बाली खाने खोलो
- Get link
- X
- Other Apps
तराईको प्रचण्ड गर्मी छल्ने विकल्पहरु मध्येमा पर्ने जलकृडाले यसरी ज्यानै लिने गरेका घटनाहरु नयाँ होइनन् । यस्ता घटनाहरु धेरै पहिले देखि घट्दै आएका घटनाहरु हुन् । तर यी घटनाहरुले स्थानीय पत्रपत्रिकाहरुमा छापिने समाचारको शीर्षको स्थान लिने बाहेक अन्य कुनै उपलब्द्धि हाँसिल गर्न पाएका छैनन् । घटना घट्छ । पिडित भावविह्वल हुन्छन् । कुरा सेलाउँछ । त्यस्ता घटना नहोउन् भन्ने उद्देश्यले कसैले केही गर्दैनन् ।
वर्षा याममा जलासयमा जम्मा हुने पानीले वालवालिकाहरुको ध्यान तान्नु स्वभाविकै हो । यस्ता जलासयहरुमा जान परिवारका ठूला सदस्यहरुको रोकटोक लगाउने हुँदा त्यो रोकटोकबाट बच्नका लागि उनीहरु लुकिछिपी त्यस्ता जलासय जाने गर्छन् । यसरी जलासयहरुमा जाँदा ठूलाबडाको निगरानीका अभावमा ससाना वालवालिकाहरु पत्याउनै नसकिने गरी ज्यान गुमाउन पुग्छन् । यस्ता घटनाहरु प्राय एकै उमेरका नावालकहरु त्यस्ता जलासयमा पुग्ने गर्छन् । पौडी खेल्न नजान्नु, पानीको उच्च प्रवाह गति, धमिलो पानीका कारण गहिराइको सहि अनुमान लाउन नसक्नु, नदि किनारका भासिने स्थानहरु, आदि विविध कारणले गर्दा त्यसखाले घटनाहरु घट्ने गरेको पाइन्छ ।
उहीलेउहीले, आजभन्दा झण्डै दश वर्ष अघिका दिनहरुमा पनि यस्ता घटनाहरु सुनिन्थे । त्यसबेला म विद्यालयमा पढ्थेँ । त्यो बेला पनि विद्यालयमा मोहना नदीमा पौडी खेल्न भनि गएका वालवालिकाहरुको मृत्यु भएको खबरहरु आइ नै रहन्थे । कति पय घटनाहरुमा त घरपरिवारलाई खबर नगरीकनै एकै परिवारका दाजुभाइ त्यस्ता ठाउँहरुमा गएको अनि पौडी खेल्दाखेल्द एकजना डुब्ने क्रममा उद्धारमा जाने अर्को बालकको समेत मृत्यु हुने खबरहरु सुनिन्थे । एकपटक त विद्यालयको वनभोजका क्रममा एक वालकले पौडी खेल्न जाँदा ज्यान गुमाउन पुगेको घटनाले गर्दा धनगढीका विद्यालयहरुको वनभोज लैजाने क्रम नै निकै वर्षसम्म रोकिएको थियो । वनभोजका क्रममा ज्यान गुमाउने क्रम त टुट्यो तर अन्य अवसरमा त्यसरी ज्यान गुमाउने घटनाहरु रोकिएनन् । वर्षेनी त्यस्ता दुःखद समाचारहरु आइ नै रहे । आजका दिनमा पनि त्यस्ता समाचारहरु आइ नै रहन्छन् । कैयौँ कोख बाँझा बन्छन् । बुढा हुँदाका लाठीहरु भनि सोचिएका कलिला मुनाहरु दरो हुन नपाउँदै भाँचिन्छन् ।
मोहना जान उति गाह्रो नहुने हुँदा सो नदी धेरै जस्ता वालवालिकाहरुको रोजाइमा पर्ने गर्र्दथ्यो । हिँडेरै या साइकलमा चढेर धेरै बालबालिका विदाका दिनमा त्यहाँ पुग्ने गर्दथे । त्यतिबेला वर्षेनी मोहना नदिमा हुने बालबालिका डुबानको घटनालाई जोडेर मान्छेहरुले मोहनाले वर्षैपिच्छे बलि खान्छ भन्ने जस्ता लोकोक्ति पनि चलाएका थिए । हामी सबै त्यस्ता कुराहरु गरेर सकेसम्म आफूलाई त्यस्ता जलासयबाट टाढै राख्थ्यौँ । अझ मोहना किनार तिर घर भएका साथीहरु थप भूत प्रेतका घटनाहरु थपिदिन्थे । हिउँदमा जलस्तर घटेका बेला कहिलेकाहीँ गएपनि वर्षायाममा भने कहिल्यै त्यस्त ठाउँमा गएनौँ । अझ कतिले भन्थे मोहनामा भएको भूतले वर्षै पिच्छे त्यहाँ पौडी खेल्न आउनेहरुलाई पानीमुनि बाटै तान्छ र जस्तै पौडी खेल्न जान्ने मान्छे पनि ज्यान गुमाउन पुग्छ । यस्ता भनाइहरुमा हाम्रा परिवारका ठूला सदस्यले पनि सहि थाप्थे । सायद यस किसिमका भनाइहरुबाट वालवालिकाहरु त्यस्ता ठाउँमा नजाउन भनेर उनीहरुले त्यस्ता भनाइमा सहि थपेको हुन सक्छ ।
जे होस् यस्ता किसिमका गलत (?!) प्रचारले नै भएपनि मलाई विद्यालय उमेरमा यस्ता जलासयले कहिल्यै तान्न सकेन । उसो त मोहना पुग्दा देखिने सर्पाकृतिमा बगेको मोहना नदी र त्यसको बलौटे बगर अनि बगर पारिको हरियो जंगलको मनोरम दृष्य कम मनमोहक भने थिएन । त्यसै माथि त्यहाँ पुग्दा देखिने स्थानीयहरुको भीड र आफू भन्दा साना उमेरका बालबालिका समेत आरामले पौडी खेलेको दृष्यले बेलाबेला हौस्याउनै नहौस्याएको भने होइन । तर रहर भन्दा डर नै हावी भयो त्यसैले गइनः जोगिएँ ।
यसरी तराईका जिल्लाहरुमा उच्च गर्मी छल्नका लागि जलकृडामा जाने वालवालिकाहरुले सो क्रममा आफ्नो ज्यानै गुमाउनु पर्ने घटनाहरुले बेलाबेला हामी सबैलाई कुनै न कुनै रुपमा प्रभाव पार्ने गरेको देखिन्छ । कतिपय अवस्थामा ती मृत्युहुनेहरुमा आफन्त पर्दाको चोट सायद हामी मध्ये धेरैले खेपेकै हुनुपर्छ । जीवनमा केही गर्लान भन्ने आमाबाबुको आशाको दियो नै निभाउने गरि घट्ने यस्ता घटनाहरु निरन्तर भइरहँदा पनि यस्ता घटनाहरुलाई नियन्त्रण गर्नका लागि कुनै ठोस प्रयासहरु भइरहेको भने देखिँदैन । यस्ता अप्रत्यासित घटनाहरुले एक व्यक्ति र परिवारलाई मात्रै होइन सम्पूर्ण समाजलाई नै पनि ठूलो क्षति पारिरहेको हुन्छ । वालवालिका संभावनाका पोका हुन । आजका वालवालिका भोलिका कर्णधार भन्ने नारा विद्यालय पसेका सबैले वालदिवसमा गाएकै होलान् । अनि यस्ता कर्णधारहरुले यसरी अल्पायुमै मृत्यु वरण गर्नु भन्दा दुःखद स्थिति अरु के हुन सक्छ ।
यस्ता घटनाहरुका बारेमा सहि प्रचारप्रसारको साटो खोलाले बलि खाने जस्ता अनेकानेक अन्धविश्वासी कथनहरुको चर्चा हुनु अनि यस्ता वर्षेनी हुने दुर्घटनालाई रोक्नका लागि कहिँ कतैबाट प्रयासहरु नगरिनु दुखद कुरा हो । यस्ता घटनाहरुको शिकार हुने उमेरका बालबालिकालाई विद्यालयमा वा घरमै पनि जलासयमा जाँदा हुनसक्ने सम्भावित दुर्घटनाहरुका बारेमा निरन्तर रुपमा सजग बनाइ राखिएको खण्डमा सायद यस्ता घटनाहरुको संख्यामा केही कमी आउने थियो कि ? यस्ता घटनाहरु घट्ने भनेको वर्षा यामका बेलामा हो । अनि वर्षायाम सुरुवात हुँदा यस्ता घटनाहरुको शिकार हुने गरेका सम्भावित उमेरका वालवाकिकाहरुका लागि विशेष किसिमको सचेतनाका कार्यक्रम मात्रै ल्याउन सकियो र उनीहरुलाई यस्ता जलासयबाट टाढा रहनका लागि समयमै सचेत बनाउन सकियो भने सायद यस्ता दुर्घटनामा कमी ल्याउन सकिन्थ्यो कि ? यस्ता घटनाका शिकार हुने उमेरका सम्भावित वालवालिकाहरुका हकमा उनीहरु कहाँ जान्छन् ? के गर्छन् ? आदि कुराहरुका बारेमा विद्यालय र अभिभावक दुबैले उत्तिकै चाँसो र हेरचाह गरिदिए पनि सायद यस्ता घटनाहरुमा केही कमी ल्याउन सकिन्थ्यो कि ? त्यसै गरी संचार क्षेत्रले पनि घटना घटिसकेपछि समाचार बनाउने मात्रै नभइ यस्ता दुर्घटनाका घट्न नदिनका लागि जनचेतनामुलक सामग्रीहरु प्रचार प्रसार गरिदिएर समाज प्रतिको आफ्नो उत्तरदायित्व बुझिदिए यसता घटना निदानमा केही सहयोग हुने थियो कि ? सबैले सोच्ने बेला भएको छ ।
वर्षा याममै अनेकन चाडपर्वहरु पर्ने गर्छन् । यस्तै चाडपर्वको माझमा परिवारमा यस्ता दुःखद घटना घट्नुले उत्सवको माहोललाई नै खल्लो बनाइ दिने गर्दछ । समाजको जुनसुकै परिवारमा यस्ता घटना घटे पनि सम्पूर्ण समाजले नै त्यो क्षतिको मोल तिर्नु पर्छ । फेरी यस्तो घटना जसको जीवनमा पनि घट्न सक्छ । घटना घटि सकेपछि दुःख मनाउ गर्नु भन्दा घट्न नै नदिनका लागि प्रयासहरु गर्नु राम्रो हुन्छ । हामी सबैले आ–आफ्नो स्थानबाट आफ्ना दायित्वहरु बुझ्नु र तिनलाई निभाउन सक्नु पर्छ । यस्ता घटनाहरुबाट सिक्ने पाठ यही हो । नत्र खोलाले बलि खाने क्रम रोकिने छैन ।
- Get link
- X
- Other Apps
Comments
Post a Comment