साहित्य समालोचना देखि लिङ्गभेद सम्मका कुरा (तिमी नारी किन यति हठी ? –३३)


साहित्यिक कार्यक्रममा भाग लिने रहर अहिलेको होइन । सानै उमेर देखि नै  आफूले पढेका किताबका रचियताहरुका बारेमा बढि जान्ने इच्छा हुने उनीहरुसँग सम्बन्धित कुराहरु जान्ने इच्छा हुने र कुनै पनि बौद्धिक बहसका कार्यक्रममा सहभागी हुने रहर लाग्ने गथ्र्यो । कहिले समयले साथ नदिने कहिले अवसर नै नमिल्ने । यस्तै यस्तै भएको थियो ।
संयोगैले भनौँ यसपटक नारी साहित्य र नारी श्रष्टासँग सम्बन्धित कार्यक्रममा सम्मिलित हुन पाउने मौका जु¥यो । साहित्य सिद्धान्त र नारी समालोचक भनी नामाकरण गरिएको उक्त कार्यक्रममा महिलाहरुको बाक्लोे उपस्थिति देखिन्थ्यो । पुरुषहरु पनि उत्तिकै संख्यामा उपस्थित देखिन्थे । उसो त मलाई नारीवाद र नारीवादीहरु उति मन पर्दैनन् । एक लिङ्गको सत्ताको विरोधमा अर्को लिङ्गको सत्ताको वकालत गर्ने एक लिङ्गको वादको विरुद्धमा अर्को लिङ्गको वाद लाद्ने कुरा पटक्कै मन पर्दैैन । तर यसपटक बचन राख्नैको लागि भए पनि पुग्नै पर्ने थियो । त्यसैले पनि सहभागी हुन पुगेको थिएँ ।
कार्यक्रममा अर्चना थापाले प्रमुख बक्ताका रुपमा रहेकी डा.सुधा त्रिपाठी र अर्की बक्ता रजनी ढकालसँग साहित्य सिद्धान्त र नारी समालोचकका बारेमा अन्तक्र्रिया गर्नुपर्ने थियो । कार्यक्रमको सुरुवात समालोचनाको परिभाषाबाट भयो । समालोचनालाई बुझाउने क्रममा समालोचनालाई प्राज्ञिक चिन्तन भन्न मिल्छ वा मिल्दैन, कक्षाकोठाको अन्तिक्र्रिया समालोचना हो या होइन अनि सामान्य पाठकले पुस्तक वा कुनै कृति पढि सकेपछि दिएको पत्रिक्रियालाई समालोचना भन्न मिल्छ वा मिल्दैन भन्ने प्रश्नहरुबाट सुरु भयो । जसको उत्तरका रुपमा समालोचना निश्चय नै प्राज्ञिक चिन्तन भएको र सामान्य प्रतिक्रिया भन्दा केही माथि भएको कुरा समालोचकका रुपमा समेत परिचय बनाउन सफल डा. सुधा त्रिपाठीले व्यक्त गर्नुभयो । उत्तर दिने क्रममा उनले समालोचना भन्नाले साहित्यलाई समाज र मानव जीवनको सापेक्षतामा विश्लेषण गर्ने काम अथवा साहित्यलाई जीवन र जगतको सन्दर्भमा अथ्र्याउने काम हो भनि परिभाषित पनि गर्नुभयो ।
समालोचनाको परिचयकै क्रममा साहित्य र समालोचनामा कुन महत्वपूर्ण भन्ने प्रश्न पनि त्यहाँ उठ्यो । पाठकले पढिसकेपछि साहित्य सहि अर्थमा साहित्य हुने हुँदा पाठक सिद्धान्त अनुसार पाठक वा बौद्धिक पाठकका रुपमा रहेका समालोचक र उनीहरुको समालोचना महत्वपूर्ण हुने भन्ने कुरा एका तर्फ उठ्यो भने अर्को तर्फ साहित्य नहुँदा केको समालोचना गर्ने भन्ने प्रश्न अनुत्तरित हुने हुँदा साहित्य नै मूल भएको र त्यसपछि समालोचना आउने कुरा उठ्यो ।
मेरो विचारमा समालोचक पाठक भएपनि सबै पाठक समालोचक हुन सक्दैन । समालोचक भनेको साहित्य सम्बन्धि विशेष ज्ञान बटुलेको मान्छे हुन्छ भने सामान्य आस्वादनका लागि साहित्य पढ्ने जुनसुकै व्यक्ति पनि पाठक हुन्छ । त्यसैले पाठक प्रतिक्रिया र समालोचनालाई एकै मान्न सकिँदैन । एउटा टेलिभिजन च्यानलहरुमा प्रशारण हुने सांगितिक प्रतिभाको खोजीको कार्यक्रम अन्तर्गत कुनै पनि प्रतियोगिले आफ्नो गायन प्रस्तुत गर्दा सामान्य श्रोताले हचुवाका भरमा वा कर्णप्रीयताका आधारमा राम्रो वा नराम्रो भनि छुट्याउन वा आफ्नो प्रतिक्रिया त दिन सक्ला तर त्यस कार्यक्रममा निर्णायकमा रुपमा रहेकाहरुले जस्तो यहाँ नेर सुर तल गयो यहाँ नेर माथि आयो, अन्तरा मिलेन , आदि जस्ता सुक्ष्म विश्लेशणहरु दिन सक्दैनन् । माथिको उदाहरणमा भनिएको सामान्य श्रोता र सामान्य पाठकको प्रतिक्रिया एकै रुपमा हेर्न सकिन्छ । अनि कार्यक्रमका सांगितिक पृष्ठभूमी बोकेका निर्णायकहरुलाई चाहिँ समालोचकसँग दाँज्न सकिन्छ । जहाँ सम्म रचना र पाठकको कुरा छ पाठकको अभावमा रचना अप्रख्यात हुन सक्छ तर सर्जकले सृजना गरिसकेपछि रचना रचना नै होइन भन्न सकिन्न । वालक जन्मिसकेपछि भोलिका दिनमा उसले नाम कमाउला नकमाउला तर नाम कमाएन भन्दैमा उसको जन्मलाई नै नकार्न भने मिल्दैन ।
साहित्य आस्वादनछिको प्रतिक्रिया पुस्तै पिच्छे फरक हुने कुरा साहित्यकार रुद्रराज पाण्डेयको रुपमति प्रतिको अघिल्लो पुस्ता र अहिलेको पुस्ताको फरक प्रतिक्रिया हुनुले पनि सावित ग¥यो । अघिल्लो पुस्ताले रुपमति जस्ता बुहारीहरुलाई वास्तविक जीवनमै देखेका वा उनीहरुका बारेमा सुनेका हुँदा रुपमति उपन्यास तर्कसंगत लाग्नु र पठनीय लाग्नु स्वाभाविक थियो भने अहिलेका पुस्ता जसले रुपमति जस्ती बुहारी भएर बस्नुलाई पितृसत्तात्मक समाजको सोचको उपज भएको भनि मान्छन्, उनीहरुका  लागि रुपमति उपन्यास उति रुचिकर नलाग्नु स्वभाविकै मान्दछु ।
साहित्यको कुनै भौगोलिक सिमा नहुने हुँदा नेपाली साहित्यलाई पाश्चात्य साहित्यका विचार र वादहरुको कसीमा जाँच्न गलत नहुने कुरा त्यहाँ उठ्यो । यो कुरा आफ्नो ठाउँमा सहि होला । तर भनिन्छ साहित्य समाजको दर्पण हो । साहित्यमा समय र समाज कोरिएको हुन्छ । फरक समाजको फरक साहित्य हुन्छ । त्यसैले एक समाजको साहित्य सिद्धान्तका आधारमा अर्को समाजको साहित्यलाई विश्लेषण गर्नु कत्तिको न्यायोचित हुन्छ भन्ने प्रश्नले मेरा मनमा बुर्कुसी मारिरह्यो । उदाहरणका लागि पूर्वीय साहित्य सिद्धान्त दुःखान्त न ननाटकमका आधारमा यदि पाश्चात्य नाटकहरुलाई जाँच्ने हो भने सेक्सपीयरका रोमियो एण्ड जुलियट लगायतका असाध्यै लोकप्रियता कमाएका नाटकहरु पनि दुःखान्त भएकै कारणले नाटकको परिभाषा भित्र नपर्ने देखिन्छन् ।
दुःखान्त र सुखान्त सिद्धान्तको कारकका रुपमा पूर्वीय र पाश्चात्य समाजले गर्ने ईश्वकरको कल्पना कारकको रुपमो रहेको बुझ्नमा आउँछ । ग्रिक दर्शनवाट प्रभावित पाश्चात्य दर्शनमा ईश्वर भन्नाले मानवीय पीडामा रमाउने शक्ति हो । प्रमिथसले मानवलाई आगो दिएको आरोपमा ईश्वरबाट प्रमिथसले पाएको कठोरताम सजायका मिथकहरु यसका प्रमाण हुन् । त्यसैले पाश्चात्य साहित्यमा कथाको प्रमुख पात्रले आफ्ना सम्पूर्ण सद्गुणहरुका बावजुद पनि दुःख पाएको देख्न पाइन्छ । अर्कोतर्फ पूर्वीय दर्शन अनुसार ईश्वर एक लोक कल्याणकारी शक्तिका रुपमा रहने र जीवनमा विषम परिस्थितिहरुको नतिजा पनि अन्ततोगत्वा सुखमय नै आउछ भन्ने देखिन्छ । त्यसैले यहाँका साहित्यमा कथाका पात्रले घटनाक्रम विकास हुने क्रममा जति नै दुःख पाएका भएपनि अन्ततोगत्वा सुखद अन्तमा कथा टुङ्गिन्छ ।
हुन त आजको समयमा आएर पूर्वीय र पाश्चात्य समाजका साहित्यहरु आफ्ना परम्परागत सिद्धान्तका घेरा भन्दा बाहिर पर्ने गरेकाले पनि पुराना सिद्धान्तका आधारमा पूर्वीय र पाश्चात्य साहित्यको सिमा कोर्न कठीन छ । नेपाली साहित्य जो पूर्वीय दर्शनमा आधारित भएको मानिन्छ त्यसमा पनि वालकृष्ण समकै पालादेखि पाश्चात्य साहित्य सिद्धान्तमा आधारित मुुटुको व्यथा जस्ता साहित्य रचनाहरुले पूर्वीय दर्शनको साँध नाघेको सबैलाई थाहै छ ।
साहित्य लेखनको इतिहास केलाउँदा लेखनका हिसाबमा नारी पछि परेको र विशेष गरी समालोचनालाई बौद्धिक वर्गले मात्रै गर्ने लेखनका रुपमा लिइने हुँदा नारीहरु समालोचक हुन सक्तैनन् भन्ने पुरुष अहंवादी विचारलाई चुनौती दिन समालोचनाका क्षेत्रमा पनि हाल आएर प्रसस्तै नारी समालोचकहरु भइसकेको कुरा कार्यक्रममा सार्वजनिक गरियो । हाल सम्ममा सय जना जति नारी समालोचकहरु भएको कुरा त्यहाँ जानकारी गराइयो ।
त्यसपछि कार्यक्रममा नारी समालोचक भन्ने पदावलीहरु समावेश गरिएको कुरा बाट र बेला बेला नारी साहित्यका कुराहरु उठी रहेका बेला त्यहाँ उपस्थित म लगायतका धेरै पुरुष साथीहरुलाई साहित्यको लिङ्ग छुट्याउनु उचित नहुने कुरा लाग्नु स्वभाविकै थियो । पुरुष त पुरुष त्यहाँ उपस्थित नारीहरु मध्येबाट पनि आफूलाई नारी साहित्यकारमा सिमित राखेकोमा चित्त नबुझाउनेहरु पनि देखिए । पुरुष मध्येबाट एकदुई जना सहभागीहरुले आफ्नो विमति प्रष्टै राखे । प्रतिबादमा पितृसत्तात्मक साहित्यको विरुद्ध नारीवादि चिन्तन आएको र साहित्य सर्जक दुबै लिङ्गलाई समान अवस्थामा नपु¥याउँदा सम्म नारीवादि चिन्तन आवश्यक रहेको कुरा अघि आयो ।

मेरो व्यक्तिगत अनुभव भन्नु पर्दा मेरा लागि लेखकको लिङ्ग न त पढ्ने बेलामा नै अर्थ राख्छ न त प्रतिक्रिया दिँदा नै । मैले म विद्यालयमा पढ्दै गर्दा नै पारिजातका कथा एवं उपन्यासहरु पढेको थिएँ । त्यतिबेला मैले कहिल्यै पनि उनका कथा एवं उपन्यासहरुलाई नारी साहित्य भनेर पढेन । ती रचनाहरु मेरालागि मात्र रचना थिए । उनले लेखेका शीरीषको फुल र बैँसको मान्छे दुबैमा उनले पुरुष पात्रलाई म पात्रका रुपमा उभ्याएर लेखिएका उपन्यास हुन् । दुबै उपन्यास उत्तिकै रुचिकर र पठनीय लागेको थियो । ती दुबै मैले पढेका राम्रा कृतिहरु मध्ये पर्दछन् । ती दुबै उपन्यासहरुमा पुरुष पात्रलाई उभ्याउने क्रममा उति साह्रो गल्तीहरु गरिएको थियो जस्तो मलाई लाग्दैन । बैस आउन आउन लाग्दा पढेको बैसको मान्छेको म पात्रमा कता कता आफूलाई समेत पाएको थिएँ । अंग्रेजी साहित्यको पुस्तकहरुमध्ये हापर लीको टू किल अ मकिङ्ग बड, स्टेफनी मायरका ट्विीलाइट श्रृंखलाका चारै पुस्तक मलाई साह्रै रमाइला लागेका थिए ।  जेके रोलिङ्गको प्रसिद्ध ह्यारी पोर्टर श्रृंखलाको सफलताले पनि साहित्य बलियो भए जो सुकैले लेखेका साहित्य पनि पाठक समक्ष सफल सावित हुन सक्छन् भन्ने तथ्यको प्रमाण हो ।
सायद साहित्यमा लिङ्ग छुट्याउने क्रममै अल्झिएको नेपाली साहित्यले र नेपाली साहित्यका सम्पूर्ण श्रष्टाहरुले आफूलाई निश्चित लिङ्गको साहित्य लेखकका रुपमा उभ्याउनु भन्दा सम्पूर्ण साहित्य जगतकै एक खाँबाका रुपमा उभ्याउनु पर्ने जरुरी देखिएको छ । मलाई लाग्छ, अबको समाजलाई पनि उही पुरातनवादी धारणाले हेर्न खोजियो भने गलत हुनेछ । उहिलेका समयमा नारीका लागि कोरिएका धेरै साँधहरु भत्किसकेका र बाँकि साँधहरु पनि भत्किने अवस्थामा पुगिसकेकाले पनि यी कुराहरु गरि रहन जरुरी छैन । जहाँ सम्म चर्चाको शिखरमा रहेका नारी श्रष्टाहरुलाई समकक्षी पूरुष श्रष्टाहरुले सकेसम्म खुट्टा तान्ने कोसिस गर्ने कुरा त्यहाँ उठेको थियो, त्यसलाई म डार्विन बाजेको अस्तित्वका लागि संघर्ष भन्ने विकासक्रमको सिद्धान्तसँग जोड्न उपयुक्त मान्दछु । त्यो संघर्षमा पुरुषले नारीलाई पछार्ने कोसिस गर्ने मात्रै होइन नारीले नै नारीलाई पछारेका परिदृष्यहरु पनि हामीले हाम्रो समाजमा देख्न सुन्न सक्छौँः सासु–बुहारी, नन्द–भाउजु, देउरानी–जेठानी, सौता–सौता, आदि सम्बन्धहरुमा देखिने संघर्षलाई उदाहरणका रुपमा प्रस्तुत गर्न सकिन्छ । यस बाहेक कार्यक्रममै पनि उपस्थित एक नारी सहभागीले कार्यक्रमका मुख्य अतिथि लगायतको समालोचना विश्लेषणात्मक भन्दा बढि विवरणात्मक हुने गरेको आरोप लगाइ रहँदा र धेरै जसो नारी समालोचनाहरु खाली विवरणले मात्रै भरिएका हुने भन्ने आरोपद्वारा नारी समालोचनाको गुणस्तरमै प्रश्न तेस्र्याइरहँदा त्यसप्रति अतिथिहरु कडा रुपमा प्रस्तुत हुन नसक्नुले मलाई हाँस्न बाध्य पा¥योः र मनमनै मेरो उही पुरानो प्रश्न समेत उमा¥यो तिमी नारी किन यति हठी ?

साहित्यमा लिङ्ग भेदको बहस तात्दै थियो । यस्तैमा कार्यक्रम सकिएको घोषणा गरियो । चिया चमेनाको व्यवस्था रहेछ । चुस्की लाएँ, सुइकुच्चा ठोकेँ ।

 चबmबल।उबलभचग२नmबष्।िअयm

Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

सुधीर शर्माकाे प्रयोगशाला