विदेशीने रहर
नेपालबाट प्रति दिन लगभग १५०० नेपाली विदेशीने गर्छन् । ती मध्ये कति अध्ययनका लागि विदेशीनछन् भने कति काम गर्नकै लागि भनेर बाहिरिने गर्छन । अध्ययनका लागि विदेशीनेहरु पनि अध्ययन मात्रकै लागि भनेर भने पक्के बाहिरिँदैनन् । उच्च शिक्षा आर्जनका साथसाथै सानोतिनो काम गरेर धनकमाउने अभिष्ट पनि उनीहरुले बोक्ने गरेका हुन्छन् । होइन भने नेपाली आमाबाबुको आम्दानीबाट विदेशमा गइ अध्ययन गर्नु असम्भव प्राय छ । जुनसुकै बहानामा भएपनि विदेशीने नेपालीहरुले देशबाट बाहिर लग्ने धन भन्दा देशमा भित्र्याउने धन नै बढि हुने गर्दछ । नेपालीहरुले विदेश गएर कमाएको त्यही धन हाल आएर नेपाली अर्थतन्त्र धान्ने एक बलियो आधार बन्न पुगेको छ । स्वदेशमा भविष्य नदेखेपछि अर्थोपार्जनको लागि बलियो विकल्प बनेको विदेश बसाइ अचेलको सबै भन्दा आकर्षक विकल्प बन्न पुगेको छ ।
हुन त एक पटक विदेश पस्नु राम्रै हो । दुनीया देखिन्छ । आफू वरपरको भन्दा बाहेकको संसार जान्नु पनि राम्रै हो । त्यसले पनि हामीलाई प्रगति गर्नमा सहयोग पु¥याउँछ । ज्ञानगुनका कुराहरु सिक्नका लागि पनि बाहिरी दुनियाँ देख्नु आवश्यक छ । देशमा आएका पुराना परिवर्तनहरुलाई नियाँल्ने हो भने त्यो सबै विदेश यात्राबाट भित्रिएको बुझ्न सकिन्छ । नेपालमा शिक्षाको विकासको इतिहासलाई नियाल्ने हो भने जंग बहादुरले बेलायत यात्रापछि शिक्षाको महत्वलाई बुझ्दै स्थापना गरेको दरबार हाइ स्कुल नै पनि विदेश बाट आयातित ज्ञानको उदाहरणका रुपमा प्रस्तुत गर्न सकिन्छ । त्यस्तै राजनीतिक रुपमा नेपालमा आएको ००७ सालको क्रान्तिमा भारतको अंग्रेज विरुद्धको क्रान्ति देखेका अनि प्रत्यक्ष एवं परोक्ष रुपमा भाग लिएका नेपाली विद्यार्थीहरुको योगदानले प्रवासको ज्ञानबाट आएको परिवर्तनलाई प्रतिनिधित्व गर्न सक्छ । यस्ता थुप्रै अन्य उदाहरणहरु पनि छन् ।
विदशीने रहरका पछाडी अरु पनि थुप्रै कारणहरु छन् । उदासीनता र अभावले ग्रस्त हाम्रो समाज जहाँ मानिसहरु एक अर्कामाथि अनेकानेक उपमा अलंकारले विभुषित गरिदिन मै व्यस्त हुन्छन् त्यहाँबाट बाहिरिने चाहना राख्नु कुनै ठूलो आश्चर्य चकित पार्ने कुरा भने पक्कै होइन । मानिसलाई उसको वर्तमानको उपलब्धी भन्दा पनि विगतका उसका कमी कम्जोरीहरुका आधारमा चिन्ने हाम्रो समाजको सोच नै गलत छ । हामी सबल पक्ष कम र दुर्बल पक्ष बढि देख्छौँ । हामी काम भन्दा कुरामा बढि समय खेर फाल्छौँ । कुरा पनि अरुका कुरा बढि गर्छौ । त्यसैले हामी पछि परेका हौँ । काम गरी खानेलाई इज्जत छैन । बरु ऋण काढेरै भएपनि रवाफिलो बनी हिँड्ने को वाहवाही छ । देखासिखी पूर्ण जीवन शैलीले हामीले हामी को हौँ भन्ने कुरा नै पनि विर्सी सकेका छौँ । रामेले दशैँमा बोका काट्दा श्यामेले पनि काट्नै पर्ने बरु अलि बढि तौलको काट्नु पर्ने अनि मात्रै उसको इज्जत बच्ने ! यस्तै यस्तै कुराहरु छन् । श्यामेले आफ्नो आवश्यकता भन्दा पनि आडम्बरका लागि त्यसो गर्छ । यो कत्तिको जायज हो । यस्ता धेरै कुराहरु छन् जहाँ हामीले सच्चिनु पर्ने छ ।
हुन त समाजमै बसेर पनि यी सबै कुराहरु परिवर्तन गर्न सकिँदो हो । प्रयास गर्ने को ? पहिलो कदम कसले चाल्ने ? समस्या त्यहाँ निर छ । त्यसभन्दा पनि पहिले परिवर्तनको आवश्यकता महशुस हुनु जरुरी छ । त्यो आवश्यकता महशुस हुनका लागि शिक्षा र चेतना आवश्यक छ । विदेश गमन त्यो आवश्यकता बोधको एउटा माध्यम बन्न सक्छ ।
जे होस विदेश बसाई अहिले सबैका लागि लोभलाग्दो अवस हुन पुगेको छ । हाम्रो समाजमा स्नातकोत्तरको उपाधी पाउनु भन्दा पनि विदेशी प्रवेश आज्ञा (भीसा) पाउनु उपलब्द्धिपूर्ण मानिन्छ । आँखिर त्यो उपाधीले केही उपलब्द्धि नदिने भएपछि त्यस्ता उपाधीको के नै अर्थ रह्यो र ? देशमा रोजगारीको स्थिति त्यही हो । ६÷७ जनाका लागि खुलेको आह्वानमा १३÷१४ हजारको आवेदन पर्छ । त्यसमध्ये ६ या ७ जनाले त रोजगारी पाउलान बाँकि योग्यता पुगेका व्यत्तिहरुले के गर्ने ? सरकारसँग यसको केही बिकल्प छ त ?
स्वरोजगार योजना आउँछन् त दलगत कार्यकर्ताका भरण पोषणका लागि । पार्टीको झण्डा नहल्लाई योग्यताका बाबजुद पनि कुनै उच्च पदमा पुग्न सकिन्न । कारण उच्च पदहरु सबै राजनीतिक नियुक्तिबाट पाइन्छ । एक प्राध्यापक जसले जीवनभर स्वाभीमानी भएर बाँच्छ र त्यसै गरी बाँच्नु पर्छ भन्ने अर्ती दिन्छ उसले पनि उच्च तहमा काम गर्ने चाहना राख्दा पार्टीको रसीद काट्ने वा त्यस्तै अन्य विकल्प रोज्ने निर्देशन पाउँछ । कारण उसको क्याम्पस फलानो दलको भागमा परेको छ । ढिस्कानो दलको केही लाग्दैन । यस्तो अवस्थामा नयाँ पुस्ता आश गरोस त के को ?
नीजि क्षेत्रले काम दिन्छ तर त्यसको ज्याला थोरै भन्दा थोरै हुन्छ । स्नातक गरेको व्यक्तिलाई नाथे ७÷८ हजारमा हल्लिन पनि मान्छे चिन्नु पर्ने । चिनजानको भएन भने त्यही काम पनि नपाइने । बीस–पच्चीस वर्ष नपुग्दा सम्म बाआमालाई पढाइको बहाना तेस्र्याएर गुहार लाउँदै पैसा माग्यो अनि पढाइ सकेपछि त्यस्तो काम । बाआमाले त्यसपछिको विकल्प देख्ने भनेको विहे गरिदिने । विहे गरे जिम्मेबारी बढ्छ अनि आफै केही इलम गरिहाल्छ भनेर । अनि विहे गर्नै पनि जागिर देखाउनु पर्ने । परेन फसाद । हुन पनि कुन बाबुले आफ्नी छोरीलाई अनिश्चयको बन्दी बनाउला ? अनि कुन स्त्रीलाई भविष्य नभएको पुरुषलाई आफ्नो जीवनसाथी बनाउने रहर होला ? नेपाली समाज न हो अरु कुरा जे भएपनि बेधडक कमाइ भएको पतिको अपेक्षा सबै नारीले राख्छन् ।
अनि यस्ता बेलामा सबैका मनमा जाग्ने रहर भनेको विदेशीने रहर । विदेशमा काम छ । विदेशमा दाम छ । विदेशमा ज्ञान छ । विदेशीँदा शान छ । विदेस गएर चर्पी पखाले पनि त्यस बापत कमाएको पैसाले स्वदेशमा सबै दाग पखाल्छ । विदेशमा भाँडा माजेरै कमाए पनि स्वदेश पुग्दा विदेशी छोरोको भव्य स्वागत हुन्छ । उसले आफूले खाएको माज्नु पर्दैन । छैन त गजब ! घरको एक सदस्य विदेश पुग्ने वित्तिकै परिवार कुलीन भइगयो । यस्तै छ विदेशीने रहर पछिको कारण ।
विदेशमा चाहे जस्तै सुख नहोला तर पनि विदेश विदेशै हो । विदेशीँदा पाएको दुःखका कथा धेरै होलान् र पनि विदेश विदेशै हो । आफन्तको माझ हेँलाको पात्र भइ बस्नु भन्दा विदेशी भुमीमा रगत चुहाएर स्वदेशमा ठाँटिनु बेस । सायद यस्तै सोच बोक्नेहरुको जमात धेरै छ । त्यसैले त सबैले साँचेर राखेका छन् विदेशीने सपना । एक पटकलाई भएपनि विदेशी भूमीमा टेक्ने सपना । थुप्रै आशा र भरोशा बोकेको सपना । सपना न हो सुन्दर नहुने त कुरै भएन ।
raman.paneru@gmail.com
Comments
Post a Comment