बाली खाने खोलो
सुदूरपश्चिमका तराइ भेगका जिल्लाहरुमा वर्षायामको आगमन सँगै खोलानालाको जलस्तरमा वृद्धि आउने गरेको पाइन्छ । हिउँदमा सुख्खा देखिने कुलो कुलेसाहरुमा समेत वर्षायामका बेला पानी भरिभराउ हुने गर्दछ । घर आसपासका भैँसी बस्ने आहाल देखि लिएर निर्माण कार्यका लागि खनिएका खाल्डाखुल्डीहरु पनि पानीले भरिभराउ हुने गरेको पाइन्छ । ठूला नदीहरुमा त झन जलस्तर साविकको भन्दा ज्यादै नै बढि हुने गरेको देखिन्छ । बढेको जलस्तर एकातिर छ भने पानीको प्रवाह गति पनि उत्तिकै बढेको देखिने गरेको छ । यो जलस्तर र प्रवाह गतिमा भएको वृद्धिले बाढि पहिरो जस्ता प्राकृतिक विपत्तिका घटना निम्त्याउने कुरा त एकातिर छ भने अर्कोतिर वर्षेनी कैयौँ बालबालिका वा किशोरावस्थामा भरखर पाइला टेकेका विद्यालय जाने उमेरका किशोरकिशोरीहरुको जीवनज्योती निभाउने गरेको देखिएको छ । जलकृडाका लागि विभिन्न जलासयहरुमा पुग्ने वालवालिकाहरु वर्षेनी यस्ता जलासयहरुमा डुबेर ज्यान गुमाउन पुग्ने गरेका छन् । ठूला नदीहरुमा भन्दा पनि पत्याउनै गाह्रो लाग्ने साना तिना जलासयहरुमै त्यस्ता दुर्घटनाहरु घट्ने गरेको पाइन्छ । तराईको प्रचण्ड गर्मी छल्ने विकल्पहरु मध्...