सम्पादक ज्यूको चाला पनि देखियो !
अरुका बारेमा नराम्रो कुराहरु लेख्दा अरुले पनि बारम्बार ‘दुधले धोएको त तै पनि कहाँ होलास् र ?’ भनेर औंला ठड्याउँथे । पहिलो अंकमा मैले करकार्यालयको सामान्य कर्मचारीले पनि कसरी अनुचित रुपमा पदीयलाभ उठाइरहेको हुन्छ भन्ने कुरा लेखेपछि दोश्र्रो अंकमा मैले आफ्नै शिक्षण पेशाभित्र हुने भ्रष्टाचारहरुका बारेमा लेखेको थिएँ । ती मध्ये कतिपय गलत कामहरु मैले स्वयं पनि गरेको छु । तर सबै दोषहरु भएको एउटै मास्टर साब भेटाउन भने गाह्रो नै पर्ला किनभने त्यो कुनै व्यक्तिको चित्रण थिएन त्यो त प्रवृत्तिहरुलाई गाभेर बनाएको एक पात्र मात्रै थियो जसमार्फत मैले शिक्षा क्षेत्रको विकृतिलाई बाहिर ल्याउन खोजेको थिए । त्यो लेखमा मास्टर साबले आफ्नो पेशाप्रति गर्ने गद्दारीका कुरा लेखिसकेपछि म आफैलाई पनि त्यस्ता दुष्प्रवृत्तिहरुलाई त्याग्न सहजता मिलेको थियो । त्यसैले आगामी दिनमा पनि त्यस्ता गलत प्रवृत्तिहरुलाई प्रतिनिधि पात्रका रुपमा उभ्याएर समाजलाई गलत दिशातिर लाग्न बाट निरुत्साहित गराउने सोच राखेको थिएँ । तर सबैले भन्न थाले ‘कतिन्जेल लेख्छस् ? तैले लेख्न नपर्ने मान्छे त सायदै कोही होला । अनि सबैको खेदो खनी सकेपछि गाह्रो साह्रो पर्दा चाहिं कसले हेर्ला तलाई ?’ हो जस्तै पनि लाग्यो । सबैले थाहा पाएका कुराहरु लेखेरै पो के हुने हो र भन्ने पनि सोचें । नलेखौंला सोचें तर अर्का पात्र भेटिइहाले ! यसपालि आफैले लेख लेख्ने पत्रिकाका सम्पादक ज्यूको बारेमै लेख्न कर लाग्यो ।
साथीहरुले हौस्याएकाले पत्रिकाहरुमा लेख लेख्न जाँगर चलाएँ । पत्रिकाहरुमा लेख लेखे वापत कापी कलम खर्च पनि दिने चलन चलाएकोले मलाई पनि त्यही शीर्षकमा केही रकम दिने भनेर सम्पादक ज्यूले कुरा गरे । कापी कलममा त मैले कहिले पनि लेखहरु लेखिन तर पनि खर्च मिल्ने भए किन पछि पर्थे ! जति भए पनि हुन्छ भनें । कसैले पचास कसैले सय अनि कसैले डेढसयको प्रस्ताव राखे । मैले सबैलाई सहजै स्वीकार गरें । लेखेवापत पनि पैसा पाइने कुराले दङ्ग पर्दै लेख्न थालें । एउटा लेख लेख्न झण्डै दुई घण्टा लाग्छ । यदी त्यसका लागि अध्ययन गर्नुपर्ने हो भने त त्यसमा कुनै समय सीमा नै हुँदैन । दिन, हप्ता र महिना सम्म पनि लाग्न सक्छ । अब त्यत्रो मिहिनेतको लागि थोरै भएपनि रकम पाइन्छ भने त राम्रै हो नि !
सबै भन्दा बढि दिन्छु भन्ने सम्पादक ज्यूले मेरो कापी कलम खर्च डेढ सय देखि दुई सय सम्म दिने भनि तोकेका थिए । मैले हौसिँदै लेखमा निरन्तरता दिने बचन बद्धता पनि दिएँ । आफ्ना बचनमा सकेसम्म म इमान्दार भएँ । लेख संख्या विस्तारै बढ्दै गयो । दशैंका बेलामा पत्रिकाहरुमा विज्ञापन बढ्ने र पत्रिकाहरुले आफूले तिर्नुपर्ने सम्पूर्ण ऋणहरु तिर्ने भएकोले मैले पनि दशैंको मौका पारेर आफ्नो मुख फोर्ने साहश गरेको थिएँ । सम्पादक ज्यूले त्यसैबेला आफ्नो लेखको पैसा दिनका लागि बनाएको नयाँ नीतिको बारेमा बखान गरे । उनको पत्रिकाले लेखकहरुलाई एकमुष्ट पैसा दिने निर्णय लिएको रहेछ । अनि लेखकहरु मध्येबाट उत्कृष्ट लेखेवापत एक जनालाई सम्मान समेत गर्ने भन्ने योजना रहेछ । धनगढीका अरु पत्रिकाहरुले लेखवापत केही नदिए पनि उनको पत्रिकाले भने कापीकलम खर्च भनेर सामान्य प्रोत्साहन स्वरुप केही रकम दिने व्यवस्था गरेको रे ! उनी भन्थे लेखको त मूल्यै हुँदैन, अर्थात अमूल्य हुन्छ । र स्थानीय पत्रिकाहरुले लेखकको पारिश्रमिक दिन सक्ने स्थिती नभएकोले कापी कलम खर्च सम्म दिने प्रयास गरेको रे ! मैले पनि दशैंको मुखमा केही खर्च पाए आफ्नो दशैं पनि सजिलो गरि बिताउन सक्ने भएकोले सकिने जति व्यवस्था गरिदिन भनें । उनले पछि खबर गर्ने कुरा सुनाए । म फोनको प्रतिक्षामा थिएँ । उनको फोन आएन । मनमा चिसो त्यसै बेला देखि पसिसकेको थियो । तर पनि आशै त हो ः मारेन !
लेखहरु लेख्दै गएँ । साथीहरुले राम्रै प्रतिक्रिया दिन्थे । मलाई पनि खुशी लाग्थ्यो । लेखहरु छाप्दै जाने क्रममा कुनै लेखलाई उनको सम्पादन मण्डलले असान्दर्भिक भनेर घोषणा गरिदिन्थ्यो । म अरु पत्रिकामा पठाइ दिन्थे । उनको पत्रिकाले असान्दर्भिक भनेका लेखलाई अरुले भने समय सान्दर्भिक भनेर छाप्थे । मलाई अचम्म लाग्थ्यो । एक पत्रिकाकालागि असान्दर्भिक भनेको लेख त्यसै समय, काल र परिस्थितिमा अर्को पत्रिकाका लागि कसरी सान्दर्भिक भयो भनेर म सोच्थें । सम्पादक ज्यूको निर्णयहरु फेरिने कुरै भएन । बरु म नै पत्रिका फेरिदिन्थे ।
मलाई लाग्छ सम्पादक ज्यूले आफ्नो स्वार्थ विपरितका लेखहरुलाई असान्दर्भिक ठान्थे । उनका विज्ञापन दाताको गलत कार्यकै पनि कसैले विरोध गरेको लेखहरुलाई उनले आफ्नो पत्रिकामा स्थान दिँदैन थे । पहिले पनि मैले एकजना नामी सम्पादक ज्यूलाई स्थानीय विद्यालयले आफ्नो शिक्षकमाथि गरेको ज्यादतीको विषयमा लेख छाप्ने अनुरोध गर्दा उनले सोझै नकारेका थिए । विद्यालय छोडेको ६ महिना विति सक्दा पनि विद्यालयमा काम गरेवापतका तलब नदिएको र उल्टै घरमा फोन गरी जथाभावी बोलेको घटनाका बारेमा उनलाई समाचार बनाइ दिन आग्रह गरेकोमा उनले उल्टै विद्यालयका प्रधानाध्यापकसँग कुरा गरेर सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । यसो गर्दा उनले के लाभ पाए मलाई थाह छैन । तर पत्रकारको रुपमा उनले कसैमाथि केही अन्याय भयो भने त्यसलाई समाज सामु ल्याउनु पर्ने थियो । सहजकर्ताको भूमिका निर्वाह गरेर घटनालाई ढाकछोप गर्नु उनको कर्तव्य वा दायित्व भित्र पर्दैन । हुन त त्यो समाचार बाहिर ल्याउँदा विद्यालयले वार्षिक रुपमा नयाँ वर्षको क्रममा दिने एक शुभ–कामना सन्देश वापतको मूल्य चुकाउनुलाई सम्पादकले उति राम्रो नमानेको हुनसक्छ । तर मलाई सम्पादक ज्यूको त्यो काम कतै मन परेन ।
अचेल पनि यस किसिमका सेन्सरशीपहरु बारम्बार लगाइन्छन् । प्रेस स्वतन्त्रताको हकमा मुखमा कालो पट्टि बाँधेर नारा लगाउँदैमा मात्रै प्रेस स्वतन्त्रताको हिमायती भएको मानिँदैन । समाजमा स्वतन्त्र विचार प्रसार गर्ने अभियानमा निष्ठावान र इमान्दार भएर व्यक्तिगत लाभलाई विर्सेर सहि सूचना प्रवाह गरेमा मात्र त्यो परिकल्पना साकार होला । त्यसका लागि सम्पादक ज्यूहरु कुनै विचार र वादका घेरामा नअल्झेर अनि कुनै पनि साहु महाजनका लड्डुको मिठासमा नभुलेर पत्रकारिता गर्नु जरुरी छ ।
सम्पादक ज्यूले लेखहरुमा कहिल्यै सम्पादन गर्थेनन् । बरु कहिले काहिं शीर्षकमा भने छेडछाड गरिएको हुन्थ्यो । मैले नबुझेको कुरा के भने, सम्पादन त भाषामा हुनुपर्ने हो विचारमा होइन । अनि यहाँका स्थानीय पत्र–पत्रिकाहरुले भाषिक अशुद्धिलाई जस्ताको तस्तै राखेर विचारमा किन सम्पादन गर्छन् ? भाषिक शुद्धतामा ध्यान दिइएको कमै पाइन्छ । पूर्ण रुपमा भाषिक शुद्धी भएको पत्रिका विरलै पाइन्छ । झन् स्थानीय पत्रिकाहरुमा त भाषा सम्पादनको जिम्मा समेत अपरेटरहरुले पाएका हुन्छन् । अब अपरेटरले सम्पादन गरेको पत्रिका कत्तिको शुद्ध होला तपाईं नै जान्नुस् ।
जसो तसो १० वटा लेख पु¥याएँ । सानो रकम माग्न अप्ठेरो लागेको ले १० पु¥याएर माग्ने सोच बनाएको थिएँ । त्यसैले आफ्नो गणपुरुक संख्या पुगाएर फेरी एक पटक सम्पादक ज्यू कहाँ भेट्न गएँ । मौकाले सम्पादक ज्यू कार्यालयमै भेटिए । नत्र प्राय सम्पादक ज्यूहरुलाई त पत्रिकाको समाचारका बारेमा पत्रिका निस्की सकेपछि मात्रै थाह हुन्छ !
सम्पादक ज्यूलाई फेरी पनि उनले फोन गरौंला भनेको सम्झाए । हुन त दशैं बितेको धेरै भइसकेको थियो । र पनि सम्पादक ज्यूलाई याद भने रहेछ । उनको बोली अहिले भने फेरिइसकेको थियो । उनले भनेको कापी कलम खर्च अहिले हप्ता दिनको तरकारी खर्चमा परिवर्तन भइ सकेको थियो । अनि पत्रिकाले दिने भनेको रकम, पत्रिकाको वार्षिकोत्सवबा क्रममा दिने भनेर माइनुटिङ्ग गरिएको हुनाले अर्को मिटिङ्ग नबस्दा सम्म भनिएको रकमलाई अगाडि दिन नमिल्ने कुरा व्यक्त गरे । उनको वार्षिकोत्सबका लागि महिनौं कुर्नु पर्ने भएको र लेखको वापतको पाउने भनेको पैसा नपाएपछि कसोकसो मन पनि विकृत बन्यो र सो पत्रिकाका लागि लेख लेख्न बन्द गर्ने निर्णय गरें । बरु पत्रिकाका सम्पादक ज्यूकै लागि एउटा लेख समर्पण गर्ने निर्णय गरें ।
सम्पादक ज्यू तपाईंले सुन्नु भएकै होला, गरीबलाई दिउँला नभन्नु, राणी(विधवा)लाई लिउँला (बिहे गर्ला) नभन्नु ! आश्वासन भन्ने कुरा सकेसम्म नदिनु राम्रो दिइ हाले पुरा गर्नु राम्रो । लेख र रचना भनेको लेखकको बौद्धिक सम्पत्ति हो । उसले आफ्नो समय, ज्ञान र शीप लगाएर त्यसको रचना गरेको हुन्छ । उसले लेखे वा रचनाहरु बापत पाउनुपर्ने भनिएको रकम भनेको उसको प्रतिभाको सम्मान गर्नु हो, उसलाई आफ्नो कार्यमा निरन्तर लाग्ने अभिप्रेरणा थप्नु हो । राष्ट्रिय पत्रिकाहरुले तपाईंको आफ्नै लेखको मोल रु १२०० देखि लिएर रु २२०० सम्म दिन्छन् भन्नु हुन्थ्यो । त्यसको १० प्रतिशत भन्दा पनि कम स्थानीय लेखकहरुका लागि तपाईंले तोक्नु भएको छ । त्यो पाउन पनि वार्षिकोत्सब कुर्नुपर्ने, माइनुटिङ्ग गराउनुपर्ने लगायतका औपचारिकताहरु तेस्र्याएर अरुलाई सास्ती थप्नु भन्दा आशै नदिनु राम्रो होला कि ?
Comments
Post a Comment