एक मुक्तकः अनेक कथा

तिर्खाएको आत्मा अघि आँत खै के हो र ?

लड्दा हात नसमाउने जमात खै के हो र ?



यहाँ युगौँको बाचा हार्नेहरु, तमाम छन् प्रिय

जाबो एक रातको साथको बात खै के हो र ?


********
मायाले आत्माको तिर्खा मेटाउँछ । पानीले घाँटिको तिर्खा मेटाउँछ । पानी जताततै भेटिन्छ । कम से कम निश्चित मोल तिरेर किन्न पाइन्छ । त्यसैले घाँटिको तिर्खा मेट्न सजिलो छ । साँचो माया पाउन गाह्रो छ । चटकेहरुले बेच्न राखेका यौनशक्तिबद्र्धक शीलाजितहरु जस्ता नौजाले माया छ्यापछ्याप्ती पाइन्छन् । तर चिरस्थायी रहने वा भनौ जुनी रहुन्जेल बाँच्ने माया पाउन गाह्रो छ । त्यो माया किनेर पनि पाइन्न । खोजेर पनि पाइन्न । त्यसैले आत्माको तिर्खा मेट्न गाह्रो छ । आत्माको तिर्खाका सामु घाँटि (आँत)को तिर्खाको कुराले उति महत्व राख्दैन । तनको प्यास भन्दा मनको प्यासले मानिस बढि छट्पटाउँछ ।

‘तिर्खाएको आत्मा अघि आँत खै के हो र ?’

 ********

केहि दिन अघि भोको पेटमा कार्यालय जान खोज्दा निके बेर उभिनु प¥यो । रक्तचाप कम भएका कारणले बस्ने बित्तिकै ढलेँ । करीब १५ मिनेट जति त्यसै छटपटाएँ होला । असिना पसिना भयो । सहयोग गर्न कोहि अघि बढेनन् । कस्तो छ सम्म कसैले सोधेनन् । आफैले सर्टका टाँकहरु खोलेर सास फेर्न खुकुलो बनाएँ । कसिएको कम्मर पेटि पनि खुकुलो पारेँ । आँखा खुलै राख्न आफ्ना कपालहरु लुछेँ । असिन पसिन भएँ । बस बिसौनीमा बस रोकिँदा सम्म केहि हलुको महसुस भइ सकेको थियो । एकछिन बसेर छेउछाउको यात्रुहरुलाई हेरेँ । छेवैको सिटमा एक तरुनी थिइ । हेर्दा निकै राम्री थिइ । हातमा मोबाइल र मोबाइलमा जोडिएको इयरफोन कानमा कोचेकि थिइ । उसराई उसको दुनियाँ भन्दा बाहेकको कुरामा मतलब थिएन । बसका अरु यात्रुहरुका पनि त्यस्तै अन्य संसार थिए होला । सबैको संसार चिह्याउने फुर्सत थिएन । बसबाट बाहिर ओर्लँदा लाग्यो ‘यस्तो जमातसँग बसेर पो के गर्ने ? भोलि भोकै प्यासै मर्दा पनि कसैले हेरिदेला भन्ने छैन ।’

‘लड्दा हात नसमाउने जमात खै के हो र ?’


 ********



सम्बन्ध गाँस्दा मानिसले सँधै अजम्बरी(कहिल्यै नमर्ने) नै होस् भनेर गाँस्छ । मन मिल्दा अनि कुरा मिल्दा साथ मिठो हुन्छ । त्यो मिठासलाई दिगो बनाउन मानिसले सम्बन्ध गाँस्छ । ती सम्बन्धका आधार भनेका बाचाहरु हुन्छन्ः ‘तिमीलाई कहिल्यै एक्लो छोड्ने छैन । तिमीलाई मनकी रानी बनाएर राख्ने छु । आदिआदि ।’ जब ती बाचाहरु मानिसले भुल्छ तब सम्बन्ध बिस्तारै खोक्रो हुँदै जान्छ । एक अर्काबाट गरिएको अपेक्षाहरु पुरा नहुँदा चित्त दुख्छ । असमझदारी पैदा हुन्छ । समयमै त्यसको निदान गरिएन भने सम्बन्धमा फाटो सुरु हुन्छ ।

‘ यहाँ युगौँको बाचा हार्नेहरु, तमाम छन् प्रिय’



********





एक पटक मातिन मन लाग्यो । जर्मन साथी प्याट्रिकले नयाँ वर्षको अवसरमा जाँड खाने निम्ता ग¥यो । जिन्दगीमा एक चोटीलाई त जे गरे नि हुन्छ भन्दै गइयो । खाने त भनियो तर उसको जर्मन बियर गलाबाट तल झरेन । उसकी साथीले स्यम्पेन ल्याएकी थिइ । त्यो पनि चाखियो । कुकुरको मुत भन्थे हो रहेछ । पटक्कै रुचेन ।

नबिटुलिनु बिटोली हालियो तर खाए जस्तो न नखाए जस्तो भए पछि अब राम्ररी बिटोलिनु पर्छ भन्ने भयो । रसियन साथी ग्योर्गेलाई सोधेँ ‘तिमीसँग केहि छ’

‘म रसियन हुँ । मसँग नहुने त कुरै छैन । हिँड जाउँ ।’ उसले निम्ता ग¥यो । ‘कोठामा एक साथी छे । ऊ भोलि सहर छोडेर जाँदैछे । तर केहि छैन मेरैमा बस्नु आज ।’

ढल्ने गरी खाने भनेपछि ढल्ने ठेगान पनि त थाहा हुनु प¥यो । त्यसैले सबै तारतम्य मिलाएपछि मात्र उसैको पछि लागेर उसको कोठा गएँ । कोठामा पुग्दा उसकी साथी नुहाइ धुवाइ गरेर तौलिया बेरेर बसेकी थिइ । उसले पालैपालो हामीलाई हेर्दै मतिर फर्केर लोग्ने मान्छेका इसारा ग¥यो । सायद ऊ अन्तिम दिन भएकोले सम्झना बटुलेर जान चाहन्थी । म अनामन्त्रित पाहुना थिए । ग्योर्गेले अन्तिम दिनको रुवाइधुवाइबाट पञ्छिन पनि मलाई कोठामा निम्त्याएको थियो । ऊ अलिकति पिएर सुत्न गयो । अनि हामी दुईको कुरा सुरु भयो ।

मायाका कुराहरु, असफल सम्बन्धहरुका कुरा, दर्शनहरु, आदिआदि धेरै बकियो । रक्सी चढ्दै जाँदा उसलाई नचढेको प्रमाण पेश गर्न सिधा रेखामा हिडेर देखाउँथे । ऊ ‘हो, लागेकै छैन ।’ भन्दै सहि थप्थी । कुरा गर्दा गर्दै उसलाई बारम्बार हेर्थेँः माथिदेखि तलसम्म । उसको तौलियाले बेरिएको यौवनले बेलाबेला लोभ्याउँथ्यो । द्रौपति वस्त्र हरणको अध्याय सुरु गर्न रहर लागेर आउँथ्यो । सायद रोक्दिनथी होला । ऊ सहरबाट सदाका लागी बिदा हुँदै थिई । विहानैको ट्रेनमा स्टुटगार्ट र त्यहाँबाट हवाइ जहाजमा लात्भीया पुग्दै थिई । हामीबीचको सम्बन्धको साँची रक्सीका बोतलहरु मात्रै रहने थिए । न ऊ मेरो जीवनमा फर्केर आउने थिई न म नै उसको सहर पस्ने थिएँ ।

मनमा अनेक लाससा रहेपनि रात भने कुरै कुरामा कट्यो । हामी एक छिन ननिदाइ पिइ रह्यौँ । म उसलाई उसको निद्रा बिथोलेकोमा बारम्बार माफि मागि रहन्थे । सायद त्यो दिन जति माफि मैले जिन्दगीमै कहिल्यै मागेको थिएन । ‘सुतेको भए बिउझन विर्सन्थेँ होला, ठिकै भयो ।’ उसले मेरो ग्लानी मेट्न भनी ।

विहान भयो । लडखडाउँदै म र ग्योर्गे उसलाई रेल विसौनी सम्म छोड्न गयौँ । ऊ जानु अघि एककप चिया पिउन एक ग्रिक रेष्टुरेण्ट पस्यौँ । त्यहाँ पनि सुतिरहेका साहुजीलाई विउझाउनु पर्यो । चिया खाँदा कप टेबलमा राख्ने ताकत सम्म बाँकि थिएन । त्यसैले बारम्बार बजारिँदै थियो । सहुजी बेलाबेला मलाई हेर्दै थियो । म उसँग पनि माफि माग्दै थिएँ । ‘मलाई लागेको छैन । म पुरा होसमा छु ।’ ग्योर्गे हाँस्दै ‘हो हो’ भन्दै सहुजीलाई बेलि बिस्तार लाउँदै थियो ।

इभेलिना गइ । जाँदा उसको अनुहार निन्यौरो थियो । सायद उसले ग्योर्गेसँगको अन्तिम साँझको केहि छुट्टै कल्पना गरेकी थिइ होली । हामी फर्केर कोठामा आयौँ । ग्योर्गे आउने बित्तिकै मलाई सुत्ने ठाउँ बनाएर आफु पनि सुत्यो । म अनेकौँ कुरा खेलाउँदै आफू होसमा हुनुको प्रमाण जम्मा पार्दै थिए । त्यस रात भएका हरेक घटनालाई फोनमा रेकर्ड गर्दै थिए ।

‘म होस मै छु । मलाई लागेको छैन ’
इभेलिना गए पनि उसको सम्झना अझै छ । त्यसो त इभेलिनाहरुसँगको यो पहिलो रात थिएन । पहिले पनि आएका थिए, पछि पनि आए । आइ नै रहे । इभेलिनाहरु रात छँदा मृगतृष्णा जगाउँछन्, आनि उज्यालोसँगै विलाउँछन् । ती सबै मेटिन्छन् ।



‘जाबो एक रातको साथको बात खै के हो र ?’


********








आज एकाएक माथिका चार पंक्ति लेख्न पुगेँ । चार पंक्ति पढ्दा मैले धेरै कुरा पढ्थेँ । पाठकले सायद त्यति पढ्न भ्याउँदैनन् । त्यसैेले ति पंक्तिहरु पछाडिका कथा पनि लेख्न मन भयो । अनि यो आलेख तयार भयो ।





Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

सुधीर शर्माकाे प्रयोगशाला