साउनमा हरियो: संस्कृति कि विकृति ?


 साउनको महिना सुरु भएसँगै चारैतिर हातमा मेहन्दीका अनेकानेक बुुट्टाहरुले सजिसजाउ नारी हातहरु देखिनु, तिनै हातहरुमा हरियो चुरा र सोमवारका दिन शिवालयहरुमा राता सारीहरुमा सजिएका नारी श्रद्धालुहरुको भीड देखिनु अहिलेको नयाँ संस्कृति जस्तै भइसकेको छ । अचेल सामाजिक संजालहरु मध्येको सर्वाधिक प्रयोग कर्ता भएको एक सामाजिक संजाल फेसबुकका भित्ताहरुमा यीनै कुराहरु देख्न सकिन्छ । साउनको १ गते देखिनै फेसबुकका नारी प्रयोगकर्ताहरुले हातमा मेहेन्दीका विभिन्न बुट्टाहरु बनाइएको आफ्ना हातका तस्वीरहरु प्रदर्शनीको क्रम प्रतियोगितात्मक रुपमै अगाडि बढेको देख्न सकिन्थ्यो । त्यस्तै हरियो चुरालाएको तस्वीरहरुको पनि कमि थिएन । यति हुँदा हुँदै समयानुकुल परिवर्तनलाई आत्मसाथ गर्न नसकन्ने नारी जमातहरुले भने यी सबै होडबाजी माथि प्रश्न तेस्र्याएका थिए । कसैले धर्मलाई नै प्रश्न गरेका थिए । साउने सोमबारमा मन्दिर नजानु अधर्मी हुनु हो कि त भनि प्रश्न गर्नेको पनि कमी थिएन । मन्दिर जाने महिलाको ताँतीमा आफू नमिसिएकोमा साययद उनीहरुले आफूमाथि त्यस्तो प्रश्न गर्न पुगेका होलान् । कतिले हरियो चुराको चलन माथि प्रश्न गरेका थिए । हरियो चुरा लाउनै पर्ने हो र भनि प्रश्न गर्नेहरुको पनि कमी थिएन ? अनि कतिले मेहेन्दी लाउन जान्नेहरुको आवश्यक्ता भएको कुरा राखेका थिए । यस्तै यस्तै कुराहरुले फेसबुकका भित्ताहरु भरिएका थिए । यी मध्ये कति संस्कृति र कति विकृति हुन् केलाउने मन लाग्यो र यो लेख सुरु गरेँ । साउने सोमबारको ब्रतको क्रम त निकै पुरानो हो । उहीले पार्वतीले शिवलाई आफ्नो पतिको रुपमा प्राप्त गर्नका लागि साउनका सोमबारहरुमा ब्रत बसेको र उनको मनोकामना पुरा भएको पौराणिक कथनलाई विश्वास गर्दै हालका नारीहरुले पनि ब्रत बस्ने गरेको धेरै भइ सक्यो । विवाहित नारीले पतिको सु–स्वास्थ्यका लागि अनि अविवाहित नारीहरुले असल पतिको कामनाका साथ साउने सोमबारको पुजा गर्ने गरेको पाइन्छ । पहिलेको र अहिलेकोमा परिवर्तन आएको भनेको मन्दिर दर्शनका क्रममा देखिने तामझाम नै हो । शिवदर्शनका लागि लाम लागेका राता साडीमा सजिएका अनि शीर देखि पाउ सम्म गहनाले ढाकिएका नारीहरुले ईश्वर आस्था भन्दा अरु नै कुराका लागि उनीहरु त्यहाँ सम्म धाएको कथा भन्छन् । सायद अचेल शिवदर्शनलाई आफ्नो हैसियत दर्साउने मौकाको रुपमा समेत धेरैले प्रयोग गर्न थालेका छन् । श्रद्धा सुमन अर्पणका लागि शिवालय धाउनेहरु एक थरि छन् भने अर्काथरी शीर देखि पाउसम्म गहनाले ढाकिएर आफ्नो आडम्बर प्रदर्शनको अभीष्ट पुरा गर्नेहरु पनि तिनै शिवालयहरुमा देख्न सकिन्छ । कतिले आफू आस्थावान् भएको देखाउनैका लागि पनि घर आँगनकै देवालयलाई उछिनेर टाढाटाढाका शिवालयहरुमा धाउने कष्ट सम्म गर्न पुग्छन् । फेसबुकमा धेरै युवाहरुले शिवालयको यो लाम देखि अतासिनेहरुले यो लामको कुरा उल्लेख गर्दै देवकोटाका ‘कुन मन्दिरमा जान्छौ यात्री’ जस्ता उद्गारहरु समेत उल्लेख गरेका थिए । शिवालयमा लाग्ने लाम शिवदर्शनका लागि थियो भने त्यो लाम दर्शनका लागि शिवालय धाउनेहरुको पनि कमी थिएन । युवा जमातहरु पनि त्यस्तै अभीष्टका साथ शिवालयहरु सम्म धाएका कथाहरु पनि फेसबुकका भित्ताहरुमा जताततै पोतिएका पाइन्थे । साउने सोमबारको शिवालय दर्शन एकातर्फ छ भने अर्को तर्फ हालका वर्षहरुमा देखिएको साउनको महिना सुरु हुने बित्तिकै सबै नारीहरुले हरियो रंग प्रतिको आफ्नो मोह दर्साउनु रहेको छ । साउनको महिनालाई नारीहरुले हरियो चुरा, हरियो सारी र हुँदा हुँदा हरियो नङ पालिस सम्म लाउने अवसरको रुपमा लिने गरेको समेत देखिने गरेको छ । हरियो चुरा त एक हद सम्म ठिकै थियो तर हातका नङहरुमा लाउने नङ पालिस समेत हरियै लाउने क्रमले पो यो संस्कार हो वा देखासिखिको प्रतिफल हो भनि सोच्न बाध्य बनाएको छ । साउनको महिनामा हरियो लाउनु अहिले हाम्रो संस्कृति जस्तै भइसकेको छ । यो हरियो रंगको संस्कार कताबाट सुरु भयो भन्ने कुरा कतै पनि उल्लेख गरिएको पाइँदैन न कसैले जवाफ नै दिन सक्छन् । कतिले भन्छन् यो सबै हिन्दी टेलिचलचित्रहरुको प्रभावबाट उत्पन्न संस्कृति हो । हिन्दी टेलिचलचित्रका अम्मली नेपाली नारीहरुले हिन्दी चलचित्रमा गरेको कुरालाई वास्तविक जीवनमा उतार्न होडबाजीको प्रतिफलका रुपमा यो हरित संंस्कृति नेपाली समाजले ग्रहण गर्न पुगेको हो भन्ने धेरैको भनाइ रहेको देख्न सुन्न सकिन्छ । साउनमा हरियो लाउनु न त हाम्रा कुनै धार्मिक किताबहरुमा उल्लेख गरेको सुन्न पाइन्छ न त यसको अरु कुनै सार्थकता देखिन्छ । साउनमा हरियो चुरा लाउने हरुलाई नै यसको कारण थाहा हुँदैन । सोध्दा अरुले लाएकोले आफूले पनि लाएको भनि उत्तर दिन्छन् । एक युवतीसँगको कुराकानीमा उनले मालाई चुराको रंगको अर्थ लाइन् । यदि कुनै महिलाले हरियो चुराका साथमा रातो चुरा लाएकी भए ती महिला विवाहित भनि बुझ्नु पर्छ ।यदी कुनै महिलाले हरियो चुरासँग पहेँलो चुरा लाएकी भए छन् भने ती महिला कसैसँग प्रेम सम्बन्धमा छिन् भनि बुझ्नु पर्छ । यदी कुनै महिललाले हरियो चुरा मात्रै हातमा लाएकी भए ती महिला असल सहयात्रीको खोजीमा छन् भन्ने बुझ्नु पर्छ । यसो हेर्दा हातमा लाएको चुराको रंगको अर्थ र सडकको ट्राफिक संकेत गर्ने बत्तीको जस्तै जस्तै देखिन जान्छ । पहेँलो बत्ती पछि रातो बत्ती बल्नु ः प्रेम सम्बन्ध पछि विवाह हुनु ः हातमा पहेँला चुरा लाएपछि रातो चुराको पालो आउनु कसो कसो मेल खाए जस्तै लाग्ने । अब यो संस्कारको कुरा कुन चाहिने पुराणमा लेखेको छ त्यो चाहिँ कसैलाई थाहा छैन । फेरी यो लहर आएको धेरै पनि भएको छैन । तर यसको व्यपकता भने वर्षै पिच्छे बढ्दै गइ रहेको छ । हरियो चुरा पछि मेहेन्दीको कुरा । साउन मै मेहेन्दी लाउने चलन पनि अचेल बढ्दै गएको देख्न पाइन्छ । विवाहित र अविवाहित सबै महिलाले यो महिनामा मेहेन्दी लाएको देख्नु सामान्य हो । मेहेन्दी लाउने काममा विद्यालयका ससाना किशोरीहरु पनि पछि परेको देखिन्न । उनीहरुले पनि विद्यालयको नियमअनुसार हातमा साना ठूला मेहेन्दीका बुट्टा भरेको देख्न सकिन्छ । अनेकानेक आकर्षक मेहेन्दीका बुट्टा भरिएका नारीहातहरु देख्नु साउन आएको संकेत जस्तै भएको छ । यसरी अबका दिनमा साउन लागेको थाहा पाउन पात्रौ पल्टाइ रहनु नै नपर्ने भएको छ । नारी हातमा हरिया चुरा, मेहेन्दीका बुट्टा र सोमबारका दिनमा सदा भन्दा बढि महिलाहरुको लाम देखियो भने बुझे हुन्छ साउन लाग्यो । मौसम परिवर्तनका कारण वर्षाको ठेगान नभएकाले पानी परेपछि साउन लाग्यो भन्ने बेला रहेन अब । बरु महिलाहरुकै गतिविधिलाई सूचकका रुपमा लियो भने सजिलो हुने देखिन्छ । हुन त मेहन्दी लाउनु, शिवालय दर्शन गर्नु (हैसियत प्रदर्शनका लागि नभइ दर्शनकै लागि गरिने दर्शन), हरियो चुरा र त्यसमा अनेक अर्थ दिने उद्देश्यले पहेँला र राता चुरा लाउनु, आदिले ज्यादै ठूलो नकारात्मक प्रभाव पार्छ भन्ने त होइन र पनि यस्ता कुराहरुको होडबाजीले अर्थ नपाइ गोबिन्द गाइ भन्ने हाम्रो लोकोक्तिलाई भने चरितार्थ पारेको देखिन्छ । यी सबै कुराहरुले अरुले जे ग¥यो आफूले पनि त्यही गर्ने देखासिकिको संस्कृतिलाई भने बल पुगाएको देखिन आउँछ । नयाँ पुस्ताले पनि विना कुनै प्रश्न यस्ता संस्कारहरुलाई अँगाल्दै जानुले भोलिका दिनमा हाम्रो संस्कृतिको नाममा कुन चाहिँ विकृतिले समाजमा स्थान पाउने हो भन्ने कुरा चाहिँ सोचनीय छ । समाजमा देखिने यस्ता किसिमका लहरहरुसँगै भित्रिएका विकारहरु र भोलिका दिनमा अझै भित्रिन सक्ने गलत प्रचलनहरुका बारेमा भने समयमै सबैले सचेत हुनु जरुरी छ ।

Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

सुधीर शर्माकाे प्रयोगशाला