महिला अधिकार र यौन स्वतन्त्रता



लैङ्गिक विभेदका बारेमा हालमा आएर निकै बहसहरु चलिरहेका छन् । विगतका केहि दिनमा सेतोपाटीका लेखहरुमा महिला यौन स्वतन्त्रताको पक्ष र विपक्षमा गरिएका तर्कहरु निकै पढ्न पाइयो । यौन जस्तो विषयको यसरी सामाजिक संजालमा भएको छलफल एक दमै राम्रो हो । हाम्रो समाजमा यसबारे खुलेर कुरा नहुने हुँदा नै अनेकौँ अन्धविश्वासहरु मौलाउने गर्छन् । महिलाहरुको यौन स्वतन्त्रताको हकमा पनि त्यस्तै अन्धविश्वासहरु हावी भएको पाइयो । दुई वर्षको जर्मन बसाइ र हालको अमेरिकाको बसाइले विभिन्न पश्चिमा देशहरुका साथीहरु बनाउने मौका मिलेको छ । त्यही मौकाको सदुपयोग गर्दै मैले एक साँझ उनीहरुको यसप्रतिको धारणा बुझ्ने प्रयास गरेको थिएँ । केही उनीहरुको विचार र केही आफ्नो अनुसन्धान समेटेर यो लेख तयार पार्दै छु ।
जब महिला अधिकारको स्थितिको कुरा आउँछ तब यूरोप र अमेरिकाका महिलाहरु सबैभन्दा बढि अधिकार सम्पन्न महिलाका रुपमा लिइन्छ । यो एक हद सम्म सहि पनि हो । तुलनात्मक रुपमा नेपाली समाजका महिलाहरुभन्दा यहाँका महिलाहरुले बढि मात्रामा अधिकारहरु प्रयोग गर्न पाएका छन् । तर के पनि सत्य हो भने महिला अधिकारको यहाँको स्थितिबाट यहाँका महिलाहरु भने उति सन्तुष्ट छैनन् । यहाँ पनि अझै धेरै सुधारहरुको खाँचो छ । असमान ज्याला, रोजगारीका अवसरमा भेदभाव, सुत्केरी अवस्थामा मिल्ने विदा तथा सामाजिक सुरक्षा, महँगो शिशु स्याहार, यौन हिंसा, आदि यहाँका महिलाहरुका चाँसोका विषय हुन् । अमेरिका भन्दा तुलनात्मक रुपमा स्वीडेन लगायतका पश्चिमी युरोपका देशहरुमा महिलाहरु बढि अधिकार सम्पन्न रहेको पाइन्छ । महिला मात्रै नभएर पुरुष तथा बालबालिकाका लागी पनि त्यहाँको स्वास्थ्य तथा सामाजिक सुरक्षाको स्थिति अमेरिकाको भन्दा उच्च कोटीको मानिन्छ ।
Women and girls held candles outside Ms Albayrak's hospital in Offenbach on Friday, Source: BBC
पश्चिमा देशहरुमा महिला अधिकारको स्थिती बुझ्न महिलामाथिका विभेद र हिंसा सम्बन्धी सामाचारहरुलाई आधार बनाएर यहाँको समाज बारेको नेपाली धारणा सच्याउन चाहन्छु । बिबिसी समाचार अनुसार आज (६ डिसेम्बसमा) लन्डन स्थित क्लारिज होटेल बाहिर सामुहिक स्तनपान गराएर महिलाहरुले स्तनपानका क्रममा स्तन ढाक्नु पर्ने भनाइ प्रतिको विरोध गरिँदै छ ।१ जर्मनीमा फ्रान्कफर्ट नजिकैको ओफेनबाख नामक सहरमा १५ नभेम्बरका दिन तुग्चे अल्बेराकले(Tugce Albayrak) पुरुषहरुको एक समुहको कुटपिटको कारण ज्यान गुमाउनु प¥यो । ती पुरुषहरुले दुख दिइरहेका दुई अन्य महिलाको बचाउ गर्न खोज्दा उनले ज्यान गुमाउनु प¥यो । उनको समर्थनमा अहिले हज्जारौँ जर्मन नागरिकहरु सडकमा ओर्लिएका छन् ।२ बलात्कार, दुव्र्यवहार, हाडनाता राष्ट्रिय संजाल (रेप, एब्युज, इन्सेस्ट नेश्नल नेटवर्क)को तथ्यांक हेर्ने हो भने अमेरिकामा प्रत्येक दुई मिनेटमा एक अमेरिकी महिला यौन हिंसाको सिकार हुन्छे र वार्षिक दुइ लाख भन्दा बढि महिलाहरु यौन हिंसाका सिकार हुन्छन् । ३ त्यस्तै ह्वाइटहाउसको परम्परागत टर्की भोजका अवसरमा उपस्थित ओबामाका छोरीहरुमाथिको एलिजाबेथ लटनले गरेको टिप्पणीले वाहवाही पाउनुको सट्टा दुरुत्साहित भयो । अन्तमा उनले राजीनामा दिइन ।५ महिला माथि हुने हिंसाका तथ्यांकहरु हेर्दा प्राय युरोप र अमेरिकाका सबै देशहरु समाबेश छन् । यसबाट के प्रष्ट हुन्छ भने पश्चिमा मुलुक महिला हिंसा पूर्ण रुपमा मुक्त छैन ।
म आफ्ना जीवनसँग सम्बन्धित सबै निर्णयहरु आफै लिन चाहन्छु । पक्कै पनि महिला र पुरुष शारीरिक र मानसिक रुपमा भिन्न छन् । तर सबैलाई आफुखुशी गर्ने उत्तिकै अधिकार हुनु पर्दछ । समाजमा लैङ्गिक भुमिकाहरु निर्धारण गरिएको भएपनि कहिलेकाहिँ म ति घेराहरु तोड्न मन पराउँछु । उदाहरणका लागी मलाई केटाहरु जस्तै गरि खुट्टा फैलाएर बस्न मन लाग्छ । महिलाबादी हुने नउँमा केही महिला अधिकारकर्मीले चलनचल्तीका पदावलीहरुलाई फेरेर दुबै लिङ्ग समेटिने पदावलीहरु राख्ने कुरा मलाई हास्यास्पद लाग्छ । एक टर्किस युवक सँगको सम्बन्धका क्रममा उसको इच्छा विपरित म सँधै आफ्नो बिल आफै तिर्न चाहन्थे कारण ऊ नहुँदा मेरो संसार भताभुङ्ग नहोस् र म सधैँ स्वाभलम्भी रहिरहुँ । म मनलागेको बेलामा आउने र जाने गर्थे । मेरो नियन्त्रित भएर नरहने बानी र आफ्नो हेरचाह आफै गर्न मनपराउने बानीलाई लिएर उसले म पुरुष जस्तै भएको र सम्बन्धमा रहन नचाहेको आरोप लाउथ्यो । घरायसी कामधन्धामा मेरो (हुनेबाला) पति निकम्मा नै छ र मनै पराउँदैन भनेपनि म चाहन्छु कि कामको बाँडफाँडहोस् किन कि मलाई पनि कुनैकुनैबेला दिक्क लाग्छ । मेरा आफ्नै गोप्यनीयताहरु छन् । मलाई अरुले मेरो बारेमा निर्णय गरेको मन पर्दैन । जर्मनी पढ्दाकी साथीले सम्बादका क्रममा महिला अधिकार सम्बन्धीको आफ्ना धारणा सुनाइ ।
अब यौन स्वतन्त्रताको कुरा गरौँ । यौन स्वतन्त्रता भनेको के ? भनेर मैले खासै बुझ्न सकेको छैन । यदि मनलागेको व्यक्ति सँग यौन सम्पर्क गर्न पाउनु भन्न खोजेको हो भने त्यो युरोप अमेरिका तथा युरोपमा कानुनी रुपमा छुट छ । निश्चित उमेर पछि त्यस्तो सम्बन्धलाई कानुनी छेकबार छैन । तर समाजको त्यसप्रतिको धारणा भने अझै पनि परम्परागत धारणा भन्दा पुरै फरक हुन सकेको छैन । विगतका तुलनामा बढि फराकिला भएपनि यौन जीवन पूर्णतया व्यक्तिगत जीवनमा परिणत हुन सकेको छैन । अर्थात समाजले अझै पनि त्यसमा चाँसो राख्छ । थुप्रै युवा तथा युवतीहरुसँगको सम्बादमा मैले के चाहिँ समान पाए भने यहाँ विवाहका लागि महिलाहरुको कुमारित्व उति महत्वपूर्ण हुँदैन । महिलाको विगतको यौन क्रियाकलापको संलग्नता नै उनको दाम्पत्य जीवन सफल वा असफल हुने कारक त हुँदैन । तर बढि सम्बन्ध गाँस्ने महिलाहरु प्रतिको महिला एवं पुरुषहरु दुबैको धारणा उति राम्रो हुँदैन । अमेरिकाका एक इसाई धर्माबलम्बी मित्रले त झन् सहि सुख पाउनका लागि पुरुष र महिला दुबैले एक अर्काका लागि कुमारित्व बचाउनु पर्ने तर्क राख्थे । हिन्दु, मुस्लिम या इसाइ जुनसुकै धर्म भएपनि मैले भेटेका सबै धर्मका कट्टर अनुयायीहरु यो कुरालाई मान्छन् ।  
प्रेम सम्बन्ध र विवाहका सवालमा पनि यहाँको समाज नेपाली समाज भन्दा फरक छ । यहाँ प्रायस प्रेम सम्बन्धहरुको आयु छोटो हुन्छ । सम्बन्धहरु अर्थहीन भइसक्दा पनि निरन्तरता दिनुपर्ने बाध्यता नहुनु अथवा पारस्परिक सहिष्ण्ुताको अभावमा पनि यसो भएको हुन सक्छ । विवाह त लगभग पुरानो धारणा भइसक्यो । विना विवाह सँगै बस्ने र सन्तान जन्माउनु अचेल अनौठो मानिँदैन तर सबैले त्यसो गर्ने भने चाहिँ पक्कै होइन । महिलाहरुले पुनर्विवाह गर्नु सामान्य हो । मसँग पढ्ने धेरै युवायुवती सौतेनी बाबुसँग बस्थे । तर विवाह र प्रेम सम्बन्धमा प्रवेश गरिसकेपछि इमान्दार होस् भन्ने महिला पुरुष दुबैको चाहना हुन्छ ।
कानुनी रुपमा यहाँ सबैलाई आफुले चाहेको व्यक्तिसँग विहे गर्ने, वा शारीरिक सम्बन्ध राख्ने, अथवा गर्भाधान गर्ने वा नगर्ने छुट छ । हामी आफ्नो लिङ्ग परिवर्तन सम्मको निर्णय गर्न वा तेश्रो लिङ्गीका रुपमा बाँच्न पनि स्वतन्त्र छौँ । महिला यौनकर्मी हुन पनि स्वतन्त्र छे र उसले मनलागेको सम्बन्ध गाँस्न पनि पाउँछे । महिलाहरुलाई नाइ भन्ने अधिकार छ । र हो समाजले अझै पनि स्वेक्षाचारी यौन सम्बन्धहरुलाई निन्दनीय नै मान्छ । एक पटक नेपाल सम्म पुगेकी सेरी म्यान्फिल्ड मेरो अमेरिकी समाजमा यौन स्वतन्त्रताको अवस्था सम्बन्धी जिज्ञासाको प्रतिउत्तरमा भनिन् । त्यस्तो स्वतन्त्रताले महिला माथिको हिंसा रोकिएको छ त भन्ने सबलमा उनले थपिन्, ‘अबश्यै पनि छैन । स्वतन्त्र हुँदैमा हिंसा नै हुँदैन भन्नु मुर्खता हो । हाम्रो समाजमा अझै पनि विकृत मनस्थितिका पुरुषहरु छँदै छन् । उनले अमेरिकामा हुने महिलामाथिको हिंसामा प्राय पुरुषहरुको हात हुने कुरा पनि बताइन् ।
नेपालमा हुने महिला हिंसाको प्रकृति र त्यसलाई हेरिने दृष्टिकोण अन्य विकसित देशहरुको दाँजोमा फरक पाइन्छ । उदाहरणका लागी संयुक्त राष्ट्र संघको तथ्याङ्कमा नेपालमा हुने महिलामाथिको हिंसालाई श्रीमानको भनेको नमानेको, खाना डढाएको, नसोधी बाहिर गएको, बच्चाहरुको सहि देखभाल नगरेको र यौनमा सहभागी नभएको कारणहरु देखाइ जायज बनाइने गरिन्छ । त्यस्ता कारणहरुका आडमा गरिने महिला हिंसा नेपाल बाहेक फिलिपिन्स र प्राय अफ्रिकी मुलुकहरुमा पर्दछन् ।४ ओबामाका छोरीहरुमाथि भएको टिप्पणी जस्तै नेपालमा विगतमा शुशील कोइराला अमेरिका गएका बेला मृदुला कोइरालाको औपचारिक कार्यक्रमको उपस्थितीमा लगाएको पहिरनका टिकाटिप्पणी र आलोचना गर्दै समाचार र छापाहरुले निकै समय र शब्दहरु खर्चे । हाम्रो समाजले त्यसलाई सहज स्वीकार ग¥यो । त्यसको कुनै विरोध भएन ।
मैले आफ्ना नेपाली साथीभाइलाई पनि यसका बारेमा सोधेको थिएँ । प्राय सकारात्मक थिए । कतिपय अवस्थामा नेपाली युवतीहरु विदेशी महिलाहरु भन्दा पनि पराकिला बिचार राख्थे । जस्ले जस्तो आचरण देखाउन खोजे पनि ऊ स्वतन्त्र हुनु पर्छ । भन्ने तर्क थियो । पुरुषहरु स्वतन्त्रता मात्रैले महिलासँग सम्बन्धित सबै समस्या छु मन्तर नहुने तर्क गर्थे । अमेरिकी महिला सेरी ले पनि त्यही कुरा भनिन् । व्यक्तिगत अपेक्षा भन्नु पर्दा मलाई पनि यौन अनुसासनको पालना भइदिए हुन्थ्यो भन्ने लाग्छ । सायद संस्कार र सामाजिक मान्यताका आधारमा पनि त्यस्ता मान्यताहरु निर्माण भएको हुनु पर्छ ।
यसो हेर्दा दुबै समाज पूर्ण रुपमा महिला विरुद्धको हिंसाबाट मुक्त छैन । पश्चिमा मुलकका महिलाहरु बढि अधिकार सम्पन्न र त्यहाँको समाज बढि सचेत हुँदा हुँदै पनि पश्चिमा समाजका महिलाहरुको स्थितिका नेपामा सोचिने भन्दा निकै फरक छ । तर के कुरा चाहिँ फरक छ भने समाजले प्राय एकै स्वरमा त्यस्ता घनटाहरुको विरोध गर्छ । विकसित समाजमा कम से कम महिला बाटै महिला माथि हिंसा र भेदभावका घटनाहरु प्राय सुनिँदैनन् । हाम्रा समाजका पुरुषहरु जत्तिकै छोरी र बुहारीमा भेद गर्ने आमाहरु पनि उत्तिकै दोषी छन् । भाउजु र नन्दहरु पनि एक अर्का प्रति हुने हिंसा र भेदभावपूर्ण व्यहारहरुका लागी उत्तिकै जिम्मेबार छन् ।
महिला यौन स्वतन्त्रताको कुरा गरौँ । हाम्रो समाजमा यौन स्वतन्त्रता कसलाई छ ? लुकिछिपि गर्नेका बात छोडौँ, खुल्लम खुल्ला त्यस्ता सम्बन्ध स्थापित गर्नेहरु कति छन् ? होटेलका कोठाहरुबाट प्रहरीले महिलालाई मात्रै समात्छ वा पुरुषलाई समेत थाना पु¥याउँछ । अनि ल पुरुषहरु लुकिछिपी भएपनि त्यस्ता कृयाकलापमा संलग्न छन् भने कोसँग सम्पर्क राख्छन् त भनेर मलाई प्रष्ट पारिदिने कोहि छ ? बहुविवाहको हकमा हाम्रो समाज पुरुषहरु प्रति लचिलो छ तर ती पुरुषका पत्नी बनेर आउने त उही नारी न हो । पुरुषहरु त माने महिलाका शत्रु नै भए, के हाम्रो समाजमा यौन स्वतन्त्रताका लागी महिलाहरु नै तयार छन् त ? आमाहरु तयार छन् छोरीहरुलाई मनलागी यौन सम्बन्ध स्थापित गर्न दिनलाई ? सासुहरु तयार छन विवाह पूर्व सम्बन्ध राखेका महिलाहरुलाई बुहारीका रुपमा स्वीकार गर्नलाई ? एकल महिलालाई परिवारबाट विदा गर्न सासुहरु तयार छन् ? ती विदा गरिएका बुहारीलाई कुनै पुरुषले अपनाएमा स्वीकार्न ती पुरुषका आमाहरु तयार छन् ? परिवारका अन्य महिला सदस्यहरु तयार छन् ? कम से कम महिलाको मुद्दामा महिलाहरु एकजुट भइदिए पनि ती मुद्दाहरुलाई आधा जनसंख्याको मत प्राप्त हुने थियो ।
महिलाहरुलाई अधिकार सम्पन्न जीवन बाँच्नबाट बञ्चित गराउने महिलाहरुको आर्थिक परनिर्भरता पनि हो । यदि महिला आर्थिक रुपमा सम्पन्न छ भने उसले पनि कसैको दबाबमा बसिरहनु पर्ने आवश्यकता हुँदैन । उसले मनलागी गरेर बाँच्न सक्छे । पश्चिमा मुलुकमा महिलाहरु बढि अधिकार सम्पन्न हुनुको पछाडिका कारणहरु उनीहरुको सबल आर्थिक अवस्था पनि हो । अठार वर्ष कटेपछि प्राय किशोर किशोरीहरु आमाबाबा बाट अलग्गिएर बस्न थाल्छन् । त्यसपछि उनीहरु व्यक्तिगत स्वतन्त्रताको उपभोग गर्छन् । माथि राखिएको भनाइमा जर्मनकी साथीले उसको प्रेमीले होटेलको बिल तिर्दा आफ्नो अधिकार हनन् भएको महसुस गर्थी भने हाम्रो समाजमा त्यो बिल नतिरी दिँदा आपत्ती जनाइन्छ । उसलाई उसको प्रेमी को अनुपस्थितिमा पनि जीवन एकै ढङ्गले बितोस् भन्ने चाहले ऊ आफ्नो आर्थिक अवस्था सबल बनाउन चाहन्थी र सँधै आत्म निर्भर रहन चाहन्थी । यति लेखी रहँदा एकजना नेपाली बाबुले भनेको सम्झन्छु, ‘मेरी छोरी आफ्नो खुट्टामा उभिइ भने उसले जुनसुकै ऐरेगैरेसँग विहे गरे पनि मलाई फरक पर्दैन । तर यदी उसले त्यसो गर्न सकिने भने मैले विश्वास गर्ने व्यक्तिसँग उसले विहे गर्नु पर्ने हुन्छ । म चाहन्न कि भोलि मेरो बुढ्यौलीमा ऊ मसामु आएर आँशु झारोर र मेरा हात ती आँशुहरु पुछ्न असमर्थ होउन् ।
अर्को समस्या भनेको जनचेतनाको अभाव पनि हो । जनचेतनाको अभावले नै समाजका व्याप्त दाइजो, बोक्सी, महिनाबारी बार्ने (मुख्यतः छाउपडी र गुफा) लगायतका कुपरम्पराहरु अझै पनि हट्न सकेका छैनन् । पुरुषहरुमा पनि पौरुषको गलत परिभाषा लादिएको छ । उनीहरुको सबैकुरा आफ्ना नियन्त्रणमा हुनुपर्छ भन्ने मनोभावनाले पनि उनीहरुले समाज तथा परिवारमा आफ्नो बोलाबोला छाड्न मान्दैनन् । क्लाराले भनी सायद पुरुषहरु महिला अधिकार सम्पन्न हुँदा आफू कम्जोर भइने डर मान्छन् । यो पनि एक हद सम्म सहि हो । त्यस्तै महिला माथि हिंसा गर्नुलाई पौरुषको रुपमा परिभाषित गर्नेहरुको पनि कमी छैन । स्वास्नी सघाउनु जोइटिंग्रे हुनु हो भने स्वास्नी भकुरेर आफ्नो बसमा पार्न सक्नु मर्दको चिनारी । यस्ता मान्यता विरुद्ध कति जना सासु, नन्द हरुले बोल्ने गरेका छन् ? झन् युवाहरु सम्बेदनशील हुनु त आइमाइ हुनु हुन्छ । परिवारले नै होइन त्यस्ता धारणाहरु लाद्ने । हाम्रो समाजमा सानो छँदा छोरो रोए, ‘स्वाइने मुले (आइमाइ जस्तो केटा)भन्ने चलन थियो । त्यस्तै परिवारले नै थुप्रै लैङ्गिक भुमिकाहरु सिकाउँछ । गाउँघरमा दिदी खाना पकाउँछे त दाउरा चिर !भनेर भनिन्छ । चुलो चौको महिलाको काम दाउरा चिर्ने र घरबाहिरका बलिया काम चाहिँ पुरुषका काम । यस्ता भुमिकाहरुले पनि हामीलाई महिला मैत्री भइदिन र उनीहरुको क्षमतामा विश्वास गर्न गाह्रो पारेको हो । 
जनचेतना, महिलाको आर्थिक स्वाभलम्बन, अति नारीवादी सोच, परिवारमा सिकाइने लैङ्गिक भुमिकाहरु, महिला नै महिलाको मुद्दामा एकमत नभइदिनु, आदि हाम्रो समाजमा महिला हक अधिकार स्थापित गर्न नदिने तत्वहरु हुन् । यसका विरुद्ध महिला र पुरुष दुबै हातमा हात र काँधमा काँध मिलाएर अघि बढ्नु जरुरी छ । नयाँ पुस्तालाई सानै देखि लैङ्गिक भुमिकामा बाँध्नुको साटो समान अवसरहरु दिनु आजको आवश्यकता हो । यौन स्वतन्त्रता लगायतका विषयलाई महिला यौन स्वतन्त्रता आदि जस्ता पदावली थपेर हरेक मुद्दाको भाले पोथी छुट्याउन बन्द गर्नु पर्छ । हरेक किसिमका हकअधिकारको दुबैलाई उत्तिकै खाँचो छ । भोलि मलाई केही भयो भने मेरी श्रीमतीले एकल जीवन बाँचोस भन्ने म चाहन्न । न त म मेरी दिदीबहिनी या छोरीबो एकल जीवनको परिकल्पना नै गर्न सक्छु । सहरी क्षेत्रमा मात्रै नभएर ग्रामीण भेगमा पनि यी सोचहरु फैलाउन सक्नु हामी सबै शिक्षितहरुको दायित्व हो । त्यसो गरेमा सभ्य र सम्बृद्ध समाजको निर्माण हुन बेर लाग्ने छैन ।
 Foot Note:
1- http://www.bbc.com/news/uk-30358467

2- http://www.bbc.com/news/world-europe-30268653

3- https://www.rainn.org/statistics        

4- http://unstats.un.org/unsd/demographic/products/Worldswomen/WW2010%20Report_by%20chapter%28pdf%29/violence%20against%20women.pdf

5-http://www.cnn.com/2014/12/01/politics/gop-staffer-resigns-over-criticism-of-obama-daughters/index.html

Comments

Popular posts from this blog

अम्बेडकरको Annihilation of Caste

निर्मलालाई न्याय

उसको रोजाइ -Story