुका लागि चाडपर्व खुशीको अवसर होला तर मेरालागि चाडपर्वले प्राय समस्या लिएर आउँछ । उत्सवहरुको आगमनसँगै तिमीलाई कसरी खुशी पार्ने भन्ने पिरलो पनि थपिन्छ । तिमीलाई खुशी दिने हरदम प्रयत्न गरिरहँदा पनि तिम्रा आँशुहरुले रुझेका परेला देख्न म बाध्य हुन्छु । खै मेरो दोस भनौँ कि नियतीको दोस भनौँ, सँधै यस्तै हुन्छ । यसपालीको होलीमा पनि तिम्रो आँशुले मन रुझायो । तिम्रो चाहना पुरा गर्ने लाखौं कोशिस गर्दा पनि सकिन । हुन त तिमीले पनि ठूलै अभिष्ट त राखेकी होइनौ । जाबो एउटा रंगको कुरा न थ्यो । तिमी चाहन्थ्यौ तिम्रो मसँगको प्रथम होलीमा ममाथि रंग लगाउने तिमी प्रथम व्यक्ति होऔ । मैले पनि त्यसो नचाहेको होइन । तिम्रो इच्छा पुरा गर्ने प्रयास नगरेको होइन र पनि तिमीले भनेझैँ तिम्रो हातको प्रथम रंग लगाउन सकिन । नारीहरुको एउटा अनौठो स्वभाव, पुरुष मित्रको शुभकामना पाउने वा उनीहरुलाई शुभकामना दिने काममा होस वा त्यस्ता जुन सुकै काममा सँधै पहिली हुन चाहने अनि सँधै एकलौटी माया रोज्ने गर्छन ।
अपेक्षा राख्नु गलत होइन । अपेक्षा गर्नु तर अपेक्षकृत फल नआउँदाको स्थितिमा पनि संयमित रहन सक्नुले मानिसलाई विवेकी प्राणी भनेर भनिएको हो । जीवनमा सँधै खोजेको र रोजेको जस्तो भइ दिने भएको भए जीवनको रहस्य वा भनौं जीवन जीउने रहर नै समाप्त हुने थियो । जीउनुको मजा नै पो के रह्यो र ? यदी जीवनका सबै पलहरुको पूर्वानुमान गरिएको छ र जीवन त्यसै अनुरुप बित्ने हो भने त्यसमा रोमान्च नै के रह्यो र ? पाइला पाइलामा घट्ने अनपेक्षित घटनाहरुले त जीवनलाई अनिश्चित अनि बाच्नुलाई चुनौतीपूर्ण बनाएर लैजान्छ । जीवन आफूले भनेको जस्तै हुँदैन र त जीवन साथी रोजिन्छ ः अप्ठ्यारा मोडहरुमा साथ पाउनको लागि, आफ्नो वर्कतले नभ्याउने देखिएका समस्यासँग जुध्ने साहस थपिदिनको लागि । तिमीबाट पनि मैले त्यसै अपेक्षा राखेको थिएँ । म आफू दिग्भ्रमित हुँदाका स्थितिमा तिम्रो दिशानिर्देश मिलोस भन्ने चाहेको थिएँ । म आफू असंयमित हुँदाको अवस्थामा तिमीले संयमित पारिदेउली भन्ने सोचेको थिएँ । मेरो विवेकले नभ्याएका ठाउँमा तिम्रो विवेकीपना सहरा बन्ला भन्ने सोचेको थिएँ । तर यस्ता चाडपर्वहरु अनि अवसरहरुमा तिमीले राख्ने असन्तुष्टीले मेरा अपेक्षाहरु फलिफाप नहुने देख्दैछु ः त्यसैले त अझै पनि तिम्रा हठका कुराहरु लेख्दैछु !
होलीको रंगको के कुरा भयो र तिमी जीवनमा प्रवेश गरेदेखिनै तिमीले ल्याएका सप्तरङ्गी सपनाहरुले जीवन रंगीन बनाएको थियो । मेरो लागि फागु तिमीसँगको प्रथम भेटमै सुरु भएको थियो । जीवनमा नौलो रंग थपिएको त्यसै दिन देखि त हो । त्यसपछिका उत्सवहरु त तिम्रो ओठमा हाँसो छर्ने प्रयासका बहाना मात्रै भए । तिमी फागुमा प्रथम रंग लगाउन चाहन्थ्यौ । तर जीवनमा प्रथम रंग भर्ने तिमी नै भइसकेपछि फागुको रंगमा अल्झिनु किन ? फागु त जीवनमा कैयौं पटक आउलान् तर जीवन त एकै हो । जीवनकै पहिलो रंग बनेर आएकी तिमीले फागुको रंगमा स्थान खोज्नु नै किन प¥यो र ?
मैले तिमीले खोजेको स्थान दिन नखोजेको पनि होइन । फागुको दिन पूर्व नै फागु सुरु भइ सकेको तिमीले पनि थाहा पायौ होला । म हरेक अवसरबाट पन्छिँदै तिम्रा लागि आफूलाई जोगाएर हिंडे । फागु कै दिनमा पनि तिम्रो झल्को पाउनु भन्दा अघि कोठाबाट बाहिर समेत निस्किएन । तिमीले आज्ञा मागि रह्यौ रंग लगाउनका लागि म नकारी रहें । तिमीलाई निराश पार्न अनि तिम्रो अपेक्षालाई असफल पार्न होइन बरु तिमीसँगको साथलाई लम्ब्याउन मैले त्यसो गरेको थिएँ । तिमी मलाई रंग छरेर जाने थियौ । फागुको रंग रहे पनि तिमी साथ छँदाको रंगले साथ छोड्ने थियो । जीवन फुङ्ग रंग उडेको सपना जस्तो हुने थियो । त्यसैले पनि तिम्रो समिप्यतालाई बचाइ राख्नको लागि अनि तिमीसँग रहिरहनको लागि तिम्रो रंग लगाउने प्रस्तावलाई टारि रहेको थिएँ । फेरी फागुको दिन थियो, तिमीले सोधी रहनु नै नपर्ने ! आँखिर ममाथि तिम्रो त्यति अधिकार त अवश्यै होला !
साथीभाइ आएछन् । खासमा तिमीमाथि अरुले रंग नलगाओस् अनि तिमी अप्ठ्यारामा नपरउली भनेर मैले उनीहरुलाई टाढा लगें । प्रथम रंगको भन्दा पनि मलाई तिमीलाई जोगाउने ध्याउन्न थियो । त्यस्तैमा तिमीसँगको बाचा म पनि भुसुक्कै भुलेँ । तर जब लालगुलालले रंगिएर म तिमी सामु उभिए । तिमीले भक्कानो फुट्ने गरी आँशुका ढिका खसाल्यौ । उत्सबको माहोल एकाएक खल्लो लाग्न थाल्यो । मैले तिमीलाई जीवनमा स्थानै नदिएकोले मैले तिमीसँगको बाचा भुलेको आरोप तिमीले लगायौ । तिमीलाई स्थान नदिने साहस पनि ममा बाँकि छैन । फेरी मैले दिएर पाउने स्थान हो र त्यो ? त्यो स्थान त तिमीले हकले पाएको स्थान पो त ! अनि हरेक आँशुझार्दाका बेलामा तिमीले मलाई तौली रहनु पर्ने केही जायज कारण छ त ? तिमीलाई थाम्न लाखौं कोशिस गरे । तिम्रो आँखा ओभाउने प्रयासमा कैयौं शब्दहरु खर्च गरे । तर तिमीले असफल बनायौ । धोका दिएको आरोप लगायौ । आँशुहरुको ऋण लगाएर गयौ ।
यस्तै छु म, धेरै शब्द बुन्न जान्दिनँ । विशेष गरि प्रशंसाका अनि माया प्रेमका कुराहरु गर्न त्यति सिपालु भएको छैन । किन किन तिमी सामु पर्दा लाटो बन्छु । के गर्नु पहिलो पटक हो र त यति हण्डर खाँदै छु । तिम्रा प्रशंशाका शब्दहरु तिमीलाई पनि सुन्ने मन लाग्दो हो । अलिकति मीठो बोलिदेओस भन्ने पनि चाहना हुँदो हो । प्रयास गरेकै छु । सकेसम्म वास्तविकताको धरातल नछोडी तिमीसँग कुरा राख्न खोज्दा तिमी रीसाउँछ्यौ ।
तिम्रो प्रश्न नै त्यस्तै हुन्छ । पहिले पहिले सोध्थ्यौ ‘बाटामा अरु राम्री केटीहरु देख्दा के गर्छौ ?’ म स्वाभाविक उत्तर दिन्थे, ‘नअघाउन्जेल हेरी रहन्छु ।’ अनि तिमी मलाई निर्लज्ज भन्थ्यौ । म भन्थे, ‘मैले वास्तविकता बोलेको । चाहेको भए तिमीले अपेक्षा गरेको उत्तर दिन पनि सक्थें । तर सडकमा अझै पनि नजर नियन्त्रित हुँदैनन् । तिमीसँग एकथोक भन्नु अनि अर्को थोक गर्नुलाई बैमानी ठानेकोले भनेको ।’ अनि तिमीलाई नै प्रश्न गर्थें, ‘तिमी आफूलाई संसारकी सबै भन्दा सुन्दर नारी त मान्दैनौ नि ?’ अनि उत्तरमा तिमी मान्दिन भन्थ्यौ । म भन्थे, ‘त्यसो भए बाटामा अरुलाई हेर्दा के भयो र ? हेर्दैमा घरजम गरिहाल्ने होइन क्या रे ! हेर्नु एक कुरा जीवन जीउनु अर्को कुरा ।’ हेर्दैन भनेर हेर्नु भन्दा हेर्छु भनेर हेर्नु ठीक लाग्यो त्यसैले तिमीलाई सत्य भनिदिएको थिएँ । तिमीलाई मीठो लागेन होला । कहिले कहीं तिमी मैले तिमीलाई नसम्झिएको बेला पनि, ‘मलाई सम्झेनौ ?’ भनेर प्रश्न गथ्र्यौ म सत्य ओकेल्ने बानी परेको, ‘काममा व्यस्त भएकोले सम्झेनँ’ भन्थेँ । तिमीलाई त्यत्ति भए आशु झार्न पुगि हाल्थ्यो ।
मलाई त कताकता कुकुरको पर्खाल, भित्ता अनि खम्बा देख्ने बित्तिकै तुक्र्याउने बानी र तिम्रो कुरै कुरामा आँशु झार्ने बानी एकै लाग्छ । त्यसैले तिमीलाई भनेको पनि छु, आँशुले तिमी दयाको पात्र बन्छ्यौ मायाको पात्र होइन । माया पाउन आँशुका ढिका खर्चनु पर्दैन । मन बुझिदिने गर । अप्ठ्याराहरुमा अलि सहयोगी भइ दिने गर । साना साना कुराहरुलाई आपसी झगडाको बीउ बनाउनु भन्दा ती कुरालाई भुलेर नयाँ खुशी रोज्नु राम्रो । आज सम्ममा तिमीलाई निराश पारेपछिका पलमा नै त तिमीलाई तिम्रो जीवनका सबै भन्दा अनमोल पलहरु दिएको छु । तिमीले ती सबैलाई बिर्सेर कसरी ममाथि अविश्वास गर्न सकेकी ?
म सिउँदो रँगाउने सोच बनाउँछु, तिमी होलीको रंगमा अड्किन्छ्यौ । म जीवनको पहिलो रंग हौ भनि भन्छु तिमी फागुको पहिलो रंग बन्न खोज्छ्यौ । फागुको रंगमा त भोली अरुले पनि स्थान पाउन सक्ला तर जीवनको पहिलो रंगको स्थान चाहेर पनि अरु कसैले प्राप्त गर्न सक्दैन । म अवीरमा चुकेको हुँ सिन्दुरमा नचुकौँला ।
तिमी कुराकुरामा विना अर्थका प्रश्नहरु गरि रहन्छ्यौ । ‘कस्तो हुन्छ होला भन त ? तिमी आफै बिचार गर त !’ फागुका बेला रंग नलगाउन पाउँदा यीनै प्रश्नहरु तेस्र्याएकी थियौ । ‘बिचारै त गरेर तिमीसँग साइनो गाँसेको । यसभन्दा बढि कति विचार गर्नु ?’ म भन्थेँ । ‘तिमीलाई मेरो इच्छा चाहनाको केही पनि वास्ता छैन है ?’ वास्ता छ र त तिमीरुँदाका बेलामा तिमीलाई आँशुमाझ एक्लो छाडेर गएको छैन । हरदम आशुपछिको हाँसो बनेर आउने गरेको छु ।
तिमीले फागुको रंगमा अड्किएको बेलामा पनि तिमी त निराश भएर बसेकी थियौ । साथमा हुनुको माधुर्यले तिमीलाई छुन सकेको थिएन । मैले नै होइन त्यसपछि तिम्रो ओठमा हाँसो छरेको, तिमीलाई छातीमा राखेर मीठो निद्रा दिलाएको, तिम्रा केश सुम्सुम्याएर तिमीलाई स्वप्न लोकको शयर गराएको, आशुको चिस्यानलाई स्वासको गर्मीले ओभाउन लगाएको, तिमीले फागुको लागि भनेर ल्याएको रंगले सिउँदो नै रङ्गाएको बेला तिम्रो मुहारमा खुशी ल्याएको ःकसरी भुल्छ्यौ यी कुराहरु ? मैले तिमीले भनेको पु¥याउन नसकेका कुराहरुलाई मात्र नहेर । सक्छौ भने मैले तिमीले नभनि दिएका पलहरुको पनि हिसाब लाउने गर । तिम्रो यस्तै विना अर्थका हठले त मलाई प्रश्न गर्न बाध्य बनाउँछः तिमी नारी किन यति हठी ?
Comments
Post a Comment