नेपाली भाषामा अंग्रजी प्रभावः पानी माने वाटर



‘सर झ्याउँकिरी भनेको के ?’ एक विद्यार्थीले परीक्षा दिँदादिँदै सोध्यो । 
‘जुनकिरी हो ।’ मैले भने । 
आफ्नै जवाफमा विश्वास लागेन । हो कि होइन भन्ने भयो । त्यत्तिकैमा नेपाली विषयकी एक शिक्षिका आइपुगिन् । 
उनले भनिन्, ‘झ्याउँकिरी बेग्लै खाले किरा हो ।’ 
‘भनेपछि उही जुनकिरीकै काका भतिजाको सन्तान हैन त ?’ मैले आफ्नो अनभिज्ञता लुकाउनलाई व्यंग्यको साहरा लिएँ । एकछिनलाई हाँसोको माहोल बन्यो । 
त्यत्तिकैमा नेपालीका अर्का शिक्षक आए र सोधे, ‘कसले हो झ्याउँकिरीको अर्थ सोधेको ? It is a kind of insect.’ भनी अथ्र्याए ।
कुरा नेपाली विषयको एक परीक्षा हुँदै गर्दाको हो । विद्यर्थीहरुलाई नेपाली शब्दको अर्थ जान्न हम्मे हम्मे पर्दैथ्यो । नेपाली शिक्षकले अंग्रेजीमै अथ्र्याएर भएपनि भरसक बुझाउने प्रयास गरिरहेका थिए । मैले पनि उनीहरुले सोधेका शब्दहरुको अंग्रेजी उल्था गरिदिएँ । उनीहरुले अंग्रेजी शब्दहरुलाई सहजै ग्रहण गरे । मलाई कस्तो कस्तो अप्ठेरो लाग्यो । नेपालीलाई नेपालीका शब्दको अर्थ अंग्रेजीमा लाएर बुझाउनु पर्ने । यो कस्तो विडम्बना ?
नेपाली विषय शिक्षकले नेपाली विद्यार्थीहरुलाई नै नेपाली शब्द अथ्र्याउनका लागि नेपालीका बदलामा अंग्रेजीको साहारा लिनु परेको देख्दा मलाई साह्रै नरमाइलो लाग्यो । हामीले प्रगतिका नाममा विदेशी भाषा र संस्कृतिलाई यति माथि राखेछौँ कि अन्तमा गएर हाम्रो आफ्नै भाषा र संस्कृति नै छायामा परेछ । हाम्रो आफ्नै भाषा सिक्न पनि हामीले अंग्रेजीको साहारा लिनुपर्ने अवस्था सम्म आइ पुगेछ ।    
अचेल कक्षामा यस्तै छ । नेपालीमा केही पढाउनु प¥यो भने वा केही शब्दहरु भन्नु प¥यो भने त्यसलाई अंग्रेजीमा उल्था गरेर सुनाउनु पर्ने स्थितिहरु बढ्दै गएका छन् । बरु हिन्दीमा भनिदिए बुझ्छन्, नेपाली बुझ्दैनन् । पहिले अंग्रेजीमा अनुत्तीर्ण हुन्थे अहिले नेपालीले अंग्रेजीको स्थान ओगट्न थालेको छ । सबै भन्दा गाह्रो विषय नै नेपाली बन्न पुगेको छ । नेपाली शिक्षकले व्याकरणका विशेष पदावलीहरुको समेत अंग्रेजी उल्थाहरु गरि कक्षामा सुनाउने गरेको देख्दा भाषामा आइपरेको खतराको खास चित्र देख्न सकिन्छ । आँखिर यिनै वालवालिकाको काँधमा न छ हाम्रो भाषा जोगाइ राख्ने अभिभारा । तर यी काँध अहिले नै यति कच्चा छन् भने भोलिका नयाँ काधहरुको झन् के अवस्था होला ? 
विदेशी भाषा विशेष गरी अंग्रेजीको ज्ञान हुनु नराम्रो होइन । तर विदेशी भाषाको रटना गर्ने क्रममा स्वदेशी भाषाको मुल नै सुकाउनु सायदै राम्रो होला । अचेल अंग्रेजी सिकुन भन्ने अपेक्षाका साथ हरेक अभिभावकले आफ्ना नानीहरुलाई निजी विद्यालयहरुमा पठाउने गरेका र निजी विद्यालयमा एक विषय वाहेक सम्पूर्ण अन्य विषयहरु अंग्रेजीमा हुने भएकाले र प्राय जसो अंग्रेजीमै बोलचालका लागी प्रोत्साहन गरिने हुँदा वालवालिकाहरुमा नेपाली भाषा सम्बन्धि ज्ञान ज्यादै कम्जोर हुँदै गएको छ । व्याकरणका शुत्रहरु त एक ठाउँमा छन् नेपालीमा गन्ती गर्न समेत अवका विद्यार्थीहरुलाई हम्मे हम्मे पर्ने गरेको छ । यस्तो अवस्थाले नेपाली भाषाको भविष्य त्यति उज्ज्वल देखाउँदैन । 

विदेशी त विदेशी क्षेत्रीय भाषाहरुका पक्षपातीहरुले नेपाली भाषालाई पनि जातीयतासँग जोडेर नेपाली भाषा भनेको त पहाडेको भाषा भनि व्याख्या गर्न थालेका छन् । भानुभक्तले उनको नेपालीमा अनुवादित रामायणका माध्यमबाट जुन भाषिक एकता गरेर देशभरको भाषाका रुपमा नेपालीलाई स्थापित गराएका थिए त्यो विकास र विस्तार भएर अहिलेको अवस्था सम्म पुगेपछि अब यस खालका कुराहरु गरेर नेपाली भाषाको स्थापित साम्राज्यलाई संकुचित बनाउने दिशातिर उन्मुख सायदै राम्रो होला । नेपाली भाषाको व्याकरण पढ्दा नेपाली भाषाले विभिन्न भाषाका शब्दहरुलाई ग्रहण गर्दै हालको स्थितिमा आइपुगेको कुरा थाहा पाउन सकिन्छ । यसमा सबै जातजातीका भाषाहरुका शब्दहरु भित्रिएका छन् । मलाई लाग्छ अब यसलाई कुनै एक जातीको हो भनि भन्नु उचित हुँदैन । 
नेपाली भाषा पूर्व संस्कृत भाषाले पनि यस्ता प्रहारहरुको नियती खेप्यो । पहिले विद्यालयहरुमा संस्कृतलाई पनि अनिवार्य विषयको रुपमा राखिएको थियो । संस्कृत भाषा नेपाली भाषाको माउ भाषा भएकाले त्यसको सामान्य ज्ञान दिने उद्देश्यले त्यसलाई विद्यालयको पाठ्यक्रम अन्तर्गत राखिएको हुन सक्छ । फेरी त्यसबेला हिन्दु राज्यका रुपमा रहेको नेपालमा हिन्दु धर्मका सम्पूर्ण धर्मग्रन्धहरु मूल रुपमा संस्कृतिमा हुने भएकाले पनि सायद संस्कृत भाषाले महत्व पाएको थियो । अब धेरै कुरा फेरबदल भइ सकेको छ । संस्कृत भाषा झण्डै झण्डै लोप हुन लागि सकेको छ । नयाँ पुस्ताहरुलाई संस्कृतको स पनि थाहा छैन । 
संस्कृत भाषालाई हामीले काम नलाग्ने भनेर संस्कृतका पुस्तकहरुमा आगो लगायौँ । त्यसो गर्दा हाम्रो समाज अघि बढ्छ भन्नेहरुले अहिले समाजलाई कहाँ पु¥याए सबैले देखेकै छन् । अहिले त्यस्तै जमातका माझबाट नेपाली भाषाका लागि पनि मिल्दा जुल्दा लान्छनाहरु तेर्सिएका छन् । सायद अब नेपाली भाषाको पालो ।
उता विश्वकै सम्वृद्ध मुलुकहरुमा पर्ने जर्मनी जसलाई दर्शन र साहित्यको भूमी भनेर भनिन्थ्यो त्यहाँ संस्कृत भाषाको सम्मानमा कुनै कमी आएको छैन । बरु नेपालबाट संस्कृत जान्नेहरु र जान्न चाहनेहरु झिकाएरै भएपनि संस्कृत भाषालाई उनीहरुले जिवित राखेका छन् । जर्मन भाषाको जरा पनि संस्कृत नै भएकाले उनीहरुले आफ्नो जरा जिवित राख्ने हर सम्भव प्रयास कामय राखेका छन् । जरो सुके रुख सुक्न बेर लाग्दैन भन्ने कुरालाई उनीहरुले सायद बुझेका छन् । 
भाषा प्रयोगले जिवित रहने हो । प्रयोगबाट हट्नु नै भाषा मर्नु हो । जब भाषाले विचार आदान प्रदान गर्न असमर्थ हुन्छ तब भाषा प्रयोगवाट हट्छ र मर्न सुरु गर्छ । सायद अब नेपाली भाषाका शब्दहरुको विचार आदान प्रदान गर्ने सामथ्र्य गुम्दै गएको छ । त्यसैले होला भाषा जिवित राख्ने जिम्मेवारी बोक्नु पर्ने कलम धनीहरुले नेपालीमा अंग्रेजी र अन्य भाषाको शब्दलाई यथावत प्रयोग गर्ने क्रम बढाएका छन् । त्यो क्रमसँगै भाषा मर्न सुरु भएको छ । अब अंग्रेजीका शब्दहरु सजिला भएका छन् । लाहुर पसेको बहादुरेले बोल्दा बोल्दै लेकिन, क्यानाम जस्ता हिन्दी शब्दले आफ्नो सम्वाद पुरा गरे जस्तै अहिलेका लेखकहरुले नेपाली साहित्यमा अंग्रेजीको प्रयोग बढाएका छन् । 

मलाई लाग्छ नेपाली लेख्दा अंग्रेजी घुसाउनु अंगे्रजी बोल्दा नेपाली घुसाउनु जत्तिकै हो । नेपाली लेख्दा वा बोल्दा अंग्रेजी घुसाउनु बौद्धिकताको परिचायक हुन्छ भने अंग्रेजी बोल्दा नेपाली घुसाउनु अज्ञानताको परिचायक । यसो हेर्ने हो भने त नेपाली बोल्दा लेख्दा अंग्रेजी घुसाउनु पनि एक किसिमकोे अज्ञानता नै भएन र ः त्यस ठाउँमा मिल्ने उपयुक्त नेपाली शब्द सम्बन्धि अज्ञानता ? तर त्यसरी अंग्रेजी छिराउनेहरु आफूलाई अज्ञानीको श्रेणीमा राख्नु भन्दा भाषामाथिको त्यस्तो अतिक्रमणको विरोध गर्नेहरु नै अज्ञानी भएको तर्क गर्न पछि पर्दैनन् । 

एकपटक रिडर्स क्लबमा कुमार नगरकोटीको मोक्षान्तः काठमान्डु फिवर नामक पुस्तकको समीक्षाका क्रममा पनि भाषा सम्बन्धि थुप्रै वहस भए । त्यहाँ पनि सायद लेखकको उपस्थिति अनि उनको उदारताका बदला आलोचना र टिप्पणीले चुकाउनुलाई नेपाली आथित्यको विपरित देखेर होला उनको पुस्तकमा (बोक्रा देखि गुदि सम्ममा) भएको अंग्रेजीको प्रयोगलाई सबैले समयको माग र बुझ्नमा कुनै कठिनाइ नल्याएको भनि अनुमोदित गरे । ‘एब्स्ट्रयाक्ट चिन्तन प्याज’, ‘पल्पसा क्याफे’, जस्ता निकै नै ख्याती कमाइसकेका पुसतकहरुमा राखिएको अंग्रेजी नाम राख्ने काम भइसकेकोले उनको पुस्तकको नाममा विवाद झिक्नु तर्क संगत नभएको कुरा व्यक्त गरियो । लेखकले आफूलाई नेपाली साहित्यकारकै श्रेणीमा नराखे हुने तर्क सम्म प्रस्तुत गरे । भाषा जन्माउन सक्ने अनि नपुगेका शब्द सृजना गर्न सक्नेले नै त्यसो भन्न थालेपछि नेपाली शब्दभण्डार कसरी मोटाउने । 
अबको श्रब्य–दृष्य साहित्यको रुपमा विकास हुँदै गएको नेपाली चलचित्रको त झन के कुरा भयो र ? नेपाली भाषाको विकासमा नेपाली चलचित्रले पनि टेवा पु¥याउन सक्ने आशा गर्नु नै व्यर्थ झैँ लाग्छ । अधिकांश चलचित्र विदेशी कथावस्तु र नाम चोरी बनाइएका अनि मौलिक कथा वस्तुमा निर्मित चलचित्र भनिएकामा पनि गालीगलौजकै मात्रा केही बढि भएकाले नयाँ नेपाली पुस्ताले नेपालीका नयाँ शब्दका रुपमा तिनै चलचित्रमा प्रयोग भएका गाली बाहेक अन्य केही सिक्ने सम्भावना नै भएन । 
मलाई लाग्छ नेपाली भाषाको प्रवद्र्धनमा सबै पक्ष सचेत भएर लाग्नु जरुरी छ । हाम्रो पहिचानका सम्पूर्ण कुराहरु गुमिसकेको अवस्थामा भाषा पनि गुमायौँ भने हामीसँग हामी नेपाली हौँ भनि भन्नलाई केही बाँकि रहने छैन । अब सधैँ सगरमाथा र बुद्ध खल्टीमा बोकि हिँड्न सकिने कुरा आएन नत्र कसैले सोद्धा देखाउन हुन्थ्यो ! होइन भने भेषभुषा उहिल्यै फुकाली सक्यौँ, धर्म त भौतिकवादी चिन्तनले सिध्यायो, परम्परागत बाजागाजा हेर्न संग्राहलय नै जानुपर्छ, के छ त बाँकि हाम्रो पहिचान ? 
त्यसैले नेपाली लेख्दा अनि बोल्दा नेपाली नै लेखौँ, नेपाली नै बोलौँ । नभएका शब्द बरु निर्माण गरेरै भएपनि प्रयोग गरौँ । ग्लासको नेपालीकरण गिलास भए जस्तै नेपालीकरण गरेरै भएपनि केही मौलिकता देआँै । नेपालीमा अंग्रेजी घुसाएर लेख्नु भन्दा बरु अंग्रेजीमै लेखौँ । भारतीय लेखक चेतन भगतले अंग्रेजीमा लेखेर देशको नाम चलाएको जस्तै नेपाली लेखकले पनि अंग्रेजीमै लेखेर विश्वस्तरीय साहित्य सिर्जना गर्दा हामी सबैको शीर उचो हुन्छ । तर ठिमाहा भाषाको सकेसम्म प्रयोग नगरि दिउँ । मेरो भन्नु यत्ति नै हो । भोलिको दिनमा पानीलाई अथ्र्याउन वालकलाई पानी माने वाटर भन्नु नपरोस् ! अस्तु ! ! 
raman.paneru@gmail.com



ं 

Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

सुधीर शर्माकाे प्रयोगशाला