मैले पढेका १०० पुस्तक बाट




मोहन मैनालीको मान्ठा डराएको युगसँगै १०० किताब पढि सक्ने धोको पुरा भयो । सानो छँदा कैलाली जन पुस्तकालयमा खुब गइन्थ्यो । हस्तरेखाका किताब, यौन साहित्य, दन्त्यकथाका किताब, आदि पहिले पढ्न थालियो । त्यसपछि आफ्नै चिना अथ्र्याउने क्रममा ‘काम सुरु गर्ने तर नटुङ्गयाउने’ भनेर अर्थ लाइयो । यसो फर्केर हेर्दा पुस्तकालयका थुप्रै किताबका गाता पढिएका तर पुरा नगरिएको भेटियो । अनि चिनामा लेखेको झुटो सावित गराउनै पनि एनिड ब्लाइटनको इन्द्रजाली रुख पढेर भ्याएँ । त्यसपछि रुचि बढ्दै गयो । तर्क गर्न खुब मन पर्ने भएकोले तर्कशास्त्रको पुस्तक फेला प¥यो । पहिले बुझेर अथवा नबुझेर १०० किताब पढियो भने मात्र त्यसपछिका किताबहरु बुझ्ने भइन्छ भनेर त्यसमा उल्लेख गरिएको थियो । त्यसपछि सुरु भयो १०० किताब पढि भ्याउने ध्याउन्न ।
यो सुची निकै लामो भयो । खासमा पढ्दाको मजा र पढि सकेपछिको त्यसको प्रभावका आधारमा पुस्तकहरुलाई यो सुचीमा समावेश गरेको छु । जस्तो कि मोदिआइनको ‘तिमी ठूलो होइन असल मान्छे बन’ भनेर भनिएको कुरा धेरै सानामा यो मनमा गढेको थियो । अहिले सम्म पनि असल बन्ने प्रयास जारी छ । विपिका अन्य पुस्तकमा फेला परेका गिताका श्लोकले एक पटक गिता पढ्न कर लगायो । उनकै पुस्तकबाट हो मैले हिट्लर र यहुदी चिनेको पनि । रेताना र बेनेडिक्टोका कथा पनि त्यसै सन्दर्भमा पढिए । हिट्लरलाई गिताको सहाराले स्वर्गको अधिकारी सम्म दावी गर्न विपि पछि परेका छैनन् । ग्यास च्याम्बरमा डढाइएका यहुदिका जुत्ताको पहाड र खरानीको पहाडहरु अझै पनि सम्झनामा छन् । पारिजातले ‘मुला पियन, गान्टे मुलाको झोलसँग बैँस साँटेको छ’ कि यस्तै केहि भनेर बैंसको मान्छेमा लेखेका पंक्तिहरु सायदै कहिले विर्सन सकौँला । शिरीषको फुलमा चुरोटको धुँवाले पहेँलिएका पातला औँलाको बयान अनि ‘भ्रमर चुम्बनमा ओइली झर्ने’ फूलको प्रसंगले अझै बेलाबेला झक्झक्याइ रहन्छ । सकेसम्म सुयोगविर नबन्ने प्रण गरेको थिए । बने बनेन बरीहरुलाई थाहा होला । प्रेम पिण्डको नौलीसँग एडविलले गरेको प्रेम आशक्ति मात्रै पनि थिएन कि भनेर धेरै सम्म घोत्लीएँ । नौलीले भ¥याङ्गमा सारेका प्रत्येक पाइलाले एडविललाई उसको मुटुमा करौँतीका दाँतहरु सारिए जस्तै महसुस भएको भनेर बडा बेजोडले लेखिएको छ । समका अन्य नाटक पनि उत्कृष्ट थिए । तरुण तपसी एकदमै दर्शनहरुले भरिएको किताब हो । यसका धेरै पंति त कविताका रुपमा प्रकाशित पनि भइ सकेका छन् । यो नेपाली साहित्यका पढ्नै पर्ने पुस्तकहरु मध्येको एक हो । भैरव अर्यालको जय भुँडी व्यंग्य साहित्यको राम्रो पुस्तक हो ।  
जगदीश घिमिरे र खगेन्द्र संग्रौलाका लेखाइ चोखा लागे । सकेसम्म नेपालीमा उल्था गरेरै लेख्ने, अंग्रेजी या संस्कृत केहि गरी लेख्नै प¥यो भने त्यसको उल्था पनि साथ मै लेखिदिने भएकाले मलाई घिमिरे अति मन परे । विपिले बरु त्यो गर्थेनन् । कति श्लोकका लागी त मैले संस्कृत शब्दकोश नै पनि पल्टाएको छु । विपि प्राय गिताका श्लोक धेरै प्रयोग गर्थे । माइक्रोसफ्ट देखि बाहुन डाँडा खगेन्द्र संग्रौलाको मौलिक भन्दा पनि अनुवाद थियो । तर त्यो भाषानुवाद भन्दा पनि भावानुबाद बढि थियो जस्तो लाग्छ । John Wood को Leaving Microsoft to Change the World  लाई उनले माइक्रोसफ्ट देखि बाहुनडाँडासम्म भनेर अनुवाद गरेका थिए ।
कर्णाली ब्लुज र पल्पसा क्याफेले एक पटक छुटेको पढ्ने बानी फेरी जगाइ दिएका थिए । कर्णाली ब्लुज त किनेर पढेको र मन परेको पहिलो पुस्तक नै हो । पुराना पुस्तकहरु सबै पुस्तकालयमै पढियो । नयाँ पुस्तक भने त्यहाँ पाइँदैन थियो । पछि अमेरिकन कर्नर खुलेपछि अंग्रेजी साहित्यका केहि पुस्तकहरु त्यता फेला परे । त्यहाँ पनि नेपाली पुस्तकहरु भने पाइँदैन थियो ।
पछिल्लो समयमा आएर ‘लू’ले धेरै छोयो । पढिसकेपछि यतिञ्जेल नपढेकोमा पछुतो भयो । मैनालीको मान्ठा डराएको युगले अझै सम्म पनि बाजुराको बारेमा लेख्न घच्घचाइ रहेको छ । पुस्तक प्रतिकृयाका रुपमा भए पनि त्यो कुनै दिन लेखेर बाहिर ल्याउने छु ।
साहित्य सिद्धान्कको खासै ठूलो ज्ञान केहि नभएकाले पनि मलाई मन परेको पुस्तकहरु साहित्यिक जगतमा के कति महत्व राख्छन् मलाई नै थाहा छैन । आज सम्म प्रकासित सबै पुस्तकहरु पढि नसकेकाले पनि यो सूची पूर्ण होइन । भोलिका दिनमा पढिने पुस्तक अझै राम्रा पनि पर्न सक्छन् । आफ्ना मुटुमा गड्ने र पढि सके पश्चात पनि लामो प्रभाव पारि रहने पुस्तकहरुलाई मात्र यो सूचीमा उल्लेख गरेको छु । आशा गरौँ यसले नेपाली साहित्यमा पढ्न रुची राख्नेहरुलाई विकल्पहरु साँघुरो पार्न केहि मद्दत मिल्ने छ ।
उपन्यासः
लु – नयनराज पाण्डेय
शिरीषको फुल, बैंसको मान्छे – पारिजात
कर्णाली ब्लुज – बुद्धिसागर
पल्पसा क्याफे –नारायण वाग्ले
सुम्नीमा, बाबु, आमा र छोरा, मोदिआइन – विश्वेश्वरप्रसाद कोइराला
खण्डकाब्यः
तरुण तपसी – लेखनाथ पौड्याल
कविता संग्रहः
घुम्ने मेच माथि अन्धो मान्छे – भुपी शेरचन
नाटकः
प्रेम पिण्ड – वालकृष्ण सम
निवन्ध संग्रहः
जय भूँडी –भैरव अर्याल
एब्स्ट्रयाक्ट चिन्तन प्याज – शंकर लामिछाने
कथा संग्रहः
नासो – गुरुप्रसाद मैनाली
विविधः
माइक्रोसफ्ट देखि बाहुनडाँडासम्म – लेखकः जन वुड, अनुवादकः खगेन्द्र संग्रौला
अन्तर्मनको यात्रा – जगदीश घिमिरे
अंग्रेजी साहित्यप्रतिको रुची खासै त्यस्तो थिएन । रहरैले Hemingway को The Old Man and the Sea पढेको थिएँ । पुस्तकालयमा भेटिएको सबै भन्दा पातलो त्यहि भएकाले सकिन्छ कि भनेर थालेको थिएँ । पढ्दा किताबका पाना भन्दा बढि शब्दकोशका पाना पल्टाएँ होला । राम्रै लाग्यो । हालसालै दोहो¥याएर पढ्दा अझै राम्रो लाग्यो । बाँकि पुस्तकहरु कसैमा दर्शन खोज्दै, कसैमा आफ्ना भोगाइ मिल्दो अभिव्यक्ती खोज्दै अनि कसैमा जिवनोपयोगी कुराहरु खोज्दै पढिए । सबै पुस्तकको कथा लेख्दा लामो होला । त्यसैले अब सोझै सूचीमा जाउँ होला ।


Novels:
The Perks of Being Wallflower - Stephen Chobsky
Five Point Someone- Chetan Bhagat
The Catcher in the Rye - J.D. Salinger
To Kill a Mockingbird - Harper Lee
The Picture of Dorian Grey - Oscar Wilde
The Old Man and the Sea- Earnest Hemingway
The Kite Runner - Khaled Hosseini
A Thousand Splendid Suns- Khaled Hosseini
The Zahir- Paulo Coelho
Veronica Decides to Die- Paulo Coelho
Siddhartha- Herman Hesse
The Alchemist- Paulo Coelho
Tschick- Wolfgang Herrndorf (German)
Collection of Stories:
This is How You Lose Her- Junot Diaz
Poetry
Love & Misadventure- Lang Leav
Miscellaneous:
Who Will Cry When You Die- Robin Sharma
Who Moved My Cheese- Johnson Spencer
Quiet- Susan Cain


किताब पढ्दा सुरुको भावना भनेको ‘के राम्रो होला र!’ भनेर सुरु गरिन्थ्यो । आफूलाई मन परेको लेखक भए राम्रो हुनुपर्छ भनेर पढिन्थ्यो । पुर्वाग्रहले पनि सायद पुस्तकको आस्वादनमा प्रभाव पारे होला । म पाउलो कोएलो प्रति अलि पूर्वाग्रही छु । विपि पनि मलाई मन पर्छन् । पारिजात मन परेपनि उनले विपिको साहित्यिक योगदान जोगाउन लाएक नभएको भनेर लेखेको पढ्दा केहि रिस उठेको थियो । सायद विपरित राजनीतिक विचार धारा बोकेकाले पनि यस्तो अभिव्यक्ति आयो कि ?
भाषाले पनि किताब प्रतिको रुचिलाई प्रभाव पार्दो रहेछ । अंग्रेजी पुस्तकहरु प्राय समय लगाएर पढियो । नेपाली पुस्तकहरु पढ्न तुलनात्मक रुपमा कम समय लागे । एक पुस्तक नपढि अर्को नथाल्ने पहिलेको बानीले पढाइको गतिलाई केहि सिथिल बनायो । अहिले पाँच–छ वटा पुस्तक सँगै उघार्छु । धेरै अघि थालेका पुस्तक भन्दा धेरै पछि थालेका पहिला सकिन्छन् । एउटा अगतिलो पुस्तकले बाँकि गतिला पुस्तक पढ्ने बाटो छेक्दैन । चिनाको अथ्र्याउँदा पढेको कुराको प्रभावले होला थालेको पुस्तक मन नलागी नलागी पनि अन्त सम्म पढ्छु । केहि पुस्तकहरु दोहो¥याएर पढ्न मन हुन्छ तर अरु पढ्न मन लागेका पुस्तकका कारण पुराना पुस्तक दोहो¥याउने कुरा त्यसै थाती रहन्छ ।
पुस्तक पढ्न चाहनेले साथी भाइपनि त्यस्तै रोजे भने सायद पठनमा झन सहयोग मिल्छ । उनीहरुका सुझावहरुले फरक स्वादका पुस्तकहरु पढ्ने मौका पाउँछ । त्यसका लागी सामाजिक सञ्जालमा थुप्रै समुहहरु पनि छन् । तिनबाट पनि फाइदा लिन सकिन्छ ।
पुस्तक पढेर के पाएँ भनेर कहिले काहिँ आफैलाई प्रश्न गर्छु । उत्तर पनि भेट्टाउँछुः भाषा सिक्न मद्दत भयो, ज्ञानगुनका कुरा सिकियो, तर्क गर्न सक्ने भइयो, सोच्ने बने, जिवनको उद्देश्य पहिल्याउन पाएँ, विवेकपूर्ण निर्णयका लागी विचार मन्थनमा सहयोग पुग्यो, अरुका जीवनका वारेमा जानीयो, समय विताउन गाह्रो भएन, आदिआदि । जे होस् यो शौकले आगामी दिनमा पनि निरन्तरता पाइ रहने छ । 

*****
P.S.The complete list of books I have read so far:
https://www.goodreads.com/review/list/9222102?shelf=good-reads

Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

सुधीर शर्माकाे प्रयोगशाला