शिष्टाचार नाघेर शिष्टाचारको कुरा

सामाजिक सञ्जालले अहिले सुचना प्रवाहमा यति सम्म सहजता ल्याएको छ कि साना साना खबरहरु पनि फैलन केहि बेर लाग्दैन । भारतको राजकीय भ्रमणमा रहेकी प्रधानमन्त्री पत्नी सिता दाहालको शिष्टाचारको विषय त्यस्तै भयो । उनले प्रधानमन्त्री मोदीका छेउमा हात बाँधेर उभिएको, सोफामा बस्दा चप्पल खोलेर एक खुट्टा माथि राखेर बसेको, मोदीको नमस्कारमा हात थापेर नमस्कार फर्काएको, आदि तस्वीरहरु सामाजिक सञ्जालमा छ्यापछ्यापती प्रकाशित हुन थाले । तस्वीरसँगै अनेकौँ टिप्पणीहरु पनि लेखिन थाले ।
औपचारिक रुपमा ठूलो शिक्षा आर्जन नगरेकी प्रम पत्नीको अनौपचारिक कृयाकलाप त्यति आश्चर्यमा पार्ने खाले होइन । तस्वीरमा कैद गरिएका सामान्य परिवेशकी ग्रामीण महिलाको झल्को दिने उनको उठाइ बसाइ पदका हिसाबले नमिलेको भने पक्कै हो । प्रम पत्नी भइ सक्दा आफु हर प्रहर क्यामेराको निगरानीमा हुन्छु र आफ्ना हरेक हर्कतलाई दुनियाँले केलाइ केलाइ हेरिरहेका हुन्छन् भन्ने सायद उनले ध्यान नदिएकी हुनुपर्छ । त्यसबाहेक ११६ जनाको जम्बो टोलीका सदस्यहरुले पनि त्यसरी देशको प्रतिष्ठामा नै आँच आउने गरी सञ्चार माध्यममा सामग्री बन्ने खालको उनको हाउभाउको ख्याल नगरेको हुनु पर्छ । हुन त कसले पो सोच्यो होला र नेपाल–भारत सम्बन्ध अप्ठ्यारामा परेको बेलामा प्रचण्ड छाडी प्रचण्ड पत्नी चर्चाको विषय बन्ने छिन् भनेर ?
राष्ट्रिय राजनीतिमा प्रवेश गरेपछि ‘मने’ जस्ता थेगो लगायतका आफ्ना धेरै कुराहरुलाई सुधार गर्दै आएका सुप्रीमोले आफ्नी जीवनसंगीनीका हकमा त्यहि प्रगति हाँसिल गर्न भने असफल रहेको प्रष्ट हुन्छ । हुन त यस अघि पनि अनेकौँ भ्रमणमा सरिक भइसकेकी प्रम पत्नीको यसखाले गतिविधिका बारेमा कहिल्यै चर्चा सुनिएन । केहि अघि देखि प्रचण्डले पत्नी कुटेको खबर र प्रम पत्नी सिताको अँध्यारो मुहारको रहस्यका बारेमा सामान्य चर्चा चलेको भएपनि ‘महान जनयुद्ध’का नेतृत्वकर्ताको व्यक्तित्वको कुरा छाडेर उनकी पत्नीको विषयमा उति चर्चा परिचर्चा गर्न कसैलाई फुर्सद भएन ।  तर यस पटक भने प्रम पत्नी प्रम स्वयंको भन्दा बढि चर्चाको पात्र बनिन् । यो सबै किन भयो भन्ने खास कुरा त प्रम पत्नी र टोली सदस्य र विशेष गरी पराष्ट्र मन्त्रालयका सदस्यहरु बाहेक अरु कसैलाई थाहा हुने नै भएन । एक खाले अनुमान चलिरहेका बेलामा अर्को खाले अनुमान गर्न मात्रै खोजिएको हो ।
सुरु सुरुमा त केहि रमाइलै लाग्यो । भुलचुक भएकै थियो । सार्वजनिक व्यक्तित्व भइसके पछि उनीहरुले गरेका हरेक काम र कर्तव्यको बारेमा यसरी चर्चा परिचर्चा हुनु नौलो भएन । फेरी अचेल हरकोही सामाजिक सञ्जालमा छ । क्षणिक वाहवाहीको लागी भएपनि यस्ता घटनामा टिप्पणी गर्नका लागी सकेसम्म कोहि पछि पर्दैन । सबैलाई आफ्नो धारणा अरुसामु ल्याउनलाई पहिलो हुनै पर्छ । त्यसैको निरन्तरताका रुपमा प्रम पत्नीसँग सम्बन्धित टिप्पणीहरुलाई पनि लिएँ ।
कुरा कहाँ सम्म बढ्यो भने प्रम पत्नीको शिष्टाचारका विषयमा कुरा गर्नेहरुले आफ्नो शिष्टाचारको हेक्का नै नराखेर अनर्गल टिप्पणीहरु समेत प्रकाशन गर्न थाले । पार्टी अध्यक्षकी श्रीमतिको यस्तो अपमान सहन नसकेर होला माओवादी कार्यकर्ता पनि बहसमा होमीए । गाली गलौज सुरु भयो । आमा अनि दिदि बहिनी छोइये । बहस सामान्य हाँसो मजाक बाट एउटा कुरुप व्यक्तिगत आक्षेपहरुमा ओर्लियो ।
एकतर्फी उपहासको श्रृंखला सकिएपछि प्रम पत्नीको पक्षमा वकालत गर्नेहरुमा प्राय माओवादी समर्थकहरु देखा परे । हाल आएर प्रचण्डका भक्त बनेका एकजना पूर्व लडाकु र माओवादीका कट्टर विरोधीले प्रम पत्नीको त्यस प्रकारको फोटोहरु सार्वजनिक हुनुमा क्यामेरामा भएका व्यक्तिको दोष देखे । नमस्कार गर्दै गर्दा हात उचालि नसक्दै खिचेकाले त्यसो देखिएको भने । भुइँमा चप्पल छोडेर सोफामा खुट्टा राख्नु अनि विशिष्ट व्यक्तिका छेउमा हात बाँधेर उभिनु चाहिँ क्यामेराकै दोष भनेर भन्ने ठाउँ थिएन ।  अर्का माओवादी सम्बद्ध विद्वानले औपनिवेशिकता झल्काउने शिष्टाचारका नियमहरु पालना नगरेको भनेर बहस गर्नु तातो न भुत्लो कुरा भएको भनेर टिप्पणी गरे । तस्वीरमै आफ्नो साइज भन्दा ठूलो कोट प्यान्ट लाएका र गलामा टाइ बाँधेका र त्यसमाथी कालो टोपी लाएका प्रम स्वयंले कुन संस्कार र संस्कृतिमा भएका नियम पालना गरेको हुन भनेर हेक्का राख्न उनी पनि चुके ।
यसरी एकपक्षीय टिका–टिप्पणीका बीच सिता दाहालको समर्थन गर्ने माओवादी हुने र उनको खिल्ली उडाउने एमाले या गैह्र माओवादी हुने सामान्य नियम नै बन्यो । एक हद सम्म हाँसो मजाक ठीकै हो यसरी आफ्नै धोती खुस्कने गरेर जथाभावी त नलेखौँ न हो आँखिर प्रम पत्नीको इज्जत भनेको देशकै इज्जतसँग जोडिएको कुरा हो भनेर भन्दा मै पनि माओवादी कहलीएँ । अनि गल्ती भएकै छैन भनेर भन्नेहरुको अन्ध समर्थन नगर्दा माओवादी विरोधी पनि मै भएँ । लाग्यो आम नेपालीहरुका लागी आफ्ना राजनीति विचारबाट माथि उठेर पूर्वाग्रह रहित बहसमा उत्रिनु मानौ असम्भव प्राय छ ।
शिष्टाचारको आलोचना नै शिष्टाचारको सिमा नाघेर गरिनु कहाँको शिष्टाचार भयो ? अनि भएका भुलहरुलाई पनि भए भनेर भन्नुको सट्टा पूर्वाग्रही बनेर तिनको बचाव गर्न खोज्नु कहाँको क्रान्तीकारिता हो ? जवाफदेही हुनु पर्ने प्रम, परराष्ट्रका पदाधिकारी र प्रमको सामाजिक सञ्जालहरु व्यवस्थापन गर्ने प्रमका छोरा स्वयंले भएको भुलको समिक्षा गरुन । आगामी दिनमा यस्तो नहोस् भन्नाको लागी यो घटना नजिर बनोस् । एक पक्षीय रुपमा प्रम पत्नीको अनेक किसिमले उपहास गर्नेहरुको बोली थुन्न बरु उनको अन्तर्वाता आओस । नयाँ नेपालको अभियन्ता प्रम स्वयंले पहिले परिवार भित्रका महिला सदस्यहरुको जीवनयापनमा नयाँपन ल्याउन पहल गरुन् । शिक्षकहरुको सिकाइ, आमाबाबाको संस्कार, साथीभाइको संगत र बाहिरि उठबस बाट न मान्छेले शिष्टाचारको कुरा सिक्दै जाने हो । सिता दाहालले यी मध्ये कति अवसरहरु पाइन होला र ? आँखिर उनी पनि ग्रामीण जीवन बाँचेरै आएकी र औपचारिक शिक्षामा खासै अघि नबढेकी नेपाली महिला कै प्रतिनिधि पात्र होइनन् र ? हाम्रो समाजमा लोग्नेमान्छेले आफू सहर पसेपछि र अलि सुकिला मुकिलामा रुपान्तरित भएपछि कान्छी रोजेका र जेठी छोडेका कैयौँ उदाहरण छन् । प्रचण्डको सवालमा त्यो भएन । तरपनि उनले आफ्नी जीवन संगीनीलाई आफूले सिकेका संस्कारका पाठहरु बाँड्न भने असफल भएकै हुन् । आशा गरौँ उनले पनि यो घटनालाई एक पाठका रुपमा लिनेछन् र आफूमा ल्याएको रुपान्तरण अब आफ्नी पत्नीमा पनि ल्याउन सफल हुनेछन् । भारतीय सञ्चार माध्यमले समेत प्राथमिकता नदिएको यो मुद्दालाई हामीले यति धेरै प्राथमिकता दिएर आफ्नै उपहास आफै गरि रहेका पो छौँ कि ? त्यो कुरा पनि मनन गरौँ ।


Comments

Popular posts from this blog

पहेँलो गुलाफ: प्रेमा शाह

केशवराज पिँडाली र बाँच्ने एउटा जिन्दगी

सुधीर शर्माकाे प्रयोगशाला