यहाँ यस्तै छ
फिलिङ्गेन–स्वाइनिङ्गेन जर्मनीको दक्षीण पश्चिम भागमा पर्ने एक सानो सहर हो । सानो भएपनि यो सहरमा भएको सुव्यवस्था सम्बन्धी जानकारी आफ्नो गाउँ ठाउँको विकासका लागि अनुकरणीय उदाहरण बन्न सक्ने देखेर मैले यहाँको बारेमा निरन्तर लेखी रहने निधो गरेको छु । प्रथम झल्को मै यो शहर मलाई एक दमै रमाइलो लाग्यो । यो शहर अन्य ठूला शहर जस्तो गगनचुम्बी भवनहरुले भरिएको छैन । यहाँ हरियालीलाई कायम राख्ने भरसक प्रयास गरिएको छ । घरहरुका माझ रुख खोज्नु पर्ने स्थिति छैन । हरेक घरको करेसामा वा आँगनमा रुखका बोटहरु देख्न सकिन्छ । प्राय गरेर स्याउका बोटहरु बढि लगाउने गरेको पाइन्छ । जर्मनका मानिसहरु वा भनौँ पश्चिमा मुलुकका मानिसहरु वाइन लगायतका मदिराजन्य पेयहरु बढि सेवन गर्ने हुनाले पनि उनीहरुले स्याउका बोटहरु लाएको हुनु पर्छ । स्याउकोबाट बन्ने मदिराका प्राय सबैले आफैले घरैमा बनाउने गर्दछन् । त्यसका अलावा पनि घरवरीपरी सामान्य फलामे बार अनि चाइनीज दुबोको चहुर र कतैकतै झारबार (हरियो झारहुने वनस्पतीको बार) देखिनु सामान्य जस्तै लाग्छ । प्रत्येक घरमा गाडीघर (गाडीका लागि घर) अनि प्रवेशद्वारमा सबैको चिठीपत्र आदिका लागि नाम सहितको बाकस । ठूलो अक्षरमा अकिंत घर संख्या र सडकका नामहरु चोकचोकमा प्रष्ट रुपमा लेखिनुले हिँडडुल गर्नु पनि निकै सजिलो ।
एकजना यतै भेट भएका नेपाली साथीले भन्थे ‘स्वानिङ्गेनलाई ब्ल्याक फरेष्ट (श्यामल वन) भनिन्छ र यो प्रकृति प्रेमीहरुका लागि एक दमै रमाइलो ठाउँ हो ।’ मलाई पनि त्यस्तै लाग्यो । हरियालीलाई यस किसिमले जगेर्ना गर्नु हाम्रा गाउँठाउँका लागि पनि अति महत्वपूर्ण लाग्छ । पर्यावरणको सुरक्षासँगै विकासका कार्यक्रमहरुलाई समानान्तर किसिमले लैजान सक्यो भने मात्रै देशमा दिगो विकास सम्भव हुन्छ । होइन भने अनेकौँ प्राकृतिक विपत्तिको सामना गर्नु पर्ने हुन सक्छ । यो कुरालाई फिलिङ्गेन–स्वाइनिङ्गेनबासीले बुझे झैँ लाग्यो ।
सडकमा हिँड्दा सडकहरु छेउछाउमा कहिँ कतै फोहर देखिएन । पछि बुझ्दौ जाँदा यता तिर सडकमा थुक्नुलाई असभ्यता मानिँदो रहेछ । ठाउँठाउँमा फोहर फाल्ने भाँडोको व्यवस्था गरिएको हुनाले पनि सडकमा फोहर कहिँ कतै देखिएन । यस्तो सरसफाइ देख्दा देशको राजधानी काठमाडौँको याद आउँथ्यो । कहाँ असनको जमलको पुल भन्दा वरै असन जाने बाटामा थुपारिने फोहोरको डंगुर देख्ने बानी परेको मान्छे, यस्तो सफा ठाउँमा आइ पुग्दा त स्वर्गै पसे जस्तो भान भयो । घरबाट ‘कस्तो छ ठाउँ ?’ भनी सोध्दा सधैँ भन्थे, ‘स्वर्ग जस्तो ।’ फोहरका मामिलामा मात्रै होइन, सडकमा हिँड्दा ठूलो स्वरमा बोल्नुलाई पनि राम्रो मानिँदो रहेनछ । डाको लाएर एक अर्कालाई बोलाउने नेपाली चलन यहाँ छैन । सामान्य कुराकानीका क्रममा पनि अलि उच्च स्वर भएमा सँगैको साथीले अलि सानो स्वरमा बोल भनि भन्नु सामान्य हो । मेरा लागि यी सबै कुरा नौला थिए ।
सडकमा ट्राफिक व्यवस्थापन पनि निकै राम्रो थियो । सबै सडकका चोकहरुमा भएका ट्राफिक बत्तीहरुमा देखिने संकेतलाई पछ्याउँदै सवारी साधन चलाइने हुँदा त्यहाँ ट्राफिक प्रहरी पनि देखिँदैन थिए । ट्राफिक प्रहरी मात्रै होइन मैले सामान्य प्रहरी पनि आज सम्म देखेको छैन । सायद यहाँ आपाराधिक घटनाहरु त्यति नघट्दो हो वा सुरक्षा व्यवस्था कडा भएका कारण प्रहरी गस्तीको आवश्यकता नभएको हो ठम्याउन गर्न गाह्रो थियो । बाटो काट्दा जेब्रा क्रसिङ्गको प्रयोग गर्नु राम्रो मानिन्थ्यो । सामान्यतया अन्य स्थानबाट बाटो काट्दा समेत सवारी चालकले पैदल यात्रीलाई अघि जान दिने चलन रहेछ । जहाँ जहाँ म बाटो काट्नका लागि दायाँ बायाँका सवारी हेर्थे त्यहाँत्यहाँ सानो कार देखि लिएर ठूलो बस समेत मलाई बाटो काट्न दिनका लागि रोकिन्थे । एकपटक त मैले बसचालकलाई अघि जान इशारा गर्दा समेत उनले मलाई नै अघि जान दिए । म उनी प्रति कृतज्ञ भएँ । पछि एक जना जर्मन विद्यार्थीसँग कुराकानीका क्रममा उनले जानकारी गराए कि यदि पैदल यात्रीले बाटो काट्ने क्रममा सवारी चालकले गाडी नरोकेमा सवारी चालकले जरीवाना तिर्नु पर्दो रहेछ । सामान्यतया चोकहरुमा जेब्रा क्रसिङ्ग नहुने हुँदा पैदल यात्रुले बाटो काट्न चाहेको खण्डमा पहिले संकेतका लागि पर्खनु पर्ने हुन्छ । संकेत पाउनका लागि पैदल यात्रीले बाटाको छेउमा भएको ट्राफिक बत्तीको खम्बामा भएका एक पहेँलो स्वीच थिच्नु पर्दछ । त्यसो गरेको केही मिनेटमै पैदलयात्रीको संकेत भएको हरियो बत्ती बल्छ, गाडीहरुका लागि रातो बत्ती बल्छ । सबै गाडीहरु रोकिन्छन् । पैदलयात्रीले बाटो काट्न पाउँछ । ट्राफिकको संकेतलाई वेवास्ता गरेर बाटो काट्दा पैदल यात्रीले समेत भारी जरीवाना तिर्नु पर्दो रहेछ । यस्तो जरिवाना १० युरो देखि लिएर १५ यूरो सम्म हुँदो रहेछ । सायद यस्तो व्यवस्था हाम्रा सहरहरुमा लाउन सकेको खण्डमा बाटो काट्ने क्रममा हुने दुर्घटना र मृत्युहरुमा कमी आउने थियो कि ?
सानो सहर भएपनि किनमेलका लागि प्रसस्त सुपरमार्केटहरु यहाँ पाउन सकिन्छ । आयातित सामग्री देखि लिएर सस्ता सामानहरु पाइने फ्लोमाक्टहरु यहाँ प्रसस्तै देखिए । यहाँ डिस्को र मदिरामा रुची राख्ने हरुका लागि पनि प्रसस्तै बार र डिस्कोथेकहरु छन् । यहाँका डिस्कोहरु अवेर रात सम्म पनि खुला हुने गर्छन् । एकपटकको स्वागत कार्यक्रममा सहभागी हुँदा विद्यार्थीहरु रातीको १ वजे डिस्कोमा लाम लागेको पाएको थिएँ । साथै सुरक्षाका लागि खटिएका कर्मचारी पनि त्यहाँ उपस्थित थिए । विना परिचय पत्र र विदेशीका हकमा विना राहदानी बारहरुमा र डिस्कोहरुमा प्रवेश पाइँदैन । मलाई मदिरा र डिस्कोमा खासै रुची नभएकाले यस भन्दा बढि जानकारी लिन चाहिन ।

यो सानो सहर भएपनि यहाँ विचरणका लागि उद्यान भने निकै ठूलो पाएँ । उद्यानमा प्राय गरेर साँझको समयमा युवायुवती देखि लिएर वृद्धवृद्धाहरु सम्म सामान्य कसरतका उद्देश्यले आउने गरेको पाएँ । उद्यानको क्षेत्रफल निकै ठूलो भएकोले भीडभाड त्यति देखिँदैनथ्यो । पार्कको छेउमा कालोपत्रे गरिएको सडकमा स्केटबोर्डमा खेल्ने वालवालिकाहरु, हिडडुल गर्ने युवायुवती एवं वृद्धवृद्धा, साइकल चलाउने युवाहरु, आदि देखिन्थे । बस्नकालागि पनि सडककै छेउमा र पार्कका अरु स्थानहरुमा बेन्च र चौडा पलङ्ग जस्तै लाग्ने काठका आसनहरु बनाइएका थिए । अनि पार्ककै एक पुछारमा नेकार टावर नामको तेह्र तले शीशमहल पनि थियो । यो शीशमहलको रात्रीकालीन दृश्य हेर्न लायक हुन्छ । यहाँको एउटा सानो भवन निर्माण कम्पनीले बनाएको यो टावरमा विश्वविद्यालयका छात्रछात्राका लागि अपार्टमेन्ट र विभिन्न कार्यालयहरु आदि रहेका छन् । नेकार एक सानो नदीको नाम हो जो पार्कको छेवैछेव भएर बहने गर्छ । नदी एक दमै सानो छ, हाम्रा वर्षे खोला जस्तो । नदीको मुहान एक ताल रहेको छ जो पार्ककै परिसरमा पर्दछ । पार्ककै एक पुछारमा छेऊतिर टे«न र बसका लागि बिसौनी छ । त्यहाँबाट नजिकका सहरहरु जानका लागि बस र टे«नहरु पाउन सकिन्छ । यहाँ यस्तै छ । सबै कुरा व्यवस्थित । व्यवस्थित बसोबास, व्यवस्थित यातायात, उद्यान, आदि एउटा सहरलाई चाहिने सम्पूर्ण व्यवस्थाः यी सबै हाम्रा सानासहरहरुले व्यवस्था गर्न सक्ने कुराहरु हुन्, र गर्नु पर्ने कुराहरु हुन् । व्यवस्था, नियम र अनुशासन जर्मन जीवनको एक सवल पक्ष हो । श्यामल वनको अरु कुराहरु पनि पछिल्ला दिनहरुमा लेख्दै गर्ने छु । आशा छ त्यसबाट हामीले पनि धेरै कुराहरु अनुकरण गर्न सक्ने छौँ ।
चबmबल।उबलभचग२नmबष्।िअयm


Raman ramro chha..... article....... keep it up...... yeuta na6oda hai lekhna chai.... jasle garda aru le pani desh k ho bhanera bujhun.....
ReplyDeletethanks yar ...ma sakesamma nirantarta ko prayas garnechhu :)
Delete