रंग बदल्ने तालः झिलमिले ताल



सुदूरपश्चिमलाई सुन्दर पश्चिममा रुपान्तरण गर्नका निम्ति सुदूरपश्चिममा पर्यटन विकासमा जोड दिनुपर्छ भन्ने उद्देश्यले विगतका दिनमा सुदूरपश्चिमको पर्यटक विकासको क्षेत्रमा थुप्रै प्रयासहरु भइरहेका छन् । त्यस्ता प्रयासहरुको फलस्वरुप सुदूर पश्चिमले नयाँ नाम समेत प्राप्त गरेको छः सुन्दर पश्चिम । सुदूर पश्चिमको पर्यटकीय सम्भावनाका बारेमा थुप्रै कुराहरु अहिले चर्चा परिचर्चाको विषय बनि सकेका छन् । विगतका दिनमा दुर्गमता र रुढीग्रस्त समाजको पर्याय बनेको सुदूरपश्चिम अबका दिनमा भने पर्यटकीय गन्तव्यको रुपमा समेत विकसित हुँदै आएको छ । सुदूरपश्चिमको खप्तड आजको दिन सम्म आइपुग्दा एक उत्तम गन्तव्यको रुपमा स्थापित भइसकेको छ । सुदूरपश्चिममा खप्तड जस्था थुप्रै गन्तव्यहरु छन् । साथै यहाँको विकट पहाडी भेगहरुमा वनभोज, भ्रमण, पद यात्रा, पर्वतारोहण, जल विहार, तिर्थाटन, वनस्पतिहरुको अध्ययन, वन्यजन्तुहरुको अध्ययन, बन्जी, ¥याफ्टिङ्ग, कायाकिङ्ग, क्यानोइङ्ग, प्याराग्लाइडिङ्ग, लगायतका साहसिक खेल, आदिको थुप्रै सम्भावनाहरु पाइन्छ । यी थुपै्र सम्भावनाहरु मध्ये केहीका बारेमा लेखिइसकेका छन् भने कतिका बारेमा अझै लेख्न बाँकि छ । त्यस्तै लेख्न छुटेको गन्तव्य मध्येको एक गन्तव्य होः कञ्चनपुरको झिलमिले ताल ।

कञ्चनपुरको भिमदत्त नगर नगरपालिका वडा नं ९, मटेनामा पर्ने झिलमिले ताल त्यसको प्राकृतिक सुन्दरताको लागि हालका दिनमा आएर बढि ख्याती कमाउँदै आएको छ । मटेनाको स्थानीय बजारबाट करीब दुई घण्टाको पैदल यात्रामा पुग्न सकिने यो तालमा पुग्नको लागि स्थानीहरुले बनाएको बाटोका साथसाथै वन समितिको पहलमा बनाइएको पत्थरले चिनेको खुट्किलाहरु समेत रहेका छन् । पत्थरले चिनिएका खुट्किला उति प्रयोग नहुने हुँदा ठाउँठाउँमा ती खुट्किलाहरु झ्याङ्गभित्र बिलय भएको देख्न सकिन्छ । वनमा घाँसपात गर्न जानेहरुले बनाएको अनि अन्य ताल हेर्न जानेहरुले हिँड्दा हिँड्दै बनेको गोरेटो भने हिँड्नका लागि केही सजिलो र छोटो छ । तालमा जानेहरु प्राय गरेर खुट्किलाहरु भन्दा स्थानीय पदयात्रीहरुले हिँड्दाहिँड्दै बनेको बाटो गरेर नै तालसम्म पुग्ने गर्छन् ।




 यस तालको विशेषता भनेको सामान्य अवस्थामा तालहरु पहाडको फेदमा हुने गरेपनि यो एक पहाडको चुचुरामा अवस्थित ताल हो । यस तालको वरीपरिको हराभरा वातावरणले ताललाई प्रकृतिमा रमाउने जो कोहीको लागि पनि एक असल गन्तव्यको रुपमा आफूलाई उभ्याउँदै आएको कुरा एकातर्फ छ भने अर्कोतर्फ ताल वरिपरि विभिन्न देवी थानहरुले धर्मकर्ममा आस्था राख्ने जो कोही ७नतसद्धालुहरुका लागि समेत ताल एक उचित गन्तव्यका रुपमा देखा पर्न गएको पाइन्छ ।

तालको विशेषताहरु मध्येको एउटा अर्को अति महत्वपूर्ण विशेषता भनेको तालको पानीको रंग दिनको फरकफरक समयमा फरकफरक देखिनु पनि हो । त्यसैले तालको नाम नै झिलमिले ताल रहन गएको भन्ने हो भन्ने स्थानीय वासिन्दाहरुको भनाइ रहेको छ । तालको पानीको रंग परिवर्तनहुनुलाई कसैले तालको मुनी कुनै धातुको खानी हुन सक्ने कुरा व्यक्त गर्दछन् भने कसैले त्यो दैवीय शक्ति भएको कुरा व्यक्त गर्दछन् । जे भएपनि तालको पानीको रंग परिवर्तन हुनु आफैमा दुर्लभ र दिव्य रहेको कुरा मान्नमा सायद कसैले पनि हिच्किचाउँदैन होला ।

तालमा वर्षको जुन सुकै समयमा जान मिल्ने भएपनि माघे संक्रान्तिका दिन भने तालमा विशेष मेला नै लाग्ने गर्दछ । माघेसंक्रान्तिको अघिल्लो दिन नै ताल परिसरमा हजारौँ ७नतसद्धालुहरु जम्मा हुने र रातभर भजन किर्तन गर्ने गर्दछन् । त्यहाँका देवी थानहरुमा विशेष पुजा आजा हुने गर्दछ । भोलिपल्ट विहान तालको परिसरमा अवस्थित देवीदेवताका मन्दिरहरुमा पुजाआजा गरेर सबै जना आ–आफ्नो बाटो लाग्ने गर्छन् । माघे संक्रान्तिका बेला सुदूरपश्चिममा लाग्ने मेलाहरु मध्येको एक ठूलो मेलाको रुपमा यो मेलालाई पनि लिने गरिन्छ । सायद दुर्गमताको कारणले होला यहाँको मेलाले प्राय समाचारको शीर्षकहरुमा स्थान पाएको  देखिँदैन । महेन्द्रनगरका स्थानीय एवं टाढाटाढाका ७नतसद्धालुहरुको समेत यहाँ माघेसंक्रान्तिको मेलाका क्रममा घुइँचो लाग्ने गर्दछ ।

ताल परिसरमा भएका देवीथानहरु मध्ये पूर्णागिरीको थान समेत रहेको छ । भारतको उत्तराखण्डमा स्थित पूर्णागिरी जान अति नै कठीन हुने भएको र पूर्णागिरीको खास मन्दिरसम्म उच्च जोखिमका कारण कसैलाई पनि जान अनुमति नभएकाले त्यहाँ सम्म जान नसक्ने आफ्ना भक्तहरुका लागि पूर्णागिरी माता झिलमिले ताल परिसरमा स्थापित भएकी भन्ने त्यहाँका पुजारीको भनाइ छ । पुजारीका अनुसार पूर्णागिरीमा मेला लाग्ने बेला अर्थात चैते दशैँमा भारतबाट समेत तिर्थालुहरु झिलमिले ताल परिसरकी पूर्णागिरीको पुजाका लागि त्यहाँ पुग्ने गर्दछन् । त्यहाँ भएका देवी थानहरुमा चढाइएका त्रिशुलहरु र वस्त्रहरुले समेत सो कुराको पुष्टि गर्दछ ।
धार्मिक उद्देश्यले वाहेक पनि पर्यटकीय गन्तव्यको हिसाबमा ताल उचित गन्तव्यको रुपमा स्थापित हुन सक्ने प्रचुर सम्भावना रहेको देखिन्छ । पहाडी जीवनको उकालो ओराली अनुभव गर्न चाहने जो कोहीको  लागि एउटा छोटो एवं सुरक्षित पदयात्राका निम्ति पनि ताल एक उचित गन्तव्य हुन सक्छ । तालको मनोरम र शान्त वातावरणले कोलाहलको शहरी जीवनशैलीबाट वाक्क भई प्रकृतिको निरवतामा वास खोज्ने जो कोहीलाई पनि लोभ्याउँछ ।


दैविक शक्तिको बास भएको मान्यता रहेको यस तालमा माछा मार्न भने वर्जित छ । साथै त्यहाँ नौका विहारको पनि व्यवस्था गरिएको छैन । तर ताल वरिपरिका विभिन्न पाँचवटा स्थानहरुमा रहेका बेन्चहरुमा आगन्तुक आराम गर्न र तालको दृश्यावलोकन गर्न सक्छन् । पहाडको टाकुरामा प्रकृतिको अनुपम उपहारको रुपमा रहेको यो ताल साँच्चिकै मनमोहक एवं भ्रमण योग्य छ । ताल सम्म पुग्ने जो कोही पनि त्यहाँ पुगि सक्दा आफूलाई भाग्यमानी नै महशुस गर्छन् ।
तालको किनारमा त्यस तालको मन्दिरहरुमा पुुजा गर्ने पुजारीको कटेरो अवस्थित छ । त्यहाँका पुजारीले तालमा घुम्न आएका मान्छेका लागि खानपिनको व्यवस्था गर्ने तथा आगन्तुकले चाहेको खण्डमा खाना पकाउने भाँडाहरु उपलब्द्ध गराउने काम समेत गर्दछन् । त्यसैले यो ताल वनभोजमा आउनेहरुका लागि पनि राम्रो गन्तव्य बन्न सक्छ । ताल सम्म पुग्नको लागि पैदलै दुई अढाइ घण्टा हिँड्नु पर्ने भएपनि तालको दर्शन मात्रले सम्पूर्ण थकान विलिन पारि दिन्छ ।
तालका पुजारी आफूले रातीराती त्यहाँ बाघ समेत देख्ने गरेको तर बाघले आज सम्म आफूलाई केही नगरेको कुरा बताउँछन् । बाघ भगवतीको बहान भएकोले र भगवतीको पुजाआजामा आफू संलग्न भएकोले आफू माथि त्यस्तो नराम्रो घटना नघटेको भनि उनले बताए ।
झिलमिला ताल र झिलमिला ताल जस्ता धेरै गन्तव्यहरु आफ्ना प्रसंसकहरुको प्रतिक्षामा पर्खि रहेका छन् । यस्ता धेरै गन्तव्यहरु छन् जसका बारेमा अझै पनि कलम चल्न बाँकि छ । प्राकृतिक तथा धार्मिक महत्व बोकेका यस्ता धरोहरहरु अझै पनि आफ्ना गरिमाहरु आफैमा सिमित राखेर उपेक्षित रहिरहन बाध्य छन् । झिलमीले ताल लगायतका यस्ता थुप्रै प्राकृतिक अनि धार्मिक रुपले महत्व राख्ने गन्तव्यहरुको उचित प्रचार प्रसार हुनु र आवश्यक सरक्षण हुन आजको आवश्यकता हो । सुदूर पश्चिमलाई सुन्दर पश्चिमका रुपमा स्थापित गर्न मद्दत गर्ने यस्ता धरोहरहरुका बारेमा सम्पूर्ण देश र जगतलाई जानकारी गराउन यस्ता क्षेत्रहरुका बारेमा बढि भन्दा बढि चर्चा परिचर्चा गरिनु आवश्यक देखिन्छ । नगर पालिकाको क्षेत्र भित्रै रहेर पनि दुर्गम बनेका यस्ता गन्तव्यहरुलाई पहुँच पूर्ण बनाउनका लागि हर कोहीले आफू सक्दो प्रयासहरु आजकै दिनबाट थाल्नु पर्छ । यति गरे मात्र हाम्रो सुदूरपश्चिमले विकासको घामको स्वाद चाख्न पाउने छ ।

हामीसँग भएका सम्पदा नै हाम्रा सम्पत्ति हुन् । हाम्रो दुर्गमतामा नै दिव्यताको बास रहेको छ । दिव्यता सुगम अवस्थामा फूल्ने फूल होइन । यसको दर्शनार्थ दूर्गमतासँग जुझ्ने साहस सबैमा हुनु पर्छ । झिलमिले तालको अवस्थिति र त्यहाँ पुगे पछिको आनन्दले यही पाठ सिकाउँछ । हामीसँग भएका यस्तै दुर्लभ र दिव्य सम्पत्तिहरुको सहि परिचालनले मात्रै हामी सम्पन्न बन्न सक्छौँ । मटेनाका स्थानीय वासिन्दाहरु समेत यस तालको प्रचार प्रसारले ताललाई एक महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्नुका साथसाथै मटेनामा विकासको झिल्को ल्याउन सफल हुने कुरामा विश्वस्त देखिन्छन् । उनीहरुको विश्वासलाई यथार्थमा बदल्न हामी सबैले आफ्नो क्षेत्रबाट हुन सक्ने सहयोग गरौँ । आऔँ हामी सबै मिली सुदूर पश्चिमलाई सुन्दर पश्चिममा रुपान्तरणको अभियानमा आफू सक्दो सहयोग गराँै ।

raman.paneru@gmail.com






Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

सुधीर शर्माकाे प्रयोगशाला

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी