कैलपाल जाँत एक सम्झना


यसपाली जाँतका लागि भनेर नै मैले पनि दुई पटक पहाड पस्ने मौका पाए । पहिलो जाँत शिखरको जाँत थियो जो भदौका महिनामा सम्पन्न भएको थियो । पछिल्लो जाँत कैलपाल जाँत थियो जो कार्तिकको १५ र १६ गते सम्पन्न भएको थियो । यी दुवै जाँतहरु डडेल्धुरा जिल्लाको कैलपाल माण्डौ गाविसको वडा नं. ५ जयसेरामा भएका थिए । सोही दिन गणेशपुर गाविसको मैलोडामा पनि नङरै लाटाको जाँत भएको थियो । यी स्थानीय कुल देवताहरुका जाँतहरु विशेष गरी तिथीका आधारमा मनाइने भएकाले वर्षै पिच्छे फरक फरक दिन पर्ने गर्दछन् । कैलपाल जाँत कार्तिक शुक्ल षष्ठी र सप्तमी तिथीमा मनाइने गरिन्छ । षष्ठीका दिन रतेडी र सप्तमीमा दिउँसेडी गरी दुई दिन सम्म यसलाई मनाइने गरिन्छ । कैलपाल जाँतका क्रममा आसपासका गाउँका मान्छेहरु लगायत विविध कारणले गाउँबाट बाहिरिएका मानिसहरु पनि यहाँ आउने गर्छन् । यस्तो हुँदा त्यहाँका स्थानीय बासीले देवताले तानेको भनि भन्छन् । कति श्रद्धाले त कति विभिन्न मनोकामनाहरुको साथ यस्ता जाँतहरुमा आउने गर्दछन् । त्यहाँका मूल वासीहरुका लागि कैलपाल जाँतको धार्मिक महत्व त छँदै छ साथसाथै त्यसको सामाजिक र साँस्कृतिक महत्व पनि अति नै रहेको देख्न पाइन्छ । जाँतका बेलामा हुने भेटघाटले आपसी बैमनस्य वा भनौ दुरीलाई कम गर्ने र आपसी सद्भाव कायम गर्नमा मद्दत गर्ने गर्छ भने जाँतका क्रममा खेलिने धमारी, भलौलो र चौलो जस्ता खेलहरुले त्यहाँका मौलिक सँस्कृति झल्काउने गर्दछन् । विशेष गरी चौलो डोटी–डडेल्धुराको मौलिक साँस्कृतिक नाच हो जो यहाँका केही स्थानीय जाँतहरुमा बाहेक अन्य कुनै अवसरमा पनि नाच्ने गरिन्न र यसका बारेमा थोरैलाई मात्र थाह छ ।
कैलपाल जाँतको पक्ष लाग्ने वित्तिकै जाँतमा उपवास बस्नेहरुले लसुन–प्याज समेत वार्ने चलन छ । उपवास पञ्चमी र षष्ठीका दिन गरी दुई दिन गर्ने गरिन्छ । कसै कसैले एकदिनको सानो उपवास (प्याट्टे) उपवास समेत पनि गर्ने गरेको पाइएको छ । सबैले आ–आफ्नो चलन अनुसार उपवास बस्ने गर्छन्, जस अन्तर्गत विहान नखाने र साँझ पख देवताको पुजा गरेर अक्षताहरु चढाएर (स्थानीय भाषामा यसलाई गेडा हाल्नु भनि भन्ने गरिन्छ) शुद्ध, साकाहारी र चोखो खानेकुरा खाने गरिन्छ । उपवास रतेडीको दिन अर्थात षष्ठी तिथीका दिन सम्म हुन्छ र भोलिपल्ट सबैले दुई छाक नै खान्छन् । दिउँसेडीको दिनमा मिठा मिठा खानेकुराहरु पकाएर खानेहुनाले यस जाँतलाई बाब¥यै जाँत (सेलरोटीको जाँत) पनि भन्ने चलन छ ।
कार्तिक षष्टीका दिन विहानै देखि कैलपाल माण्डौमा (माणौ वा मन्दिर) उपवास बसेकाहरु विहानै स्नान गरी पुजा गर्नका लागि आउने गर्छन् । उनीहरुले विभिन्न भगवतीका स्तोत्रहरु पाठ गर्ने गर्छन् । भनिन्छ कैलपाल माणौका मुल धामीलाई एकपटक विचार गर्नका लागि जाँतसुरु हुनुभन्दा अघि बाटै निङ्गालाको बोटमा बाँधेर राखेको तर जाँत सुरु भएको दिन धामी निङ्गालाको भुक्कै सहित माणौ पुगेका थिए रे ! धामी आफू अनपढ भएका भए पनि कैलपाल देवताको दैवी शक्तिका कारण संस्कृत भाषाको दुर्गा सप्तश्लोकी अविच्छिन्न रुपमा पढेर सुनाएका थिए ! कैलपाल देवता र दुर्गा देवीको यस्तै अन्योन्यास्रित सम्बन्धका कारण कैलपाल जाँतमा गाँज (छात) लाई देवीका रुपमा पुजा गर्ने र गौदानहरु गर्ने गरिन्छ । त्यहाँका बुढापाकाका अनुसार पहिले पहिले गाँज आफै काम्ने गर्दथ्यो । मानिसमा भौतिकवादि चिन्तनको वृद्धिसँगै बढेका अनास्था र विकृतिका कारण विस्तारै त्यो सबै लोप हुँदै गयो । माणौमा पुजाका लागि पुगेका एक जना स्थानीयबासीले भने, ‘मैले तपाईँलाई सम्मान दिए माने भने न तपाईँले मलाई परेको बेलामा सहयोग गर्नुहुन्छ नभए तपाईँ पनि वास्ता गर्न छोड्नुहुन्छ । देवताको कुरा पनि त्यस्तै हो ।’
पुजापाठको क्रम दिउँसो सम्म चलिरहन्छ । सो क्रम सकिएपछि साँझ पख सूर्यास्त पूर्व देवताका भँडारहरुबाट द्यौरो निकालेर माणौ सम्म ल्याउने गरिन्छ । द्यौरो निकाल्ने क्रममा डोला (जसमा देवतालाई चढाएका विभिन्न चाँदिका प्रतिमा र सुनजनैहरु राखिएका हुन्छन्), चाँदिका हतियारहरु, झण्डाहरु र गाँज (छात) आदि निकाल्ने गरिन्छ । भँडारका आँगनमा लिपेर वेदी बनाइन्छ र त्यसमा पिठोले बनाएको पालोमा शुद्ध गाइको घिउमा दियो बालेर राखिन्छ । दमाउमा विशेष ताल र भोक्करको ध्वनीसँगै द्यौरो निकाल्ने काम सुरु हुन्छ । द्यौरो निकाले पछि डोलालाई काँधमा राख्न उपवास बसेकाहरुको हानथाप हुने गर्छ । सोही क्रममा पुजारीले डोला पुज्ने काम पनि सक्छन् । भँडारको पुजा सम्पन्न हुनै लाग्दा धामी काम्ने गर्छ । त्यसपछि द्यौरोला बाटाभरि भोक्कर र दमाउ बजाएर माणौ सम्म पु¥याउने गरिन्छ ।
माणिउँ पुग्दा सम्म झमक्क राती परि सक्ने हुँदा एकछिनका लागि पुजाको कार्यक्रम रोकिन्छ । भोलिपल्टको मेलाको लागि भनेर थापिएका केही पसलहरुमा मान्छेहरुको चहलपहल सुरु हुन्छ । मेला व्यवस्थापनको लागि स्थानीय गाविसको संलग्नतामा खटिएका स्वयं सेवकहरुले विभिन्न देउडा कार्यक्रमहरु पनि आयोजना गर्ने गर्छन् । मेलाकै लागि भनेर सकायलबाट प्रहरीको टोली समेत गाउँ पुग्ने गर्छ ।
रतेडीको खास कार्यक्रम लगभग मध्यरात देखि सुरु हुने गर्छ । विभिन्न चार गाउँका चौलोहरु भेट हुने गर्छन् । विभिन्न चैत र धमारी (देवताको चरित्र गान) बाट सुरु भएर दमाउ र भोक्करको विशेष तालमा हातमा तरवार या खुकुरी र त्यसको दाव बोकेर गोडाका बिशेष चालमा चौलो नाच्ने गरिन्छ । यो चौलो विशेष गरि उत्सव सुचक मानिन्छ । सबै ठाउँबाट चौलो माणिउँ पुगेपछि माणिउँ परिसरमा दमाउ र भोक्करका आवाज चर्किन थाल्छन् । त्यसपछि कैलीपाल र कैलीपालका छ भाइ (दौपाल, निर्पाल, सौँपाल, बाँठपाल, जयपाल र अजयपाल), मसानी र दुर्गाका धामीहरु घाइ खेल्ने गर्छन् । घाइ खेल्नु भन्नाले विभिन्न तालमा धामीहरुले आफूमा देवता बसेका बेलामा नाच्ने नाच बुझिन्छ । त्यसपछि सबै धामीहरु माणिउँ भित्र पस्छन् र तिनैसँग देवतालाई विभिन्न प्रश्न सोध्न भनि आएकाहरु आफ्नो जिज्ञासा धामीहरुका अघि राख्छन् र धामीले उनीहरुको प्रश्नको उत्तरहरु दिने गर्छन् जसलाई स्थानीय भाषामा पुछाईँ गर्नु भनिन्छ । त्यसैबेला धामीले माणिउँमा चढाउनका लागि ल्याएको सबै वस्त्रहरु, घण्टी लगायतका चिजहरुलाई छोएर देवताले ग्रहण गरेको संकेत दिने गर्छन् ।
यति भइसक्दा विहानको त्यस्तै तीन चार बजि सक्ने हुँदा मानिसहरु मुढाको ठूलो धुनी जगाएर त्यसका वरिपरि भलाउलो (गडवाली भाषामा भलाउलो भन्नाले प्रभातकालीन प्रार्थना भन्ने बुझिन्छ) गाउने गर्छन् । लगभग दउडाकै शैलीमा तर फरक भाका र केही फरक भावमा भलाउलो गाउने गरिन्छ ।
यति सकिँदा विहान भइसक्छ र रातभर जागा बसेकाहर आ–आफ्ना घरतिर लाग्ने गर्छन् । त्यसपछि दिउँसो झण्डै एक बजेबाट मेलामा आउनेहरुको ओइरो लाग्ने गर्छ । मेलामा यसपाली मथुरा देखिका भारतीय मीठाइपसलेहरु पुगेका थिए । प्रत्येक वर्ष यसरी नै यहाँ जाँतका बेलामा ठूलो मेला लाग्ने गर्छ । त्यो मेलामा आसपासका गाउँबाट थुप्रै मानिसहरु रङ्गिविरङ्गि पहिरनमा डाँडा उक्लँदै र ओर्लदैँ गरेको दृष्य हेर्न लायक हुन्छ । कतिपय गाउँबाट विहेगरेर गएका चेलीहरु माइत पुग्ने भएकाले मेलामा ढोगभेटको क्रम तीब्र बन्न जान्छ ।
केही साँझ परेपछि फेरी चौलो र गाँज(यतिबेला गाँजमा चढाएका वस्त्रहरु बेरिनाले गाँज निकै रातो–पहेँलो रङ्गमा सजिएको हुन्छ) कमाउने गरिन्छ । वरपरवाट दर्शनार्थीहरुले फूल अक्षता वर्षाएर आफ्नो श्रद्धा अर्पण गर्ने गर्छन् । त्यसपछि सूर्यास्त पूर्व द्यौरो फेरि भँडारहरुमा पुर्‍याएर जाँत समापन हुन्छ ।
यसपालीको जाँतमा पनि यी सबै भए । अझै यसपाली मैले शिखरको जाँतको बारेमा लेखेको लेख पढेका एक अग्रज सत्यराज पनेरुसँग पनि भेट भयो । उनले पुराणहरुमा उल्लेख भएको अनि विभिन्न लोक किंवदन्ती र आस्था बोकेका ठाउँका बारेमा लेख्दा त्यहाँको धार्मिक पक्षलाई अलि बढि उजागर पारिनुपर्छ भनेर सल्लाह दिए । उनैले कैलपाल देवताका कृपाले कतिको घर बसेको, निसन्तानले सन्तान पाएको, आदि कथाहरु सुनाए । साथै शिखरका जाँतमा निसन्तान चामा बलायरले गाएको धमारीमा ‘चाँदीका गडुवाले क्यारु गोसाईँ, अपुति रइगइ कोल’ भन्ने गाएपछि प्रसन्न भएका देवताको अनुकम्पाले चामा बलाएरले जुम्ल्याहा छोरा जन्म दिएका किस्सा देखि लिएर कम्युनिज्मको व्याख्या वेदका ऋचाहरुद्वारा गर्ने विश्वनाथ पनेरुका छोरा लक्ष्मीकान्त पनेरु अविवाहित रहेपछि देवतालाई देवताको काजका लागि उठाएको बारो(तेल, पीठो,चामल)मा तेलको सट्टा तोरी, पीठोको सट्टा गहुँ र चामलको सट्टा धान दिएपछि धामी रिसाएर दण्ड गरेको र चौध घडीमा विहे गराउँला भनेपछि भोलिपल्ट नै छोरी दिन घरमा मान्छे पुगेको र देवताले दिएको भाकामा विहे भएका किस्साहरु बडो उत्साहका साथ सुनाए । पछिपछि आसपासका सबै सामेल हुन थालेपछि सबैले सुदूरपश्चिममा विभिन्न महिमा बोकेका स्थलहरुको बारेमा चर्चा भयो । विष्णु पादुका र उत्तर बग्ने पवित्र रेवा नदी देखि लिएर राक्षसतालमा तपस्या गरेर फर्केका रावणले ल्याएको शीला अछामको वैजनाथमा पुगेपछि लघुशंका लागेर गोठालोको जिम्मा लगाउँदा गोठालाले उठाउन नसकेर भुइँमा राखेको र शीला त्यहीँ स्थापित हुँदा रावण खाली हात जानु परेका किस्साहरु पनि सुन्ने मौका पाएँ । यहाँका विभिन्न ताम्रपत्रहरु कति मानिसहरुले लुकाएर राखेको र कति पहिले यहाँ विभिन्न अध्ययनका लागि आएका नरहरी नाथले लगेका कुराहरु समेत त्यहाँ खुले ।
यसरी यसपालीको कैलपालजाँत एक सम्झन लायक र सँगाल्न लायक सम्झना रह्यो । साथै खोज गर्ने क्रममा सुदूरपश्चिममा थुप्रै आस्थाका केन्द्रहरु र इतिहासहरु फेला पर्ने संकेत समेत यो जाँतले दियो । यो लेख लेखनका क्रममा बीचमा लेखकको अज्ञानताले केही भूल भएका भए क्षमा चाहन्छु । अस्तु !

Comments

Popular posts from this blog

Letters to a Young Poet -Rainer Maria Rilke (with quotes)

अम्बेडकरको Annihilation of Caste

निर्मलालाई न्याय