किरियापुत्रीका प्रश्नपूर्ण मुहारले उचालेका विचारका छालहरु


सामाजिक संजालका माध्यमहरु अचेल मनोरञ्जनका लागि मात्रै नभएर आफ्ना विचार प्रकट गर्ने अनि अरुले प्रकट गरेका चाखलाग्दा विचारलाई आफ्ना साथीहरुमाझ साँटा साँट गर्ने माध्यमको रुपमा विकसित हुँदै गएको छ । देशको राजनीतिप्रतिको वितृष्णा देखि लिएर समाजमा व्याप्त तमाम कुरीति र कुसंस्कारहरुका बारेमा आवाज बुलन्द पार्ने र सबैलाई सचेत गर्ने कार्यमा पनि सामाजिक संजालका माध्यमहरुले मनग्गे सहयोग गरेका छन् । 
भर्खरै मात्र फेसबुक नामक हालको सर्वाधिक प्रयोग हुने सामाजिक सञ्जालमा एकजना किरियापुत्रीको तस्वीरले धेरैको ध्यान तान्न सफल भएको छ । सेतो वस्त्रमा बेरिएकी, केही दुःखी लाग्ने उक्त किशोरी आग्रहपूर्ण दृष्टिले हेरिरहेकी देखिन्थिन् । तस्वीरको माथिपट्टि तस्वीरलाई साथीभाइमाझ फेसबुक बाटै बाँडेर कुसंस्कार विरोधी सन्देश फैलाउनमा मद्दत गर्ने आग्रह गरिएको थियो । 
सो तस्वीर मैले पनि फेसबुकमा बाँडेको थिएँ । त्यसैक्रममा मेरो मित्रहरुको सुचीमा भएकी एक विदेशी महिला रोजा टी ताएमोराले मलाई तस्वीरमा देखाइएकी महिला दुःखी हुनुको कारण सोध्न पुगिन् । धनगढीमा हुँदा उनीसँग भेट भएको थियो । सरकारी विद्यालयहरुमा अंग्रेजी अध्यापनलाई प्रभावकारी बनाउने तालिम दिने क्रममा उनी म प्राय बस्ने गरेको साइबरमा आइपुगेकी थिइन । त्यहीँ उनीसँग परिचय भएको थियो । उनी फिलिपिन्सकी नागरिक भएकीले उनलाई आफूले नेपालमा बसेर काम गर्नेक्रमा सिकेका कुराहरु बताउन साह्रै लालायित हुन्थिन् । मसँग समेत बेला मौकामा नेपालीमा संवादको चेष्टा गरिरहन्थिन । यसपटक पनि नेपाली संस्कारको यो अनौठो रुपका बारेमा जान्न मन लागेर होला उनले आफ्नो जिज्ञासा तेस्र्याइन । 
विदेशी महिला भएकोले मैले सकेसम्म देशको संस्कृतिको नराम्रो पक्षका रुपमा रहेको किरिया बस्नुपर्ने चलनलाई मिलाएर भन्ने प्रयास गरेँ । मैले तस्वीरको बारेमा उती गहिराइमा अध्ययन गरी नसकेकोले उनलाई आफ्नो अनुमानको आधारमा किशोरी पितृ शोकमा रहेकी र नेपाली संस्कार अनुसार पितृ शोकमा रहँदा किरिया बस्नुपर्ने चलन रहेकोले किरियामा बसेकीले सायद दुःखी देखिएकी होली भनी भनेँ । पितृ शोकमा हुन आफैमा दुखद कुरा थियो । त्यसैले सोही कारणले उनी दुःखी भएकी हुन सक्ने सोझो अनुमान लगाएँ । 
किरिया बस्नु पर्ने चलनका बारेमा पनि केही जानकारी गराउँ भन्ने उद्देश्यले मैले उनलाई किरिया बस्दा खाना र लाउने कुराहरु बार्नु पर्ने कुरा बताएँ । केही वर्ष अघि मैले मेरी ठूली आमा किरिया बसेको देखेको थिएँ । ठूली आमाका छोरा नभएकाले र छोरी विहे गरी गइसकेकीले उनले अरुले बस्नु भन्दा म आफै बस्छु भनि ठूलाबाको किरिया आफै बसेकी थिएन् । पतिको देहावसानको दुःख एकातिर त्यसमाथि गाउँघरको रुढी ग्रस्त संस्कार । तेह्र दिन सम्मको गोठमा बास अनि नुन समेत नभएको सादा गास । पति वियोगको दुःख र पौष्टिक आहारको अभावले होला उनले संस्कारका क्रममा नदीमा गइ नुहाउनु पर्ने बेलामा पटक पटक थचक्क बसेकी थिइन् । आँखा भरि आँशु अनि रंगहीन पोशाक र खौरिएको शीर, एकदमै हृदय विदारक दृष्य थियो । ती किशोरी पनि त्यस्तै त्यस्तै परिवेशबाट गुज्रिरहेकी होलिन् भन्ने अनुमान लाएर मैले उसलाई किरिया प्रथाका बारेमा बेलिबिस्तार लाएँ । 
मृत्यु पर्यन्तको संस्कारले न मृतकलाई भलो गर्छ (?!) न त मृतकको परिवारका सदस्यलाई । परिवारको सदस्य गुमाउनु आफैमा दुःखद् कुरा हो । त्यसमाथि कष्टपूर्ण अवस्थामा किरिया बस्नु झन् सुखद हुने कुरै भएन । ती महिलाले सोही कुरा व्यक्त गरिन् । ती किशोरीले दुई खालको पिडाबाट गुज्रिनु परिरहेको कुरा उनले प्रतिक्रियामा उल्लेख गरिन् । मैले उनको प्रतिक्रियामा सहि थपेँ । चेतनाको विकाससँगै नेपाली समाजमा अब किरिया बस्ने चलन विस्तारै घट्दै गएको भनि बताएँ । मृत्यु पर्यन्ताको यस्तो कष्टकर संस्कारलाई बढावा दिनु भन्दा आमा बुबा बाँचुञ्जेल उनीहरुले गरेका दुःख र त्यागको तिरो उनीहरुका मुहारमा मुस्कान ल्याएर र उनीहरुले साँचेका सपना साकार पारेर गर्नु बेस हुने सोच नयाँ पुस्ताको छ भनि बताएँ । यो कुनै पारित सोच त हैन र पनि मेरो व्यक्तिगत सोचाइ यस्तै भएको अनि म पनि नयाँ पुस्ता मै गनिने भएकोले उनलाई त्यसो भनेँ । उनलाई पनि त्यो सोच राम्रो लाग्यो । 
नेपाली समाजमा हिन्दु परम्परा अनुसार मातापिताको देहान्त पश्चात छोराले किरिया बस्नु पर्ने चलन छ । मृत्युपर्यन्तको संस्कारका लागि नै भएपनि नेपाली समाजमा छोरो पाउनै पर्छ भन्ने विश्वास चलि आएको छ । मृत्युपरन्तको संस्कार नपाए आत्माहरु तर्दैनन् भन्ने मान्यता अनुरुप किरिया बस्ने गरिन्छ । अनि हिन्दु संस्कारहरुमा प्राय महिलाहरुले त्यस्ता संस्कारहरु गर्ने चलन छैन । चितामा आगो दिने देखि लिएर किरिया बस्ने अनि श्राद्धहरु गर्ने काम पुरुषहरुले मात्रै गर्छन् । किरिया र श्राद्धहरुमा संस्कार नपु¥याए पितृहरु तर्दैनन् भन्ने मान्यता अनुरुप सकेसम्म मृत्यु पर्यन्तको संस्कारलाई हालसम्म निरन्तरता दिँदै आइएको छ । अचेल बढ्दो चेतनासँगै महिलाहरुले पनि पुरुषहरु सरह त्यस्ता संस्कार गर्ने क्रम बढ्दै गएको छ । 
पहाड घरमा ठूलीआमा किरिया बसेको बेलामा किरिया बस्ने ठाउँमा कुर्नको लागि गाउँ भरिका युवाहरु पालैपालो आउने गर्नु अनि घरघरबाट किरियाको संस्कारका लागि चामल आदि ल्याउन आएको देख्दा एक प्रकारले किरिया बस्ने चलनले मृतकका परिवारमा ढाडस दिने काम गरेको छ कि झैँ पनि लाग्थ्यो । तेह्र दिन सम्म गाउँ समाजले निरन्तर आउने जाने गरेर अनि आफू सक्दो सहयोग गरेर सघाउँदा एक प्रकारको ढाडस मिल्नु स्वभाविकै हो । फेरी त्यस्ता मृत्यु संस्कारमा टाढा भएका आफन्तहरु समेत आउनु पर्ने चलन भएकैले म पनि त्यहाँ पुगेको थिए । यसरी आपत विपतको घडीमा आफन्तहरुको उपस्थिति हुनु सायद राम्रो नै हो । 
तर किरिया बस्दा हुने कष्ट र नुन समेत खान नपाउने चलन अनि मृत्यु पर्यन्तको संस्कारमा हुने दानादी कुराहरुले भने मृतकका आश्रितहरुमा सायद उति सहज स्थिति भने कायम हुन दिँदैन । मान्छे जन्मदाको भन्दा बढि संस्कारहरु मर्दा गर्नु पर्दो रहेछ भनेर त्यही बेला थाहा पाएको थिएँ । जब कि त्यो ठीक उल्टो हुनु पर्ने हो । मृतकको आत्माको चीर शान्तिका लागि भनेर दान गर्ने क्रममा जिवित परिवार जनहरुकै गुजारामा अप्ठेरो पार्ने किसिमले दान दक्षीणाहरु गर्नु किमार्थ राम्रो होइन । यति लेखि रहँदा मलाई धेरै अघि पढेको हृदय चन्द्रसिंह प्रधानको एक चिहान कथामा एक पात्रले मृत्यु पर्यन्तको संस्कारलाई आफू जिवितै छँदा पैसा जोहो गरेर राखेको कुरा झलझल्ति याद आउँछ । अनि त्यसरी जोगाएको पैसा सो पात्रले उपचारमा समेत लगाउन नदिएको कुराले मृत्यु पर्यन्त मृतकका आश्रितमा पर्ने व्ययभारको पिडाको सोझो कल्पना गर्न सकिन्छ । 
ती किरियामा बसेकी किशोरीको तस्वीरलाई हेर्दा उनको कलिलो मुहारले यी सबै कष्टहरु खेप्ने क्षमता बोकेको झै लाग्दैन थियो । तस्वीर तल भने गजलात्मक पारामा ती किशोरीको किरिया बस्नुलाई पुरुषहरुले मात्रै गर्न पाउने रुढीको विरोधका भावना प्रस्तुत गरिएका थिए । महिलाहरु सबै कुरा गर्न सक्षम छन् । मृत्यु पर्यन्तको संस्कारमा पनि उनीहरु सहभागी हुन सक्छन् भन्ने खालको भावना व्यक्त गरिएको थियो । मृत्यु पर्यन्त कै संस्कारका खाँतिर भएपनि छोरा पाउनै पर्छ भन्ने मान्यता प्रतिको यो कडा चुनौति थिायो । तस्वीर तलको गजल पढे पश्चात मैले पहिलेगरेको व्याख्यामा केही छुटेको भनि ती महिलालाई हिन्दु संस्कारहरुमा हुने लैङ्गिक विभेदका बारेमा समेत जानकारी गराए । उनले पछि मैले गरेका व्याख्याहरुलाई समेटेर सो तस्वीरलाई आफ्ना साथीहरुमाझ बाँडिन् । अहिले हेर्दा त्यो तस्वीर मुनी १७ जनाले बाँडेको भनि उल्लेख भएको देखिन्छ । 
यति सब भइसक्दा मनमा एक अर्को विचार उत्पन्न भयो । पुराना रुढीहरुलाई पूर्ण रुपमा उखेल्नुको साटो त्यस्ता रुढीहरुमा महिलाहरुलाई पनि समावेश गराउनु कत्तिको उचित हो ? सायद किरिया बस्दाको सारिरिक कष्ट र हृदय विदारक पिडा कोमल हृदयी नारी मन र तिनका कोमल तनले थेग्न सक्दैनन् भनेर होला पुरुषहरुले मात्रै गर्नु पर्ने भनि छुट्याइएको । तर त्यो कष्ट र पीडा पनि थेग्न सक्छौँ भनि देखाउने क्रममा रुढी बचाइ राख्नुको सट्टा बर मृत्यु पर्यन्तका संस्कारहरुकै विरोध गरे कसो होला ? 
पुरुष सरहको काम नारीले पनि गर्न सक्छन् । यस कुरालाई पुष्टि गर्नका लागि अन्य थुप्रै उदाहरणहरु प्रस्तुत गर्न सकिन्छ । जुन संस्कारका लागि छोरो हुनै पर्छ भन्ने भनाइ चलाइएको छ त्यो संस्कार नारीले पनि गर्न सक्छन् भनेर विभेद विरोधी सन्देस प्रवाह गर्न खोज्नु उचित होइन भन्ने होइन । तर किरिया बस्ने चलन आफैमा अप्ठेरो चलन र समयानुकुल परिवर्तन अपेक्षा गरिएको चलन होइन र ? के आजको समाजले पनि मृत्यु पर्यन्तको जिवनमा विश्वास गर्छ ? अनि मृत्यु पश्चात श्मसानमा डढाइएको जिउलाई श्राद्धमा चढाइएको पिण्डले पोष्छ भनि आजको समाजले पत्याउँछ र ? अनि मृत व्यक्तिका लागि भनेर बिछ्यौना र उसका प्रयोगकालागि नयाँ सामानहरु किनेर दिने कुरालाई अबको पुस्ताले पनि तर्क संगत मान्छ । डढाइसकिएको शरीरका लागि बिछ्यौना, कपडा, थाली, कटौरा, खाना पकाउने भाँडा, आदि दिइरहनु कत्तिको जायज छ, सोच्नु पर्ने बेला भएन  र ? 
भारतीय अभिनेता आमिर खानको हालको चर्चित टेलिभिजन कार्यक्रमका क्रममा एक महिलाले पितृसत्तात्मक समाजको विपरित मातृसत्तात्मक समाज नभएर लैङ्गिक विभेद रहित समाज हो भनि भनेकी थिइन । कुनै पनि एक लिङ्गको सत्ताको समाज हितकारी नहुने र दुबै नरनारीको मेल भएको समाजले मात्रै मानव सभ्यतालाई उचाइ तर्फ लैजाने कुरा सहजै बुझ्न सकिन्छ । हामीले पनि त्यसै विचारलाई अनुशरण गर्न सके सायद हाम्रो समाज पनि प्रगतिको पथमा अघि बढ्न सक्ने छ । दुई लिङ्गका बीच द्वन्द्वात्मक सम्बन्ध भन्दा पनि एक अर्का प्रतिको सम्मानको भावना अभिप्ररित गर्ने तर्फ सबैले लाग्नु जरुरी छ । किरिया पुत्रीको तस्वीर हेरिरहँदा अनि तल लेखिएका गजलका हरफहरु पढि रहँदा यिनै विचारले मनमा बुुर्कुसी मारीरहेका थिए । 

Comments

Popular posts from this blog

Letters to a Young Poet -Rainer Maria Rilke (with quotes)

अम्बेडकरको Annihilation of Caste

निर्मलालाई न्याय